जीवजन्तुबाट निर्मित ‘जडी तेल’



रोहिणी घिमिरे

नेपालमा तेल लगाएर मालिस गर्ने चलन सनातनदेखि चलिआएको हो । अझ कुन रोगका लागि कुन तेल प्रयोग गर्ने भन्ने कुराले निकै महत्व पाउने गर्छ । यस्तै तेलमध्येको एउटा तेल हो जीवनारायणी तेल । विभिन्न जीवजन्तुबाट यो तेल तयार गरिने भएकाले नै यसको नाम जीवनारायणी तेल राखिएको हुन सक्छ ।

नेपालमा पछिल्लोपटक जुद्धशमशेर राणाको पालामा यो तेल बनाइएको थियो । विशेष गरी बाथरोगका लागि यो तेल धेरै उपयोगी हुन्थ्यो । विभिन्न किसिमका पशुपक्षीहरुको आवश्यकता पर्ने अनि समय, खर्च र परिश्रम पनि निकै लाग्ने हुँदा राणकालभन्दा पछि यो तेल बनाउन छोडेको हुन सक्ने ९७ वर्षीय इतिहासकार पुरुषोत्तमशमशेर राणा बताउनुहुन्छ ।

इतिहासकार राणाका अनुसार राणा शासनको समयमा वि.सं. १९९६ मा यस किसिमको तेल बनाउन शुरु गरिएको थियो । उहाँ भन्नुहुन्छ, ‘यो काम सम्पन्न गर्न तत्कालीन पश्चिमतर्फका कमान्डर इन चिफ रुद्रशमशेर राणा (मेरा हजुरबुबा) लाई जिम्मा लगाइयो । किनकि रुद्रशमशेर आयुर्वेदिक औषधितर्फ बढी चासो राख्ने र आफ्नै दरबारमा पनि आयुर्वेदिक औषधि बनाइरहनुहुन्थ्यो । उहाँ यस विषयमा जानिफकार पनि हुनुहुन्थ्यो ।’

५ वर्षसम्मका लागि अनगिन्ती जीवजन्तु र कैयौं दाउरा–मुढा आवश्यक पर्ने हुँदा त्यस्ता चीजहरु उपलब्ध गर्न सकिने उपयुक्त ठाउँ बुटवलको खस्यौलीमा पर्ने चारकोसे झाडीलाई छानिएको थियो । ‘जीवनारायणी तेल बनाउने ठाउँमा जो पायो त्यही जान पाउँदैनथ्यो तर मचाहिँ हजुरबुबा रुद्रशमशेरसँग बेला–बेलामा जाने गर्थें’, इतिहासकार राणा भन्नुहुन्छ– ‘त्यहाँ दाउरा–मुढा हालेर अटुटरुपमा आगो बालिएको थियो, त्यस आगोमाथि पर्नेे गरी एउटा ठूलो फोसी (बाक्लो पिँध भएको तामाको भाँडो) दुईवटा ठूला–ठूला फलामका खम्बामा सिक्रीले बाँधेर झुन्ड्याइएको थियो ।’

त्यस भाँडोमा तेल राखिएको थियो तर केको तेल राखिएको हो भन्ने कुरा पुरुषोत्तमशमशेर सानै भएकाले पत्तो पाउनुभएनछ । उहाँका अनुसार सो भाँडोमा राखिएको तेलमा दिनहुँ जनावर तथा चराचुरुङ्गी हाल्न भ¥याङ हालिएको हुन्थ्यो । त्यही भ¥याङमा चढेर सैनिकहरु तेलमा डुब्ने गरी झुन्ड्याइएको एउटा ठूलो पोकोजस्तोमा जीवजन्तुहरु खसाल्ने गर्थे । तेलमा डुबाइएको पोकाको मासु जति घट्दै जान्छ त्यति थप्दै जाने र तेलमा नमिल्ने डढेको चोकरचाहिँ झिकेर फाल्ने गरेको उहाँ बताउनुहुन्छ । यो क्रम ५ वर्षसम्म चलेको उहाँको भनाइ छ ।

कामको बाँडफाँड कसरी गरिएको थियो भनेर सोध्दा इतिहासकार राणा भन्नुहुन्छ, ‘पशुपक्षी संकलन गर्नका लागि ४० जनाजति सिकारी तैनाथ थिए भने दाउरा खोजेर आगो दन्काउन ३०–४० जना सैनिकहरु आलोपालो गरी खटाइएका हुन्थे ।

 

 

 दैनिक ५–७ वटा जनावर र २०–२५ वटा चराचुरुङ्गी त्यस भाँडोमा पर्ने गरी झुन्ड्याइएको पोकामा हालिन्थ्यो । नेपालमा नपाइने सिंह, जलगैंडा, ह्वेल, सार्कजस्ता जनावर सरकारी पक्षबाट लेखापढी गरी अन्य मुलुकबाट झिकाउने गरिएको थियो ।’

तर सो तेलमा बाँदर र गाईलाई चाहिँ हालिएन रे ! गाईलाई हिन्दूहरुले पूजा गर्ने र बाँदर स्वजाति भएकाले त्यहाँ नहालिएको हुन सक्छ । जे होस्,

 बाँदर र गाईबाहेकका अन्य प्रायः सबै जनावर एवम् चराचुरुङ्गीको मासुबाट बनाइएको यो तेल दुर्लभ नै मानिन्छ ।

विभिन्न जीवजन्तुबाट बनाइने भएकाले नै त्यस बेला यस तेलको नाम जीवनारायणी राखिएको हुन सक्छ ।

पशुपक्षीको मासुबाट बनाइएको तेलको प्रयोगले धेरै किसिमका रोग बिसेक हुने हुनाले राणा परिवारहरुले टिनका टिन काठमाडौंमा मगाउने गरेको स्मरण इतिहासकार राणा गर्नुहुन्छ । तर अहिले यसरी तेल बनाएको कुरा दन्त्यकथाजस्तो भइसकेको छ । राणाकालभन्दा पछाडि नेपालमा यस्तो तेल बनाइएको छैन । यद्यपि सिंहदरबार वैद्यखानाले पनि धेरै किसिमका पशुपक्षी समायोजन गरी त्यसबाट औषधिजन्य तेल बनाउने गरेको छैन । बरु १२–१५ दिन लगाएर कुखुराको मासुबाट ताम्रचुरादि नामको तेलचाहिँ बनाउने गरेको केही वर्षअगाडि जानकारीमा आएको थियो ।

अत्यास लाग्दो घटना

जीवनारायणी तेल तयार भएपछि एकपटक पश्चिमतर्फका कमान्डर इन चिफ रुद्रशमशेरलाई यो तेल खाँदा कस्तो अनुभव हुन्छ भनेर परीक्षण गर्ने लहड चलेछ । इतिहासकार राणाका अनुसार रुद्रशमशेरले तत्कालीन कप्तान प्रतिमान बोहोरा (भूतपूर्वमन्त्री दीपक बोहोराका बाबु) लाई हट्टाकट्टा देखी उनलाई नै तेल खाँदा के हुन्छ भनेर परीक्षण गराउने विचार गरेछन् । त्यसैले उनलाई सो तेल अलिकति चाट्न लगाइएछ ।

जीवनारायणी तेल चाटेको एकैछिन्मा सबै शरीर पोल्न थाल्यो भन्दै बोहोरा उफ्रिपाफ्री गर्न थाले । पोलेको डाहा खप्न नसकेर उनी दौडँदै गई नजिकै रहेको तिनाउ खोलामा डुबुल्की मारे । डेढ–दुई घण्टासम्म टाउको मात्र देखाएर डुबुल्की मारेपछि केही सन्चो भएपछि उनी निस्किए । यस प्रयोगले यो तेल मुखमा पार्नु नहुने रहेछ भन्ने थाहा भएको पुरुषोत्तम राणाको भनाइ छ ।
आफूले तेल चटाएकाले बोहोरालाई केही हुन्छ कि भनेर रुद्रशमशेर डराएका तर त्यस्तो अप्रिय घटना केही नभएको उहाँ बताउनुहुन्छ ।

बुटवलमा यो तेल बनाएपछि काठमाडौंबाट जुद्धशमशेर, मोहनशमशेर, केशरशमशेरहरुले माग गरेकाले रुद्रशमशेरले टिनका टिन पठाउने गरेको उहाँ स्मरण गर्नुहुन्छ । पछि सिंहदरबार जल्दा त्यहाँ बाँकी भएको जीवनारायणी तेल पनि जलेर सकिएको थियो रे !यस किसिमको तेल नेपालमा जंगबहादुरको समयभन्दा पहिले पनि बनाउने गरेको रहेछ भन्ने कुरा जंगबहादुरले युरोप भ्रमणमा जाँदा यो तेल लगेको र धीरशमशेरको गोली लागेको घाउ ठीक गरेको कुराले पुष्टि हुन्छ । साथै सिंहदरबार वैद्यखानामा अलपत्र रहेको मल्लकालीन ‘भैरव फोसी’ नामको ठूलो भाँडोले पनि मल्लकालमा समेत यस किसिमको तेल बनाइन्थ्यो भन्ने प्रमाणित हुन्छ ।

गोली लागेको घाउ मात्र नभएर यस किसिमको तेलबाट अन्य घाउ–खटिरा, सुन्निएको, ठोक्किएको, बाथ भएको, जोर्नी दुखेको, मर्किएको, टाउको दुखेको आदि विभिन्न किसिमका समस्याहरुको उपचार हुने गरेको इतिहासकार राणा बताउनुहुन्छ ।
बक्समा राख्ने

 फ्रान्सेलीहरु चकित

सन् १८५० सेप्टेम्बर २५ को कुरा हो । युरोप भ्रमणको क्रममा जंगबहादुर राणा फ्रान्सको जर्डिन मेबिलीमा पुगेका थिए । इतिहासकार राणाका अनुसार त्यहाँको सुटिङ ग्यालरीमा जंगबहादुर तारो हान्ने खेल खेलिरहेका थिए । त्यसै बेला एउटी किशोरीले म पनि तारो हान्न सक्छु भनी उनलाई हाँसी–हाँसी अनुरोध गरिन् । जंगबहादुरले तुरुन्तै आफ्नो पेस्तोल ती किशोरीलाई दिए । उनले पेस्तोल हातमा लिएपछि आत्तिइन् र तारो नताक्दै गोली फुत्काइन् । सो गोली जंगबहादुरका भाइ धीरशमशेरको तिघ्रामा लाग्यो ।

त्यहाँ रहेका फ्रेन्चहरु हडबडाउँदै अस्पताल लैजाने तर्खर गर्न थाले । तर जंगबहादुरले तुरुन्त सिद्धिमान राजभण्डारीको पटुका च्यात्न लगाएर धीरशमशेरको घाउ बाँधिदिए । उनले फ्रेन्चहरुलाई भने, ‘यस्तो जाबो घाउ हामी आफैं निको पार्छौं, तपाईंहरुले फिक्री गर्नुपर्दैन ।’ यसपछि जंगबहादुरले भाइलाई आफू बस्ने गरेको होटलमा लिएर गए । उनले सन्नासो रातो हुने गरी तताए । सन्नासो सेलाएपछि भाइको तिघ्रामा सो सन्नासो छिराएर गोली निकाले ।

त्यसपछि नेपालबाट आफैंले लगेको मिनिस्टरी तेल अर्थात् महानारायणी तेल लगाएर पट्टी बाँधिदिए । त्यतिखेर यो तेललाई मिनिस्टरी तेल भनिन्थ्यो । कसै–कसैले महानारायणी तेलको नामले पनि चिन्ने गरेको इतिहासकार राणा बताउनुहुन्छ । आखिर जीवनारायणी, महानारायणी, मिनिस्टरी जे नामले पुकारे पनि विगतमा नेपालका यी तेल एउटै प्रक्रियाबाट उत्पादन गरिएका हुन्थे ।

झन्डै एक हप्ताजतिमा घाउ निको भएर धीरशमशेर राम्रैसँग हिँड्न सक्ने भए । जंगबहादुरको साहस, उपचार पद्धति र नेपाली तेलको कमाल देखेर त्यहाँका व्यक्तिहरु छक्क परेका थिए । घाउ बिसेक भएपछि अक्टोबर ३ मै जंगबहादुरको टोली पेरिसबाट लायेन्स शहरमा गएको थियो । राणाहरुको पतनसँगै यसरी गोली लागेको घाउसमेत बिसेक पार्ने शक्ति भएको जीवनारायणी तेलपनि नेपालमा उत्पादन हुन छोड्यो ।

इतिहासकार पुरुषोत्तमशमशेर राणा

प्रतिक्रिया दिनुहोस्