बाँझोपन : ‘आईभीएफ’ अन्तिम विकल्प



लक्ष्मण अधिकारी

बाँझोपनको उपचारका लागि आईभीएफ (टेस्टट्युब बेबी प्रविधि) अन्तिम विकल्प भए पनि अहिले यसलाई फेसनजस्तो बनाएर कतिपय उपचार केन्द्र एवं सेवाग्राही आफैँले पनि पहिलो प्राथमिकतामा राखेको पाइन्छ । तर यो तरिका एकदमै अवैज्ञानिक तथा गलत मानिन्छ ।

आईभीएफका क्रममा दिइने धेरै मात्राको हर्मोनका कारण दोषपूर्ण बच्चाहरु जन्मिने गरेको पनि पाइएको छ । सजिला र सस्ता वैज्ञानिक विधिहरु हुँदाहुँदै सफलता दर कम भएको र धेरै खर्चिलो आईभीएफ विधिलाई प्राथमिकता दिनु ठीक होला त ?बाँझोपनको उपचारमा करिब तीन दशकदेखि संलग्न निःसन्तान केन्द्रका प्रमुख तथा बरिष्ठ रिप्रोडक्टिभ इन्डोक्रोनोलोजिस्ट डा. उमा श्रीवास्तव (पोखरेल) भन्नुहुन्छ, “एकैचोटि आईभीएफ विधिमा नगई आवश्यक सबै परीक्षणहरु गरेर अरु सहज विकल्पहरुलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मेरो मान्यता छ । तर विज्ञापनको प्रभावमा परी शुरुमै ‘मैले पहिला पनि तीन–चार वर्षसम्म बाँझोपनको उपचार गराइसकेँ, सफल भएन, अब टेस्टट्युब बेबी गराइदिनुस्, मलाई अरु चिजमा मतलब छैन’ भन्नेहरु मकहाँ पनि थुप्रै आउँछन् ।

धेरै वर्षअघि सिलगढीबाट आएकी एक सेवाग्राहीले ‘मैले ६-७ वर्षदेखि बाँझोपनको उपचार गराएँ, सफल भएन, अब मलाई कुनै टेस्टट्युब बेबी गराइदिने सेन्टरमा पठाइदिनुस्, मलाई पैसाको मतलब छैन, मेरो हस्बेन्ड बृटिस आर्मीमा हुनुहुन्छ’ भनिन् । पहिला–पहिला म पनि यस्ता केशहरु दिल्लीस्थित गंगाराम अस्पतालमा पठाउँथेँ ।मैले उनलाई भनेँ, ‘तपाईँको ट्युबमा ब्लक देखिएको छैन, तपाईँको उमेर अलि बढी (३७–३८) छ । एक–दुई महिना मलाई कोशिश गर्न दिनुस् न ।’ त्यसपछि हामीले उनको सबै परीक्षण ग-यौँ । उनलाई हर्मोनको समस्या पाइयो । हाम्रो उपचारले नै उनको बच्चा भयो, आईभीएफ गराउनै परेन । यस्ता केसहरु थुप्रै हुन्छन् ।

त्यसकारण एकैचोटि आईभीएफ गराउनतिर लाग्नुहुँदैन । बाँझोपनको उपचार गर्नका लागि पहिले त कारण नै पत्ता लगाउनुपर्छ । कसैको १० वर्षदेखि र कसैको २० वर्षदेखि कोशिश गर्दा पनि बच्चा भइरहेको हुँदैन । यस अवधिमा उहाँहरुले के–कति परीक्षण गराउनुभएको छ भनेर नियालेर हेर्छौं । आवश्यक परीक्षण र उपचार गरिसकेपछि पनि बच्चा भइरहेको छैन भने, पहिला ठीकसँग परीक्षण भएन कि भनेर पुनः परीक्षण गरी कारण पत्ता लगाउँछौँ ।

यस्तो परीक्षण गराउँदा कहिलेकाहीँ ल्याप्रोस्कोप छिराएर पाठेघरवरिपरि हेरेको हुन्छ । तर ल्याप्रोस्कोप नछिराईकन एकदम सस्तो र सजिलोसँग गरिने एक्स–रे (HSG) गर्दा पाठेघर, डिम्बबाहिनी नलीको स्थिति थाहा हुन्छ । त्यसकारण हामी सरल माध्यमबाट पुनः परीक्षण गर्ने गरेका छौँ ।मकहाँ आएकी एक सेवाग्राहीको १० महिनादेखि महिनावारी गडबड भई उपचार गराएको तर हर्मोन टेस्ट रिपोर्टचाहिँ नर्मल देखाएको पाइयो । हर्मोनकै उपचारबाट उनको महिनावारी गराउने हो । क्लिनिकल समस्याचाहिँ भएको छ, तर परीक्षण रिपोर्ट समस्यासँग मिल्दैन भने पुनः परीक्षण त गराउनै पर्छ ।

यस्तै गरी कतिपयलाई एकैचोटि सर्जरी गर भनिएको हुन्छ, तर हामीचाहिँ एकैचोटि किन सर्जरीमा जाने भनेर अरु सरल विकल्पहरुको खोजी गर्छौं । तर हामीले मान्यता दिन सक्ने गरी परीक्षण भएको छ भन्ने लागेमा त्यसलाई पनि स्वीकार्छौं ।शुरुमै आईभीएफ गराएका तर सफल नभएका सेवाग्राही हामीकहाँ आउँछन्, तर उनीहरुमध्ये कतिपयले हर्मोन टेस्ट गरेको रिपोर्ट देखाउन सक्तैनन् । बेसिक टेस्टपछि हर्मोन टेस्ट त गर्नै पर्छ । फिमेल हर्मोनको मात्रा, उत्पादन क्षमता कति छ भन्ने कुरा त्यो हर्मोन परीक्षणबाट थाहा हुन्छ । अण्ड उत्पादनको क्षमता थाहा नपाई आईभीएफ उपचार त गर्नै सकिँदैन । उनीहरुसँग किन हर्मोन टेस्टको रिपोर्ट हुँदैन ? भन्ने कुरा मैले यकिन बुझ्न सकेको छैन ।

हर्मोन टेस्ट किन जरुरी हुन्छ ? 

मेरो अनुभवमा महिलामा बाँझोपन आउनमा ४० प्रतिशतभन्दा बढी त हर्मोनको गडबडीकै कारण हुन्छ । महिलामा अण्डा उत्पादन नै राम्रो नहुने समस्या पहिलो नम्बरमा छ ।

तस्वीर: अनिल आङदेम्बे

 

३५ वर्ष पुगेपछि कतिपयको अण्डा उत्पादन नै कम हुन्छ ।

 

यो हर्मोनको गडबडीले हुन्छ । कतिपयलाई खानपानमा ध्यान नदिएका कारण कुपोषण भएको हुन्छ । यसले गर्दा अण्डा उत्पादनमा असर पर्छ । एकदम मोटोपन भएकाको पनि अण्डा उत्पादन राम्रो हुँदैन ।

कतिपयमा पहिलेदेखि नै सिस्ट पैदा गर्ने पोलिसिस्टिक केसहरु (फोके रोग) हुन्छन् । फोके रोगको कारणले बाँझोपन हुने केसहरु धेरै हुन्छन् । यसमा त शत प्रतिशत हर्मोनल उपचार मात्र हो । यी आदि कारणले गर्दा हर्मोन टेस्ट प्राथमिकतामा हुन्छ । त्यसै अनुसार सरल उपचार गर्न सकिन्छ ।अरु विकल्प बाँकी हुँदाहुँदै अनावश्यक रुपमा धेरै हर्मोन सुई दिएर आईभीएफ गराउनतिर लाग्दा त्यसले अनेक हानि गर्छ ।

त्यसै त पेटमा फोकाहरु धेरै भएको हुन्छ, आईभीएफ गरेपछि झन् ती फोकाहरु बढेर पेट डुमडुम हुन्छ, पेटमा पानी भरिन्छ । ड्रिल गरेर निकाल्नुपर्ने ज्यादै जटिल अवस्था सिर्जना हुन्छ । त्यसकारण हामी डाक्टरहरुले नै सबै परीक्षणहरु गरेर के उपचारचाहिँ उसका लागि उपयुक्त हुन्छ भनी सो अनुसार गर्नु हाम्रो दायित्व हो ।हामीकहाँ आईभीएफमा धेरै लामो अनुभव, रिसर्च नभए पनि विकसित मुलुकहरुमा त धेरै रिसर्च भइसकेका छन् ।

हर्मोन इन्जेक्सन दिएर धेरैवटा अण्डा विकास गर्दा त्यसले महिलाको स्वास्थ्यमा हानि गर्छ भनेर स्क्यान्डिनेभियनलगायत कतिपय विकसित देशहरुमा धेरै अण्डा उत्पादन गर्ने विधि बन्द गरी सिङ्गल एगमा जान थालिसकेका छन् । धेरैवटा अण्डा बनाउने क्रममा दोषपूर्ण (defective)  बच्चाहरु जन्मिइरहेको अध्ययनकर्ताहरुको भनाइ छ ।”

कुन आईभीएफ सेन्टर राम्रो ?

अनुसन्धान रिपोर्टहरुको आधारमा आईभीएफलाई निरुत्साहित गर्दै र गर्नै पर्ने अवस्थामा पनि एउटा मात्र भ्रूण प्रत्यारोपण गर्ने प्रचलन आइसकेको अवस्थामा पनि नेपालमा अत्यधिक (३० वटा) आईभीएफ सेन्टरहरु चलिरहेका छन् । यी मध्ये कुन आईभीएफ सेन्टर भरपर्दो र गुणस्तरीय छ भन्ने कुरा सेवाग्राहीले कसरी थाहा पाउने ?
डा. श्रीवास्तव भन्नुहुन्छ, “वास्तवमा यो दायित्व सेवाग्राहीकै भएकोले उपचारका लागि जानुभन्दा पहिले त्यो सेन्टर कति पुरानो हो, कति अनुभवी एवं दक्ष जनशक्ति छ, त्यहाँ आईभीएफ गराउनेहरुको सफलता दर कस्तो छ, आदिबारे अध्ययन गर्नु जरुरी छ । कतिपय सेन्टरहरु गुणस्तरीय छन् तर प्रचार गर्दैनन् ।

 

बाँझोपन भएका धेरैले गुणस्तरीयता नहेरी प्रचारको पछि लागेको देखिन्छ ।

यो गलत तरिका हो । कुनै उपचार केन्द्रका बारे अध्ययन गरेर त्यहाँ जाँदा परामर्शको क्रममा आफूले बुझेअनुसार नै राम्रो रहेछ भने त्यहीँ गर्दा हुन्छ । तर आफूलाई अलि चित्त नबुझेमा अन्यत्र पनि गएर परामर्श गरी तुलना गर्नु उपयुक्त हुन्छ ।”

बाँझोपनमा को बढी जिम्मेवार ?

बाँझोपनको समस्यामा प्रायः महिलाकै कमजोरी ठान्ने र उनैको परीक्षण, उपचार गराउने गरेको देखिन्छ । पुरुषको कारणले बाँझोपन हुँदैन भन्ने भ्रम पालेर कतिपय पुरुष परीक्षणमै नजाने बरु दोस्रो विवाह गर्ने गरेको पनि पाइन्छ । बाँझोपन हुनुमा महिला मात्र जिम्मेवार हुने हो त ?
डा. उमा भन्नुहुन्छ, “बाँझोपन पुरुष–महिला दुवैको कारणले हुन्छ । मेरो अनुभवमा ५० प्रतिशत महिला र ५० प्रतिशत पुरुषको कारणले हुन्छ ।हर्मोनको गडबडी हुनु महिलामा बाँझोपनको मुख्य कारण हो । यसले गर्दा महिनावारी, डिम्ब उत्पादन गडबड हुन्छ । डिम्बबाहिनी नली (फेलोपिन ट्युब) बन्द हुनु अर्को कारण हो । यस्तै पाठेघरमा ट्युमरहरु बन्ने, पाठेघरको बनावट नै अस्वाभाविक हुने, पाठेघरको विकास राम्रोसँग नभई गर्भ रहने पनि हुन्छ ।

पाठेघरको मुख सानो भई शुक्रकीट नै भित्र जान नसक्ने हुनु त ठूलै समस्या हो । ग्रामीण क्षेत्रमा चाहिँ पाठेघरमा संक्रमण हुनु पनि ठूलो समस्या भएको छ ।पुरुषमा बाँझोपनको मुख्य समस्या हर्मोनल कारणले शुक्रकीट कम उत्पादन हुनु हो । उपचारमा आएका पुरुषमध्ये ६० प्रतिशत जतिमा शुक्रकीटको कमी भएको र ४० प्रतिशतमा शुक्रकीट नै उत्पादन नहुने समस्या पाइन्छ । शुक्रबाहिनी नली बन्द हुने समस्या पनि पुरुष बाँझोपनको एउटा मुख्य कारण हो । कहिलेकाहीँ चाहिँ संक्रमण भएर वीर्यबाहिनी नली साँघुरो हुने समस्या पनि हुन्छ ।उपचारको सन्दर्भमा दम्पतीलाई नै सँगै राखेर परामर्श दिनुपर्छ र कारण पनि यसै बेला पत्ता लगाउनुपर्छ । त्यसपछि निश्चित परीक्षणहरु गरेर रोग निदान भइसकेपछि उपचारमा जानुपर्ने हुन्छ ।

तस्वीर: अनिल आङदेम्बे

स्वतः गर्भपतन शहरमा बढी

बाँझोपनको उपचारमा जाने महिलामध्ये करिव ५ प्रतिशतमा स्वतः गर्भपन (मिसक्यारेज) भएको हुन्छ र यो ठूलो समस्याका रुपमा छ ।धेरैजसोमा हर्मोनको गडबडीका कारण यो समस्या भएको डा. उमा श्रीवास्तवको भनाइ छ । उहाँ भन्नुहुन्छ, “डिम्बासयको फोके रोग हुनु पनि हर्मोनको गडबडीले नै हो । पाठेघरको भित्री तहमा ट्युमर बन्दा, पाठेघर साँघुरिँदा, बच्चा बस्ने पाठेघरको भित्री तह एकदम पातलो भइदिँदा र वंशाणुगत कारणले पनि मिसक्यारेज हुनसक्छ ।

यसबाहेक भाइरस, ब्याक्टेरियाको संक्रमण, यौन सम्पर्कबाट सर्ने रोगहरु, प्रोजेस्टरोेन हर्मोन (अन्य गर्भसम्बन्धी हर्मोन) को कमीका कारण पनि गर्भ तुहिन सक्छ । मिसक्यारेजको समस्या शहर तथा गाउँ दुवैतिर भए पनि खानपान तथा जीवनशैलीको कारण शहरमा बस्नेको धेरै गर्भपतन भएको पाइन्छ । धूमपान, मदिरापान, लागूपदार्थको दुव्र्यसन, व्यायामको कमीको समस्या शहरमा धेरै छ । यस कारणले पनि मिसक्यारेज हुन्छ ।

पाठेघरको बनावट नै दोषपूर्ण हुने जस्तोः सानो हुने, एउटै मुख भएका दुईवटा पाठेघर हुने वा दुईवटा मुख भएको एउटा पाठेघर हुने, पहिले नै फेलोपिन ट्युब फुलिएको हुने, पाठेघरको विभिन्न स्थानमा ट्युमरहरु विकास हुनेजस्ता कारणले पनि मिसक्यारेज हुन्छ । पोषण नपुग्दा क्याल्सियम, भिटामिन डी, एन्टिअक्सिडेन्ट आदिको कमी हुँदा पनि गर्भको निरन्तरता नहुन सक्छ । यस्ता समस्यामा पहिले नै उपचार गरेर मात्र गर्भधारण गर्नुपर्ने मेरो सुझाव छ ।

स्वतः गर्भपतन भएकाहरुको उपचारका लागि सर्वप्रथम यससम्बन्धी उनीहरुको हिस्ट्री हेरिन्छ । धेरै कुरा खोतलेर कारण पत्ता लगाइन्छ । यसरी प्रोभिज्नल डायग्नोसिस गरेपछि आवश्यक परीक्षणहरु गराइन्छ । यी सबै अध्ययन गरेर उपचार तय गरिन्छ ।”

निःसन्तान केन्द्रमा उपचार

डा. उमा श्रीवास्तव आफ्नो सेन्टरमा सबै कारणले हुने बाँझोपनको उपचार गर्ने गरेको बताउनुहुन्छ । निःसन्तान केन्द्रमा साधारण जाँचदेखि विश्वमा चलेका उच्च प्रविधिका परीक्षण र उपचारको व्यवस्था गरिएको उहाँले बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “निःसन्तान केन्द्रले हाल विश्वमा विकास भएका उपयुक्त प्रविधि प्रयोग गरेर सकेसम्म सहुलियत रुपमा उपचार सेवा प्रदान गर्दै आएको छ । हाम्रो अनुभवमा

तस्वीर: अनिल आङदेम्बे

 

५ प्रतिशतलाई त परामर्शबाट नै गर्भ रहन्छ ।

उपचार सेवा लिनेहरु नकारात्मक मानसिकताले ग्रस्त छन् भने पनि सन्तान उत्पादनमा असर पर्छ । यसका लागि सेवा लिने दम्पती र परिवारको भूमिका महत्वपूर्ण हुन्छ ।

हामीकहाँ अहिले विदेशमा बसोवास गर्ने नेपाली बहिनीहरु पनि आउँछन् । आजै पनि अस्ट्रेलियामा बस्ने दुईजना नर्सहरु त्यहाँको उपचार चित्त नबुझेर यहाँ आएका थिए । हरेक दिनजसो कोही न कोही विदेशबाट उपचारका लागि आइरहेका हुन्छन् । केही वर्षअघि स्वीडेनबाट एकजना बहिनी आएकी थिइन् । उनलाई त्यहाँ डाक्टरले बच्चा हुनै सक्तैन भनेका रहेछन् । तर हामीले उपचार गरेर बच्चा भयो । अहिले बच्चा ६ वर्षको भएको छ ।

तस्वीर: अनिल आङदेम्बे

अमेरिका, बेलायत, क्यानाडा, जापान, भारत, खाडी मुलुकलगायत नेपालीहरु बसोवास गरेका प्रायः सबै देशबाट बाँझोपनको उपचारका लागि यहाँ आउँछन् । दशैँ–तिहारको छुट्टीको बेलामा विदेशबाट उपचारका लागि आउने नै धेरै हुन्छन् । दैनिक १०–१२ जनासम्म हुन्छन् ।”

बाँझोपन हुनै नदिने उपाय

तस्वीर: अनिल आङदेम्बे

 

डा. उमा भन्नुहुन्छ, “बाँझोपन हुनै नदिनका लागि आफैँले पनि धेरै सावधानीहरु अपनाउन सकिन्छ

 

जस्तोः छोरी मान्छेले महिनावारी ठीक छ कि छैन भनेर सधैँ सचेत हुनुपर्छ । अनियमित हुन थालेपछि तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ । आफ्नो खानपानमा ध्यान दिनुपर्छ, नियमित जाँचहरु गर्नुपर्छ । अहिले फेसनका कारण कतिपय केटीहरु शरीर मेन्टेन गर्ने भनेर सन्तुलित खाना नखाने, भात–दाल खायो भने मोटाउँछ भनेर जंकफुड खाने गर्छन् । जंकफुडमा चिल्लो धेरै हुन्छ र त्यसले छिटो शरीर मोटो बनाउँछ । साथै यसले हर्मोनल सिस्टम नै बिगारेर डिम्ब उत्पादनमा असर पर्छ र बाँझोपन निम्तिन्छ । यस्तोमा सावधानी अपनाउनुपर्छ ।

बजारमा धेरै किसिमका खाना पाइन्छन् तर सबै खान उपयुक्त हुँदैनन् । पैसा छ भन्दैमा जे पनि खानुहुँदैन । नियमित व्यायाम गर्नुपर्छ, खानपान र जीवनशैली स्वस्थ राखेर सन्तुलित जीवन जिउँदा बाँझोपनको समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।अहिले कतिपय युवाहरु खाडी क्षेत्रमा काम गर्न जाँदा धेरै तातोमा काम गर्नुपर्छ, सधैँ कुकको काम गर्नुपर्ने पनि हुन्छ ।

तस्वीर: अनिल आङदेम्बे

 

पुरुषको प्रजननका लागि धेरै तातोमा बसिरहनु राम्रो होइन ।

 

सेक्युरिटीमा बस्ने, डबल ड्युटी गर्ने, सिपमा लामो समय समुद्रमा रहने गर्दा निद्राको गडबडी हुन्छ, खानपानमा कमी हुन जान्छ ।

फिल्डमा निर्माणसम्बन्धी कार्य गर्ने, भेडा चराउने, बगैँचामा काम गर्नेहरुमा धेरै तातोको कारण समस्या उत्पन्न हुनसक्छ । खासगरी अविवाहित वा सन्तान प्राप्त भइनसकेकाहरुले यस्ता वातावरणबाट बच्नुपर्छ । कतिपय यस्ता अनुपयुक्त वातावरणबाट बच्छन् पनि, तर कतिपयलाई चाहिँ बाध्यता नै हुन्छ । उल्लिखित वातावरणको कारण खासगरी खाडी मुलुकहरुबाट बाँझोपनको समस्या लिएर उपचारका लागि आउनेहरु थुप्रै छन् । यस्तो ठाउँमा जानेहरुले सल्लाह लिन आउँदा हामीले शुक्रकीट लिई फ्रिज गरेर पनि राख्ने गरेका छौँ ।”

जे होस्, नेपाल बाँझोपनको उपचारका लागि आत्मनिर्भर हुने क्रममा छ र परीक्षण तथा उपचारका अत्याधुनिक विधिहरु पनि भित्रिइसकेका छन् । तर बढी ब्यापारिक दृष्टिकोण राख्ने कतिपय उपचार केन्द्रले राम्रोसँग परीक्षण पनि नगरी अनुपयुक्त एवं खर्चिलो विधिलाई प्राथमिकता दिने गरेको पनि पाइन्छ । बाँझोपनको उपचारका लागि जाँदा राम्ररी बुझेर जानुपर्छ र चित्त नबुझ्दो कुरामा अन्यत्र पनि बुझ्नु उपयुक्त हुन्छ । एकैचोटि जटिल र जोखिमपूर्ण उपचारमा गइहाल्नुहुँदैन ।

नेपालमा पहिलो टेस्टट्युब बेबी

डा. उमा श्रीवास्तवले रिप्रोडक्टिभ इन्डोक्रोनोलोजीमा बेलायतबाट पोस्ट ग्राजुएसन गरेपछि नेपालमा बाँझोपनको उपचारमा संलग्न हुनुभएको हो । उहाँले नेपालमै पहिलोपटक २०५९ सालमा टेस्टट्युब बेबी प्रविधि (आईभीएफ) बाट सन्तान जन्माउनका लागि आधुनिक ल्याबको स्थापना र २०६० साल असारमा नेपालमै पहिलोपटक टेस्टट्युब प्रविधिबाट सन्तान जन्माउन (२ जना महिलाबाट) सफलता प्राप्त गर्नुभएको थियो ।
सन् २०१५ मा इक्सी प्रविधिको प्रयोग गरेर २०१६ मा नेपालमै पहिलोपटक सन्तान जन्माउन र सन् २०१६ मा फ्रोजन इब्रियो ट्रान्सफर गरी नेपालमै पहिलोपटक सन्तान जन्माउन (ग्रान्डी सिटी अस्पतालमा गई) सफलता प्राप्त गर्नुभएको थियो । प्रजननसम्बन्धी उपचारमा उहाँले दिएको योगदानको कदर गर्दै विभिन्न पुरस्कार पनि पाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्