सबैभन्दा खराब वनस्पति घिउ



विश्वमा बढेको नसर्ने मुटुरोगको समस्या पछिल्लो समय नेपालमा पनि वृद्धि भइरहेको छ । गलत खानपान र जीवनशैलीका कारण बढिरहेका नसर्ने रोगहरुमध्ये मुटुरोग विश्वव्यापीरुपमा पहिलो नम्बरमै आउन थालिसकेको छ ।

पहिला–पहिला ६० वर्ष नाघेका मान्छेमा मात्र हार्ट अट्याक हुन्छ भनिन्थ्यो । केही दशकपछि ४० वर्ष नाघेपछि हुन्छ भन्न थालियो । अहिले त २५ वर्ष नाघेकालाई पनि हार्ट अट्याक हुन थालिसकेको अवस्था छ ।हृदयघातको समस्यालाई न्यूनीकरण गर्नका लागि धेरै अघिदेखि सक्रिय रहनुभएका कार्डियो भास्कुलर सर्जन (मुटु र रगत बग्ने नलीको शल्यचिकित्सक) डा. प्रेमराज वैद्यसँग ट्रान्सफ्याट (trans fat) र हृदयघातका बारेमा साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :

हृदयघात के कारणले वृद्धि भएको भन्ने आधार त पत्ता लागिसकेको होला ?

सन् १९९० भन्दाअगाडि हार्ट अट्याक पुरुषमा धेरै र महिलामा अत्यन्तै कम हुन्थ्यो । मस्कोमा मुटुको विशेषज्ञता हासिल गर्ने क्रममा अस्पतालमा कार्यरत हुँदा २० जना पुरुषको शल्यक्रिया गर्दा एकजना महिला मुस्किलले उपचारका लागि आउँथे । त्यति नै बेला अमेरिकाको एउटा अस्पतालमा महिलाहरुको हार्ट अट्याक धेरै भएर शल्यक्रिया गर्नुपर्ने संख्या वृद्धि भएको थियो ।त्यसपछि बल्ल महिलामा हार्ट अट्याक के कारणले बढ्यो भनेर खोजी शुरु भयो । त्यसअघि स्याचुरेटेड फ्याट– घिउ, बोसो खाए हुन्छ भनिन्थ्यो तर

खोजीका क्रममा घिउ र बोसोले स्याचुरेटेड फ्याट बढ्दैन भन्ने रिपोर्ट आयो ।

अनस्याचुरेटेड फ्याट जुन हामीले राम्रो छ भन्छौं त्यसभित्र पनि मोनो अनस्याचुरेटेड सबभन्दा राम्रो हुने पत्ता लाग्यो । त्यसमा पनि दुई किसिमको ट्रान्सफ्याट र सिस्फ्याट । ट्रान्सफ्याटले सबैभन्दा बढी खराब गर्ने भन्ने बल्ल पत्ता लाग्यो ।

यो विषयमा पत्ता लगाउने एकजना डाक्टरले लेखेको लेख पनि प्रकाशित भयो, लेख्नुभयो, तर कसैले पत्याउँदै पत्याएनन् । अहिलेसम्म राम्रो फ्याट भनेर खाइरहेको भन्ने बहस भैरहँदा डेनमार्कले गम्भीरतापूर्वक लियो र सन् २००० देखि ट्रान्सफ्याट बन्द गर्ने निर्णय ग-यो । सन् २००३ मा ट्रान्सफ्याट बनाउने कारखानाहरु नै बन्द गरिदियो । विश्व स्वास्थ्य संगठनले पनि डेनमार्कलाई ट्रान्सफ्याट फ्री पहिलो मुलुक भनेर घोषणा गरी प्रमाणपत्र दियो । तर सन् २००८ (करिब ५ वर्ष) सम्म संसारका कुनै पनि देशले बुझ्दै बुझेनन् ।युवा अवस्थामा जति पनि हार्ट अट्याक भैरहेको थियो, ट्रान्सफ्याट बन्द गरेपछि आधाभन्दा पनि कम भएको अनुसन्धानमूलक तथ्यांक सार्वजनिक गरेपछि विश्वले बल्ल बुझ्न थाल्यो ।

नेपालमा २०२२ मा आएर हामीले बल्ल बुझ्दै छौं । विश्वका ४३ मुलुकमा ट्रान्सफ्याट नियन्त्रणमा आइसकेको छ । तर नेपालले पीएचओ (पार्सियल्ली हाइड्रोजेनेटेड) आयलको फ्याक्ट्री बन्द गराउन नै सकेको छैन । पछिल्लो समय थाइल्यान्डलगायतका झन्डै १५ वटा मुलुकमा त्यस्ता कारखाना बन्द गराइएका छन् । थाइल्यान्डका ४ वटा कारखानामा मात्र यस्तो तेल उत्पादन गरिन्थ्यो ।

कुन तेल पार्सियल्ली हाइड्रोजेनेटेड (Partially hydrogenated) हुँदैन ?

जुन हामीले परम्परागतरुपमा तोरी पेलेर निकाल्ने तेल–घिउमा पार्सियल्ली हाइड्रोजेनेटेड आयल छैन । कारखानामा तयार गरिने तेललाई ३ सयदेखि ४ सय डिग्रीसम्ममा तताएर हाइड्रोजेनेटेड गरी बनाइन्छ । यसरी तयार गर्दा एक लिटर तेल झन्डै डेढ लिटरसम्म बढ्छ । जति ततायो उद्योगहरुलाई उत्तिकै फाइदा हुन्छ । त्यो तेलमा धेरै हाइड्रोजन मिक्स भएर बाक्लो हुँदै जाने र त्यो घिउ बन्ने हुन्छ । त्यसैलाई हामीले वनस्पति घिउ भन्छौं । अझै धेरै हाइड्रोजन मिक्स ग-यो भने त्यो जमेर मैनबत्तीजस्तो हुन्छ र खानलायक हुँदैन ।

मानव स्वास्थ्यमा हानि गर्ने यस्तो तेल पहिला मानिसहरुले कसरी राम्रो मानेका थिए ?

हाइड्रोजन मिक्स गरेकै कारण हाम्रो घरको तोरीको तेलभन्दा मीठो हुने गरेको हो । तोरीको तेलमा बनाएको खाद्यवस्तु १५ दिनपछि ठुस्स गन्हाउँछ । बजारमा पाइने हाइड्रोजेनेटेड तेलमा बनाएको खाना त्यति गन्हाउँदैन । अझै वनस्पति घिउमा बनाएको त महिनौंमहिना स्टोर गर्दा पनि गन्हाउँदैन ।

यो प्रविधि जसले पत्ता लगायो त्यो मान्छेलाई दोस्रो विश्वयुद्धमा आर्मीहरुलाई महँगो बटरको सट्टा मार्गारिन तेललाई हाइड्रोजन मिक्स गरेर बटरजस्तो बनाउन लगाइएको थियो । यो सस्तो पनि र मीठो पनि अनि धेरै दिनसम्म पनि नबिग्रने खालको भयो । यस्तो राम्रो चिज पत्ता लगायो भनेर पत्ता लगाउने व्यक्तिलाई नोबेल पुरस्कार पनि दिइएको थियो ।एक सय वर्षपछि आएर अहिले बल्ल थाहा भयो कि त्यो प्रविधिबाट बनाइएको तेल, वनस्पति घिउ स्वास्थ्यका लागि सबभन्दा हानिकारक हो भन्ने कुरा ।

एक सय वर्षपछि आएर यस किसिमको तेल, घिउ उत्पादन गर्ने यो हाइड्रोजेनरेसन प्रविधि नै संसारबाट हटाउनुपर्छ भनेर अभियान नै शुरु भयो । यस्ता तेलमा ट्रान्सफ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुनुहुँदैन भनेर नेपालजस्ता देशमा नियन्त्रण गर्न प्रयास गरिँदै छ भने कतिपय विकसित मुलुकमा त पूर्णरुपमा बन्द नै भइसकेको छ । छिमेकी मुलुक भारतमा ट्रान्सफ्याटयुक्त तेललाई प्रतिबन्ध लगाइसकेको छ, नेपालमा कानुन बनाउने प्रयास बल्ल हुँदै छ ।

ट्रान्सफ्याटको मात्रा कसरी थाहा पाउने ?

एक सय ग्रामको प्याकेटमा २ ग्रामभन्दा बढी ट्रान्सफ्याट हुनुहुँदैन । यो उत्पादकले नै उल्लेख गर्नुपर्छ र खाद्य गुणस्तरले मापन गरी प्रमाणित गरेको हुनुपर्छ । नेपालमा अहिलेसम्म यस्तो लेबलिङ गर्ने चलन नै छैन । भारतमा चलन छ, तर नेपालमा उत्पादन गर्ने भारतीय सामानको लेबल मात्र ल्याएर टाँस्छन्, यथार्थ ट्रान्सफ्याट कति छ थाहा छैन ।

यस्ता कम्पनीहरुलाई बन्द नै गर्न सकिँदैन त ?

यसका लागि नेपालमा कानुन नै बनेको छैन । अब भने चाँडै नै कानुन बन्ने अवस्थामा पुगेको छ । स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको विषयमा एनसीडी प्रोग्राम २०२३ सम्म नियन्त्रण गर्ने गरी मन्त्री परिषद्बाटै पारित गरेको छ । कानुन छिटो बनाएर कार्यान्व्यन गरी विश्व स्वास्थ्य संगठनमा नेपालको पनि नाम राख्नुपर्छ भनेर लागिपर्ने कार्य भइरहेको छ ।यसका लागि स्वास्थ्य मन्त्रालयले कृषि मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई जिम्मेवारी दिएको छ ।

यस विषयमा पटक–पटक विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालयलगायतका सरोकारवाला निकायका बीच बृहत् छलफल हुँदा नेपालले ६ महिनाभित्र कानुन बनाइसक्नुपर्ने डेडलाइन तोकिएको थियो । ट्रान्सफ्याट २ प्रतिशतमा कन्ट्रोल गर्ने कि पार्सियल्ली हाइड्रोजेनेटेड तेल नै बन्द गर्ने भन्ने विषयमा २ दिनसम्मको छलफलमा तेल उद्योगीहरुसमेतको सहभागिता रहेको थियो ।

नेपालमा पार्सियल्ली हाइड्रोजेनेटेड तेल छ यो उद्योग नै बन्द गर्न सम्भव छैन । नेपालमा बन्ने वनस्पति घिउ अत्यधिक मात्रामा तिब्बतमा सप्लाइ हुन्छ । त्यहाँ मान्छेले खाने नभई बत्ती बाल्नलाई प्रयोग गरिन्छ । कतिपयले भने शाकाहारी भनेर घिउको सट्टा वनस्पति घिउ खान्छन्, तर यो खानै हुँदैन । यसलाई कानुनीरुपमै नियन्त्रण गर्नुको विकल्प छैन । खानेकुराको प्याकेटमा वनस्पति घिउमा बनाएको बस्तु भनेर स्पष्ट लेख्नुपर्छ र जनताले वनस्पति घिउमा बनाएको खानेकुरा खानुहुन्न भन्ने बुझ्नुपर्छ । साधारण तेलमा बनाएको खाना खान हुन्छ तर धेरै तारेका खानेकुरामा ट्रान्सफ्याट उच्च हुन्छ ।

अब ट्रान्सफ्याट नियन्त्रण कार्य कसरी अगाडि बढ्दै छ त ?

विश्व स्वास्थ्य संगठनले ट्रान्सफ्याट १ प्रतिशत मात्र भएको तेल खान हुन्छ भनेको छ । १ सय ग्राम तेलमा दुई ग्राममात्र ट्रान्सफ्याट हुनुपर्छ । ट्रान्सफ्याट २ ग्राममा नियन्त्रण गर्ने कि पार्सियल्ली हाइड्रोजेनेटेड तेल बन्द गर्ने भन्ने विषयमा उद्योगीहरुसँग बसेर थप छलफल गर्नुपर्ने हुन्छ । हामीले नेपाल हार्ट फाउन्डेसनबाट यो विषयको उठान गरेका हौं र यसकै पहलमा कानुन बनाउन विश्व स्वास्थ्य संगठनले पहल गरिरहेको छ ।

हामीले विषय उठान गरी छलफलको वातावरण बनाउने हो, कानुन बनाउने निकाय सरकार नै हो । जनस्वास्थ्यका विषयमा सरकार गम्भीर हुनु जरुरी छ । विगतमा नसर्ने रोगका विषयमा स्वास्थ्य मन्त्रालयले २ लाइन लेखेर झारा टारेको थियो, विज्ञहरुले घचघच्याउँदै विषयको महत्व बुझाउँदै जाँदा अहिले नसर्ने रोगका बारेमा विश्लेषणसहितको ३६ पानाको जनचेतनामूलक सन्देश लेखेको छ । पहिला ट्रान्सफ्याटका बारेमा बुझेकै थिएन भने अहिले कानुन नै बनाउने कार्यक्रम तयार भयो । यो कार्यको लागि डा. मतिना जोशी वैद्यको नेतृत्वमा खाद्य गुणस्तरको कानुनका लागि समिति नै बनिसकेको छ । यो राम्रो उपलब्धि हो ।

आम नागरिकलाई ट्रान्सफ्याटबाट बचाउन के सन्देश दिनुहुन्छ ?

ट्रान्सफ्याटका बारेमा विद्यालय तहदेखि नै पाठ्यक्रममै पढाइ हुनुपर्छ । विद्यालय र विद्यालयवरपरका बजारमा पनि जनचेतना हुनुपर्छ । बजारको जंकफुड खानुभन्दा घरको मकै–भटमास खानु धेरै राम्रो हुन्छ ।पाम आयलमा ट्रान्सफ्याट हुँदैन । यस्तो तेलमा बनाएको खाना खाँदा हुन्छ । वनस्पति घिउमा बनाएको छ भने ट्रान्सफ्याट धेरै हुन्छ, खानुहुन्न । बिस्कुट पनि पाम आयलमा बनेको मात्र खान हुन्छ, वनस्पति घिउमा बनेको खानुहुन्न ।

पहिला–पहिला जुन तेल कोठामा राख्दा जम्छ त्यसमा ट्रान्सफ्याट हुन्छ भनिन्थ्यो । पाम आयल पनि जम्थ्यो, परीक्षण गर्ने साधन थिएन । अहिले परीक्षण गर्ने साधन थुप्रै आइसकेको छ । पाम आयल नेचुरल हो, त्यसमा हाइड्रोजन मिसाएको छैन । नरिवल तेल पनि जम्छ, त्यसमा पनि ट्रान्सफ्याट छैन । कपालमा लगाउने नरिवल तेल खानुहुन्न, भर्जिन कोकोनट तेल खान हुन्छ भनेर प्रमाणित भएको छ । नेपालमा परीक्षण गर्ने मेसिन कृषि मन्त्रालयसँग मात्र छ । यसलाई देशव्यापीरुपमा थर्मामिटरजस्तो नाप्ने यन्त्र कृषिले ७७ वटै जिल्लामा पु-याउँदै छ । नाप्दा तेल बाक्लो पाइएमा खाद्यवस्तुको लागि उपयुक्त हुन्न । यस्तो तेल साबुन कम्पनीहरुमा उपयोग हुन्छ ।

घरकै तोरीको तेलमा ट्रान्सफ्याट हुन्छ कि हुँदैन ?

घरकै तोरीको तेल पनि धेरैबेर ततायो भने ट्रान्सफ्याट (बाक्लो) बन्छ र यो खानयोग्य हुँदैन । सेलरोटी बनाएको तेल भोलिपल्ट हेर्दा जमेको छ भने ट्रान्सफ्याट एकदमै धेरै भयो भन्ने बुझ्नुपर्छ र यस्तो तेल पुनः प्रयोग गरेर खान हुँदैन । एकपटक तताएको तेल ४ देखि ६ घन्टासम्म मात्र प्रयोग गर्न मिल्छ । नेपालका अधिकांश पार्टी प्यालेसहरुले तेल पुनः प्रयोग गर्ने गर्छन् । त्यो सबैभन्दा नराम्रो विषादी हो । जति धेरै ट्रान्सफ्याट भयो जिब्रोमा उत्तिकै मीठो हुन्छ र शरीरलाई पनि त्यत्तिकै हानि गर्छ । त्यसैले कानुन बनेर नियन्त्रण गर्नुको विकल्प छैन ।

नजिकिँदै गरेको दशैँ–तिहारमा बढी तेलको प्रयोग हुन्छ, यो अवसरमा कसरी तेलको प्रयोग गर्ने ?

दशैँ–तिहारमा मासु र सेलरोटीको प्रयोग बढी हुन्छ । तेल पनि बढी नै प्रयोग हुन्छ । तर घरकै तेल प्रयोग ग-यो भने त्यति धेरै आत्तिनुपर्दैन । घरमै बनाएको सेलरोटीमा ट्रान्सफ्याट धेरै हुन्न र खानयोग्य हुन्छ । तर बजारको सेलरोटी यसै भन्न सकिन्न । हरेकको घर–घरमा ट्रान्सफ्याट बन्छ । यो सरकारले नियन्त्रण गर्न सक्दैन । उद्योगमा मात्र नियन्त्रण गर्न सक्छ । त्यसैले हरेक व्यक्तिमा ट्रान्सफ्याटको विषयमा चेतना जगाउन जरुरी छ । सरकारले मापन, परीक्षण गर्ने, सचेत गराउने र कानुनीरुपमा कारबाहीमा समेत जानुपर्ने हुन्छ । अब सबै उद्योगमा परीक्षण हुन्छ ।

ट्रान्सफ्याटले कस्ता–कस्ता रोग निम्त्याउँछ ?

ट्रान्सफ्याटले हृदयघात, मधुमेह, मोटोपन, उच्च रक्तचाप बढाउँछ ।

पछिल्लो समय देखिएको स्तन क्यान्सरको मूल माध्यम ट्रान्सफ्याट भएको प्रमाणित भैसकेको छ ।

यस विषयमा जनचेतना हुनुपर्छ । मापदण्ड अनुसार ट्रान्सफ्याट कम भएको तेल बिक्री वितरण गर्न प्राथमिकता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्