खुर्सानी र स्वास्थ्य



डा. प्रकाशराज रेग्मी

खुर्सानी, पिरो स्वादका लागि चिनिन्छ । हुन त सबैखाले खुर्सानीको स्वाद पिरो हुँदैन, तैपनि खुर्सानीको नाम लिनेबित्तिकै सबैको सोचाइमा पिरो वनस्पति भन्ने आउँछ ।

पिरो स्वाद सबैले सहन सक्दैनन् । युरोप र अमेरिकाका बासिन्दाहरु पिरो खान डराउँछन् । एसिया र अफ्रिकामा भने पिरो खाना खूब मन पराइन्छ । धेरैलाई लाग्छ, पिरोले पेटलाई खराब गर्छ साथै समग्र स्वास्थ्यलाई हानि पु¥याउँछ । यस लेखमा पिरोले स्वास्थ्यमा पार्ने असरबारे वर्णन गरेको छु ।

खुर्सानीका विभिन्न रंग, रुप र जात हुन्छन् । हरियो, पहेँलो, रातो रंग, काँचो, सुकेको र धूलो रुप, भेडे, लामो, पुड्को, डल्ले, अकबरे आदि जात यसका केही उदाहरण हुन् । खुर्सानी खानेकुरामा मिसाएर खाइन्छ । खुर्सानीले खानालाई पिरो स्वाद दिन्छ । पिरो स्वाद धेरैलाई मीठो लाग्छ । नेपालमा तरकारी, अचार र सलादमा पिरो मिसाउने चलन छ । भारतमा यसको अलावा दालमा समेत पिरो मिसाइन्छ ।

नेपालमा भन्दा भारतमा पिरो धेरै खाने चलन छ । संसारभरिको कुरा गर्दा एसिया र मेक्सिकोमा सबैभन्दा धेरै खुर्सानीको उपभोग हुन्छ । यस क्षेत्रका बासिन्दाहरुले दैनिक प्रतिव्यक्ति २५ देखि २ सय ग्रामसम्म खुर्सानी खान्छन् भन्ने तथ्यांक उपलब्ध छ । युरोप र अमेरिकामा सबैभन्दा कम अर्थात् प्रतिव्यक्ति दैनिक १ देखि २ ग्रामसम्म मात्र खुर्सानी खाने गरिन्छ ।
खुर्सानी थोरै मात्रामा खाइने हुनाले यसबाट खासै पौष्टिक तत्वहरुको आपूर्ति हुँदैन । पिरो स्वादको मिठास नै खुर्सानीको मुख्य विशेषता हो । खुर्सानीमा केही पौष्टिक तत्वहरु हुन्छन् । अलि धेरै मात्रामा कम पिरो खुर्सानी खायो भने यी पौष्टिक तत्वहरुको असर स्वास्थ्यमा देखिन सक्छ ।

खुर्सानीमा पाइने केही पौष्टिक तत्वहरु

१.भिटामिन ‘सी’: यसले एन्टिअक्सिडेन्टको काम गर्छ । यसले घाउ पुर्ने, शरीरमा प्रतिरक्षात्मक शक्तिको वृद्धिमा सहयोग पु¥याउँछ । हरियो खुर्सानीमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ । पिरो कम भएको हरियो खुर्सानीको अचार, हरियो भेडे खुर्सानीको तरकारी र सलाद खाँदा प्रशस्त मात्रामा भिटामिन ‘सी’ प्राप्त हुन्छ ।
२. भिटामिन ‘के’: यसले रगत जम्ने प्रक्रियामा सहयोग पु¥याउँछ । यो भिटामिन कम भयो भने रक्तश्राव भएको बेलामा रगत थामिदैन । यो बढी भयो भने रगत जम्ने प्रवृत्तिमा वृद्धि भई रगतको थेग्रा (ल्कट) बन्ने र मस्तिष्कघात, हृदयघात हुने सम्भावनामा वृद्धि हुन्छ । यसकारण रगत जम्ने र भिटामिन ‘के’ प्राप्तीको हिसाबले खुर्सानी थोरै र ठिक्क मात्रामा खाँदा उपयुक्त हुन्छ ।
३. भिटामिन ‘ए’: यो पनि एन्टिअक्सिडेन्ट हो । यो स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । आँखालाई पनि तेजिलो पार्छ । रातो खुर्सानीमा भिटामिन ‘ए’ का साथै बेटाक्यारोटिन पनि धेरै मात्रामा हुन्छ ।
४. आइरन, कपर आदी: यी पौष्टिक तत्वहरुले रगत बढाउने, हड्डी बलियो गराउने, नसाहरु मजबुत गराउने आदि काम गर्दछन् । हरियो खुर्सानीमा आइरन (फलाम) बढी हुन्छ भने रातो खुर्सानीमा कपर(तामा)बढी पाइन्छ ।

खुर्सानीमा पाइने पौष्टिक तत्वहरुको जतिसुकै बयान र वर्णन गरे पनि थोरै मात्रामा खाइने हुनाले यिनीहरुको असर स्वास्थ्यमा खासै पर्दैन भने पनि हुन्छ । खुर्सानीले स्वास्थ्यमा पार्ने असर त्यसको पिरो स्वादमा रहन्छ ।

खुर्सानी किन पिरो हुन्छ र यो पिरो स्वादले स्वास्थ्यमा के असर पार्छ ? भन्ने कुरा महत्वपूर्ण छ ।

पिरो स्वाद खुर्सानीमा पाइने ‘क्याप्साइसिन’ नामक रसायनका कारण उत्पन्न हुन्छ । यो नै खुर्सानीको मुख्य पहिचान हो । खुर्सानीमा जति धेरै मात्रामा ‘क्याप्साइसिन’ रहेको हुन्छ त्यो त्यति नै बढी पिरो हुन्छ ।

रातो खुर्सानी बढी पिरो हुन्छ जस्तो हामीलाई लाग्छ, तर यो कुरा सत्य होइन । चाहे त्यो हरियो होस् वा रातो, जुनमा धेरै मात्रामा ‘क्याप्साइसिन’ रसायन रहेको हुन्छ त्यो नै बढी पिरो हुन्छ ।

खुर्सानीको बोटमा खुर्सानी फल्दा शुरुमा त्यो हरियो हुन्छ । यही हरियो खुर्सानी बिस्तारै पाक्दै र छिप्पिँदै गएपछि रातो बन्छ । रातोमा भन्दा हरियो खुर्सानीमा पानीको मात्रा धेरै हुन्छ । यसकारण हरियो खुर्सानीको धूलो बनाउन मिल्दैन । खुर्सानी पाकेपछि रातो बन्छ र यसलाई घाममा सुकाएपछि यसको रातो धूलो बनाउन मिल्छ । खुर्सानी वा पिरो स्वादको फाइदा÷बेफाइदाको कुरा गर्दा यसमा भएको रसायनले स्वास्थ्यमा पार्ने असरबारे वर्णन गर्नुपर्ने हुन्छ । मैले यहाँ छोटकरीमा ‘क्याप्साइसिन’ का मुख्य–मुख्य फाइदा÷बेफाइदाका बारे उल्लेख गरेको छु ।
फाइदा र बेफाइदाहरु

१. घाउ छिटो निको पार्न मद्दत गर्छ:

खुर्सानीले घाउ निको पार्छ भन्दा सबैलाई अचम्म लाग्ला । अझ पेटभित्रको अल्सर र ग्यास्ट्रिकलाई समेत फाइदा गर्छ भन्दा त झनै अचम्म लाग्ला । यो कुरा आम मान्छेले शायद पत्याउँदैनन् पनि होला । तर अनुसन्धानका नतिजाहरुले यो पुष्टि गर्दछ कि पिरो स्वाद दिने ‘क्याप्साइसिन’ रसायनमा घाउलाई पुर्न सहयोग पु¥याउने, घाउका असरलाई कम गर्ने र घाउबाट उत्पन्न हुने पीडालाई कम गर्ने गुण हुन्छ ।

पेटको अल्सरको कारण खुर्सानी होइन । यसको कारण एच पाइलोरी नामक ब्याक्टेरियाको संक्रमण, पेन किलर औषधिको असर, मानसिक तनाव, रक्सीको सेवन आदि हुन् । खुर्सानी खाँदा मुखमा मात्र पिरो हुन्छ, पेटमा पुगेपछि यो पिरो हुँदैन । पिरो स्वाद जिब्रोले मात्र थाहा पाउँछ, पेटले थाहा पाउँदैन । पेटले त ‘क्याप्साइसिन’ रसायनको असर मात्र थाहा पाउँछ । यो रसायनको कति मात्राले अल्सरलाई पुर्न सहयोग गर्छ भन्नेबारे कुनै तथ्यांक उपलब्ध छैन । यतिसम्म थाहा छ कि थोरैले असर गर्दैन अनि धेरैले बेफाइदा गर्छ । यसको मतलब यदि तपाईंले खुर्सानी पचाउन सक्नुहुन्छ, पिरो स्वाद मन पराउनुहुन्छ भने ठिक्क मात्रामा खाँदा पेटको लागि फाइदाजनक छ ।

२. दुखाइ कम गर्छ:

यदि कसैलाई यातना दिनुप-यो भने घाउमा खुर्सानी छर्किदिने चलन छ । खुर्सानीको धूलो घाउमा पर्दा यसले जलन गराउँछ र मान्छे छट्पटिन्छ भन्ने विश्वास गरिन्छ । तर विज्ञानले यो भन्छ कि धूलो खुर्सानीमा भएको ‘क्याप्साइसिन’ रसायनले शुरुमा घाउमा जलन गराउँछ तर छोटो समयमै यो जलन हराउँछ र घाउको दुखाइ कम गराउँछ । यो पनि विश्वास गर्न कठिन कुरा हो । खुर्सानीले कसरी दुखाइ कम गराउँछ भन्नेबारे विज्ञानले बोलेको छ ।

घाउमा खुर्सानीको धूलो पर्दा यसमा भएका ‘क्याप्साइसिन’ रसायन पेन रिसेप्टर ९दुखाइ थाहा पाउने नसाको भाग० मा गएर टाँसिन्छ, जसको फलस्वरुप पेन रिसेप्टर निष्क्रिय भैदिन्छ । यसको नतिजास्वरुप दुखाइको अनुभूति हराउँछ वा घट्छ । यो कुरा सत्य भए पनि हामीले व्यवहारमा घाउमा खुर्सानीको लेप लगाएर दुखाइ घटाउने वा चाँडो निको पार्नेतर्फ लाग्नुहुँदैन, किनकि घाउको उपचार गर्ने अन्य थुप्रै प्रभावकारी औषधिहरु छन् ।

३.क्यान्सर रोग र खुर्सानी:
केही अध्ययन र अनुसन्धानहरुले खुर्सानीले क्यान्सरका कोशिकाहरुलाई नष्ट गर्छ भन्ने देखाएको छ तर यो निष्कर्ष निकाल्न अनुसन्धानहरुको संख्या पर्याप्त मात्रामा छैन । धेरै मात्रामा रातो खुर्सानी खाँदा वा खुर्सानीको धूलो धेरै खाँदा, मुख, घाँटी र पेटको क्यान्सरको सम्भावनालाई बढाउँछ भन्ने अध्ययनहरु पनि उपलब्ध छन् । यसकारण खुर्सानी र क्यान्सरको सम्बन्धबारे निष्कर्ष निकालिहाल्ने प्रमाण हामीसँग छैन ।

४. मुटुरोग र खुर्सानी:
मुटु स्वास्थ्य र खुर्सानीबारे अनुसन्धानहरुको कमी छ । कुनै–कुनै अध्ययनले खुर्सानीले उच्च रक्तचापलाई घटाउँछ भन्ने देखाएको छ । कुनैले हृदयघातको सम्भावनालाई बढाउँछ भन्ने देखाएको छ ।

५. एन्टिबायोटिकको काम गर्छ:
‘क्याप्साइसिन’ रसायनले एन्टिबायोटिकजस्तै काम गर्ने क्षमता राख्छ । यसमा कुनै–कुनै ब्याक्टेरियाहरु नष्ट हुन्छन् । मुख, घाँटी, दाँत आदिमा रहेको ग्राम पोजिटिभ ब्याक्टेरियाहरुको सक्रियतालाई यो रसायनले घटाउँछ । केही अध्ययनहरुले पेटको अल्सर गराउने जीवाणु ‘एच पाइलोरी’ लाई निष्क्रिय बनाउँछ भन्ने पनि देखाएको छ । तर फेरि यसको मतलब हामीले पेटको अल्सर हुँदा औषधि खान छाडेर खुर्सानी खानेतर्फ लाग्नु भने कदापि हुँदैन ।

अन्त्यमा गुलियो र चिल्लोलाई पचाउन थोरै पिरोले मद्दत गर्छ । खुर्सानी खाँदा धेरै पिरो भयो भने के गर्ने रु यो पनि थाहा पाई राख्नोस्, काम लाग्छ । पिरोलाई दूधले काट्छ । खुर्सानी खाँदा मुख पिरो भएर छट्पटाउनुभयो भने तुरुन्त एक गिलास चिसो दूध पिउनुस् । पिरो हराउँछ ।

प्रतिक्रिया दिनुहोस्