पत्थरी गलाउन गहतको उपयोग



रोहिणी घिमिरे

विशेष गरी पहाडी गहतमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । यसको सेवनले शरीरलाई पर्याप्त ऊर्जा प्राप्त हुन्छ । यति मात्र होइन, पत्थरीको समस्या आउन नदिन गहतको दाल वा सुप खाने गर्नु लाभकारी हुन्छ । गहतमा मिर्गौलामा भएको पत्थरी नरम गराउने क्षमता हुन्छ । जब पत्थर नरम हुन्छ तब टुक्रिएर पिसाबमार्फत बाहिर आउने सम्भावना अधिक हुन्छ ।
गहतलाई विभिन्न औषधिका रूपमा समेत उपयोग गरिन्छ ।

यसको सेवनले शरीरको रोग–प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । सर्दी, रुघा–खोकी लागेको छ भने यसले घरेलु उपचारको काम गर्छ । त्यसैले जाडो याममा गहतको सुप खानु बढी हितकर हुन्छ । तर विडम्बना नै मान्नुपर्छ, नेपालमा यसलाई तुच्छ खाद्यका रुपमा लिने गरिन्छ ।गहतमा पोटासियम प्रशस्त पाइन्छ र यो फाइबरको पनि राम्रो स्रोत हो । पोटासियमले शरीरमा अम्ल र क्षार सन्तुलित राख्न मद्दत गर्छ ।

त्यसैले यसको सेवनले शरीरमा पत्थर बन्ने प्रक्रिया नियन्त्रण गर्न सहयोग पुग्नुका साथै अन्य स्वास्थ्य समस्यामा पनि फाइदा पुग्ने पोषणविज्ञहरुको भनाइ छ । पत्थरी बन्न नदिने अथवा हटाउने, पित्त बढाउने, रगत बढाउने क्षमता गहतमा हुने कुरा पतञ्जलि योगपीठका आचार्य बालकृष्णले समेत औंल्याउनुभएको छ । उहाँका अनुसार श्वासप्रश्वासको समस्या, बाथसम्बन्धी समस्या, खोकी, मोटोपन, ज्वरो, कब्जियत आदिमा समेत गहतको सेवन उपयोगी हुने गर्छ । गहत मूत्रवर्धक भएकाले पिसाबसम्बन्धी समस्या र सुन्निने समस्यामा हितकारी हुने उहाँको भनाइ छ । तर एउटा कुरा के बिर्सनुहुँदैन भने, गहत सीमित मात्रामा सेवन गर्नुपर्छ । किनभने यसले पेट फुल्ने, पेट दुख्ने समस्या निम्त्याउन सक्छ ।
गहत सेवनका प्रमुख फाइदा

मिर्गौलाको पत्थरीमा: यदि मिर्गौलामा पत्थरीको समस्या छ भने गहतको दाल वा सुपको सेवन गर्न सक्नुहुन्छ । गहतको दाल-सुपमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । साथै यसमा शरीरबाट फोहोर बाहिर निकाल्ने गुण पनि हुन्छ । त्यसैले यसले मिर्गौलाको पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्छ । गहतको दालले मूत्रवर्धकको काम गर्दछ । त्यसैले यसको सेवनले मिर्गौलाको पत्थरीलाई पिसाबको माध्यमबाट निकाल्न मद्दत गर्छ । तर पत्थर बनेर ठूलो आकार लिइसकेको छ भने गहतको क्षमताले भ्याउँदैन ।

खोकी र चिसो लागेमा: जाडो मौसममा चिसोका कारण रुघाखोकी लाग्ने गर्छ । साथै ज्वरो पनि आउन सक्छ । यस्तो अवस्थामा आफ्नो शरीरको रोग–प्रतिरोधात्मक क्षमता बढाउन गहतको सुप सेवन गर्नुपर्छ । यसले रुघाखोकी र ज्वरोबाट छुटकारा दिने काम गर्छ । साथै यसले घाँटीको इन्फेक्सनलाई पनि हटाउँछ । गहतको प्रभाव तातो हुने भएकाले जाडोमा बढी हितकारी हुन्छ । रुघाखोकी निको पार्ने यो राम्रो घरेलु उपाय पनि हो ।

पखाला लागेमा: झाडापखालाको समस्याबाट छुटकारा पाउनको लागि गहतको दाल, सुप सेवन गर्न सकिन्छ । यसमा फ्लेभोनोइड्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । यसले पखालाविरुद्धको काम गर्ने हुन्छ । यसका साथै गहतको दालमा फाइबर पनि हुन्छ, यसले समेत पखालाबाट छुट्कारा पाउन मद्दत पु¥याउँछ ।

वजन घटाउन: यदि तपाईं मोटोपनबाट हैरान हुनुहुन्छ भने गहतको दाल वा सुप बनाएर सेवन गर्न सक्नुहुन्छ । यसमा पाइने फाइबरको मात्राले भोक कम गरेर तौल घटाउन मद्दत गर्छ । त्यसैले यसलाई शारीरिक तौल घटाउने उत्तम उपाय मानिन्छ ।

कब्जियत भएमा: आजको जीवनशैली र खानपानका कारण अधिकांश मानिसलाई कब्जियतको समस्याले सताउने गरेको छ । कब्जियतको लागि तपाईंले आफ्नो आहारमा फाइबर समावेश गर्नुपर्छ । गहतको दालमा फाइबरको मात्रा राम्रो हुने हुँदा यसले कब्जियतको समस्याबाट छुटकारा पाउन मद्दत गर्छ । फाइबरले दिसा टाइट हुन रोक्छ र मलत्याग प्रक्रियालाई पनि सहज बनाउँछ ।

मधुमेहमा : गहतको दालमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ । गहतको दालले टाइप २ मधुमेहमा राहत दिन्छ । यसले कार्बोहाइड्रेटको पाचन प्रक्रियालाई ढिलो गरी इन्सुलिन प्रतिरोधात्मक क्षमता कम गर्छ । जसले गर्दा शरीरमा रगतमा चिनीको मात्रा कम गर्न मद्दत पुग्छ । (स्रोत: onlymyhealth.com)

 

गहतको झोल हालेर ढुंगा काटियो

दोलखामा अवस्थित भीमेश्वरको शिलामा बेला–बेलामा पसिना आएको समाचार हामी प्रायले सुनेका छौं । यही भीमेश्वर मन्दिर प्राङ्गणमा पत्थरका अग्ला–अग्ला स्तम्भहरु छन् । ती स्तम्भको माथि धातुबाट बनेका सिंहका मूर्ति राखिएका छन् । त्यसैले ती स्तम्भलाई सिंहस्तम्भ पनि भन्ने गरिएको छ । सुन्दर आकारमा कुँदिएका यस्ता विशाल स्तम्भको निर्माणका क्रममा गहतको झोल प्रयोग गरिएको कुरा दोलखाका साहित्यकार एवं लेखक बालकृष्ण श्रेष्ठ ‘दोल्खे’ बताउनुहुन्छ ।

उहाँका अनुसार पछिल्लो स्तम्भ वि.सं. २०१४ मा नजिकैको सिंहवनबाट ल्याएर त्यहाँ (हाल नरिवल फुटाउने ठाउँनजिकै) गाडिएको हो । यो स्तम्भ तान्न आफू पनि स्कुलबाट दौडेर गएको दोल्खे स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सिंहवनमा ठूलो आकारमा फैलिएको कडा चट्टान थियो । सो चट्टान काट्दा खोल्सो नै बनेको देखिन्थ्यो ।’

चट्टान कसरी काटियो भन्ने प्रश्नमा दोल्खे भन्नुहुन्छ, ‘धेरै वर्षअगाडि त्यहीँबाट हालको सबैभन्दा ठूलो स्तम्भ काटेर ल्याइएको रहेछ । सो स्तम्भ काट्दा एक मुरी गहत पकाएर त्यसको झोल प्रयोग गरिएको कुरा २०१४ सालमा अर्को स्तम्भ लिन जाँदा बूढापाकाले बताएका थिए ।’उहाँको कुराले गहतको झोलले ढुंगालाई नरम बनाउने हुँदा चाहेको आकारमा काट्न र कुँद्न सकिने रहेछ भन्ने बुझ्न गाह्रो परेन ।

अनि १४ सालमा चाहिँ गहतको प्रयोग गरिएन त ? भन्ने प्रश्नमा दोल्खेको उत्तर थियो, ‘पहिला नै खोल्सो बनाई छुट्याउन मात्र बाँकी भएकोले गहतको प्रयोग आवश्यक परेनजस्तो लाग्छ ।’ त्यहाँ पछिसम्म पनि काटेर खोल्सो पारेको आधा फप्ल्याँटो अर्को ढुंगो बाँकी नै थियो तर अहिले फोरेर कसैले लगिसकेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्