सुन्दरता बढाउने नाममा अस्वस्थ !



अरुणा उप्रेती

सौन्दर्य सामग्रीको प्रयोगले अनेक किसिमका स्वास्थ्य समस्या हुने अनुसन्धानहरुबाट प्रमाणित भइसकेर पनि अधिकांश महिला र केही पुरुषहरुले पनि यस्ता सामग्रीको प्रयोगलाई निरन्तरता दिई नै रहेका छन् ।

शिक्षित र आधुनिक महिलाहरु पनि अहिलेसम्म राम्रो हुनु भनेको गोरो हुनु हो भन्ने भ्रममा परेर अनुहारमा अनेक थरीका हानिकारक सौन्दर्य सामग्रीसमेतको प्रयोग गर्छन् । अनुहार, पाखुरा, घाँटी आदि गोरो पार्छ भनिएका क्रिममा मिसाइएको मर्करी र अन्य रसायनहरु स्वास्थ्यका लागि घातक हुन्छन् ।

यस्ता सौन्दर्य सामग्रीहरु प्रयोग गर्दा एकै दिन, हप्ता वा महिना दिनमा नै स्वास्थ्य समस्या हुँदैन, तर बिस्तारै शरीरभित्र गएर अंगप्रत्यंगलाई असर गरिरहेका हुन्छन् । केही वर्षपछि शरीरमा यसको खराव परिणाम निस्किन थाल्छ । अफसोस ! अधिकांश प्रयोकगर्तालाई यस्ता सौन्दर्य सामग्रीहरुले स्वास्थ्यमा खराबी गरिरहेको प्रायः पत्तै हुँदैन । अहिले नेपालमा रसायन मिसाएको तरकारीहरु खानुहुँदैन भन्ने धेरैले बुझिसकेका छन् । तर अनेक रसायन मिश्रित हानिकारक सौन्दर्य सामग्रीचाहिँ प्रयोग गर्नुहुँदैन भन्ने जानकारी कमैलाई मात्र छ ।

महिलाहरुले सौन्दर्य सामग्रीको प्रयोग प्राचीनकालदेखि नै गर्ने गरेको इतिहास पाइन्छ । सुन्दरता बढाउन महिलाहरु विशेष गरी रानी–महारानीहरुले आँखा र ओठको सौन्दर्य बढाउन विभिन्न रत्नलाई फोरेर त्यसबाट तयार गरिएको सामग्रीहरु लगाउँथे । ती पनि सुरक्षित थिएनन्, धेरै हानि पु-याउने गरेको अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् ।

ब्रिटेनकी महारानी एलिजाबेथ प्रथमको ६९ वर्षको उमेरमा मृत्यु भएको थियो । त्यस बेला उनको शरीरमा सिसाको कारणले हुने समस्या देखिएको थियो । एलिजाबेथ छाला गोरो बनाउन अनेक थरीका सौन्दर्य सामग्री प्रयोग गर्थिन् । त्यसको कारणले पनि यस्तो भएको हुन सक्छ भन्ने वैज्ञानिकहरुको निष्कर्ष छ ।

उनले अनुहारको छाला सेतो पार्न प्रयोग गर्ने तत्वमध्ये भेनिटेसन सेरुज (Venetian ceruse) थियो । यसमा पानी, भिनेगर र सिसा मिसाइएको हुन्थ्यो । यसरी सिसा मिसाएको सौन्दर्य सामग्रीले शरीरको अंगप्रत्यंगलाई खराब गर्ने कुरा धेरै पछि मात्र थाहा भयो । यसको धेरै प्रयोग गरेकोले नै उनको मृत्यु भएको कुरा केही इतिहासकारहरुले पनि बताएका छन् ।

साँच्चै हानिकारक हो त ?

अहिले युरोपका धेरै देशहरुमा लिड (सिसा) लगायतका हानिकारक वस्तुहरु मिसिएको सौन्दर्य सामग्रीहरु बजारमा ल्याउन निषेध गरिएको छ । नेपालमा भने सौन्दर्य सामग्री र तिनमा कति घातक रसायन मिसिएका हुन्छन् भनेर हेर्ने व्यवस्था नै भएको पाइन्न ।

गोरी हुन खोज्दा झन् काली

म केही वर्षअघि सिन्धुपाल्चोक जाँदा १२ कक्षामा पढ्ने १६ वर्षीया एक किशोरीले आफ्नो अनुहारमा आएको चाया देखाउँदै ‘यो पोतो कसरी जान्छ होला ? ३ महिनादेखि यो पोतोले मलाई दुःख दिइरहेको छ’ भनेर सोधेकी थिइन् । मैले उनलाई कुनै क्रिम वा औषधि अनुहारमा लगाएको हो ? भनेर सोध्दा उनले लाज मान्दै भनेकी थिइन्, ‘म काली भएकोले सबैले जिस्क्याउँछन् । त्यसैले अनुहार गोरो पार्न ३ महिनाजति भयो एउटा चाइनिज क्रिम लगाएको । पहिले राम्रै भएजस्तो लागेको थियो तर पछि यो पोतो आएर झन् कुरुप पा-यो ।

’मैले उनलाई यस्तो जथाभावी क्रिम लगाएकोले यस्ता समस्या पर्न सक्ने बताएँ र छाला विशेषज्ञकहाँ जान परामर्श दिएँ । उनलाई छालारोग विशेषज्ञले पनि तत्काल नै त्यस्तो क्रिम छाड्ने सल्लाह दिएर केही औषधि लेखिदिएछन् । ३ महिना जतिपछि उनको पोतो केही कम भएको जानकारी गराएकी थिइन् ।

कतिपय महिलाले ‘फेयर एन्ड लभ्ली’ को विज्ञापनबाट प्रभावित भएर त्यो क्रिम प्रयोग गरेको र त्यसबाट समस्या परेको गुनासो पनि सुनाएका छन् । यो क्रिम प्रयोग गर्दा कालो दाग देखिएको, पाप्राजस्तो देखिएको र ३ महिनासम्म त्यसको औषधि उपचार गरेपछि केही कम भएको उनीहरुको भोगाइ छ । कैलाली जाँदा त्यहाँका केही महिलाले पनि यस्तै गुनासो सुनाउँदै आजकालचाहिँ जथाभावी क्रिम लगाउन छोडेको बताएका थिए ।

नेपालगन्जका केही महिलाले अनुहारमा लगाउने क्रिमबारे आफ्नो अनुभव सुनाउँदै भनेका थिए, ‘अनुहार राम्रो पार्न, चाया हटाउन चाइनिज क्रिमको प्रयोग गरेको एक–दुई महिना त राम्रो देखियो, तर पछि अनुहारमा रातो, नीलो दाग देखिएपछि सो चाइनिज क्रिमले समस्या पारेको थाहा भयो ।’ नेपालगन्जकी शान्ति नामक एक महिलाले अनुहार गोरो पार्ने क्रिम लगाउँदा अनुहारमा रोजसिया भयो । सो थाहा पाएपछि उनी काठमाडौँमा छालारोग विज्ञकहाँ आएर उपचार गराइन् । ‘अनुहार सेतो पार्ने धुनमा झन् छाला बिगार्ने, तनाव गराउने र पैसा पनि खर्च हुने काम भएको’ शान्तिको निष्कर्ष थियो ।

यसरी अनुहारमा जे पायो, त्यही क्रिम लगाएर छाला बिग्रिएपछि उपचारका लागि आउने किशोरी एवं महिलाहरु प्रशस्तै भएको छालारोग विज्ञ डा. सबिन भट्टराईले एक सन्दर्भमा बताउनुभएको थियो ।गोरो पार्ने क्रिममा मिसाइएको मर्करीले छालामा विभिन्न समस्या ल्याउँछ । विश्व स्वास्थ्य संघका अनुसार मर्करीले मिर्गौला बिगार्ने, रोग–प्रतिरोधात्मक क्षमता घटाउने, रगतको कमी गराउने, गर्भवती महिलाको गर्भपतनसमेत गराउन सक्नुका साथै यसले बच्चाहरुको मस्तिष्कको विकासमा पनि घातक असर पार्न सक्छ ।

सौन्दर्य सामग्रीमा हुने आर्सेनिक तत्वले मानिसको आन्द्रा र फोक्सोको क्यान्सर गराउन सक्ने विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । तर धेरै मानिस यसबारेमा अनभिज्ञ नै हुन्छन् ।

गोरो हुने भ्रमपूर्ण विज्ञापन

हानिकारक सौन्दर्य सामग्रीका बारेमा चेतनामूलक सामग्रीहरु पनि विरलै पाइन्छन्, बरु यस्ता सामग्रीको प्रयोग गर्न प्रेरित गर्ने विज्ञापन सामग्रीहरु भने प्रशस्तै देखिन्छन् । यस्ता सामग्रीको कारण सौन्दर्य सामग्रीको प्रयोगमा व्यापक वृद्धि भई बर्सेनि अर्बौं डलरको व्यापार हुन थालेको छ । यस्ता सामग्रीले स्वास्थ्यमा पार्ने असरबारे अधिकांश महिला तथा पुरुषहरु, त्यति गम्भीर भएको पाइँदैन । कति त त्यसबारे अनभिज्ञ नै भएको पाइन्छ ।

सौन्दर्य सामग्री बिकाउनकै लागि अनेक थरीका सुन्दरी प्रतियोगिता गरेर ती सामग्रीको व्यापार प्रवद्र्धन गर्ने गरेको देखिन्छ । आम महिला एवं किशोरीहरु त्यस्ता सौन्दर्य प्रतियोगितामा प्रवद्र्धन गरिएका सौन्दर्य सामग्रीको प्रयोग गर्न लालायित हुन्छन् र राम्ररी नबुझीकनै प्रयोग गर्न थाल्छन् । यसले गर्दा सौन्दर्य सामग्रीको व्यापार बढाउने उद्देश्य त पूरा हुन्छ तर ती सामग्रीले सुन्दरता वृद्धि गर्छ कि प्रयोगकर्ताको अनुहारलगायत समग्र स्वास्थ्यमा हानि गर्छ ? यस विषयमा उपभोक्ताहरु प्रायः चासो दिँदैनन्, पछि अनुहार विकृत हुँदा अत्तालिएर चिकित्सककहाँ पुग्छन् ।

भारतीय फिल्मका हिरोइनहरुले अनुहार गोरो बनाउने क्रिम र साबुन भनेर विज्ञापनमा भूमिका गरेपछि यसकै विश्वासमा परेर कतिपय नेपाली महिलाहरु त्यस्तै क्रिम वा साबुन प्रयोग गरेर आफ्नो पनि अनुहार नायिकाको जस्तै सुन्दर हुन्छ भन्ने भ्रम पाल्दै खूब प्रयोग गर्छन् । पछि त्यसले अनुहारमा खराबी देखिन थालेपछि चुप लागेर अनुहार लुकाउँदै बसेर अरुसँग परामर्श गरेको पनि प्रशस्तै भेटिन्छ ।

हिरोइनहरुले सुन्दरता वृद्धि गर्ने भन्दै क्रिम, पाउडर लगाएर विज्ञापन गरेको सौन्दर्य सामग्री वास्तविकतामा उनीहरु आफैँचाहिँ प्रयोग गर्दैनन् । उनीहरु विदेशबाट मगाएका उच्च गुणस्तरका महँगा सौन्दर्य सामग्री प्रयोग गर्छन् । उनीहरु घरमा बस्दा कुनै पनि सौन्दर्य सामग्री प्रयोग गर्दैनन् । तर नेपालमा धेरै महिलाले घरमा पनि स्वास्थ्यलाई हानि गर्ने स्तरहीन सामग्री प्रयोग गरेर बसेका हुन्छन् ।

वास्तवमा स्वास्थ्य राम्रो भयो भने कुनै शृङ्गार नगरी नै पनि सुन्दर देखिन्छ । बिरामी भएका व्यक्तिहरुले जतिसुकै क्रिम लगाए पनि उनीहरुको अनुहारमा कान्ति र चमक आउँदैन । बरु स्वस्थ युवायुवती अनुहारमा चमक ल्याउन भनेर गोरो बनाउने भनी विज्ञापन गरिएका अनेक किसिमका क्रिम लगाउँदा पछि अनुहारमा विभिन्न किसिमका दागधब्बा आएर चिन्तित बनेको देखिन्छ ।
साँच्चै हानि नै गर्छ त ?

नेपालमा एक गैरसरकारी संस्था ‘जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र’ (CEPHED) ले केही वर्षअघि नेपाली बजारमा पाइने ८ ब्रान्डका लिपस्टिक र छाला सेतो पार्ने भनिएका क्रिमको अनुसन्धान गर्दा त्यसमा लिड अर्थात् सिसाको मात्रा हुनुपर्ने मापदण्डभन्दा ३ सय देखि १४ सय ५० गुणा बढी भएको पाइएको थियो । त्यसै गरी छाला सेतो बनाउने क्रिममा मर्करी अर्थात् पारोको मात्रा पनि अत्यधिक नै पाइएको थियो । यस्तो सिसा र मर्करीहरु छाला, ओठको माध्यमबाट शरीरभित्र गएर शरीरका अंगहरुलाई अस्वस्थ पार्छन् ।

धातु र शिशा प्रयोग गरेर बनाइने सौन्दर्य सामग्रीले विशेष गरी मिर्गौला, मस्तिष्क र प्रजनन अंगमा हानि पु¥याउनुका साथै क्यान्सरसम्म गराउन सक्ने विभिन्न अध्ययनमा पाइएको छ ।विभिन्न सौन्दर्य सामग्रीहरु बेच्ने पसलहरुमा गएर मैले ‘यहाँ बेचिने सौन्दर्य सामग्रीहरुमा के–के मिसाएको हुन्छ ? त्यस्तो सौन्दर्य सामग्रीले स्वास्थ्यमा हानि गर्ने-नगर्नेबारे केही थाहा छ कि ?’ भनेर प्रश्न गर्दा प्रायः पसलेहरुले त्यस्ता सौन्दर्य सामग्रीमा के–के मिसाएको हुन्छ भन्ने हामीलाई थाहा हुँदैन, बट्टामा लेखिएका कति कुरा बुझिन्न, चाइनिज र कोरियन सौन्दर्य सामग्रीहरुमा लेखिएका भाषा हामी बुझ्दैनौं पनि’ भनेर जवाफ दिएका थिए ।

राम्ररी नबुझीकन पसलमा जे छ त्यही सौन्दर्य सामग्री किनेर प्रयोग गर्नुलाई सीईपीएचईडीका (CEPHED) निर्देशक रामचरित्र शाह ‘विषको पोका किनेर प्रयोग गरेको भन्दा पनि फरक नपर्ने’ बताउँछन् । उनी भन्छन्, ‘मेरी श्रीमतीले पनि बजारबाट ल्याएर सौन्दर्य सामग्री सिन्दुर प्रयोग गर्दा उनलाई एलर्जीको समस्या भएपछि मैले उनलाई यस्ता सामग्री प्रयोग नगर्न भने । महिलाहरुले कुनै पनि रसायन नमिसाएको लिपस्टिक, क्रिमलगायतका सौन्दर्य सामग्री प्रयोग गरे त यस्तो समस्या नै पर्दैन ।’
वास्तवमा कुनै पनि रसायन नमिसाएको सौन्दर्य सामग्री दुर्लभजस्तै हुन्छ । प्रायः लिपस्टिकमा रातो रंग ल्याउन नक्कली रंग प्रयोग गरिन्छ ।

अमेरिकामा लिपस्टिकमा आर्सेनिक, सिसा आदि हानिकारक वस्तु कतिभन्दा बढी हुनुहुँदैन भनेर मापदण्ड तोकिएको छ । तर जनस्वास्थ्य विज्ञहरु यस्तो सिसा र आर्सेनिकको मापदण्ड अमेरिकामा जति तोकिएको छ त्यो भन्दा कम हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरुको भनाइ छ, ‘आर्सेनिक र सिसा भएको लिपस्टिक प्रयोग गर्दा छाला र मुखबाट शरीरभित्र पनि जान्छ र शरीरका भित्री अंगहरुमा हानि गर्छ ।’

केही वर्षअघि बंगलादेशको एक गैरसरकारी संस्था इन्भायरोमेन्ट एन्ड सोसियल डेभलप्मेन्ट अर्गनाइजेसन (ESDO) ले ३३ किसिमका सौन्र्दय प्रसाधनको अध्ययन गर्दा २८ वटामा ३ भन्दा बढी घातक रासायनिक पदार्थ फेला पारेको थियो । नेपालमा पाइने लिपस्टिकहरुमा पनि सिसाको मात्रा कति छ भनेर गरिएको अध्ययनमा सबभन्दा गाढा रंगको लिपस्टिकमा सिसाको मात्रा जति हुनुपर्ने हो त्यो भन्दा १४५० गुणा बढी पाइयो । ओठ रातो, गुलावी, खैरो पार्दा एकछिन् त अनुहार राम्रो देखिन सक्छ तर यसले भित्री अंगमा कति खराबी गर्छ भन्ने हेक्का हामीलाई हुँदैन । यस्ता सौन्दर्य सामग्रीमा मिसाएको सिसा र अन्य धातुले गर्भवती महिला र उनको भ्रुणलाई समेत असर पु-याउँछ । गर्भवतीले यस्तो सामग्री प्रयोग गर्दा शिशुको मस्तिष्क कमजोर हुने र उसको हर्मोनहरुमा समस्या पर्ने हुन सक्छ ।

जोन्सन एन्ड जोन्सन नामक बहुराष्ट्रिय कम्पनीले बेबी पाउडर उत्पादन गर्छ । यस कम्पनीबाट उत्पादित बेबी पाउडरको प्रयोगले एक अमेरिकी महिलाको पाठेघरको ओभरीको क्यान्सर भएको कारणले सन् २०१८ मा सो कम्पनीलाई करिब ५६ अर्ब रुपियाँ (झन्डै ५५० मिलियन अमेरिकी डलर) क्षतिपूर्ति तिर्न अदालतले आदेश दिएको थियो । त्यो बेबी पाउडर प्रयोग गर्दा त्यसमा रहेको एसबसटस नामको खनिजका कारणले क्यान्सर गराउन सक्छ भन्ने कम्पनीलाई थाहा थियो, तर यो जानकारी लुकाएको बताइएको थियो ।

त्यसै गरी, सन् २०२० फेब्रुअरीमा अमेरिकाको न्युजर्सीको अदालतले त्यही कम्पनीलाई झन्डै ८३ अर्ब ५० करोड रुपियाँ (करिब ७५० मिलियन डलर) तिराउने आदेश दिएको थियो । त्यहाँका ४ जना महिलाले जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध मुद्दा हालेका थिए ।अहिले सो कम्पनीले अमेरिका र क्यानडामा हाल यो ‘बेबी पाउडर’ बेचिने छैन भनेर निर्णय गरेको छ । तर नेपालमा भने निर्बाधरूपमा बेचिनै रहेको छ । अझ कतिले त आफ्ना बालबालिकाको अनुहार गोरो होस् भनेर प्रयोग गर्ने गर्छन् । बालबालिकालाई नुहाएपछि सफा होस् भनेर ‘गुप्तांग’ मा पनि लगाइदिन्छन् । गोरोपनको लागि भनेर गरिने हाम्रो यो ‘बहुलट्ठीपनले हाम्रो स्वास्थ्य कहाँ पु¥याउँछ, थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्