डेंगुको उपचारमा मेवाको पात



डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

नेपाल अहिले संक्रामक रोग डेंगुको प्रकोपबाट गुज्रिरहेको छ । काठमाडौं उपत्यकाभित्र घरैपिच्छे जस्तो डेंगु रोगी छन् । उपत्यकाबाहिर जिल्लाहरुमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ । आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधि भने छैन । अस्पताल र डाक्टरहरुले यस रोगका रोगीहरुमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो । सामान्यतः यो रोग एक हप्तामा आफैँ निको भएर जाने हुन्छ ।

एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग हो । उक्त जातको पोथी लामखुट्टेले मानिसलाई टोकेर विषाणु (भाइरस) सार्ने गर्छ । यो रोग लागिसकेपछि कसरी ठीक गर्ने भन्ने विषय आम चासोकोे विषय हुन्छ । त्यस अतिरिक्त यस रोगको अन्य विषय आमरुपमा जनस्वास्थ्यको विषय हुँदैन । डेंगु रोग वृद्धवृद्धा र बालबालिकाको लागि बढी घातक मानिन्छ ।

डेंगु रोग लक्षणसहित र लक्षणविनाको पनि देखिन्छ । जब संक्रमित लामखुट्टेले व्यक्तिलाई टोक्छ, त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ ।डेंगु रोगको सामान्य लक्षण भनेको जोर्नीहरुमा लठ्ठीले पिटेजस्तो गरी दुख्नु हो । आँखाको गेडीको भित्री भागमा तीव्र पीडा हुन्छ । लगातार टाउको दुख्छ । पटक–पटक बान्ता हुन्छ । खानाको स्वाद आउँदैन । ज्वरो १०३ देखि १०४ डिग्री फरेनहाइटसम्म आउँछ । साथै थकाइ लागिरहन्छ, हाड–जोर्नी निकै दुख्ने गर्छ र पटक–पटक पखाला लाग्छ । शरीरको कुनै पनि अंग सुन्निनु र त्यहाँबाट रक्तस्राव हुन थाल्नु भनेको डेंगुको लक्षण जटिल अवस्थामा पुग्नु हो ।

डेंगु रोगीको रगत परीक्षण गर्दा प्रायः प्लेटलेट्स (एक प्रकारको रक्तकोष) को संख्या ह्वात्तै कम भएको पाइन्छ । यस कारणले गर्दा घातक अवस्था निम्तिन सक्ने हुन्छ । प्लेटलेट्स अत्यधिक कम भएको अवस्थामा कहिलेकाहीँ रक्तस्राव भई रोगीको ज्यान नै पनि जाने गर्दछ ।

आधुनिक चिकित्सा विज्ञानले यस रोगको उपचारका लागि कुनै औषधि दिन नसक्ने परिस्थितिमा वैकल्पिक चिकित्सा विधिहरुको खोजी गरिनु स्वाभाविक हो । डेंगु ज्वरोको रुपमा डेंगु रोगको वर्णन आयुर्वेदीय ग्रन्थ माधव निदानको परिशिष्ट पाठमा उल्लेख गरिएको छ ।

आधुनिक चिकित्सा विज्ञानमा डेंगु रोग भएर जब प्लेटलेट्सको संख्या अत्यधिक घट्छ, त्यसपछि रोगीलाई सलाइनमार्फत अरुबाट झिकिएको प्लेटलेट्स चढाउनुको विकल्प हुँदैन । तर आयुर्वेदमा डेंगु रोगीलाई मेवाको पातको रस सेवन गराएर मात्र पनि प्लेटलेट्स अपेक्षित रुपमा बढाउन सकिने कुरा वर्णन गरिएको छ ।

आयुर्वेदमा मेवालाई औषधीय वनस्पतिको रुपमा उल्लेख गरेको पाइन्छ । मेवा मूलतः नेपालको वनस्पति होइन । दक्षिण अमेरिकी मुलुक ब्राजिलको मूल वनस्पति मेवालाई पोर्टुगिजहरुले भारतीय उपमहाद्वीपमा भित्र्याएका हुन् । पोर्टुगिज भाषामा मेवालाई पपिता भनिन्छ, जसलाई हिन्दीमा पनि पपिता र नेपालीमा मेवा भन्ने गरिन्छ । यसलाई आयुर्वेदीय ग्रन्थमा (वा संस्कृतमा) नलपर्णी वा मधुकर्कटी वा एरण्डचीरभक्त भनेर उल्लेख गरिएको छ । मेवाको पात, फल, बीउ र दूधलाई औषधिको रुपमा प्रयोग गरिन्छ ।

मेवामा ग्लुकोज, भिटामिन, खनिज, लवण, स्थिरतेल, उड्डनशील तेलहरुको अतिरिक्त मुख्यरुपमा पापेन, कैरिसिन, माइरोसिन, कार्पासेमिन, कार्पेन, कार्पोसाइड आदि चिकित्सा उपयोगी जैव रसायन पाइन्छ । मेवाको दूधमा काइमोपापेन र २० प्रतिशत पापेन पाइन्छ, जसमा खाने दूधलाई जमाउन सक्ने र प्रोटिनलाई पचाउन सक्ने अदभूत शक्ति हुन्छ ।

आयुर्वेदीय मान्यता अनुसार काँचो मेवामा कफ र वातलाई समन (सुन्तुलन) गर्ने क्षमता हुन्छ भने पाकेको मेवामा पित्तलाई पनि समन गर्ने क्षमता हुन्छ । समग्रमा यसले शरीरको वात, पित्त र कफ तीनवटै दोषलाई समन गर्न सक्ने सामथ्र्य हुन्छ ।
मेवाको १ भाग पापेन वा काइमोपापेनले २५० भाग मासुलाई पचाउन सक्छ । १ ग्राम मेवाको दूधको पाउडरले आधा लिटर खाने दूधलाई पचाउन सक्छ ।

सन् २०१३ मा इभिडेन्स बेस्ड कमप्लिमेन्टरी एन्ड अल्टर्नेटिभ मेडिसिन नामक अन्तर्राष्ट्रिय जर्नलमा मलेसियन वैज्ञानिकहरु सोबिथा सुबेन्थीरन एवं समूहले प्रकाशित गरेको अनुसन्धानको प्रतिवेदन अनुसार मेवाको पातको रसले ४८ घन्टाभित्रै डेंगु रोगीमा प्लेटलेट्सको संख्या उल्लेख्यरुपमा बढेको देखिएको छ । २२८ जना डेंगु बिरामीमा गरिएको यस अनुसन्धानले सो तथ्य पुष्टि गरेको हो ।

डेंगु रोगीमा मेवाको ताजा पातको रस प्रतिदिन २०–४० मि.लि. दिनको दुईदेखि तीनपटकसम्म खालि पेटमा दिनु अति नै प्रभावकारी हुन्छ । मेवाको पातले प्लेटलेट्सको संख्या बढाउनुका साथै रोग–प्रतिरोधात्मक क्षमता पनि बढाउँछ भन्ने तथ्य अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

त्यस अतिरिक्त तुलसी, अदुवा, अलैँची आदि राखी दुई–दुई घन्टाको अन्तरालमा चिया पकाएर पिउन सकिन्छ ।डेंगु रोगीले सजिलैसँग पच्न सक्ने र तागतिलो खाना खानुपर्छ । अदुवा, मुंगको दाल र चामलसहितको गिलो जाउलोमा कागतीको रस राखी खानु उपयुक्त हुन्छ ।

पालुंगो, मेथीको साग, ब्रोकाउली, चुकन्दर, गाजर, हरियो लसुनको साग, परबर, बेथेको साग आदिमध्ये उपलब्ध भएसम्म सबै नभए जति सकिन्छ दुई वा सोभन्दा बढी मिलाएर सूप बनाई दिनमा दुईपटक खानु राम्रो मानिन्छ ।मदिराजन्य पेयपदार्थ, माछा–मासु, कोल्ड ड्रिंक्सहरू र अमिलो पदार्थ खानुहुँदैन ।

 

डेंगु लागेको अवस्थामा दूध र दूधबाट बनेका खानाका परिकार पनि सेवन गर्नुहुँदैन ।

मसालेदार, तारेको, भुटेको, फ्राइ गरेको, चिल्लोे, पिरो, बढी नुनिलो तरकारी (सब्जी), सूप खानुहुँदैन ।आयुर्वेदले डेंगलाईु एउटा पृथक खालको सन्निपात ज्वर मान्दछ । आयुर्वेदिक उपचार पद्धतिमा कुनै पनि ज्वरोलाई ठीक पार्न उपवास, जठराग्नि वृद्धि र पेटमा जमेर बसेको अपक्व पदार्थको पाचनका साथै रोगीमा हल्कारुपमा पसिना पनि निकालेर व्यवस्थापन गरिन्छ । डेंगुको व्यवस्थापन पनि यही चिकित्सा सूत्रले गर्ने गरिन्छ ।

भारतको तमिलनाडु राज्यमा डेंगु व्यवस्थापनको लागि कालमेघ नामक वनस्पतिसँगै मेवाको प्रयोग हुन्छ भने केरला राज्यमा मेवाको विशेषरुपमा प्रयोग हुन्छ ।
अन्य आयुर्वेदिक उपचारहरु

१. ज्वरो कम गर्नका लागि गुर्जोको लहरा वा धनियाँको पात वा मेथीको दानाको नियमितरुपमा सेवन गर्नुपर्छ ।

२. अमला भिटामिन ‘सी’को उत्तम स्रोत मानिन्छ । भिटामिन ‘सी’को पर्याप्त मात्रामा आपूर्ति गराउनको लागि पटक–पटक अमलाको सेवन गर्न सकिन्छ । भिटामिन ‘सी’ले आइरनको अवशोषणमा सहयोग गर्दछ ।

३. रोग–प्रतिरोधात्मक क्षमता बढाउनका लागि च्यवनप्रास खान सकिन्छ । साथै तुलसी–पानी पकाएर पटक–पटक खान सकिन्छ । १० देखि १५ वटा तुलसीको पात दैनिकरुपमा खालि पेटमा चपाएर खाई पनि रोग–प्रतिरोधात्मक क्षमता बढ्छ ।

४. पाचन प्रणालीबाट वा रगतबाट टक्सिनको सफाइ गर्न पुननर्वाको सेवन गराउन सकिन्छ । टक्सिनको सफाइ गर्नमा पुननर्वा उत्तम जडीबुटी मानिन्छ ।

५. डेंगु ज्वरोलाई नियन्त्रण गर्न धतुरो अति नै शक्तिशाली जडीबुटी मानिन्छ । तर यसलाई चिकित्सकको सल्लाह लिएर सचेतरुपमा मात्र प्रयोग गर्न सकिन्छ ।

६. रक्तकोषहरुको वृद्धिका लागि अनार र कालो अंगुरको सेवन गर्न सकिन्छ ।
आयुर्वेद चिकित्सा पद्धति फरक खालको चिकित्सा विधि हो । एउटा व्यक्तिमा निकै प्रभावकारी देखिएको आयुर्वेदिक औषधि र विधि अर्को व्यक्तिमा त्यति नै प्रभावकारी नहुन सक्छ । त्यस अवस्थामा उपयुक्त विकल्पहरुको प्रयोग गनुपर्ने हुन्छ ।
आयुर्वेदिक चिकित्सामा डेंगु रोग लाग्दा रोगी र रोगीको अन्य धेरै पक्षलाई विचार पु¥याएर मात्र उपयुक्त विधिबाट उपचार गर्नुपर्ने हुन्छ । यो अलि संवेदनशील चिकित्सा हो । त्यसकारण आधिकारिक व्यक्तिको परामर्शविना डेंगु ज्वरोको स्वैच्छिक चिकित्सा गर्न खोज्नु घातक पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्