मर्निङ वाक : किन र कसरी ?



श्रीरामसिंह बस्नेत

आधुनिक जीवन शैलीको एक अभिन्न पाटो मर्निङ वाक अर्थात् प्रातः भ्रमण पनि हो । यद्यपि, यो आधुनिक युगको मात्र प्रचलन होइन । परापूर्वकालमा पनि मानव जीवनको शारीरिक र मानसिक स्वस्थ्यताको लागि यो प्रचलनमा रहेको थियो ।

हिन्दु धर्मग्रन्थहरुमा प्रातः भ्रमण अनि त्यसपछि स्नानको महत्वबारे पर्याप्त चर्चा भएको पाइन्छ । भगवान् बुद्धका अनेकौं ध्यानमध्ये एउटा ध्यान थियो– ‘चलित ध्यान’ । अर्थात् बिहान सबेरै वा साँझ हिँड्दै ध्यान गर्नु । हरेक बिहान नियमित रुपमा हिँड्ने क्रिया सोझै मानिसको स्वास्थ्यसँग सम्बन्धित भएकोले संसारका सबैजसो मानव समुदायमा यसको प्रचलन रहेको पाइन्छ, यद्यपि शैली पृथक हुन सक्छन् ।

चौबीस घण्टाको दैनिक समयावधिमा सबैभन्दा आकर्षक समय भनेको प्रातकाल नै हो । त्यसैले यो समयको उपयोग गर्नु स्वास्थ्य र आध्यात्मिकताको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । सूर्योदय हुनुभन्दा अघिको उषाकाल र त्योभन्दा पनि केही अघिको ‘ब्रह्म मुहूर्त’, ‘अमृत बेला’को धार्मिक तथा आध्यात्मिक महिमा निकै छ । ध्यान, योग, प्रार्थना आदिका लागि यो समय सबैभन्दा उत्तम मानिन्छ ।

पूर्वीय जगतमात्र होइन, पश्चिमी जगतमा पनि ‘चाँडै सुत्नु र चाँडै उठ्नु, यसले मानिसलाई स्वस्थ, धनी र बुद्धिमान् बनाउँछ’ (Early to bed and early to rise, it makes man healthly, wealthy and wise) को आदर्श प्रचलित छ । विद्यार्थी जीवनदेखि नै यसलाई पालना गर्न अभिप्रेरित गरिन्छ ।

स्वास्थ्यलाई लाभ पुगोस् भनेर बिहान केहीबेर खुला स्थानमा हिँड्ने चलन विशेष गरी शहरी बासिन्दाहरुमा प्रचलित छ । केही समयअघिसम्म ग्रामीण भेगमा प्रातः भ्रमणको त्यति चलन थिएन । किनकि ग्रामीण भेगमा मुख्यतः किसानहरुको बसोबास हुने र किसानहरु आफ्नै खेतबारी, गोठमा बिहानदेखि नै व्यस्त रहने भएकाले उनीहरुका लागि प्रातः भ्रमणको आवश्यकता पर्दैन थियो । तर अहिले स्थिति बदलिएको छ । वैदेशिक रोजगारी, जग्गा प्लटिङ, राज्यबाट उपेक्षालगायतका विविध कारणले अहिले कृषिकर्म निष्क्रिय हुँदै गएको छ । त्यसैले गाउँका किसानहरु खेतबारीमा काम गर्न नपाएको कारण बिहान केही समय हिँडेर भए पनि आफ्नो शरीरलाई स्फुर्त राख्ने अभ्यास गर्न थालेको पाइन्छ । शहरका बासिन्दाहरुमा त बिहान हिँड्ने प्रचलन निकै व्यापक रहेको पाइन्छ ।

कहाँ जाने ?

बिहान हिँड्न कहाँ जाने भन्ने प्रश्नले निकै महत्व राख्दछ । घरबाट निस्केर जता गए पनि हुन्छ । तर धूलो, धुवाँ, प्रदूषण, होहल्ला, दुर्गन्ध, अत्यधिक सवारी आवागमन हुने ठाउँतिर जानु लाभदायक हुँदैन । किनकि बिहान हिँड्नुको उद्देश्य अक्सिजन प्रचूर मात्रामा भएको स्वच्छ हावा प्राप्त गर्नु हो । त्यसैले ग्रामीण भेग, खेत, वनजंगलको नजिक, नदीकिनार, नहरको डिल, उद्यान, धेरै बोटबिरुवा र हरियाली भएको स्थान, चौर, खुलास्थान आदि बिहानी हिंडाइका लागि उपयुक्त स्थान हुन् ।

कतिपय मानिस बिहान घरबाट निस्की मन्दिर वा धार्मिक स्थलसम्म पुगेर फर्कने गर्दछन्, त्यो पनि ठिक्कै हो । पहिले–पहिले प्रातः भ्रमणमा निस्कँदा चराचुरुंगीहरुको मात्र आवाज सुनियोस्, अरु कृत्रिम वस्तुका आवाज नसुनियोस् भन्ने मान्यता थियो । तर आज शहरीकरण हुँदै गएको समाजमा त्यो मान्यता कायम राख्न सकिँदैन ।हरेक दिन उही बाटो, उही गन्तव्य गरेर पनि हिँड्न सकिन्छ भने हरेक दिन फरक–फरक स्थानतर्फ गएर पनि बिहानीको हिंडाइ पूरा गर्न सकिन्छ ।

हिँड्दा एक्लै हिँड्ने कि समूहमा ? भन्ने पनि प्रश्न आउँछ । दुवै प्रचलनमा छन् । तर बिहानको स्वच्छ वातावरणमा आत्मचिन्तन गर्दै हिँड्ने हो भने एक्लै हिँड्नु लाभदायक हुन्छ । बिहान हिँड्ने क्रममा लामो सिँढी पनि उक्लने–ओर्लने गरिन्छ, जस्तै– काठमाडौंको स्वयम्भु, धुलिखेलको हजार सिँढी आदि ।

युवा र वयष्कको लागि यो उचित हुन्छ । तर प्रौढ र शरीरको वजन धेरै भएका व्यक्तिहरुले दिनहुँ लामो सिँढी उक्लने–ओर्लने गर्दा घुँडामा बढी जोड पर्न गई समस्या हुनसक्छ । साथै मुटुको समस्या भएका, जटिल शल्यक्रिया गराएका, दम वा श्वासप्रश्वासको समस्याबाट ग्रस्त व्यक्तिहरुका लागि पनि ठाडो उकालो–ओरालो हानिकारक हुन्छ, तसर्थ त्यस्ता व्यक्तिहरुले समथर वा नगन्य मात्र उकालो–ओरालो भएको ठाउँमा मात्र हिँड्नुपर्छ ।

कसरी हिँड्ने ?

बिहानको हिँडाइको शैली व्यक्तिको उमेर र स्वास्थ्य स्थितिमा निर्भर गर्दछ । भर्खरका १५–१६ वर्षदेखि ३० वर्षसम्मका युवाहरुले त बिहान हिँड्नुमात्र भन्दा दौडिनु बेस हो । त्यसै गरी ३० देखि माथि ५० सम्मका वयष्कहरु धिमा गतिमा दौडनु उचित हुन्छ । तर ५० नाघिसकेपछि दौडिने होइन, लम्केर हिँड्ने गर्नुपर्छ । त्यस्तै ६५ नाघेपछि लम्कने पनि होइन, सामान्य गतिमा मात्र हिँड्नुपर्छ ।

लठ्ठी टेक्न थालेपछि घरदेखि धेरै टाढा नगई नजिकै बिस्तार हिँड्नुपर्छ भने अझ कोही सहयोगीको साथ लागेर मात्र हिँड्नु सुरक्षित हुन्छ । युवा र वयष्कले बिहान हिँड्दा केही पसिना आउने गरी हिँड्नुपर्छ र घर फर्केपछि पसिना पखालिने गरी नुहाएर दिनभरका लागि ताजा हुनु उचित हुन्छ । हिँड्न नसक्ने व्यक्तिहरुले पनि बैसाखी वा व्हिल चियरको सहयोगमा बिहानको स्वच्छ वातावरणमा केहीबेर बाहिरिनु स्वास्थ्यका लागि उचित हुन्छ ।

कतिबेर हिँड्ने ?

बिहान कतिबेरसम्म हिँड्ने भन्ने कुरा पनि व्यक्तिको अवस्थामै भर पर्दछ । युवाहरु दुई घण्टा पनि हिँड्न सक्छन् भने प्रौढहरुलाई एक घण्टाको हिँडाइ नै पर्याप्त हुन्छ । यो आफ्नो आवश्यकता र अनुकूलता अनुसार आफैंले तय गर्ने विषय हो । सामान्यतया घरबाट बाहिर निस्केर जान आधा घण्टा र फर्केर घर पुग्दा आधा घण्टाजति गरेर एक घण्टा हिँड्नु पर्याप्त हुन्छ । हरेक बिहान हिँड्ने कि कहिलेकाहीँ मात्र ? भन्ने पनि प्रश्न हुनसक्छ ।

विज्ञहरु कम्तीमा साताको पाँच दिन हिँड्नुपर्छ भन्छन् । यद्यपि बिहानको हिँडाइलाई दैनिक जीवनकै एक अभिन्न अंशको रुपमा अंगिकार गर्ने हो भने हरेक बिहान नै हिँड्नु उचित हो । कहिले जाने, कहिले नजाने गर्दा अल्छी लागेर धेरैजसो नजाने प्रवृत्ति बढ्न सक्छ ।

खाएर कि नखाएर ?

बिहान हिँड्दा केही खाएर हिँड्ने कि खालि पेट हिँड्ने भन्ने प्रश्न पनि सान्दर्भिक हुन्छ । विशेष गरी न्यून रक्तचाप, सुगर, न्यून हेमोग्लोबिन आदि समस्या भएका व्यक्तिहरुले खालि पेट हिँड्नुहुँदैन । त्यसो गर्दा बाटैमा रिँगटा लागेर ढल्ने सम्भावना हुन्छ । त्यसैले बिहान केही हलुका खाजा खाएर मात्र बाहिर निस्कनुपर्दछ । सामान्य मानिसहरुले खालि पेट नै हिँड्दा पनि हुन्छ । भुँडी घटाउनुपर्ने व्यक्तिहरुले चाहिँ खालि पेट नै हिँड्नु बेस । तर धेरैजसो पुरुषहरुले बिहानको हिँडाइकै क्रममा कहीँ चिया, खाजा पसलमा विश्राम लिएर केही हलुका खाजा खाने गरेको पाइन्छ । नखाईकन हिँड्नेहरुले पनि घर फर्केपछि बिहानको खाजा (ब्रेकफास्ट) राम्रोसँग गर्नुपर्दछ । फर्केपछि पानी पर्याप्त मात्रामा पिउनुपर्छ । किनकि हिँड्दा वा दौडँदा प्रशस्त पसिना जाने भएकोले शरीरमा पानीको मात्रा घटेको हुन्छ ।

मौसमी चासो

बिहानको नियमित हिँडाइ र मौसमका बीच गहिरो सम्बन्ध छ । किनकि हिँड्ने मानिसले मौसमलाई विशेष ध्यानमा राख्नुपर्दछ । विशेष गरी हिउँद र वर्षात्को मौसममा हिँड्दा केही कुरामा ध्यान दिनै पर्छ । हिउँदमा बिहानको मौसम निकै चिसो हुनाले त्यो चिसोमा बाहिर निस्कनु स्वास्थ्यको लागि हानिकारक हुनसक्छ ।

यस्तो अवस्थामा बिहान धेरै छिटो घुम्न निस्कनुभन्दा घाम केही माथि आएर हुस्सु, तुसारो हटिसकेपछि मात्र बाहिर निस्कनुपर्दछ । साथै शिरदेखि पाउसम्म राम्ररी ढाकिने गरी लुगा, जुत्ता लगाउनु अनिवार्य हुन्छ । जाडो याममा पनि दौडँदा वा लम्केर हिँड्दा पसिना आउँछ र पसिनाले भित्री लुगा भिजाएको हुन्छ । हिँडाइबाट फर्केर घर पुग्नासाथ भिजेको भित्री लुगा फेरिहाल्नुपर्छ । पसिनाले भिजेकै भित्री लुगा विशेष गरी छातीमा लगाइने पुरुषको गन्जी र महिलाको ब्रा चिसो लगाएर बस्नुहुँदैन । त्यसो गर्दा छातीमा चिसो गडेर बिरामी हुने सम्भावना बढी हुन्छ ।

जाडो मौसममा बिहान बाहिर निस्कँदा घरमै वा बाटोमा चिया, कफीजस्तो तातो पेय पिउनु उचित हुन्छ । अलिकति रुघा लागेको वा घाँटी दुखेको अनुभव भइरहेको छ भने पनि दुई–चार दिन बिहान डुल्न निस्कनुहुँदैन । जाडो मौसम उच्च रक्तचाप, दम, श्वासप्रश्वास, थाइराइड, चिसोको एलर्जी आदिको समस्या भएका व्यक्तिका लागि जोखिमपूर्ण हुन्छ, तसर्थ त्यस्ता व्यक्तिले बिहानको हिँडाइको सट्टा बेलुकी घाम डुब्नुअघि हिँड्नु सुरक्षित हुन्छ ।

यसै गरी वर्षात् भइरहेकै अवस्थामा हिँड्नु पनि उचित हुँदैन । पानी परिरहेकै अवस्थामा छाता ओढेर भए पनि हिँड्न त सकिन्छ, तर दौडन वा लम्केर हिँड्न असजिलो हुने भएकोेले पानी परिरहेको बेलामा गरिने हिँडाइ सन्तोषजनक हुँदैन । वर्षात्को याममा बिहान डुल्न निस्कँदा नबिर्सीकन छाता लिएर हिँड्नुपर्छ । बिहान पानीमा रुझ्दा स्वास्थ्यलाई असर पर्न सक्छ । केटाकेटी, प्रौढ, वृद्ध आदिले त यस्तो गल्ती गर्नै हुन्न । पानी परिरहेको वा पर्ने लक्षण देखिएको अवस्थामा डुल्न नगए पनि केही फरक पर्दैन, तर रुझ्नुचाँहि हुँदैन ।

माटोको स्पर्श

पूर्ण प्राकृतिक वस्तु माटोमा अत्यन्त महत्वपूर्ण शक्ति हुन्छ । त्यसैले एउटा सानो बीज वा बिरुवा विशाल वृक्ष बन्न सक्छ भने खाद्यान्न, तरकारी, फलफूलको उत्पादनमा पनि माटोको निर्णायक भूमिका रहन्छ । मानिसलगायत सबै जीवजन्तुको स्वास्थ्य र जीवनचर्यामा पनि माटोले सकारात्मक प्रभाव पारिरहेको हुन्छ । तर आधुनिक जीवन शैलीले गर्दा मानिस र माटोको सम्बन्ध अवरुद्ध हुँदै गएको छ । जताजतै इँटा, पिच, सिमेन्ट, मार्बल, कङ्क्रिट ब्लक आदिको बढ्दो प्रचलनले आजका मानिसहरु माटोको प्राकृतिक स्पर्शबाट वञ्चित भएका छन् ।

माटोसँगको साइनो कायम राख्नका लागि बिहानी हिँडाइको क्रममा केहीबेर जुत्ता नलगाई खालि खुट्टा हिँड्नु उचित हुन्छ । तर त्यसरी हिँडिने ठाउँ सफा र काँच, फलामजस्ता घातक वस्तुबाट पूर्णतया मुक्त हुनै पर्दछ । विदेशका ठूला उद्यानहरुमा खालि खुट्टा हिँड्नकै लागि माटोमात्र भएको विशेष ट्रयाक बनाइएको हुन्छ । आफ्नै घरको बारी, बगैँचामा पनि खालि खुट्टा हिँड्न मिल्ने व्यवस्था गर्न सकिन्छ ।

प्राकृतिक चिकित्सा विज्ञहरु मानिसबाहेक अन्य जीवजन्तुहरु जुत्ता नलगाई हिँडडुल गर्ने भएकाले माटोसँगको प्रत्यक्ष सम्पर्कका कारण मानिसभन्दा उनीहरुको स्वास्थ्य प्राकृतिक रुपमै स्वस्थ र रोग प्रतिरोधक क्षमतायुक्त (इम्युनिटी पावर) हुने धारणा राख्छन् ।

माटोमा अर्थिङ पावर हुने भएकोले माटोसँगको सम्पर्कबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ । महात्मा गान्धी आफ्नो र परिवारजनको उपचारमा प्रायजसो माटो लेपनको अभ्यास गर्दथे भने अहिले पनि प्राकृतिक चिकित्सा पद्धतिमा माटो प्रयोगको विशेष महत्व रहिआएको छ । तसर्थ

 

बिहानी हिँडाइको क्रममा वा अन्य अवसरमा भए पनि बेलाबेलामा स्वच्छ माटोको स्पर्श प्राप्त गर्नु मानिसका लागि लाभदायक हुन्छ ।

 

मनोवैज्ञानिक पक्ष

नियमित रुपमा बिहान हिँड्ने बानीबाट मनोवैज्ञानिक लाभ पनि प्राप्त हुन्छ । बिहानको स्वच्छ, शीतल र रमाइलो वातावरणसँगको प्रत्यक्ष साक्षात्कारले मनलाई प्रफुल्ल बनाउँछ । यसबाट शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ नै ।

अर्को कुरा, बिहान डुल्न उमेर मिल्दा दौँतरी साथीहरुसँग हिँड्दा र हिँडाइकै क्रमका विश्राम गरी चिया, खाजा खाँदा गरिने गफ र हाँसो–ठट्टाले निकै महत्वपूर्ण मनोवैज्ञानिक प्रभाव दिन्छ । तनाव घटाउन र शरीरमा स्फूर्तिको अनुभव गराउन यस्तो अवसरले साँच्चिकै राम्रो भूमिका खेल्छ । विशेष गरी अवकाशको जीवन बिताइरहेका प्रौढहरुका लागि यो निकै लाभदायक हुन्छ । डिप्रेसनको लक्षण देखिन थालेका युवा वा अन्य वर्गका लागि त यस्तो अवसर अनिवार्यसरह नै मान्छन् मनोचिकित्सकहरु ।

वैकल्पिक उपाय

आधुनिक प्रविधिले बिहानी हिँडाइको विकल्प भनेर एक यान्त्रिक उपकरण आविष्कार गरेको छ– ट्रेड मिल । बिहान खुला वातावरणमा हिँड्न नसक्ने वा नपाउने व्यक्तिहरुले घरैमा ट्रेड मिल मेसिन राखेर वा नजिकको हेल्थ क्लबमा गई यो मेसिनमा हिँडेर शरीरलाई चलायमान बनाउने र पसिना निकाल्ने चलन आजभोलि लोकप्रिय र विश्वव्यापी नै भएको छ । शरीरलाई चलायमान बनाउन र पसिना निकाल्न यो एक सहज उपायसम्म त हो तर खुला प्राकृतिक वातावरणमा हिँड्नुजस्तो बहुआयामिक लाभ यसबाट प्राप्त हुँदैन । समयको बचत भने यस अभ्यासबाट हुन्छ ।

सुरक्षा चासो

जुनसुकै काम गर्दा वा गराउँदा सुरक्षा चासोलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्नु जरुरी हुन्छ । बिहानको नियमित हिँडाइमा पनि यो लागू हुन्छ ।

बिहान सबेरै हिँड्नु सुरक्षाको दृष्टिले जोखिमपूर्ण हुन्छ । किनकि लुटेरा, अपराधी, अपहरणकारी आदिका लागि आफ्नो लक्षित व्यक्तिमाथि आक्रमण गर्न ऊ बिहान एक्लै हिँडिरहेको समय सहज हुने भएकोले मर्निङ वाकको बेलामा अनेकौं आपराधिक घटना देश–विदेशमा हुने गरेको पाइन्छ ।

नेपालमा सशस्त्र प्रहरीका तत्कालीन प्रमुख कृष्णमोहन श्रेष्ठ र उनकी पत्नीलाई बिहान हिँडिरहेकै बेलामा माओवादीले गोली प्रहार गरी हत्या गरेका थिए । लुटपाटका घटना त कति छन् कति । तसर्थ आफ्नो सुरक्षाको प्रत्याभूति गर्नु जरुरी छ । साथै उज्यालो नभईकन हिँड्नुभन्दा उज्यालो भएपछि हिँड्दा सडकका कुकुरहरुको टोकाइबाट पनि बच्न सकिन्छ ।

यदि सुरक्षा चुनौती छ भने बाहिर डुल्न नगई आफ्नै घर, आँगन, बगैँचा, कौसीमा केहीबेर हिँडेर वा ट्रेड मिल प्रयोग गरेर पनि बिहानी हिँडाइको विकल्प अपनाउन सकिन्छ ।

अन्त्यमा,

मर्निङ वाक कुनै फेसन वा लहडबाजी होइन र हुन दिनु पनि हुँदैन । यो हाम्रो जीवन शैलीलाई व्यवस्थित, स्वस्थकर र प्रकृतिसँगको निकटता कायम राख्ने एक सरल तरिका हो । यसबाट कुनै जटिल रोग निको हुन्छ भन्ने भ्रममा पनि हामी पर्नुहुँदैन ।

बिहानीको हिँडाइले कुनै रोग निको पार्ने भन्दा पनि समग्र स्वास्थ्यलाई ताजा र स्फूर्त राख्नमा सकारात्मक प्रभाव पार्दछ । त्यो प्रभावले कसैको रोग व्यथामा पनि केही कमी आयो भने त्यसलाई बिहानी हिँड्ने बानीको अप्रत्यक्ष सकारात्मक प्रभाव मान्न सकिन्छ । कतिपय मानिसहरु बिहान हिँड्ने कार्यलाई एउटा बाध्यताको रुपमा लिने र करबलले मात्र हिँड्ने गरेको पनि पाइन्छ ।

त्यसरी मन नलागी–नलागी हिँड््दा त्यसबाट प्राप्त हुने बहुआयामिक लाभ र विशेष गरी मनोवैज्ञानिक लाभ प्राप्त हुन सक्दैन । बानी नपरेकाहरुलाई केही दिनसम्म बिहान ओछ्यान त्यागेर हिँड्न गाह्रो लाग्नु अस्वाभाविक होइन, तर केही दिनसम्म लगातार हिँडेपछि बिस्तारै बानी बस्दै जान्छ । बानी बसिसकेपछि त बिहान बाहिर ननिस्केसम्म आफैँलाई छट्पटी लाग्न थाल्छ । त्यसैले किशोरावस्थादेखि प्रौढावस्थासम्मका सबै पुरुष तथा महिलाहरुले बिहान हिँडेर सकारात्मक ऊर्जा प्राप्त गर्ने बानी बसालेमा लाभबाहेक कुनै पनि हानि हुँदैन

(वरिष्ठ पत्रकार बस्नेतले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)

प्रतिक्रिया दिनुहोस्