विश्वव्यापी रुपमा मोटोपन अहिले जनस्वास्थ्य समस्या बनेको छ । मेटोपन आफैँमा रोग होइन तर अन्य धेरै घातक रोगहरुको कारण भएकोले यसप्रति सबैको चासो बढिरहेको छ । मोटोपनको कारण धेरै स्वास्थ्य समस्याहरु उत्पन्न भइरहेका छन्, जसको कारण धेरैले अकालमै प्राण गुमाउनुपरिरहेको छ । बच्चाहरुमा समेत मोटोपनको समस्या बढ्दो छ । मोटोपन सुन्दरता र सकारात्मक व्यक्तित्वको पनि बाधक हुन्छ । मोटोपनकै कारण धेरैलाई हीनताबोध पनि भएको हुन्छ, जसले मानसिक समस्या पनि ल्याउने गर्दछ ।
मोटोपन गराउन वा घटाउन खानाको निकै ठूलो भूमिका रहेको हुन्छ । व्यक्तिले दैनिक रुपमा खाने मूल खाना झनै कारक हुन्छ । व्यक्तिहरुमा बढ्दो मधुमेह, उच्च रक्तचाप, हृदयघात आदिको कारणहरुमा मोटोपन पनि हो ।
नेपालमा पहाडतिर अधिकांशले भात र तराईतिर अधिकांशले रोटी खाने गरेको पाइन्छ । दैनिक बिहान–बेलुका खाइने भात र रोटी नेपालीहरुको मूल खाना हो । भात वा रोटी नेपालीहरुले बच्चैदेखि खाँदै आएकोले जबसम्म यी दुईमध्ये कुनै एक खाँदैनन् तबसम्म सन्तुष्टि प्राप्त हुँदैन । अरु जे–जे खाए पनि तृप्तिका लागि भात वा रोटी खाने नै गर्दछन् । यसर्थ भात वा रोटीविना नेपालीहरुको सहज जीवन सम्भव हुँदैन ।
तर अहिले तराईतिर रोटी खानेहरुले पनि भात खान थालेका छन् । समग्रमा अधिकांश नेपालीले खानामा भात खाने गरेको पाइन्छ । पेटभरि भात नखाई आम नेपालीहरुलाई राम्रोसँग निद्रा लाग्दैन । घरबाहिर कतै घुमफिर गर्न जाँदा पनि खानामा भातै खाएर रमाउँछन् । भातविना एक–दुई दिन पनि बस्न मुस्किल हुने गर्दछ ।
सामान्यतः मोटोपन भएको बेला भातभन्दा रोटी खान आमरुपमा सुझाव दिने–लिने गरेको पाइन्छ । के यो सही हो ? फलतः भात छोडेर मोटोपन भएका धेरै मान्छे रोटी खान शुरु गर्दछन् । वस्तुतः बुझ्नुपर्ने कुरा के हो भने, मोटोपन हटाउन कार्बोहाइड्रेटको मात्रा घटाउने हो । तर भात र रोटी दुवैमा उस्तै मात्रामा कार्बोहाइड्रेट रहेको हुन्छ । अतः कार्बोहाइड्रेटको मात्रालाई मात्र हेरी भातभन्दा रोटी उत्तम भन्नु सही होइन ।
भातमा स्टार्च (सिम्पल कार्बोहाइड्रेट) हुन्छ, जुन छिट्टै पच्छ र फेरि छिट्टै भोक लाग्छ । रोटीमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ, जसले गर्दा पच्न समय लाग्छ । भोक ढिलो लाग्ने हुन्छ । पोषक तत्वको मात्रालाई तुलना गरी भन्नुपर्दा भातभन्दा रोटी उत्तम मान्नुपर्छ । तर ध्यान दिनुपर्ने कुरा भनेको यी दुवैमा हुने सोडियमको मात्रा हो । प्रत्येक १२० ग्राम गहुँमा ८० मि.ग्रा. सोडियम हुन्छ ।
सोडियमको निषेधमा रहेकाहरु (जस्तै– उच्च रक्तचापका रोगी) को लागि रोटी सही छनोट हुन सक्दैन । तर सोडियम चासोको विषय हुँदैन भने मोटोपन घटाउन रोटी नै छान्नुपर्छ ।
रोटीमा क्याल्सियम, पोटासियम, आइरन, फस्फोरस आदि पनि रहेको हुन्छ । भातमा क्याल्सियम हुँदैन । साथै शरीरमा पोटासियम र फस्फोरसको तहलाई घटाउँछ । पच्न समय लाग्ने भएकोले रोटीले गर्दा रगतमा लामो समयसम्म सुगरको मात्रा सन्तुलित रहन्छ ।
भातभन्दा रोटीमा धेरै पोषक तत्व हुन्छ भनेर मात्र हुँदैन । मोटोपन चामल र गहुँको गुणस्तरमा पनि भर पर्छ । सन् २०१८ र २०१९ मा नेसनल राइस रिसर्च इन्स्टिच्युट र इन्डियन ह्वीट एन्ड बार्ली रिसर्च इन्स्टिच्युटले १६ प्रजातिको चामल र १८ प्रजातिको गहुँमाथि गरेको अध्ययनका अनुसार ५० वर्षअगाडिको चामलभन्दा हिजोआज उत्पादन हुने चामलमा जिंक २३.९८ प्रतिशतले र आइरन १६.७ प्रतिशलते घटेको पाइएको छ । त्यस्तै गहुँमा जिंकको मात्रा २९.४२ प्रतिशतले र आइरनको मात्रा १९.२७ प्रतिशतले घटेको पाइएको छ ।
भात खराब कुरा होइन, यसलाई सही तरिकाले मात्रा मिलाएर खान सके हितकर नै हुन्छ । सही तरिकाले पकाएर भात खान सिके त्यो मोटोपनको कारक नभएर मोटोपन निवारक पनि हुनसक्छ ।
आयुर्वेदमा भात पकाउने विभिन्न तरिका निर्देश छ । भात नभई नहुने मोटा व्यक्तिहरुका लागि यी विधि निकै प्रभावकारी हुन सक्नेछ । यसरी भात पकाउने आयुर्वेदिक विधिहरुबाट भात पकाएर सम्यक् रुपमा शरीर र मनको अवस्था अनुसार दाल र सब्जीहरुसँग मिलाएर खान सके पाचन गतिशील र तन्दुरुस्त रहन्छ । यसरी तयार पारिएको भातको परिकार थोरै खाए पनि पेट भरिन्छ । आवश्यक ऊर्जा आपूर्ति हुन्छ र सम्यक पोषण पनि प्राप्त हुन्छ । स्वास्थ्य अवस्थानुसार यी परिकारहरु खाँदा कुनै प्रकारको हानि पनि गर्दैन । यी चामलबाट बन्ने परिकार भए पनि चामलको मात्रा न्यून हुन्छ ।
१) माण्ड: १४ भाग पानी र एक भागमात्र चामल राखी बनेको भातबाट सिता छानेर बचेको तरल पदार्थलाई माड भनिन्छ । यसलाई भातको सट्टामा आवश्यकता अनुसार मरमसला राखेर सब्जीहरुसँग खान सकिन्छ ।
२) पेय: १४ भाग पानी र एक भाग चामल राखेर पकाइयो भने त्यो पेयको रुपमा हुन्छ । यसलाई पनि मरमसला राखेर सब्जीहरुसँग खान सकिन्छ ।
३) यवागु: ६ भाग पानी र एक भाग चामल राखेर पाक्ने परिकारलाई यवागु भनिन्छ । यसलाई आवश्यक मरमसला राखेर सब्जीहरुसँग खान सकिन्छ ।
४) विलेपी: ४ भाग पानी र एक भाग चामल राखी पाक्ने परिकार विलेपी हो । यसलाई खिचडी पनि भन्न सकिन्छ । यसलाई भातको सट्टामा मरमसला राखेर सब्जीहरुसँग खान सकिन्छ ।
५) ओदन: २ भाग पानी र एक भाग चामल राखेर बनाइने परिकारलाई ओदन भनिन्छ । यसलाई पनि मरमसला राखेर सब्जीहरुसँग खान सकिन्छ ।
पहिलो बढी लाभदायक हुन्छ भने पछिल्लो झन्डै भातसरह हुन्छ । त्यसैले आफ्नो आवश्यकता अनुसार परिकार तयार गरी खानुपर्छ ।भात मन नपर्ने र रोटी खाई–खाई मोटा भएकाहरुका लागि पनि रोटी पकाउने केही विधिहरु छन् । जसलाई दैनिक जीवन अपनाउन सके रोटी छोड्नु नपर्ला र मोटोपन पनि बिस्तारै घटेर जानेछ ।
रोटी विभिन्न थरीका पीठोले बनाउन सकिन्छ । गहुँको पीठो (चोकरसहित), मैदा (चोकररहित), चामलको पीठो, बेसन (चनाको दालको पीठो), मकैको पीठो, जौको पीठो, कोदोको पीठो, फापरको पीठो आदि । सबै खालका पीठोको आ–आफ्नै विशेषता छ । यी सबै फरक–फरक पीठोमा पोषक तत्वहरु पनि फरक प्रकारको मात्र नभएर ती तत्वहरुको मात्रामा पनि भिन्नता हुन्छ । रोटीलाई फुल्का, चपाती, आदि नामले पनि सम्बोधन गरिन्छ ।
मेटोपन घटाउन बेसनको रोटी सबैभन्दा उत्तम हुन्छ । बेसनमा कार्बोहाइड्रेटको मात्रा अति नै कम हुन्छ ।
साथै बेसनमा धेरै खालका भिटामिन एवं मिनिरस प्रचुर मात्रामा पाइन्छ । बेसनमा फाइबर पनि हुन्छ । बेसनले शरीरको कफ एवं पित्तलाई सन्तुलित राख्छ, शरीरको मोटोपनलाई पनि घटाउँछ ।१०० ग्राम बेसनमा ३५० किलो क्यालोरी ऊर्जा, प्रोटिन २३.३३ ग्राम, फ्याट ३.३३ ग्राम, कार्बोहाइड्रेट ५६.६७ ग्राम, फाइबर ६.७ ग्राम, आइरन ४.५ मि.ग्रा., सोडियम १७ मि.ग्रा. तथा अन्य धेरै पोषक तत्वहरु रहेका हुन्छन् । बेसनमा कोलेस्ट्रोल शून्य मात्रामा हुन्छ, अतः यो मुटुको स्वास्थ्यको लागि पनि हितकर हुन्छ ।
मैदाको रोटी सर्वथा अस्वस्थकर हुन्छ । चोकरसहितको पीठो मैदाजस्तो अस्वस्थकर भने हुँदैन । अरु खाले पीठोको रोटी कहिलेकाहीँ खाँदा शरीरमा नपुगेको तत्वहरुको आपूर्ति पनि हुन्छ, साथै स्वाद पनि फेरिन्छ, परिकारको विविधताले खानपिन रमाइलो पनि हुन्छ ।
मोटोपनको समस्या भएकाहरुले रोटीकै अर्को परिकार पराठा झनै खानुहुँदैन । बोसो घटाउन सादा रोटी नै बढी प्रभावकारी हुन्छ । पराठा बनाउन तेल राखिन्छ, जसले शरीरमा बोसोको मात्रा झनै बढाउँछ । रोटी वा पराठासँग धेरैले चिज खाने गर्दछन्, जुन मोटोपन भएकाहरुका लागि निकै नै अहितकर हुन्छ ।
शरीरको मोटोपन बढाउन वा घटाउन भात वा रोटी उत्तिकै जिम्मेवार हुन्छ । भात वा रोटी कस्तो खाले चामल वा पीठोले बनेको हो ? बनाउने प्रक्रिया कस्तो हो ? त्यसमा केही मिसाइएको थियो कि ? त्यसलाई केसँग खाइयो ? खाँदा चपाई–चपाई खाइएको थियो कि थिएन ? व्यक्तिको भोक कस्तो थियो ? व्यक्तिमा कुनै रोग लागेको थियो कि ? कति मात्रामा खाइएको थियो ? आदि धेरै कुराहरुले प्रभाव पार्ने हुन्छ । निष्कर्षमा भन्नुपर्दा सबैको आ–आफ्नै गुण-अवगुण छन्, तर तुलनात्मकरुपमा रोटी धेरै हिसाबले भातभन्दा उत्तम देखिन्छ । अझ मोटोपन घटाउनका लागि रोटी नै बढी स्वस्थकर देखिन्छ ।