परिवार नियोजन संघमा पनि टेस्ट ट्युब बेबी



डा. स्मिता कर्माचार्य श्रेष्ठ

सन्तानको चाहना हुँदाहुँदै पनि सन्तान नभएका दम्पतीहरुका लागि नेपाल परिवार नियोजन संघले पहिलोपटक ‘टेस्ट ट्युब बेबी तथा बाँझोपन उपचार केन्द्र’ पारालिंगी मेडिकल हर्मोनल केन्द्र सन् २०२२ मार्चदेखि शुरु गरेको छ । सन्तानको चाहना हुँदाहुँदै पनि गर्भ नबसेमा स्त्रीरोग विशेषज्ञकोमा परीक्षण गराउनुपर्छ र शारीरिक बनोट, हर्मोन, शुक्रकीट केले समस्या भएको हो पहिचान गरी वैकल्पिक उपचार विधिबाट पनि सन्तानको चाहना पूरा गर्न सकिन्छ ।

नेपाल परिवार नियोजन संघले विगत ६३ वर्षदेखि यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील भएर काम गर्दै आएकोमा हालै ‘टेस्ट ट्युब बेबी’ सेवा शुरु गरेको छ । यसै विषयमा कन्सल्ट्यान्ट गाइनोकोलोजिस्ट आईभीएफ इन्चार्ज वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्मिता कर्माचार्य श्रेष्ठसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार ः
नेपाल परिवार नियोजन संघले (समलिंगी) का लागि पनि नयाँ सेवा शुरु गरेको हो ?
हो, टेस्ट ट्यूब बेबी र पारालिंगी (समलिंगी) का लागि पनि नयाँ सेवाका रुपमा हर्मोनल सेवा शुरु भएको छ ।

‘टेस्ट ट्युब बेबी’ भनेको के हो ?

महिलाको पाठेघरको अण्डामा समस्या भएको, अण्डा बन्ने प्रक्रिया नभएको वा अन्य कुनै महिलाबाट लिनुपर्ने भए वा पुरुषको वीर्यमा कुनै खराबी देखियो भने अण्डा र वीर्य झिकेर संयोजन गराई प्रयोगशालामा हुने उपकरण (इन्कुवेटर) मा निश्चित दिनसम्म राखी विकास भएको भ्रूणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै ‘आईभीएफ’ पद्धति हो । शुरुवाती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रूणलाई ट्युबमा विकास गरिने भएकाले यसलाई ‘टेस्ट ट्युब बेबी’ भनिएको हो ।

सन्तान भएन भने सबैलाई आईभीएफ (इनभिट्रो फर्टिलाइजेसन) नै गर्नुपर्छ ?

नेपाल परिवार नियोजन संघले मार्च महिनादेखि निःसन्तान केन्द्र शुरु गरेको छ । यस केन्द्रमा निसन्तानसम्बन्धी उपचार गर्न आउने सबैलाई नै आईभीएफ सेवा (इनभिट्रो फर्टिलाइजेसन) दिने भनिन्छ । सबैलाई टेस्ट ट्युब बेबी प्रविधि नै आवश्यक पर्छ भन्ने पनि हुँदैन । कतिपय दम्पतीलाई साधारणतया अण्डालाई ठूलो गराउने, फुटाउने, कसैलाई ओभुलेसनको समस्या छ भने अण्डालाई उपचार गर्ने, कसैको ट्युब ब्लक छ भने त्यसलाई खुलाउने, कसैको श्रीमान्मा वीर्यको कमजोरी छ, शुक्राणुको मात्रा कम छ भने शुक्राणुको मात्रालाई बढाउने उपचार गरिन्छ । यो औषधि उपचार गरेर पनि गर्भ बस्न सक्छ ।

इन्ट्रा युटिराइन इन्सेमिनेसन (आईयुआई) प्रविधिचाहिँ कस्तो अवस्थामा गरिन्छ ?

आईभीएफ गर्नुभन्दा पहिला यदि महिलाको ट्यूब खुल्ला छ र बच्चा बसिराखेको छैन भने आईयुआई गरिन्छ । यो श्रीमान्को वीर्यलाई निकालेर राम्ररी उपचार गरी श्रीमतीको अण्डा फुटेको समयमा पाठेघरमा राख्ने विधि हो । यो धेरै खर्चिलो पनि छैन । नेपाल परिवार नियोजन संघमा यो प्रक्रियाका लागि ८ हजार शुल्क तोकिएको छ ।

कस्ता दम्पतीले यो उपचार गर्न जानुपर्छ ?

यो उपचार गर्नका लागि महिलाको उमेर ३५ वर्षभन्दा कम छ, श्रीमान्–श्रीमती एक वर्षदेखि कुनै पनि परिवार नियोजनको साधन प्रयोग नगरीकन यौन सम्पर्कमा हुनुहुन्छ भने स्त्रीरोग विशेषज्ञकोमा जानुपर्छ । माथिका कुरा पालना गरिरहेका ३५ वर्षभन्दा माथि उमरे भएका महिला हुनुहुन्छ भने ६ महिनापछि नै उपचारमा जानुपर्छ । बच्चा जन्माउने विषयमा महिलाको उमेरको महत्वपूर्ण भूमिका हुन्छ । शारीरिक बनोटमा नै जीवनभरिमा यतिपटक मात्र अण्डा बन्छ भनेर छुट्याइएको हुन्छ । ३५ वर्षपछि महिलाको डिम्बमा अण्डाको मात्रा स्वाट्टै घट्छ । त्यसैले उपचारको लागि छिट्टै जानु उचित हुन्छ । जति ढिला ग¥यो उति नै कम सफलता हुन्छ ।

परामर्श तथा उपचारका लागि कुन–कुन उमेर समूहका महिला बढी आउँछन् ?

३८ देखि ४० वर्षका महिलाहरु पनि आउनुहुन्छ । उहाँहरुको अण्डा नै बाँकी हुँदैन । आईभीएफ नै गरे पनि एक–दुईवटा अण्डा निस्कन्छ । त्यसपछि बच्चा बन्ने प्रक्रियामा भ्रूण नै बन्दैन । त्यसैले महिलाको उमेर एकदमै महत्वपूर्ण छ । पछिल्लो समय पुरुषको पनि शुक्राणुको गुणस्तरीयता घट्दै गएको छ । ४५ वर्षपछि पुरुषमा पनि वीर्यमा समस्या देखिन्छ । यसको प्रमुख कारण बढी मात्रामा धूमपान, मद्यपान गर्ने, लागूऔषधको सेवन गर्ने र विदेश गएका नेपालीहरु अत्यधिक तातो स्थानमा काम गर्नुपर्ने बाध्यता पनि रहेको पाइएको छ ।

नेपाल परिवार नियोजन संघले पहिलो चरणमा कतिजनामा सेवा शुरु गरेको छ ?

नेपाल परिवार नियोजन संघले पहिलोपटक ७ जनामा शुरु गरेको र दोस्रो चरणमा अगस्तमा ८ जना महिलालाई आईभीएफ सेवा दिने तयारी गरिरहेका छौं ।

आईभीएफ सेवाका लागि परिवार नियोजन संघसँग सबै व्यवस्था उपलब्ध छ त ?

यसका लागि संघले मोडेल अस्पतालसँग सहकार्य गरेको छ ।
पहिलो चरणमा शुरु गरिएको सेवा कति जनामा सफल हुँदै छ र यसको सफलता दर कति हो ?
७ जनामा गरेकोमा २ जनामा सफल हुँदै छ र यसको सफलता दर विश्वमा नै ४० प्रतिशतसम्म हो ।

हाल यो सेवाका सम्बन्धमा थप के–कस्तो गरिँदै छ ?

संघका व्यवस्थापक डा. नरेशप्रताप केसीले प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक सबै प्रकारका क्लिनिकल सेवाका साथै असहाय, विपन्नका लागि निःशुल्क सेवा प्रदानका निम्ति जोड दिनुभएको छ । त्यसै गरी सुरक्षित गर्भपतन सेवा, वैवाहिक समानतामा निरन्तर पैरवी तथा परिवार व्यवस्थापनका सेवा निरन्तर जारी राख्नेमा उहाँले जोड दिनुभएको छ । उहाँ नेपाल सरकारको परिवार कल्याण महाशाखाको निर्देशकसमेत भैसक्नुभएकाले देशको अवस्था स्पष्ट छ । त्यसैले उहाँकै पहलकदमीमा आईभीएफ क्लिनिक सेवाका लागि रु. २ लाख ३० हजार शुल्क निर्धारण गरिएको छ । यही सेवा लिन परोपकार प्रसूति अस्पतालमा जाँदा २ लाख २० हजार तथा निजी अस्पतालमा रु. ३ लाखभन्दा माथि रहेको अवस्था छ ।

नेपालमा कतिजति दम्पतीहरु निःसन्तान समस्या भोगिरहेका छन् ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विवाहिता दम्पतीमध्ये २० प्रतिशतमा निःसन्तान हुने समस्या छ ।

निःसन्तानलाई सन्तान प्राप्तिका लागि चिकित्सा विज्ञानको सहायतामा के–के गरिन्छ ?
पाठेघरमा शिशु बन्ने प्रक्रिया हुन नसके आईभीएफ पद्धति प्रयोग गरिन्छ । आईभीएफ पद्धतिमा पूर्वतयारी, महिलाको अण्डा बाहिर झिक्ने र बाहिरीरूपमा विकसित भ्रूण उपकरणमार्फत पाठेघरमा पठाउने लगायतका चरण पूरा गरिन्छ । यस्तो अवस्थामा ट्युब, डिम्बाशय, हर्मोन अथवा पुरुषमा केही खराबी छ कि भनेर परीक्षण गरिन्छ । अनि मात्रै उपचार शुरू गरिन्छ । पहिलो चरणमा महिलाको पाठेघरको जाँच गरिन्छ । यसपछि महिनावारी हुनेबित्तिकै सुई लगाइन्छ र उनको डिम्बाशयलाई हर्माेनको माध्यमबाट विस्तार गरेर धेरै अण्डा बनाइन्छ । जति बेला डिम्बाशयमा अण्डा परिपक्व हुन्छ, त्यसलाई ३४–३५ घण्टापछि अण्डा बाहिर निकालिन्छ । शल्यक्रियाको माध्यमबाट बाहिर निकालिएको अण्डालाई इन्कुवेटर उपकरणमा वीर्यसँग उपयुक्त वातावरणमा संयोजन गराई प्रयोगशालामा राखिन्छ र भ्रूणमा विकास हुन्छ ।

एकपटकमा कतिवटा भ्रूण बनाउन मिल्छ ?

सामान्यतया ८ वटासम्म अण्डा निस्कन सक्छ । कुनै पुरुष विदेश जानुपर्ने अवस्था भएमा सन्तानको चाहना पूरा गर्न यो प्रक्रिया गर्न सकिन्छ । अण्डा र शुक्रकीट बैंकमा राखेको छ भने आफ्नो अनुकूल समयमा भ्रूणको विकास गरी पाठेघरमा राख्न सकिन्छ । यो दम्पतीबीचको सहमतिमा गरिने प्रक्रिया हो । यसरी सुरक्षित राखिएको अण्डा र शुक्रकीटबाट तयार गरिएको भ्रूण महिलाको अवस्था हेरेर ४ वटासम्म पाठेघरमा राखिन्छ । बाँकी बैंकमा सुरक्षित राखिन्छ । यदि पहिलोपटक सफल नभएमा अर्काेपटक बाँकी रहेकाबाट पुनः पाठेघरमा राखिन्छ । दोस्रोपटक पाठेघरमा भ्रूण राख्न पहिलोपटकमा जस्तो पूरै प्रक्रियामा जानुपर्दैन । कम खर्चिलो र सजिलो हुन्छ । दोस्रोपटकमा ४० प्रतिशत छुट हुन्छ । प्रयोगशालाको बैंकमा राखिएको भ्रूण राख्ने मात्र हो ।

भ्रूणको विकास भएको कति समयमा थाहा हुन्छ ?

भ्रूण पाठेघरमा राखेको ८ देखि १० हप्तापछि सामान्य गर्भवतीजस्तै थाहा हुन्छ । त्यसपछि सामान्य गर्भवतीलाई एक–एक महिनामा स्वास्थ्य संस्थामा बोलाएजस्तै आईभीएफ गरेकालाई पनि बोलाइन्छ । यस्तै सामान्य टिटानस खोप, आइरन र क्याल्सियम दिइन्छ । केही समस्या भएमा समय सान्दर्भिक सञ्चारमाध्यम (भाइबर आदि) बाटै परामर्श तथा औषधि सिफारिस पनि गरिन्छ ।

यो प्रक्रियाका लागि लामो समय लाग्छ कि ?

लाग्दैन, सबै परीक्षण गर्दा १० दिन र २ दिन अण्डा निकाल्न गर्दा १५ दिन लाग्छ भने १५ दिन सुरक्षाका दृष्टिकोणले निगरानीमा राख्छौं । शुरुका ३ महिना बढी निगरानीमा बस्न सल्लाह दिन्छौं ।

प्रयोगशालाको बैंकमा राखिएको भ्रूण अर्को व्यक्तिलाई पनि प्रयोग गरिन्छ कि ?

हो, कुनै–कुनै पुरुषको शुक्रकीट बन्दै नबन्ने अवस्था छ भने डोनर अण्डा–शुक्रकीट राखेर पनि गर्भमा राखिन्छ । यो वंशाणुगतरुपमा थाहा हुन्छ तर श्रीमान्–श्रीमतीबीचको सहमतिमा मात्र त्यसरी राख्न सकिन्छ ।

निःसन्तान दम्पतीलाई सरकारले कसरी सघाउन सक्छ ?

यो अत्यन्तै महत्वपूर्ण प्रश्न हो । नेपालको कुल विवाहित दम्पतीमध्ये २० प्रतिशतमा निःसन्तानको समस्या रहेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरिरहेकै छ । यो अवस्थामा सामाजिक, आर्थिक र मानसिक रुपमा नागरिकलाई अघि बढाउने दायित्व सरकारको हो । त्यसैले निःसन्तान दम्पतीका पीडामा मलमपट्टी लगाउने काम गर्न दक्ष जनशक्ति उत्पादन गर्न र सन्तान प्राप्तिका लागि गरिने कृत्रिम प्रक्रियाको शुल्कमा सहायता गर्न सक्छ । आईभीएफ सेवाका लागि आवश्यक पर्ने एन्ड्रोलोजी ल्याबमा प्रयोग हुने उपकरणमा राजस्व छुट गरेमा पैसा नहुनेले पनि सन्तान प्राप्तिको अवसर तथा खुशी पाउने थिए । सरकारले विभिन्न स्वास्थ्य क्याम्प गर्न÷गराउन र प्रचारप्रसार गरी निःसन्तानको खुशीमा खुशी हुन सके नेपालबाट विदेशिने करोडौं पैसा नेपालमै रहन्छ । आम सर्वसाधारणले पनि सहजै उपचार सेवा पाउने थिए ।

लैंगिक अल्पसंख्यकलाई ‘हर्मोनल क्लिनिक’
नेपाल परिवार नियोजन संघले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संविधानप्रदत्त हक संरक्षण गर्नका लागि समेत ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । यो सेवा पाउनेमा समलिंगी महिला, समलिंगी पुरुष, द्विलिंगी, पारालिंगी, अन्तर्लिंगी र ‘क्वेयर’ आदि पर्ने संघले जानकारी दिएको छ ।
संघले नेपालमा पहिलोपटक निःशुल्करुपमा यो सेवा शुरुवात गर्न लागेको बताएको छ । दक्षिण एसियामा गैरसरकारी संस्थाबाट ‘हर्मोनल क्लिनिक’ सञ्चालन गर्ने संघ पहिलो संस्था हुने भएको छ । संघका पैरवी अधिकृत जमुना सिटौलाले विशेष गरी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको आर्थिक एवं प्राविधिक सहयोगमा सो क्लिनिक सञ्चालनमा आउन लागेको हो । सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिलाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको संघले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका समानता र हक–अधिकार सुनिश्चित गर्न सञ्चालन गर्न लागेको ‘हर्मोनल क्लिनिक’ सेवाबाट ती वर्गलाई महत्वपूर्ण सहयोग पुग्ने संघका उपत्यका शाखा व्यवस्थापक शरद अर्याल बताउनुहुन्छ ।
नीलहीरा समाजमा आबद्ध स्वस्तिका लामाले भनिन्, ‘विशेष गरी ट्रान्स पारालिंगीले हर्मोनल क्लिनिकबाट सहयोग पाउँछन् । नेपालमा यो सेवा शुरुवात हुनु अत्यन्त सकारात्मक कुरा हो ।’ संघले गत पुस महिनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवी गर्न ‘विशेषज्ञ कार्य समूह’ गठन गरी विभिन्न काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्