तपाईंका घरमा हाम्रा डाक्टर



१. म ३३ वर्षकी भएँ । विवाह गरेको ४ वर्ष भयो । हामीले सन्तानको चाहना राखे पनि तीन–चार महिनामा नै गर्भ खस्ने समस्या भइरहेको छ । यो समस्याको निराकरणका लागि मैले के गर्दा ठीक होला ? सुझावको अपेक्षा गर्दछु ।

– राधा काफ्ले, त्रिशूली, नुवाकोट ।

काफ्लेजी, त्यस्तो गर्भ नरहने र तीन–चार महिनामै खस्ने समस्या भएमा सम्बन्धित विशेषज्ञहरुबाट राम्रोसँग परामर्श लिनुपर्ने देखिन्छ । जस्तो– महिलासम्बन्धी समस्याको लागि स्त्रीरोग विशेषज्ञ देखाउनुपर्ने हुन्छ भने हर्मोन (थाइराइड वा अन्य यौन हर्मोन) गडबडीको बारेमा स्पष्ट हुन इन्डोक्रिन विशेषज्ञलाई देखाउनुपर्ने हुन्छ । त्यस्तै अन्य कुनै–कुनै सल्लाह फिजिसियनसँग पनि गर्नुपर्ने हुन्छ । यी त भए व्याख्यात्मक कुरा । वास्तविकतामा तपाईंको बिहे भएको त्यति धेरै भएको छैन । त्यस्तो गर्भ खस्ने पनि एकपटक हुँदैमा आत्तिनुपर्ने हुँदैन । नर्मल मान्छेमा नर्मलरुपमा सन्तान भैहाल्छ । त्यसैले सकारात्मक सोच्नुस्, आशावादी हुनुहोस्, चिकित्सकीय परामर्श पनि गर्दै गर्नुहोस् । तपाईंको चाहना निश्चय पूरा हुनेछ ।

२. मेरो उमेर ४३ वर्ष भयो । मेरो हातको औँला ढोकामा च्यापिएर घाउ भएको दुई महिनाजति भयो । साधारण घरेलु उपचार गरेँ तर निको भएको छैन । अब मैले के गर्दा उचित होला ?

– सुन्दर श्रेष्ठ, धादिङ ।

श्रेष्ठजी, औंला च्यापिएर घाउ भएको हुँदा बेलैमा स्वास्थ्य संस्था गएर उचित उपचार गर्नुपथ्र्यो, त्यो त गर्नुभएन नै । त्यसमाथि दुई–दुई महिना त्यसै बस्नु पनि गल्ती नै देखियो । त्यस्ता घाउको उपचारमा घरेलु उपचार मात्रै अपनाए पनि वैज्ञानिक तर्कसंगत हुनुप¥यो नि ! हरियो घाँसको हरियो रस निचोरेर राख्ने, कपुर पोलेर खरानी राख्ने, गाईको गोबर राख्नेजस्ता वा अन्य यस्तै घरेलु उपचार गरेमा धेरै नै डर लाग्दो परिस्थिति पनि आउन सक्ने हुन्छ । त्यस्तो घाउ भएमा डिटोल–पानीले वा स्पिरिट वा रक्सीले धोएर सफा गर्ने अनि सफा कपडाले छोपेर अस्पताल वा स्वास्थ्य चौकी गएर देखाउनुपर्ने हुन्छ । त्यसैले अब जति सक्यो छिटो नजिकको अस्पतालमा गएर शल्यचिकित्सक देखाइहाल्नुस् ।

३. मेरो शरीरको तौल ९२ के.जी. भएको छ । डाक्टरले तौल घटाउन सुझाव दिएपछि सधैँ बिहान आधा घण्टा हिँड्ने गरेको छु । तैपनि तौल घटेको छैन । तौल घटाउने उपाय बताइदिन अनुरोध गर्दछु ।

– सुरेश चौरसिया, कपिलवस्तु ।

चौरसियाजी, शरीरमा तौल बढाउन सजिलो छ तर घटाउन गाह्रो छ । यसको लागि मनैदेखि तयार हुनुप¥यो, नियममा बस्ने प्रण गर्नुप¥यो, तौल घटाउने प्रक्रिया वा क्रियाकलापलाई निरन्तरता दिनुप¥यो । अस्थायी किसिमले दुई–चार दिनको रमाइलो गरेजस्तो एक–आधा घण्टा हिँडेर तौल घट्ने होइन भन्ने कुरामा स्पष्ट हुनुप¥यो । यदि वास्तवमै तौल घटाउनको लागि लागिपर्ने हो भने ऊर्जाको सन्तुलनका बारेमा केही जानकारी भएमा सहज हुनेछ । शरीरको तौल घटाउनको लागि सधैँ शरीरमा ऊर्जाको सन्तुलन ऋणात्मक राख्नुपर्ने हुन्छ । त्यसको अर्थ खानेकुरा खाएर जति ऊर्जा शरीरमा आपूर्ति हुन्छ, त्यो मात्रा जति सक्यो कम हुनुप¥यो । साथै शरीरमा प्राप्त हुने ऊर्जा निर्यात वा खर्च हुनुप-यो । शारीरिक व्यायाम गरेर वा गेम खेलेर वा हिँड्ने, दौडिने गरेर शरीरको ऊर्जा खर्च गर्न सकिन्छ ।

आपूर्तिभन्दा अधिक खर्च भयो भनेमात्र तौल घट्न थाल्छ । तर ऊर्जा सन्तुलन मिलाउँदा पनि तौल घट्न समय लाग्ने हुन्छ । किनभने धेरै ऋणात्मक गर्न पनि सकिँदैन वा गर्नु पनि हुँदैन । सकेजति प्राकृतिक रूपमा वा त्यसको नजदिक रहेर ऊर्जा सन्तुलन ग¥यो भने शरीरलाई त्यो पाच्य अनि सहज हुन्छ । त्यसको मतलब बढी ऊर्जादायक चिल्लो पदार्थ सकेसम्म नखाने वा धेरै नै कम खाने गर्नुपर्छ । साथै चामल, आलुजस्ता ऊर्जादायक खानेकुरा पनि नियन्त्रित रुपमा खाने गर्नुपर्छ । कम ऊर्जादायक साग, सलाद, फलफूल, मकै, गहुँ, जौ, कोदो, फापर ठीक मात्रामा खाने गर्नुपर्छ । यी कुराहरुसहित उमेर अनुसार शरीरमा पसिना आउने गरी दिनको एक–दुईपटक कम्तीमा एक–एक घण्टा शारीरिक व्यायाम गर्ने ग¥यो भने तौल नघट्ने भन्ने कुरै हुँदैन । अर्को कुरा, तौल उचाइ अनुसार ठिक्क राख्नुपर्ने हुन्छ । यहाँको उचाइ त थाहा भएन तर पनि धेरै नै तौल भएकोले २०–२५ केजीसम्म घटाउनुपर्ने देखिन्छ । घटेको तौल नियमित अनि करिब–करिब प्राकृतिक रुपमा भएमा त्यो दिगो हुन्छ । त्यसका लागि दिइएको यो सल्लाह भने निरन्त अपनाउनुपर्ने हुन्छ ।

४. मेरो आँखामा कुनै समस्या छ जस्तो लाग्दैन, हेर्दा सबै कुरा प्रस्ट नै देख्छु तर कहिलेकाहीँ कुनै–कुनै रङ्गका वस्तु नदेखेजस्तो लाग्छ । यो आँखाको रोग हो कि होइन ? हो भने कहाँ उपचार गर्नुपर्ला ? बताइदिनुभए आभारी हुने थिएँ ।

– रुपेश राना, गाईघाट, बोक्से ।

रानाजी, आँखाले फरक–फरक रंगको वस्तु नदेखेको महसुस भएमा ‘रंग दृष्टिदोष’ ९ऋययिगच ख्ष्कष्यल एचयदझि० भन्ने समस्या हुन सक्ने देखिन्छ । कहिलेकाहीँ मात्रै त्यस्तो हुने भनेकाले यो समस्या शुरुवाती अवस्थाजस्तो लाग्छ, जसको उपचार पनि सहज तथा फलदायी हुन सक्ने कुरा स्पष्ट हुन्छ । यो सरसर्ती बुझ्दा आँखाकै समस्याजस्तो लाग्छ । सकेसम्म आँखाकै चिकित्सकलाई मिलेसम्म सुविधा सम्पन्न आँखाकै अस्पतालमा देखाएमा सहज अनि पूर्ण उपचार हुनेछ । त्यसको लागि एकपटक काठमाडौंमा आएर तिलगंगा आँखा अस्पताल वा त्रिपुरेश्वरको आँखा अस्पताल वा शिक्षण अस्पताल परिसरमा अवस्थित बीपी कोइराला आँखा केन्द्र, जहाँ सजिलो हुन्छ त्यहाँ देखाउन सल्लाह दिइन्छ ।

५. मेरो श्रीमान् सुतेपछि असाध्य घुर्ने भएकाले मेरो निद्रा प्रायः गडबड भइरहन्छ । घुर्ने समस्या नियन्त्रण गर्ने कुनै उपाय छैन डा. साब ?

– कुन्ता, ललितपुर ।

कुन्ताजी, यो संसारमा ८०–९० प्रतिशत पुरुषहरु घुर्छन् भने १०–२० प्रतिशत महिला घुर्ने गर्छन् । यो अत्ति नै व्यापक समस्या मानिन्छ । यो व्यापक भएजस्तै यसलाई सहने, घुलमिल हुने, पचाउने गरेर व्यवस्था भएकै पनि पाइन्छ । यहाँले भनेजस्तै यदि पार्टनर हल्का तथा सतही निद्रावाला परेमा वा संवेदनशील भएमा निद्रा गडबड हुन सक्ने नै भयो । घुर्ने कारणमा निश्चित यही भन्ने नभए पनि अधिकत्तर मोटोपना, दमको समस्या, श्वासनलीमा विभिन्न कारणले अवरोधलाई मुख्य मानिएको छ । त्यसमा पनि मोटोपनाले यो समस्या बढी हुने गरेको पाइन्छ । यदि तौलको समस्या नै यसको कारण हो जस्तो भएमा प्राकृतिक रुपमा तौल नियन्त्रण गर्नु जरुरी छ । उत्तानो सुतेको भए कोल्टे सुत्न सल्लाह दिनुपर्छ । यसबाहेक घुर्नासाथ झकझक्याएर उठाउने र सम्झाउने गरे पनि घुर्न छोड्ने वा कम गर्ने पाइएको छ । तपाईं ललितपुरमा नै भएकोले एकपटक छातीरोग विशेषज्ञ तथा नाक, कान, घाँटी रोग विशेषज्ञसँग पनि परामर्श गर्नुभएमा धेरै लाभदायी सल्लाह पाउन सकिनेछ ।

६. म ४९ वर्षको भएँ । मलाई उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या छ । दशैँ–तिहारमा घरमा प्रायः खसीको मासु र चिल्लो नै खाइन्छ । रोग बढ्न नदिन मैले खानेकुरामा के–कस्तो सावधानी अपनाउनुपर्ला ?

– कृष्ण भट्ट, चितवन ।

कृष्णजी, उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोलको समस्या अधिकत्तर जीवनशैलीका उपज हुन् भने केही मात्रामा वंशाणुगत हुन पनि सक्छन् । यस्तो अवस्थामा नून र चिल्लो नियन्त्रण गर्ने तथा शारीरिक सक्रियता बढाउने सल्लाह दिने गरिन्छ । जहाँसम्म दशैँ–तिहारको निहुँमा खसीको मासुको अत्यधिक सेवन यी दुवैको लागि राम्रा कुरा होइन । यदि माथि भनेजस्तो खानपानमा सावधानी अपनाएर चिल्लो कम, नून कम, शारीरिक व्यायाम नियमित गरेमा यी समस्याबाट बच्न सकिन्छ । यसका लागि एकदमै नियन्त्रित रुपमा थोरै मासु खाने, ज्यादा सलाद र फलफूल खाने गरेमा सुरक्षित रहन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्