सुत्केरी महिलामा अत्यधिक रक्तश्राव



प्रा.डा. सुमनराज ताम्राकार

सुत्केरीलगत्तै वा पछि महिलाको मृत्यु हुनुको मुख्य कारण सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव हुनु हो । विश्वका मुलुकहरुमध्ये नेपालमा महिला मृत्युदर धेरै हुनुको कारण पनि यही हो ।

यसै कारण अहिले पनि विकट वा दुर्गम क्षेत्रबाट रेफर भई आउने तथा हेलिलिफ्ट नै गर्नुपर्ने अवस्था आइलाग्छ । अस्पताल वा संस्थागत तवरमा सुत्केरी भइराख्ने स्वास्थ्यसंस्थाहरुमा पटक–पटक यही समस्या भइरहन्छ । घरमै सुत्केरी हुनेहरुमा यो समस्याको लेखाजोखा नै छैन, आखिरी समस्या वा लौ बित्यासै पर्न लाग्यो भन्ने अवस्था नआएसम्म ।

सुत्केरी व्यथाका चार चरणहरुमध्ये तेस्रो चरण आमाको लागि निकै महत्वपूर्ण हुन्छ । प्रथम र दोस्रो चरणमा कुनै अनपेक्षित घटना नभए पनि तेस्रो चरणमा अत्यधिक रक्तश्राव हुने, साल (काँडा) अड्किने, धेरै रगत बग्नाले बेहोस हुने, छातीमा रक्तनली थुनिने तथा कहिलेकाहीँ पाठेघर उल्टिनेजस्ता जटिलता देखा पर्न सक्छ ।

परिभाषाकै कुरा गर्ने हो भने योनिद्वारबाट बच्चा जन्मिदा ५ सय मिलिलिटरभन्दा बढ्ता र सिजेरियन शल्यक्रियाद्वारा बच्चा निकाल्दा १ हजार मिलिलिटरभन्दा बढ्ता रगत बग्ने समस्यालाई सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव मानिन्छ ।

तर व्यावहारिक रुपमा बच्चा जन्मिएलगतै सुत्केरी महिलाको स्वास्थ्य स्थितिमा नकारात्मक असर पर्ने (प्रमाणस्वरुप नाडीको गति छिटो हुने तथा रक्तचाप घट्ने) गरी भएको जतिसुकै परिमाणको रक्तश्रावलाई पनि अधिक मानिन्छ ।

नेपालमा अझै करिब ४० प्रतिशत सुत्केरी घरमै हुने गरेका छन् । त्यसैले घरमै सुत्केरी हुनेहरुमा यसको समस्या कति छ भन्ने सजिलै आँकलन गर्न नसकिए पनि अस्पतालमा सुत्केरी हुने तथा सुत्केरी व्यथा दौरान जटिल अवस्थाका कारण अस्पताल ल्याइपुर्‍याउने सुत्केरी महिलाहरुमध्ये २ देखि ५ प्रतिशतमा अधिक रक्तश्रावको समस्या पाइएको छ ।

विकसित देशहरुको दाँजोमा नेपालमा गर्भवती तथा सुत्केरीका कारण अकालमा हुने महिलाहरुको मृत्युदरको संख्या कुनै समय ५३९ प्रतिलाख थियो । अहिले यो दर घटेर करिब १८६ को हाराहारीमा छ । नेपालमा मातृमृत्युदर अझै पनि बढी हुनुमा सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव पनि एक हो ।

नेपालका शहरी महिलाहरु र दुर्गम, विकट गाउँका महिलाहरुबीचको मातृ मृत्युदरमा निकै असमानता छ । छोरा नै पाउन धेरै बच्चा पाउने, जन्मान्तर नराखी पटक–पटक बच्चा पाउने, स्वास्थ्य सेवा सुलभ भएका ठाउँमा पनि गर्भवती जाँच नगराउने, रगत बढ्ने औषधि तथा खानेकुरा नखाने चलन पिछडिएका, दलित तथा निरक्षर जमातमा अझै व्याप्त छ । उनीहरुलाई लक्षित गरी स्वास्थ्य चेतना तथा सेवा कार्यक्रम चलाए पनि विगत केही वर्षमा ह्वात्तै घटेको नेपालको मातृ मृत्युदर अब घटाउन भने धेरै मेहनत गर्नुपर्नेछ ।

त्यसो त सुत्केरीपश्चात् पाठेघर खुम्चिन सकेन, पाठेघर वा योनिमार्गमा चोट लाग्यो (च्यातियो) वा रगत जम्ने प्रक्रियामा कुनै खराबी उत्पन्न भयो भने अनपेक्षित रुपमा सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव हुनसक्छ ।

सुत्केरीपश्चात् हुने अत्यधिक रक्तश्रावको कारणहरुमध्ये करिब ८० प्रतिशत महिलामा पाठेघर खुम्चिन नसक्नाले हो ।

 

चारभन्दा बढी बच्चा पाइसकेका, जुम्ल्याहा बच्चा पाएका, बढी वजन भएका बच्चा पाएका, गर्भावस्थामा बच्चावरिपरि बढ्ता पानी भएका, कुपोषित वा रक्तअल्पता भएका, गर्भावस्थाको तेस्रो त्रैमासिकतिर रक्तश्राव भएका, लामो तथा कष्टपूर्ण व्यथा भएका, गर्भावस्थाको निर्धारित समयमा सुत्केरी हुन नसकेर व्यथा शुरु गर्न औषधि दिनुपरेका, सुत्केरी व्यथाको तेस्रो चरण राम्ररी व्यवस्थापन नगरिएका महिलामा बच्चा पाएको लगत्तै पाठेघर राम्ररी खुम्चिन नसकेर अधिक रक्तश्राव हुन्छ ।

त्यसै गरी सुत्केरीपश्चात रक्तश्राव अत्यधिक हुनुको दोस्रो मुख्य कारण योनिद्वारवरिपरिको चोटपटकले गर्दा हो । करिब २० प्रतिशत महिलामा यस्तै किसिमको जटिलताको कारणले सुत्केरीपश्चात् रक्तश्राव अत्यधिक हुन्छ । भर्खरै सुत्केरी भएकी महिलामा पाठेघर नरिवलजस्तो कडा हुने गरी डल्लो र खुम्चिएको छ, योनिद्वारबाट ताजा आलै रगत बगिरहेको छ भने योनिमार्ग वा पाठेघरको मुखमा कतै चोट पुगी रगत बगेको हुनसक्छ ।

पहिलोचोटि बच्चा पाउन लागेका महिलालाई सुत्केरी व्यथाको दोस्रो चरणमा सहज बच्चा पाउन योनिमार्गमा बनाउनुपर्ने घाउ (इपिजिओटोमी) समयमै नबनाएमा योनिद्वार च्यातिन सक्छ । त्यसै गरी फोरसेप वा भ्याकुमजस्ता औजार प्रयोग गरी बच्चा निकाल्नुअघि पनि यथेष्ट मात्रामा इपिजिओटोमी दिएन भने पनि यस्तै जटिलता उत्पन्न सक्छ ।

बच्चा ठूलो छँदा र सुत्केरी व्यथाको दोस्रो चरणको अन्त्यतिर योनिद्वार र मलद्वारको बीचको भागमा राम्रोसँग टेवा दिएन भने पनि योनिद्वार धेरै च्यातिन सक्छ । चिकित्सकको मद्दतमा कहाँबाट रगत बगिरहेको छ, पत्ता लगाई बगिरहेको रक्तनली बाँध्ने तथा च्यातिएको वा काटिएको भाग मिलाएर सिलाउनुपर्दछ ।

रगतमा अन्तर्निहित खराबी (रगत नजम्ने वा धेरैबेर बगिरहने समस्या) भएका महिलाहरुको संख्याचाहिँ नगण्य छ । सुत्केरी व्यथापूर्व नै पाठेघरबाट साल छुट्टियो, गर्भावस्थामा जन्डिस देखा प¥यो, बच्चा पेटभित्र म¥यो, रगतमा प्लेटलेट्सको संख्या निकै कमी भयो भने रगत धेरै बग्ने समस्या हुन्छ । सामान्यतया बच्चा जन्मिएको ३० मिनेटसम्ममा साल (काँडा) पनि पाठेघरबाट बाहिरिनुपर्दछ ।

धेरै बच्चा पाइसकेका, गर्भावस्थामा पेट अनपेक्षित रुपमा ठूलो भएका, लामो व्यथा लागेका, पाठेघरको बनावटमा जन्मजात खराबी भएका तथा ठूलो साल (सुत्केरी महिलामा मधुमेह, निगेटिभ रक्तसमूह, रक्तअल्पता वा जुम्ल्याहा बच्चा बोकेका कारण) भएकामा साल अड्किने सम्भावना बढी हुन्छ ।

त्यसै गरी पहिले पटक–पटक गर्भ तुहिएका-तुहाएका, पाठेघर सफा (क्युरेट) गराएका, सिजेरियन गरी बच्चा पाएका तथा पाठेघरमा अन्य कुनै शल्यक्रिया गरेकामा साल टाँसिने खतरा हुन्छ । साल अड्कियो वा समयमै निकालेन भने पनि पाठेघर राम्ररी खुम्चिन नसक्ने हुनाले अधिक रक्तश्राव हुन्छ ।

जेसुकै कारणले अत्यधिक रक्तश्राव भए पनि तुरुन्तै गर्नुपर्ने उपचारको क्रममा सहयोग गर्ने व्यक्तिहरु बोलाउने, ठूलो प्वाल भएको सुई प्रयोग गरी सलाइन चलाउन थाल्ने, सुत्केरी महिलाको रक्त समूह अनुसार कम्तीमा दुई पोका रगत क्रसम्याच गरी ल्याउनको लागि भन्ने तर त्यतिन्जेल सलाइन पानी दिइराख्ने गर्नुपर्दछ । र, अबेला नगरीकन सुविधासम्पन्न अस्पतालमा लाने चाँजोपाँजो गर्नुपर्दछ । अस्पतालमा मात्र पाठेघर खुम्च्याएको धेरै थरीका उपचारका विकल्पहरु सम्भव हुन्छ । त्यसैले संस्थागत वा अस्पतालमै सुत्केरी गराउनु बुद्धिमानी हुन्छ ।

यदि सुत्केरीपश्चात्

 

साल अड्केर रगत अधिक मात्रामा बगेको भए बिरामीलाई तुरुन्तै सलाइन पानी दिने, रगतको बन्दोबस्त गर्ने, पिसाबको थैली खालि गर्ने गरेपछि उचित तवरले साल निकाल्नुपर्दछ ।

 

यसका लागि पनि अस्पताल नै उत्तम विकल्प हो । यी सबै किसिमका समस्याहरुको व्यवस्थापन गर्न अनुभवी विशेषज्ञ, २४ घण्टा नै अपरेसन थिएटर (शल्यक्रिया कोठा) एवं एनेस्थेसिया, रक्तसञ्चार सुविधा हुनुपर्दछ ।

यस्तो अधिक रक्तश्रावको रोकथामको लागि गर्भावस्थामा हेमोग्लोबिनको मात्रा बढाउने (१० ग्राम प्रतिशतभन्दा बढी), रक्तअल्पता हुन नदिने, जुकाको औषधि एकमात्रा खुवाउने, आइरनयुक्त खानेकुराहरु– हरियो सागपात, फापर, सिस्नु, गोलभेँडा, फलपूmल तथा आइरन चक्की नियमित खान सल्लाह दिनुपर्दछ ।

सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव हुन सक्ने जोखिम भएका महिलाहरु जुम्ल्याहा बच्चा बोकेका, अनपेक्षित रुपमा पेट ठूलो भएका, धेरै बच्चा पाइसकेका, सुत्केरीपूर्व रक्तश्राव भएका, पहिलेको गर्भमा रगत बगेका, कडा रक्तअल्पता भएका महिलाको समस्या समयमै पत्ता लगाई तिनीहरुलाई सुविधायुक्त अस्पतालमा मात्र सुत्केरी गराउन जोड दिनुपर्दछ ।

यस्ता खाले महिलाको रगत कुन समूहको हो थाहा पाइराख्नुपर्दछ । सुत्केरी दौरान अनुभवी प्रसूति रोग विशेषज्ञको निगरानीमा उचित तरिकाले सुत्केरी व्यथाको व्यवस्थापन गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्