नयाँ मंकीपक्सको न्वारान



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विज्ञहरूको सिफारिस अनुसार मंकीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । नयाँ भेरियन्ट पनि धेरै प्रकारका रहेको र ती मध्ये केही मुख्य भेरियन्टहरुको नाम कङ्गो बेसिन क्लेड, क्लेड वान, क्लेड टु, क्लेड टु ए र क्लेड टु बी रहेको जनाइएको छ । मंकीपक्स फैलिएको स्थानका आधारमा यसको भेरियन्ट फरक–फरक भएको र नाम पनि त्यही अनुसार फरक–फरक राखिएको विज्ञहरुको टोलीले जानकारी दिएको छ ।

शुरुमा मंकीपक्स देखिएको पुष्टि भएको बेला सन् १९५८ मा पहिलोपटक नामाकरण गरिएको थियो । अहिले त्यसको परिवर्तित स्वरुप फैलिँदै गएको विज्ञहरुले बताएका छन् । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मंकीपक्सको स्वरुप र चरित्र बदलिएकाले परिवर्तित भाइरसको नाम पनि नयाँ राख्नुपरेको अधिकारीहरुको भनाइ छ ।

सांस्कृतिक तथा सामाजिक कारणले मंकीपक्सलाई बेवास्ता गरिएको र यसको असर विश्वभरि बढ्दै गइरहेको डब्लुएचओले जानकारी गराएको छ । मंकीपक्स नयाँ–नयाँ भेरियन्टका साथ विश्वका धेरै देशमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले पनि सार्वजनिक स्वास्थ्यको चुनौतीको रुपमा यसलाई घोषणा गरेको छ । मंकीपक्स अहिलेसम्म विश्वका ८९ देशमा फैलिएको, केहीको मृत्यु भएको र हजारौँ संक्रमित भएको संगठनले जनाएको छ ।

अफिनको नयाँ कार्यसमिति

निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) कोे हालै सम्पन्न २२ औं साधारण सभाले डा. पदम खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष खड्का कास्की सेवा हस्पिटल पोखरामा कार्यरत हुनुहुन्छ । खड्काले ७२ मत ल्याउनुभएको थियो भने अध्यक्षका प्रत्यासी अल्का अस्पतालका अध्यक्ष तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष कुमार थापाले २१ मत ल्याउनुभएको थियो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केयर अस्पतालका हरिप्रसाद रिजाल चयन हुनुभएको छ । प्रदेश उपाध्यक्षमा बागमतीमा नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरका प्रा. श्यामकृष्ण जोशी, कर्णालीमा गुरुङ हस्पिटल प्रालिका भीमबहादुर गुरुङ, सुदूरपश्चिममा पद्मा अस्पताल प्रालिका गजेन्द्रवीर चन्द, लुम्बिनीमा कौशिला मेमोरियल अस्पतालका चन्द्रबहादुर महतो र गण्डकीमा तनहुँ सेवा हस्पिटलका हरिबहादुर खड्का विजयी भएका छन् ।

महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल र कोषाध्यक्षमा स्वरूपा श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ । उहाँ यसअघि पनि सोही पदमा हुनुहुन्थ्यो । सचिवमा विजयपुर हस्पिटल प्रालिका पंकज खतिवडा निर्वाचित हुनुभएको छ । त्यसै गरी सदस्यहरूमा सिद्धार्थनगर सिटी हस्पिटलका अर्जुन पौडेल, कैलाली हस्पिटलका जनकराज जोशी, ब्लुक्रस हस्पिटलकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा. रामानन्दन प्रसाद चौधरी, ग्रिनसिटी हस्पिटलकी रेनुका गुरुङ, तुलसी बालअस्पतालका डा. किशोर खत्री, माया मेट्रो हस्पिटलका धीरेन्द्र, पर्वतको कुश्मा हस्पिटलका सुशील पौडेल निर्वाचित भएका छन् । अफिनको नेतृत्व यसअघि लगातार दुई कार्यकाल नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्