तपाईंका घरमा हाम्रा डाक्टर



१. मैले पेटको भिडियो एक्सरे गर्दा प्रोस्टेट ग्रन्थि बढेर ६५ ग्राम पुगेको अनि पिसाब ननिख्रेर १५० मिलिलिटर पिसाबथैलीमै रहेको भन्ने रिपोर्ट आयो । मलाई छिन्–छिन्मा पिसाब लाग्ने, पिसाब रोक्न गाह्रो हुने, पिसाब थोरै हुनेजस्ता समस्या छन् । अब मैले कसलाई देखाउने र उपचार कस्तो होला ? सुझावका लागि डा. साबसँग अनुरोध गर्दछु ।

– सन्तोष न्यौपाने, नुवाकोट ।

सन्तोषजी, यो तपाईंको भिडियो एक्सरेको रिपोर्ट अनुसार तपाईंको प्रोस्टेट ग्रन्थि बढेको र पिसाब आउने बाटोमा अवरोध गरेको देखिन्छ । यो प्रोस्टेट ग्रन्थि पुरुषहरुको एउटा यौनग्रन्थि हो । यसको साधारणतया २० ग्रामसम्म तौल हुने गर्छ । यो पिसाबको थैलीको घाँटीमै पिसाब निस्कने नलीलाई घेरेर बसेको हुन्छ । ४० प्रतिशत पुरुषहरुमा करिब ४५–५५ वर्षको उमेरमा यो बढ्न थाल्छ भने कोहीमा अलि बढी उमेरमा पनि बढ्छ । त्यस्तै कोहीको अलि–अलि मात्रै बढ्छ भने कोहीको अलि धेरै नै बढेर पिसाब बहावमा पूर्ण अवरोधसम्म पनि हुनसक्छ । प्रोस्टेट ग्रन्थि बढ्नेमध्ये एक प्रतिशतभन्दा कमको क्यान्सरसम्म हुनसक्ने पाइएको छ ।

यसरी हेर्दा तपाईंको ग्रन्थि आंशिक बढेको देखियो । लक्षण पनि विकसित भएर आयो । पहिले–पहिले यस्ता रोगहरु मृत्युका कारण हुन्थे भने अहिले विज्ञानले सहज बनाएको छ । त्यो ग्रन्थि खुर्केर पिसाबको बहाव सहज बनाउने विधि निस्केको छ । त्यसमा पनि अहिले लेजरले पनि काट्ने (खुर्कने) र रोबोटले गर्नेसमेत विधि विकसित भएका छन् । यो सबैको व्यवस्थापन, निदान, उपचार गर्न युरो सर्जन भेटेर परामर्श गर्नुपर्ने हुन्छ । त्यसको लागि धेरै ढिलो नगरी काठमाडौंमा आएर वीर अस्पताल, शिक्षण अस्पताल वा पाटन अस्पतालमा आएर सम्बन्धित सर्जनसँग भेट्नुस् । आफ्नो र सर्जनको अनुकूलता मिलाएर अपरेसन गरी लाभ लिनुस् ।

२. पहिले कोरोनाले सतायो, अहिले डेंगीले सताउन थालेको समाचार आइरहेको छ । फेरि यो डेंगी पनि फरक हुँदो रहेछ । मेरो भाइलाई ज्वरो नै आएन तर पनि डेंगी देखियो, मेरो अंकललाई ८–९ दिनसम्म १०२–१०४ डिग्रीसम्म ज्वरो आएर, उल्टी गरेर, नखाएर आईसीयुमै भर्ना गरी १२ पोका रगत चढाउनुपर्‍यो । २५औं दिनमा मात्रै उहाँले अस्पतालबाट डिस्चार्ज हुनुभयो । यस्तो फरक–फरक किसिमको डेंगीका बारेमा डा. साबले प्रस्ट पारिदिएमा आभारी हुने थिएँ ।

– पुरुषोत्तम उप्रेती, दक्षिणकाली ।

पुरुषोत्तमजी, तपाईंले भनेको सत्य हो । हाम्रो देशमा गएको २–३ महिना डेंगीको महामारीमै बित्यो भने अहिलेसम्म पनि यसका बिरामीहरु भेटिँदै छन् । यो डेंगी रोग भाइरस भन्ने जीवाणुले गराउने हो । अनि लामखुट्टेको टोकाइले एक बिरामीबाट अर्कोमा सर्ने रोग हो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने उपाय हो । लामखुट्टेको धेरै बिगबिगी हुने समयमा यसको प्रकोप बढ्ने देखिएको छ । यो लामखुट्टेले जमेको पानीमा लाखौँ अण्डा पार्ने हुनाले यो नियन्त्रण गर्न विशेष कार्यक्रम गर्नुपर्ने देखिन्छ । जसमा लामखुट्टे नष्ट गर्ने, यसको फुल पार्न सक्ने सम्भावित ठाउँहरु नष्ट गर्ने, टोकाइबाट बच्ने आदि अभियान चलाउनुपर्छ ।

अन्य रोगजस्तै यो डेंगी पनि अलि–अलिदेखि अति नै जटिलसम्म पनि हुनसक्छ । यो रोग बढीमा ७–८ दिनमा सन्चो हुन्छ । यो रोग लाग्दा सेतो रक्तकण (जसलाई प्लाटेलेट भनिन्छ) घट्ने हुन्छ । त्यसैले रक्तश्राव भएमा रोक्न अत्यावश्यक हुन्छ । रगत बग्ने खास किसिमको डेंगीलाई ‘हेमोरेजिक डेंगी ज्वर’ ९ज्बझयचचजबनष्अ म्भलनगभ ँभखभच० भनिन्छ । यो डेंगी भएमा धेरै नै डर लाग्दो जटिल अवस्था आउँछ, जसमा रक्तश्राव भएर मृत्युसम्म पनि हुनसक्छ । यस्ता बिरामीमध्ये २०–३० प्रतिशतसम्म साह्रो डर लाग्दो अवस्थाबाट गुज्रिन्छन् भने करिब १० प्रतिशत बिरामी मृत्युको मुखमा पुग्ने हुन्छन् । कोहीलाई भने जटिलता केही पनि नहुने पनि हुन्छ ।

धेरै नै साधारण प्रकारको, एकदिन मात्रै ज्वरो आउने, एकदिन टाउको मात्रै दुख्ने, दुई–तीन दिन साधारण ज्वरो मात्रै आउने, अलि–अलि जीउ मात्रै दुख्नेजस्ता लक्षण देखिन सक्छन् ।यसरी फरक–फरक जटिलता, लक्षण तथा नियति हुनुको कारण भाइरसको मात्रा र शरीरको स्वसुरक्षा गर्ने इम्युनिटीको अवस्था हो ।

डेंगीको उपचारमा पनि विशिष्टीकरणसहितको अस्पताल सेवा तथा चिकित्सक सेवा अनुसार सफलता हात लाग्ने हुन्छ । यो रोग भाइरसले गराउने हुँदा निश्चित उपचार अहिलेसम्म पत्ता लागेको छैन । साधारण सहयोगी उपचार, लक्षण अनुसार तथा अन्य जटिलता रोक्ने उपचार गर्ने हो । साथै बिरामीको विशेष हेरचाह, नियमित अनुगमन र आवश्यकता अनुसार सघन उपचारको पनि जरुरी हुन्छ ।

३. डाक्टर साब, मेरी छोरी १८ वर्षकी भइन् । उनी सधैँ राम्रो पढ्ने, नियमित कलेज जाने गर्थिन् । अहिले अचानक कलेज जान मन छैन, डर लाग्छ, मुटु हल्लन्छ, श्वास फुल्छ भन्न थालेकी छन् । यो के भएको होला, अब मैले के गर्नुपर्ला ? सल्लाह पाऊँ ।

– श्रीदेवी देवकोटा, गोर्खा ।

श्रीदेवीजी, तपाईंकी छोरीलाई कुनै मानसिक चिन्ता वा कुनै अप्रिय वा अप्रत्यासित वा विश्वास नै नलाग्ने घटना भएर त्यसप्रतिको प्रतिक्रियास्वरूप सामना गर्न नसकेर यस्तो भएको हो । खासै नराम्रो दीर्घरोग होइनजस्तो लाग्छ । फेरि हाम्रो समाजमा महिलालाई सधैँ नियम, परिधि र नियन्त्रणमा राख्ने गरिन्छ ।

साथै मनका कुरा बाँड्ने वा व्यक्त गर्ने प्रचलन नहुने, समाजले धेरै कुरा नस्वीकार्ने हुनाले पनि यस्तो समस्या धेरैजसो छोरी मान्छेलाई देखा पर्ने गर्दछ । त्यस्तै महिला हिंसा, अपमान वा हमला भई त्यसबाट बच्न खोजेर, त्यस्ता कुरा भन्न नसकेर, त्यो पीडा सामना गर्न नसकेर, आफैंभित्र कुरा खेलाएर, जटिल समस्या महसुस गरेर पनि त्यस्तो लक्षण देखिएको हुनसक्छ ।

यसको निराकरणका लागि साइकोलोजिकल परामर्श गर्ने, परिवारमा आपसी छलफल गर्ने, सुरक्षित महसुस गराउने, मनोवैज्ञानिक तरिका अपनाउने गर्नुपर्छ । त्यस्तै स्थानान्तरण गराउने वा अनुकूल वातावरण मिलाउने र औषधिको समेत प्रयोग गर्नुपर्ने पनि हुन्छ ।

आवश्यकता र परिस्थिति अनुसार व्यवस्थापन तथा उपचार गर्न सकिन्छ । त्यसैले यसका लागि तपाईंले मनोवैज्ञानिक परामर्शदाता अथवा मनोचिकित्सकको सहयोग लिन सक्नुहुन्छ । पशुरुको अवस्था भएको हुनाले यसको उपचार सहज, परिणाममुखी हुने देखिन्छ । गोर्खाबाट काठमाडौं टाढा होइन, छिट्टै यहाँ आएर सम्बन्धित विज्ञ भेटी परामर्श एवं उपचार गराइहाल्नुस् ।

४. मेरो उमेर ४५ वर्ष भयो । खानपिनमा मेरो अलि लापरबाही पनि हुने गरेको छ । यो मेरो बाध्यता पनि हो, सधैँजस्तो पार्टी भैरहन्छ । म उच्च रक्तचापको बिरामी पनि हो । औषधि सेवन पनि नियमित रुपमा गरिरहेको छु । हिजोदेखि मेरो दाहिने खुट्टाको बूढी औंलाको फेदभन्दा माथितिर उठेको हड्डीक्षेत्र सुन्निएको छ । त्यहाँ रातो भएर असह्य दुखेको छ । हिँड्न पनि गाह्रो भएको छ । यसको कारण के होला र उपचार के होला ? स्पष्ट पारिदिएमा आभारी हुने थिएँ ।

– सन्तोषकुमार मल्ल, बूढानीलकण्ठ, काठमाडौं ।

सन्तोषजी, तपाईंको जीवनशैलीले समस्या निम्त्याएको जस्तो लाग्यो । सधैँजसो पार्टीमा जाने र प्रशस्त मासु–रक्सी खाने गर्नुभएको कुरा तपाईंबाटै थाहा भयो ।

तपाईंले भनेका लक्षणहरुको विश्लेषण गर्दा तपाईंलाई युरिक एसिड बढेर हुने ‘गाउट’ भन्ने रोग भएजस्तो लाग्यो । युरिक एसिड बढाउने खानेकुरामा खसीको मासु, रातो फल मासु, भुटन (तारेको आन्द्राभुँडी), गिदी, कालो दाल, अन्य गेडागुडी, गोलभेँडा, पालुंगोको साग, रक्सी, दही आदि पर्छन् ।

सामान्यतया तपाईंलाई देखिएको लक्षणले ‘गाउट’ भएको हो भन्न सकिन्छ । यसको उपचारसँगै भविष्यमा नदोहोरियोस् भनेर प्रतिरोधात्मक उपाय पनि अपनाउनुपर्छ । अहिले तुरुन्त गर्ने भनेको माथि भनिएका खानेकुरा सकेसम्म नियन्त्रण गर्ने, प्रशस्त पानी पिउने, खुट्टालाई पूरै आराम दिने नै हो । त्यसपछि सकेसम्म छिटो हड्डीको चिकित्सक वा कुनै फिजिसियन भए पनि भेटेर उपचार शुरु गरिहाल्नुस् । काठमाडौंमै भएकोले शिक्षण अस्पताल वा वीर अस्पतालमा आएर सम्बन्धित विशेषज्ञ देखाएमा गुणात्मक उपचार हुनेछ ।

५. मेरो जेठो छोरो १० वर्षको भयो । उसले खाना खाने बेलामा मोबाइल माग्छ, मोबाइलविना केही खाँदैन । खानामा पनि तरकारी, साग, दाल केही खाँदैन । खाली सुख्खा भात अथवा गुलियो चकलेट, केक, चिजबल, पोटाटो क्रेकरजस्ता तयारी कुरामात्र खान्छ । अरु जे खुवाए पनि बान्ता गरिदिन्छ । डा. साब, उसको खाने बानी तथा खानाको प्रृकृति सुधार्न के गर्नुपर्ला ?

– लक्ष्मी शाक्य, अनामनगर, काठमाडौं ।

लक्ष्मीजी, यस्तो समस्या आजका धेरै बच्चाहरुमा पाइएको छ । यसको मुख्य कारणमा टिभीको विज्ञापन, मोबाइलको सहज पहुँच, आमाबुबामा समेत मोबाइलको नसा आदि देखिएका छन् । आमाबुबाले आफ्नो कर्तव्यको प्राथमिकताको निर्धारण गर्न नसक्नु पनि एउटा कारण हो ।

पहिले–पहिलेका अनुशासन, संस्कृति, संस्कार, सत्विचार, सम्मान, इमानदारिताजस्ता कुराहरु हराउँदै गएका छन् । सबैतिर सत्यता र इमानदारिता घटनाले समाजमा हरेक क्षेत्र तहसनहस भएजस्तै बच्चाहरुका व्यवहार तथा आनिबानी पनि बिग्रँदै गएका छन् । जंक फुडको विज्ञापन हेरेर बच्चाले साहसिक बन्न त्यो खानै पर्ने रहेछ भन्ने ज्ञान प्राप्त गर्छ । सरकारले त्यो विज्ञापनको आम्दानी हेर्ने कि त्यस्ता वस्तु बन्द नै गर्ने ? विषय संवेदनशील छ ।

बच्चालाई सानो उमेरदेखि नै खानाको स्वादमा बानी नपारेको फल त्यही हो । तर पनि केही बिग्रेको छैन, बच्चालाई कौतुहलता तथा पुरस्कार अथवा प्रोत्साहनसहित अलि–अलि गरेर खानेकुराहरुमा अभ्यस्त गराउन प्रयास गर्नुस् । त्यस्तै जंक फुड खाएर स्वास्थ्य बिग्रेका बिरामीहरुको उदाहरणसहित परामर्श, कुराकानी गर्दै गरेमा र धैर्यतासहित प्रयास जारी राखेमा सुधार होला भन्ने लाग्छ । मुख्य कुरा सन्तुलित खानाको महत्व तथा खानाको शुद्धताका बारेमा बच्चालाई अलि–अलि गर्दै सम्झाउने गर्नुस् ।

६. डाक्टर साब, मेरी सात वर्षीया छोरीको देब्रे कानबाट पीप बगिरहन्छ । धेरैपटक घरनजिकैको औषधि पसलमा, हेल्थपोस्टमा तथा जिल्ला अस्पतालमा समेत देखाएर औषधि पनि खुवाइयो तर निको भएन । पीप बगिनै रहन्छ, कान सुन्न पनि अलि कमजस्तो लागेको छ । यसको राम्रो उपचार कहाँ र कसरी गर्न सकिएला ?

– सिर्जना न्यौपाने, पीपलडाँडा, पर्वत ।

सिर्जनाजी, कानमा तीन भाग हुन्छन्– बाहिरी कान, मध्यकान र भित्री कान । तपाईंकी छोरीको कानको संक्रमण अलि भित्रसम्म गएर मध्यकानसम्म भेटेको जस्तो लाग्यो । यसको उपचार पूर्ण परीक्षण गरी अलि राम्रैसँग र परेमा अपसेरनसमेत गरेर गर्नुपर्ने हुन्छ । नाक कान घाँटी विशेषज्ञले बिरामी हेरेर, अत्यावश्यक परीक्षण गरेर, रोगको स्तर तथा जटिलता अध्ययन गरेर, उपचारको जोखिम र सफलताको बारेमा परामर्श गरेर मात्र निक्र्योल गरी उपचारको विधि तय गर्न सक्छन् । त्यसैले पर्वतबाट पोखरा वा काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा आई सम्बन्धित चिकित्सकलाई भेटेर जति सक्यो छिटो उपचारतर्फ लागिहाल्नुस् ।

७. म २७ वर्षीय युवक हुँ । मलाई तत्काल मधुमेह भइहालेको त छैन तर मेरो बुबालाई मधुमेह भएर मृगौलासमेत फेल भएकोले मैले अहिलेदेखि नै यसबाट बच्नका लागि कुनै सावधानी अपनाउनुपर्ला कि ?

– हरि खड्का, पाल्पा ।

हरिजी, बुबालाई सुगर भएकोले तपाईंलाई हुने सम्भावना २५ प्रतिशत हुन्छ । त्यस्तै बाबुआमा दुवैलाई भएमा सुगर हुने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले अहिलेदेखि नै जीवनशैली सुधार्दै जानु आवश्यक हुन्छ । साथै बेला–बेलामा रगत परीक्षण गर्दै रहनुपर्छ ।

सुगरले मृगौला फेल मात्रै होइन, हृदयघात हुने, आँखाको समस्या हुने, घाउ–खटिरा आउने, पाक्ने, सन्चो नहुने, जीउ दुख्नेजस्ता अनेक समास्या देखिन सक्छन् । त्यसैले बेलैमा ख्याल गर्नु अति नै आवश्यक रहन्छ । जीवनशैली सुधार्ने भन्नाले शरीरमा सुगरको लोड कम गर्न गुलियो कमभन्दा कम खाने, चिल्लो पनि नियन्त्रण गर्ने, तौल ठिक्क राख्ने, सक्रिय हुने, नियमित व्यायाम गर्ने, धूमपान–मद्यपान नगर्ने, सकारात्मक सोच्ने आदि क्रियाकलाप पर्छन् । यसका लागि एकजना फिजिसियनको सम्पर्कमा रहनुभएमा सही परामर्श पाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्