तपाईंका घरमा हाम्रा डाक्टर



१. डाक्टर साब ! कोरोना गएको छैन, फेरि ‘मन्किपक्स’ नामको अर्को महामारी आइलाग्यो भन्ने हल्ला छ । भारतमा त धेरै नै बिरामी भेटिए रे ! अब नेपाल पनि जोखिममा छ भन्ने सुनिन्छ । यसबारेमा बताइदिनुभए आभारी हुने थिएँ ।

– सन्तोष पौडेल, स्याङ्जा ।

पौडेलजी, तपाईंले भनेको सही हो । मन्किपक्स भन्ने नयाँ रोग व्यापक बन्दै छ । मन्किपक्स भन्ने भाइरसले गराउने यो रोग बिफरको जीवाणुसँग मिल्दोजुल्दो छ । पहिले–पहिले ५०–६० को दशकमा पत्ता लागेको यो रोग खाली बाँदरमा मात्रै पाइन्थ्यो । यो रोग एकदमै दुर्लभजस्तै थियो । बढी मात्रामा अफ्रिकामा पाइने गथ्र्यो भने अरु देशमा करिब–करिब थिएन । तर अहिले समय बदलिएको छ । अब मान्छेको रोग भएर यो डर लाग्दो स्वरुपसहित देखा परेको छ । अमेरिकामा धेरै नै फैलिएर स्वास्थ्य संकटकाल नै घोषणा भयो भने युरोप अनि अस्ट्रेलियामा पनि देखा प¥यो । भारतमा पनि १५–२० जना पोजिटिभ बिरामी भेटिए भने एउटा त मृत्यु नै पनि भइसक्यो । त्यसैले अब नेपाल अछुतो रहला भन्न सकिएन । फेरि सरुवा हुनाले यो फैलिने कुरा पक्कै छ । यो रोग बिरामी भएको मान्छेबाट वा पशु (बाँदर) बाट सर्न सक्छ भने सर्ने माध्यम शारीरिक रस, रगत, घाउको पानी, पीप नै हुन् । यो रोग सरेपछि दुई हप्तादेखि चार हप्ताभित्रमा विकास हुन्छ । रुघाखोकीको साथमा डाबर, ठेला, फोका, पीपको फोका आउँछ अनि सबै सुकेर पाप्रा बनी झर्छ । यो मन्किपक्स आफंै ठीक भएर जाने भाइरल रोग हो । त्यसैले यसको निश्चित औषधि हँुदैन, खाली राम्रो स्याहार गर्ने हो । दोस्रो तहको संक्रमणको सम्भावना भएमा एन्टिबायोटिक्स चलाउने गरिन्छ । सबभन्दा महत्वपूर्ण कुरा भनेको यो रोग अरुलाई सर्न नदिनु र आफू पनि जसरी हुन्छ बच्नु हो । यो रोगबाट बच्ने भनेकै स्वास्थ्यसम्बन्धी नियममा बस्ने हो । साथै बिरामीको कपडा, घाउ, बिस्तारा आदिसँग सम्पर्क नगर्ने, साबुन–पानीले हात धुने, राम्ररी पकाइएको खानेकुरा मात्रै खाने, सुरक्षित यौनजीवन अपनाउने, परेमा कन्डोम प्रयोग गर्ने, नाक–मुख पूरै छोपिने गरी मास्क लगाउने गर्नुपर्छ । त्यसै गरी बिरामीको केयर गर्नेले वा स्वास्थ्यकर्मीले पीपीई लगाउने, बिरामीको सम्पर्कमा आउने सामान तथा फर्निचरहरु डिटोल, स्पिरिट वा साभलोनले निर्मलीकरण गर्ने गर्नुपर्छ । मन्किपक्सको शंका लाग्नासाथ तुरुन्त अलग्गै राखेर परीक्षण गर्न जरुरी छ ।

२. फेरि कोरोना चौथो लहरका रुपमा आउन लागेको जस्तो छ । मैले कोरोनाको खोप तीनपटक लगाइसकेको छु । के मैले अझै घरबाहिर जाँदा मास्क लगाउनै पर्छ त ? स्पष्ट पारिदिन अनुरोध गर्दछु ।

– गौतम बाँस्तोला, च पुर ।

बाँस्तोलाजी, कोरोनाको चौथो लहर शुरु भैसकेको भन्न सकिन्छ । किनभने सक्रिय संक्रमित ३ हजार नाघिसकेको अवस्था छ । दैनिक ६ सय हाराहारी थपिँदै छन् । साथै मृत्यु पनि एक–दुईजना दैनिक भएको सूचना आइरहेको अवस्थामा व्यक्तिगत अनि सामाजिक सुरक्षाका उपायहरु पहिलेजस्तै अपनाउनुपर्ने देखिन्छ । जहाँसम्म तीनवटा भ्याक्सिन लगाइसकेको कुरा गर्नुभयो, अहिले संक्रमित देखिनेमा ७० प्रतिशतले तीनपटक खोप लगाइसकेका नै छन् भनिएको छ । त्यस्तै कोरोनाको फैलावट हुने तरिका अनि कारण सबैलाई राम्रै थाहा भैसकेको कुरा हो । मास्क लगाउनु आफूलाई बचाउनु त भैहाल्यो, त्यसको साथै अरुप्रतिको जिम्मेवारी पनि हुन्छ । त्यसबाहेक भीडभाडमा नजाने, मास्क सधैँ लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, रुघाखोकी लाग्यो वा ज्वरो आयो भने आफू अलग्गै बस्ने, पीसीआर टेस्ट गर्नेजस्ता क्रियाकलाप गर्न जरुरी देखिन्छ । हुन त पहिलेको जस्तो डरलाग्दो अवस्था अहिले भैसकेको छैन, बिरामीहरु पनि पहिलेको जस्तो नभई कम सिकिस्त हुने गरेका छन् । यसो भन्दैमा हेलचेक्र्याइँ गर्नुुहुँदैन । जटिलता भएर मृत्युसम्म पनि भएका छन् । त्यसैले तपाईंले सधैँ मास्क लगाउनुस्, साथै अन्य उपाय पनि अवलम्बन गर्नुहोस् ।

३. अचेल धेरैलाई सुगर रोग भएको सुनिन्छ, जीवनभर औषधि खानुपर्छ रे ! के यो रोगबाट बच्ने उपाय छैन त ? उपाय बताइदिनुभए आभारी हुने थिएँ ।

– सुरज शाक्य, धुलिखेल, काभ्रे ।

शाक्यजी, तपाईंले भनेको शतप्रतिशत सही हो । अहिले हाम्रो समाजमा सुगरको महामारीजस्तै छ । हरेक परिवारमा जस्तै सुगर भएका मानिस भेटिन्छन् । जसलाई सोध्यो, जो भेट्यो, भनिहाल्छन्– मलाई सुगर छ, औषधि खाएको यति भयो, उति भयो । हाम्रो शरीरमा ऊर्जाको आवश्यकता पूरा गर्न खाएको खानेकुरा, त्यसमा पनि सुगरजन्य कुरा कोषिकाभित्र गएर ऊर्जा बन्छ अनि हाम्रो जीवन सम्भव छ । हो, त्यही सुगरजन्य खाना कोषिकाभित्र जाने बाटो खोल्ने काम गर्ने इन्सुलिनको कमी भएमा सुगर कोषिकामा नगई रगतमा अथवा कोषिकाबाहिर नै थुप्रिने गर्छ । यसले गर्दा रगतमा चिनीको मात्रा बढ्ने अवस्था हुन्छ । यही अवस्थालाई नै सुगर भएको भनिन्छ । इन्सुलिन बनाउने प्यान्क्रियाज भन्ने ग्रन्थिको इन्सुलिन उत्पादन मात्रात्मक वा गुणात्मकरुपमा कमी भएर यो अवस्था आउँछ । के स्पष्ट हुन जरुरी छ छ भने, यो चिनीरोग नियन्त्रणमा ल्याउन सकिए पनि पूरै निर्मूल हुन सक्दैन । बरु राम्रो व्यवस्थापन गरेमा सुगर नभएको जस्तै गरी जीवन निर्वाह गर्न सकिन्छ । यो रोग औषधि नखाँदै जीवनशैली सुधारेर नियन्त्रण गर्न पनि सकिन्छ । जीवनशैलीले मात्रै नियन्त्रण नभएमा जीवनशैली सुधारका साथै औषधि सेवन गरेर नियन्त्रण गर्न सकिन्छ । तसर्थ उपचार जीवनभर नै गर्नुपर्छ भन्ने कुरा बिर्सनुहुँदैन । जीवनशैली मात्रै सुधारेर किन नहोस् अथवा औषधि खाएर नै किन नहोस्, यो समस्या नियन्त्रण गर्न, ढिलो शुरु हुने गराउन अथवा देखा नै नपर्ने परिवेश मिलाउन, भैहालेको भए तापनि जटिलता हुनबाट रोक्न सम्भव छ । तर जीवनशैली इमानदारिताका साथ सुधार्ने र यसलाई नियमितता गर्ने प्रण गर्नै पर्छ ।

४. म २४ वर्षीय युवा हुँ । मेरो हत्केलापछाडिको भागमा धेरै मुसा देखिएका छन् । हटाउन घरेलु उपायहरु गरेँ, झन् बढेर आएजस्तो लाग्यो । यसलाई स्थायी रुपमा हटाउन के गर्नुपर्ला ? सुझावको लागि अनुरोध गर्दछु ।

– विनय कार्की, बालाजु, काठमाडौं ।

कार्कीजी, हत्केलाको पछाडिको भागमा मुसा देखिनु भनेको सबैले देख्ने, थाहा पाउने, सुन्दरतामा आँच आउनेसमेत भएकाले सही उपचार गर्ने अहं कुरा हो । मुसाको प्रकृति अनुसार यो भाइरस भन्ने जीवाणुको कारणले हुन्छ । यसलाई आफैं ठीक पार्छु भनेर काट्ने, ताछ्ने, निचोर्ने गर्दा त्यो निस्कने रगत वा रसले झन् फैलिने हुन्छ । हाम्रा घरेलु उपायहरु सधैँ ठीकठाक नहुन सक्छन् । सतर्कता भएन भने जहाँ–जहाँ रगतको सम्पर्क हुन्छ त्यहाँ–त्यहाँ झन् फैलिएर जान्छ । शायद तपाईंको पनि त्यस्तै भयो होला । यसलाई स्थायी रुपमै हटाउन सम्भव छ तर छालारोग विशेषज्ञको सल्लाह तथा उपचार अपनाउनुपर्ने हुन्छ । उहाँहरुले त्यो मुसा डाम्ने, मिलाएर निकाल्ने, अरुतिर सर्न नदिने जस्ता व्यावहारिक कुराहरु वैज्ञानिक हिसाबले गर्नुहुन्छ । तपाईं काठमाडौंमै भएको हुनाले वीर अस्पताल वा शिक्षण अस्पतालमा गएर छाला विभागमा सम्पर्क गर्नुभएमा समस्या समाधान हुनेछ ।

 

५. म ५६ वर्षको भएँ । मलाई राम्ररी पिसाब नआउने समस्या हुन थालेको छ । पिसाब अड्किने समस्याले तनाव हुन थालेको छ । यसको उपचारका लागि कहाँ सम्पर्क गर्नुपर्ला ?

– हरिहरदेव, लमजुङ ।

हरिहरदेवजी, तपाईंको भनाइ अनुसार प्रोस्टेट भन्ने ग्रन्थि बढेजस्तो लाग्यो । लोग्ने मान्छेहरुमध्ये ४० प्रतिशतमा पिसाब थैलीको घाटीमा अवस्थित प्रोस्टेट भन्ने यौन ग्रन्थि उमेर ढल्केसँगै अर्थात् ५०–५५ वर्ष नाघेपछि बढ्ने हुन्छ । यसमध्ये ०.०५ प्रतिशतमा त्यो बढेर क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । पहिले–पहिले यो समस्या भएका मान्छेहरु उपचार नपाएरै मर्ने अवस्था थियो तर आजकल विज्ञानले उपचार अनि समाधान निकालेको छ । सम्बन्धित विज्ञले परिवेश अनि अवस्था अनुसार उपचार विधि तय गरेर बिरामीलाई आवश्यक परामर्शसहित उपचार गर्छन् । त्यसैले यसका लागि युरो शल्यचिकित्सक भेटेर सल्लाह गर्न सकिन्छ । पोखराको सरकारी अस्पतालमा वा काठमाडौंमा आएर वीर अस्पताल वा शिक्षण अस्पतालमा युरोलोजिस्टलाई भेट्नुस् ।

 

६. म ३३ वर्षकी भएँ । विवाह गरेको ४ वर्ष भयो । हामीले सन्तानको चाहना राखे पनि तीन–चार महिनामा नै गर्भ खस्ने समस्या भइरहेको छ । यो समस्याको निराकरणका लागि मैले के गर्दा ठीक होला ? सुझावको अपेक्षा गर्दछु ।

– राधा काफ्ले, त्रिशूली, नुवाकोट ।

काफ्लेजी, त्यस्तो गर्भ नरहने र तीन–चार महिनामै खस्ने समस्या भएमा सम्बन्धित विशेषज्ञहरुबाट राम्रोसँग परामर्श लिनुपर्ने देखिन्छ । जस्तो– महिलासम्बन्धी समस्याको लागि स्त्रीरोग विशेषज्ञ देखाउनुपर्ने हुन्छ भने हर्मोन (थाइराइड वा अन्य यौन हर्मोन) गडबडीको बारेमा स्पष्ट हुन इन्डोक्रिन विशेषज्ञलाई देखाउनुपर्ने हुन्छ । त्यस्तै अन्य कुनै–कुनै सल्लाह फिजिसियनसँग पनि गर्नुपर्ने हुन्छ । यी त भए व्याख्यात्मक कुरा । वास्तविकतामा तपाईंको बिहे भएको त्यति धेरै भएको छैन । त्यस्तो गर्भ खस्ने पनि एकपटक हुँदैमा आत्तिनुपर्ने हुँदैन । नर्मल मान्छेमा नर्मलरुपमा सन्तान भैहाल्छ । त्यसैले सकारात्मक सोच्नुस्, आशावादी हुनुहोस्, चिकित्सकीय परामर्श पनि गर्दै गर्नुहोस् । तपाईंको चाहना निश्चय पूरा हुनेछ ।

७. मेरो उमेर ४३ वर्ष भयो । मेरो हातको औँला ढोकामा च्यापिएर घाउ भएको दुई महिनाजति भयो । साधारण घरेलु उपचार गरेँ तर निको भएको छैन । अब मैले के गर्दा उचित होला ?

– सुन्दर श्रेष्ठ, धादिङ ।

श्रेष्ठजी, औंला च्यापिएर घाउ भएको हुँदा बेलैमा स्वास्थ्य संस्था गएर उचित उपचार गर्नुपथ्र्यो, त्यो त गर्नुभएन नै । त्यसमाथि दुई–दुई महिना त्यसै बस्नु पनि गल्ती नै देखियो । त्यस्ता घाउको उपचारमा घरेलु उपचार मात्रै अपनाए पनि वैज्ञानिक तर्कसंगत हुनुप¥यो नि ! हरियो घाँसको हरियो रस निचोरेर राख्ने, कपुर पोलेर खरानी राख्ने, गाईको गोबर राख्नेजस्ता वा अन्य यस्तै घरेलु उपचार गरेमा धेरै नै डर लाग्दो परिस्थिति पनि आउन सक्ने हुन्छ । त्यस्तो घाउ भएमा डिटोल–पानीले वा स्पिरिट वा रक्सीले धोएर सफा गर्ने अनि सफा कपडाले छोपेर अस्पताल वा स्वास्थ्य चौकी गएर देखाउनुपर्ने हुन्छ । त्यसैले अब जति सक्यो छिटो नजिकको अस्पतालमा गएर शल्यचिकित्सक देखाइहाल्नुस् ।

८. मेरो शरीरको तौल ९२ के.जी. भएको छ । डाक्टरले तौल घटाउन सुझाव दिएपछि सधैँ बिहान आधा घण्टा हिँड्ने गरेको छु । तैपनि तौल घटेको छैन । तौल घटाउने उपाय बताइदिन अनुरोध गर्दछु ।

– सुरेश चौरसिया, कपिलवस्तु ।

चौरसियाजी, शरीरमा तौल बढाउन सजिलो छ तर घटाउन गाह्रो छ । यसको लागि मनैदेखि तयार हुनुप¥यो, नियममा बस्ने प्रण गर्नुप¥यो, तौल घटाउने प्रक्रिया वा क्रियाकलापलाई निरन्तरता दिनुप¥यो । अस्थायी किसिमले दुई–चार दिनको रमाइलो गरेजस्तो एक–आधा घण्टा हिँडेर तौल घट्ने होइन भन्ने कुरामा स्पष्ट हुनुप¥यो । यदि वास्तवमै तौल घटाउनको लागि लागिपर्ने हो भने ऊर्जाको सन्तुलनका बारेमा केही जानकारी भएमा सहज हुनेछ । शरीरको तौल घटाउनको लागि सधैँ शरीरमा ऊर्जाको सन्तुलन ऋणात्मक राख्नुपर्ने हुन्छ । त्यसको अर्थ खानेकुरा खाएर जति ऊर्जा शरीरमा आपूर्ति हुन्छ, त्यो मात्रा जति सक्यो कम हुनुप¥यो । साथै शरीरमा प्राप्त हुने ऊर्जा निर्यात वा खर्च हुनुप¥यो । शारीरिक व्यायाम गरेर वा गेम खेलेर वा हिँड्ने, दौडिने गरेर शरीरको ऊर्जा खर्च गर्न सकिन्छ । आपूर्तिभन्दा अधिक खर्च भयो भनेमात्र तौल घट्न थाल्छ । तर ऊर्जा सन्तुलन मिलाउँदा पनि तौल घट्न समय लाग्ने हुन्छ । किनभने धेरै ऋणात्मक गर्न पनि सकिँदैन वा गर्नु पनि हुँदैन । सकेजति प्राकृतिक रूपमा वा त्यसको नजदिक रहेर ऊर्जा सन्तुलन ग¥यो भने शरीरलाई त्यो पाच्य अनि सहज हुन्छ । त्यसको मतलब बढी ऊर्जादायक चिल्लो पदार्थ सकेसम्म नखाने वा धेरै नै कम खाने गर्नुपर्छ । साथै चामल, आलुजस्ता ऊर्जादायक खानेकुरा पनि नियन्त्रित रुपमा खाने गर्नुपर्छ । कम ऊर्जादायक साग, सलाद, फलफूल, मकै, गहुँ, जौ, कोदो, फापर ठीक मात्रामा खाने गर्नुपर्छ । यी कुराहरुसहित उमेर अनुसार शरीरमा पसिना आउने गरी दिनको एक–दुईपटक कम्तीमा एक–एक घण्टा शारीरिक व्यायाम गर्ने ग¥यो भने तौल नघट्ने भन्ने कुरै हुँदैन । अर्को कुरा, तौल उचाइ अनुसार ठिक्क राख्नुपर्ने हुन्छ । यहाँको उचाइ त थाहा भएन तर पनि धेरै नै तौल भएकोले २०–२५ केजीसम्म घटाउनुपर्ने देखिन्छ । घटेको तौल नियमित अनि करिब–करिब प्राकृतिक रुपमा भएमा त्यो दिगो हुन्छ । त्यसका लागि दिइएको यो सल्लाह भने निरन्त अपनाउनुपर्ने हुन्छ ।

९. मेरो आँखामा कुनै समस्या छ जस्तो लाग्दैन, हेर्दा सबै कुरा प्रस्ट नै देख्छु तर कहिलेकाहीँ कुनै–कुनै रङ्गका वस्तु नदेखेजस्तो लाग्छ । यो आँखाको रोग हो कि होइन ? हो भने कहाँ उपचार गर्नुपर्ला ? बताइदिनुभए आभारी हुने थिएँ ।

– रुपेश राना, गाईघाट, बोक्से ।

रानाजी, आँखाले फरक–फरक रंगको वस्तु नदेखेको महसुस भएमा ‘रंग दृष्टिदोष’ ९ऋययिगच ख्ष्कष्यल एचयदझि० भन्ने समस्या हुन सक्ने देखिन्छ । कहिलेकाहीँ मात्रै त्यस्तो हुने भनेकाले यो समस्या शुरुवाती अवस्थाजस्तो लाग्छ, जसको उपचार पनि सहज तथा फलदायी हुन सक्ने कुरा स्पष्ट हुन्छ । यो सरसर्ती बुझ्दा आँखाकै समस्याजस्तो लाग्छ । सकेसम्म आँखाकै चिकित्सकलाई मिलेसम्म सुविधा सम्पन्न आँखाकै अस्पतालमा देखाएमा सहज अनि पूर्ण उपचार हुनेछ । त्यसको लागि एकपटक काठमाडौंमा आएर तिलगंगा आँखा अस्पताल वा त्रिपुरेश्वरको आँखा अस्पताल वा शिक्षण अस्पताल परिसरमा अवस्थित बीपी कोइराला आँखा केन्द्र, जहाँ सजिलो हुन्छ त्यहाँ देखाउन सल्लाह दिइन्छ ।

१०. मेरो श्रीमान् सुतेपछि असाध्य घुर्ने भएकाले मेरो निद्रा प्रायः गडबड भइरहन्छ । घुर्ने समस्या नियन्त्रण गर्ने कुनै उपाय छैन डा. साब ?

– कुन्ता, ललितपुर ।

कुन्ताजी, यो संसारमा ८०–९० प्रतिशत पुरुषहरु घुर्छन् भने १०–२० प्रतिशत महिला घुर्ने गर्छन् । यो अत्ति नै व्यापक समस्या मानिन्छ । यो व्यापक भएजस्तै यसलाई सहने, घुलमिल हुने, पचाउने गरेर व्यवस्था भएकै पनि पाइन्छ । यहाँले भनेजस्तै यदि पार्टनर हल्का तथा सतही निद्रावाला परेमा वा संवेदनशील भएमा निद्रा गडबड हुन सक्ने नै भयो । घुर्ने कारणमा निश्चित यही भन्ने नभए पनि अधिकत्तर मोटोपना, दमको समस्या, श्वासनलीमा विभिन्न कारणले अवरोधलाई मुख्य मानिएको छ । त्यसमा पनि मोटोपनाले यो समस्या बढी हुने गरेको पाइन्छ । यदि तौलको समस्या नै यसको कारण हो जस्तो भएमा प्राकृतिक रुपमा तौल नियन्त्रण गर्नु जरुरी छ । उत्तानो सुतेको भए कोल्टे सुत्न सल्लाह दिनुपर्छ । यसबाहेक घुर्नासाथ झकझक्याएर उठाउने र सम्झाउने गरे पनि घुर्न छोड्ने वा कम गर्ने पाइएको छ । तपाईं ललितपुरमा नै भएकोले एकपटक छातीरोग विशेषज्ञ तथा नाक, कान, घाँटी रोग विशेषज्ञसँग पनि परामर्श गर्नुभएमा धेरै लाभदायी सल्लाह पाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्