गर्भावस्थामा रक्तचापको समस्या



प्रा.डा. सुमनराज ताम्राकार

अहिले दैनिकजसो प्रसूति रोग वार्डमा राउन्ड लिने क्रममा उच्च रक्तचापबाट ग्रसित गर्भवती महिलाहरु निकै भेटिन्छन् । त्यसो त गर्भवतीका समयमा मेडिकल समस्याहरुबाट प्रताडित हुने महिलाहरुमध्ये उच्च रक्तचाप पनि एक हो ।

  गर्भवती महिलाहरुमध्ये करिब ७ देखि १० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिन्छ ।

गर्भावस्थाको २० हप्तापछि गर्भवती महिलाको रक्तचाप १४०-९० भन्दा बढी भयो तथा पिसाबमा प्रोटिन (एल्बुमिन) देखा प-यो भने रक्तचापको समस्या मान्नुपर्दछ । गर्भवती महिलामा देखा परेको उच्च रक्तचापलाई रक्तचाप बढेको तर पिसाबमा प्रोटिन देखा नपरेको, उच्च रक्तचापका साथै प्रोटिन पनि देखा परेको तर कम्पन नछुटेको तथा कम्पन पनि छुटेको गरी थप तीन प्रकारमा बाँड्न सकिन्छ ।

उच्च रक्तचापका कारक तत्व

पहिलोपटकको गर्भमा गर्भवती महिलाको उमेर कम वा बढी भएमा, परिवारमा कसैलाई वा सगोलका दिदी–बहिनीलाई वा आपैंmलाई पनि पहिलेको गर्भमा रक्तचाप भएकोमा, सालमा कुनै खराबी भएमा, कुनै कारणवश सालको आकार ठूलो भएमा (जुम्ल्याहा हुँदा, दम्पतीबीच रगतको समूह नमिल्दा, मधुमेहको समस्याले), सालमा यथेष्ट मात्रामा रगतको बहाव नपुगेमा, सग्लो गर्भ नरहेर अंगुरको दानाजस्तो हुने मोलार गर्भ भएमा, जन्मान्तरबीच केटा पार्टनर फरक भएमा, पहिलेदेखि रगतको नशा वा मृगौलाको समस्या भएकामा, रगत जम्ने समस्या भएका महिलामा उच्च रक्तचापको समस्या देखा पर्ने सम्भावना बढी हुन्छ ।

गर्भावस्थामा रक्तचापको समस्या समयमै पत्ता लगाउन सकियो र चिकित्सकको निगरानीमा रहेर आवश्यकता अनुसारको ल्याब टेस्ट तथा सल्लाहहरु मान्यो भने उच्च रक्तचापका कारण थप कुनै खतरा हुँदैन । तर त्यसको लागि नियमित गर्भजाँच गराउनुपर्ने हुन्छ । पटक–पटकको गर्भवती जाँचको क्रममा रक्तचाप नाप्ने क्रममा रक्तचाप बढे-नबढेको पत्ता लाग्छ । रक्तचापको अलावा कहिलेकाहीँ गोडा सुन्निने, टाउको दुख्ने, निद्रा गडबड हुने, आँखा धमिलो हुने, पेटको माथिल्लो भाग पोल्ने, असामान्य तवरले तौल बढ्ने, गर्भाशयको बच्चा सानो हुनेजस्ता लक्षण चिह्नहरु पनि देखा पर्न सक्छन् ।

गर्भवती महिलामा कुनै कारणले उच्च रक्तचापको समस्या देखिए पनि रक्तनलीको भित्री तहमा खराबी आउनाले तथा रक्तनली अत्यधिक खुम्चिनाले गर्भवती महिलाका धेरै अङ्गहरु (साल, मृगौला, रक्तनलीहरु, कलेजो, गिदी, मुटु, फोक्सो आदि) लाई नकारात्मक प्रभाव पार्दछ । उच्च रक्तचापले ग्रसित गर्भवती महिलामा रगतमा कलेजोको काम गराइ, मृगौलाको काम गराई तथा युरिक एसिड, हेमोग्लोबिन, प्लेटलेट्स, रगत जम्ने पदार्थको मात्रा, पिसाबको जाँच, आँखाको पर्दाको जाँच, अल्ट्रासाउन्डमा गर्भेशिशुको तौल, त्यसवरिपरि पानीको मात्रा, गिदीको तथा सालको रक्तनलीमा रगतको बहाव आदि परीक्षण गराउनुपर्दछ ।

गर्भवती महिलाको रक्तचाप १६०-११० सम्म वा बढेको आधारमा रक्तचापको समस्या सामान्य वा गम्भीर खालको हो भनी छुट्याइन्छ । गम्भीर खालको रक्तचापको समस्या भएकी महिलालाई अस्पतालमा भर्ना राखेरै थप जाँच पड्ताल तथा उपचार गर्नुपर्दछ । गम्भीर खालको रक्तचाप नियन्त्रणका लागि उच्च रक्तचापविरुद्धको औषधि शुरु गर्नुपर्ने हुन्छ । यदि गम्भीर खालको रक्तचाप समयमै आवश्यक उपचार गरिएन भने गर्भवती महिलामा कम्पन छुट्ने समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा आमा तथा बच्चा दुवैको ज्यान जोखिममा हुन्छ ।

विभिन्न उपचारका बाबजुद गर्भवती महिलामा रक्तचाप नियन्त्रणमा आएन भने डेलिभरी गराउनतर्पm लाग्नुपर्दछ । गर्भावस्थाको अवधि, गर्भेशिशुको फोक्सोको परिपक्वपना र पाठेघरको मुखको स्थितिको आधारमा नर्मल डेलिभरी वा सिजेरियन अपरेसनको निक्र्यौल गरिन्छ ।

के हो इक्लेम्पसिया ?

गर्भावस्थामा उच्च रक्तचाप बेलैमा नियन्त्रणमा राखिएन भने वा उच्च रक्तचापको जटिलता बढ्दै जाँदा कम्पन छुट्ने समस्या हुन सक्छ । यसलाई मेडिकल भाषामा इक्लेम्पसिया भनिन्छ । कम्पन छुट्ने समस्या उत्पन्न भएमा अस्पतालमै सम्बन्धित विशेषज्ञको निगरानीमा उपचार गराउनुपर्ने हुन्छ । गम्भीर खालको रक्तचापको समस्या भएकी महिलालाई इक्लेम्पसिया हुने सम्भावना निकै बढी भए पनि कसै–कसैमा सामान्य मात्रामा रक्तचाप हुँदा पनि इक्लेम्पसिया हुने गरेको छ ।

उच्च रक्तचापबाट ग्रसित गर्भवती महिलालाई प्रायः अस्पतालमा उपचार गराउन ल्याउने हुनाले अस्पतालहरुको तथ्याङ्क अनुसार सालाखाला ३० देखि ५०० जना उच्च रक्तचाप भएका महिलामध्ये एकजनालाई कम्पन छुट्ने (इक्लेम्पसिया) जस्तो जटिलता देखा पर्दछ । गर्भवती महिलामा उच्च रक्तचापको अलावा गोडा अधिक सुन्निने, टाउको दुख्ने, निद्रा गडबड हुने, पेटको माथिल्लो भाग पोल्ने, आँखा धमिलो हुने, असामान्य तवरले तौल बढ्नेजस्ता लक्षण चिह्नहरु इक्लेम्पसिया हुन लागेको अर्थात् कम्पन आउन लागेकोको पूर्वसूचकहरु हुन् ।

गर्भवती महिलामा उच्च रक्तचापको कारण गिदीमा रगतको बहाव कम हुनु, गिदी सुन्निनु वा गिदीको इलेक्ट्रिकल चालमा गडबडी हुनु कम्पन छुट्नाको कारण मानिन्छ । करिब ५० प्रतिशत गर्भवती महिलामा यस्तो कम्पन सुत्केरी व्यथा शुरु नहुँदै हुने भए पनि ३० प्रतिशतमा सुत्केरी हुँदाहुँदै र २० प्रतिशतमा बच्चा पाएको ७ दिन (प्रायजसो ४८ घण्टाभित्र) हुन्छ । छारेरोग, हिस्टेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस, गिदीको रक्तनलीमा रगत जम्नु, विष सेवन, गिदीलाई असर गर्न सक्ने खालको औलोरोग गर्भवती महिलामा कम्पन छुट्न सक्ने अन्य कारणहरु भए पनि अरु कारण नखुिट्टएसम्म इक्लेम्पसियालाई कम्पन आउनाको प्रमुख कारण मान्नुपर्दछ ।

इक्लेम्पसियाको कम्पन आउँदा पनि सामान्य छारेरोगमा जस्तै काम्नुपूर्व बिरामीको व्यवहारमा परिवर्तन आउने, शरीर कडा हुने, कम्पन छुट्ने अनि बेहोस हुने हुन्छ । उच्च रक्तचापले जस्तै इक्लेम्पसियाले पनि गर्भवती महिलाको मृगौला, रक्तनलीहरु, कलेजो, गिदी, मुटु, फोक्सो आदिलाई नकारात्मक असर पु-याउँछ । एकपटक कम्पन आएपछि गर्भवती महिला तथा गर्भेशिशुको स्वास्थ्य यसै भन्न सकिन्न । कम्पन आएदेखि उपचार पाउनसम्म ढिलाइ भयो, सुत्केरी हुन बढी समय लाग्यो, १० पटकभन्दा बढी पटक कम्पन आयो, ज्वरो धेरै (१०२ डिग्रीभन्दा बढी) आयो, नाडीको चाल १२० भन्दा बढी भयो, माथिल्लो रक्तचाप २०० भन्दा बढी भयो, पिसाब कम भयो, मेडिकल उपचारले छोएन वा जन्डिस पनि देखा प-यो भनेचाहिँ स्थिति राम्रो हुँदैन भन्ने बुभ्mनुपर्दछ ।

इक्लेम्पसिया भएको महिलाको मुटु फेल खाएर, फोक्सो सुन्निएर, बेहोसीमा बान्ता गर्दा सर्किएर, गिदीमा रक्तश्राव भएर, पिसाब पटक्कै नभएर, अचेत भएर वा संक्रमण भएर अकालमा मृत्यु हुन सक्छ भने महिना नपुग्दै जन्म भएकोले, बच्चा पाउनुपूर्व कम्पनको कारणले साल छुट्टिएर गर्भेशिशुलाई यथेष्ट रगत (अक्सिजन) को आपूर्ति नपुगेर, कम्पन रोक्न आमालाई दिइएको औषधिको नकारात्मक असरले तथा यस्ता खाले बच्चाको सुत्केरीका लागि अपरेसनको जरुरत पर्ने कारणले गर्भेशिशुको मृत्यु हुने सम्भावना बढी हुन्छ ।

इक्लेम्पसिया भएका बिरामीको उपचार विशेषज्ञको निगरानीमा मात्र गर्नुपर्ने हुन्छ । शिशुलाई सघन कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था आउने हुनाले दुर्गमका स्वास्थ्यकर्मीहरुले पनि प्राथमिक उपचारको प्रक्रिया पु-याएर यथाशक्य सम्प्रेषण (रेफर) गर्नुपर्दछ ।

यस क्रममा सम्बन्धित अस्पताल नपुगुन्जेल बाटोमा देब्रे कोल्टे सुताउने, चिउँडो अलिकति तान्ने, ओठ टोकिएला भनेर मुखमा कुनै पनि बाह्य वस्तु नराख्ने, श्वासप्रश्वास क्रिया सहज हुने गरी राख्ने, अक्सिजन दिने, सलाइन चलाउने, पिसाबको पाइप राखिदिने गर्नुपर्दछ ।

अधिकतररुपमा कम्पन रोक्ने डाइजेपाम तथा अन्य निद्रा लाग्ने औषधि दिएमा गर्भेशिशुलाई नकारात्मक असर पर्न जान्छ । त्यसो भएर पटक–पटक कम्पन नआओस् भन्नका लागि म्याग्नेसियम सल्फेट नामक कम्पन रोक्ने उपयुक्त औषधि दिनुपर्ने हुन्छ । इक्लेम्पसिया भएको अर्थात् कम्पन छुटेको १२ घण्टाभित्र सुत्केरी गराइसक्नुपर्ने हुनाले चाँडोभन्दा चाँडो अस्पताल पु-याउनुपर्दछ ।

अस्पतालमा इक्लेम्पसिया भएका महिलामा पनि रगतमा कलेजोको काम गराइ, मृगौलाको काम गराइ, प्लेटलेट्स, रगत जम्ने पदार्थको मात्रा, युरिक एसिड, पिसाबमा एल्बुमिन छ-छैन तथा कति बढी मात्रामा छ, आँखाको पर्दाको जाँच, अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरे लगायतका ल्याब टेस्टहरु तुरुन्त गराइन्छ ।

कम्पन छुटेको बिरामीमा त्यत्तिकै पनि सुत्केरी व्यथा शुरु भइसकेको हुन्छ । त्यसैले अस्पतालमा पु-याइसकेपछि गर्भावस्थाको अवधि र पाठेघरको मुखको प्रकृति हेरीकन उपचारमा संलग्न विशेषज्ञ चिकित्सकले योनिद्वारबाट पाउन सकिने-नसकिने वा सिजेरियन अपरेसनको जरुरत पर्ने निक्र्यौल गरिन्छ ।

गर्भावस्थामा साल पाठेघरमा रहुन्जेल रक्तचाप घटाउन गाह्रो हुने र सुत्केरीपछि सालनाल पनि निस्केपछि फेरि–फेरि कम्पन आउने तथा रक्तचाप पनि ठीक ठाउँमा आउने हुनाले रक्तचाप भएकी गर्भवती महिलामा इक्लेम्पसिया लगायतका थप समस्या देखा परेको खण्डमा बच्चा (जिउँदो वा मृत) निकाल्न अनावश्यक ढिलाइ गर्नुहुँदैन । यस्ता खाले बिरामीमा सुत्केरीपछि पनि संक्रमण लगायतका समस्याहरु देखा पर्ने र पछि–पछिका गर्भमा पनि यस्तो समस्या दोहोरिन सक्ने हुनाले बिरामी निको भएर डिस्चार्ज हुने बेलामा राम्ररी सल्लाह दिनुपर्दछ । साथै सुत्केरीको २ हप्तापछि रक्तचाप चेकअप गर्न फिजिसियनकहाँ र ६ हप्तापछि सुत्केरीपश्चात्को जाँच अनिवार्यरुपमा गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्