विवाहको गोप्यता



डा. राजेन्द्र भद्रा

केही महिनाअघि नेपालले एक महान् बौद्धिक तथा राजनीतिक व्यक्तित्व गुमायो । यी व्यक्तित्व थिए, माननीय प्रदीप गिरी । अध्ययनशील, प्रखर वक्ता, आँटिला अनि राजनीतिक लाभबाट परै रहेका यी नेताका बारेमा त्यस बेला धेरै चर्चा भए । सञ्चारमाध्यममा मात्रै होइन धेरै नेपालीको विविध पक्षका बारेमा चर्चा–परिचर्चा भए ।

उहाँको बारेमा सञ्चारमाध्यममा आएको एक विषय थियो उहाँकै विवाहको कुरा । अस्पतालमा रहँदा परिवारका एक सदस्यको नामसहित उहाँको स्वास्थ्य स्थितिको बारेमा जानकारीसहितको वक्तव्य आयो । उहाँ को हुनुहुन्थ्यो भन्ने कुरा आफन्त तथा नजिकका साथीभाइबाहेक अरुलाई अचम्मित तुल्याउने कुरा समाचारमा आए ।

यसको साथै गिरीले आफ्नो विवाह र वैवाहिक जीवनलाई अन्य व्यक्तिले झैं सार्वजनिक रुपमा नल्याएको र गोप्य राख्ने प्रयास गरेको कुरा पनि समाचार बने । विवाहलाई प्रायः समाज तथा समुदायमा सार्वजनिक रुपमा लिइने मात्रै होइन एक सामाजिक उत्सवको रुपमा लिइने गरिन्छ । तर अहिले व्यक्तिगत स्वतन्त्रताको बहस चलिरहेको समयमा विवाहको गोप्यता अनि गोपनीयताका घटना हुने गरेको पाइन्छ । आज यहाँ किन कसैले विवाह तथा वैवाहिक जीवनलाई गोप्य राख्न चाहन्छ भन्ने सन्दर्भमा केलाउने प्रयास गर्नेछौं ।

विवाहका प्रकार

पूर्वीय ग्रन्थहरूमा विभिन्न किसिमका विवाहका बारेमा चर्चा गरिएका छन् । जसअनुसार अहिले आठ किसिमका विवाह चलनमा रहेका छन् ।

तीमध्ये पनि ब्रह्म विवाह (दुवै पक्षको सहमतिमा समान वर्गका सुयोग्य वरसँग कन्याको विवाह) र गन्धर्व विवाह (परिवारको सहमतिविना वर तथा कन्याले रीतिरिवाज नगरीकन गरिने विवाह) अहिले अलि बढी नै प्रचलनमा रहेको देखिन्छ । यसबाहेक देव विवाह (कुनै सेवाकार्य जस्तै– धार्मिक अनुष्ठानको मूल्यको रुपमा कन्यादान गरिने विवाह), आर्श विवाह (कन्या पक्षलाई कन्याको अर्थात् गाई मूल्य दिएर ऋषिसँग गरिने विवाह), प्रजापत्य विवाह (कन्याको सहमतिविना अभिजात्य वर्गसँग गरिने विवाह), असुर विवाह (कन्यालाई आर्थिक रुपमा किनेर गरिने विवाह), राक्षस विवाह (कन्याको सहमतिविना उनको अपहरण गरी गरिने विवाह) तथा पैशाच विवाह (कन्याको मदहोशी जस्तै– गहन निद्रा वा मानसिक स्थिति ठीक नभएको बेलाको लाभ उठाएर यौनसम्पर्क गरी गरिने विवाह) अन्य विवाहहरु हुन् । नेपालमा हुने गरेको गन्धर्व विवाह जसलाई हामी बोलीचालीमा ‘लभ म्यारिज’ वा ‘भागी विवाह’ भन्छौं ।

पूर्वीय समाजमा विवाह दुई व्यक्तिको व्यक्तिगत मामिला मात्रै होइन, यसमा परिवार र सो परिवार रहेको समुदायको पनि मामिला हुने गरेको छ । त्यसैले विवाहको घटना र वैवाहिक स्थितिले धेरैजसो परिस्थितिमा सार्वजनिक रुप लिने गर्दछ । यसको अर्थ आफन्त तथा छरछिमेक मात्रै नभई अन्य व्यक्तिलाई पनि कसको विवाह कोसँग भयो भन्ने कुरा सजिलै थाहा हुने गर्दछ । प्रचलित धेरैजसो विवाह सार्वजनिक प्रकृतिको हुने भए पनि अहिले कतिपयले विवाह सार्वजनिक नगर्ने गरेको पाइन थालेको छ । यसका कारणहरू आ–आफ्नै हुने गरेका छन् ।

विवाहको कुरा किन सार्वजनिक गर्न चाहँदैनन् ?

मानवजीवनमा विवाह एक महत्वपूर्ण पक्ष हो । यस्तो विशेष सम्बन्ध गोप्य राख्ने सन्दर्भमा मानिसको मत एक रहेको पाइँदैन । तर पनि किन विवाहको कुरा सार्वजनिक गर्न चाहँदैनन् भन्ने सन्दर्भमा केही प्रमुख कारणहरूलाई निम्न बुँदागतरुपमा चर्चा गर्न सकिन्छ । यी बुँदाहरूले विवाहलाई गोप्य राख्नुको फाइदालाई पनि एक हदसम्म संकेत गर्दछन् ।
१. आफ्नो विवाहलाई अद्वितीय बनाउन
२. आफ्नो सम्बन्धमा बाह्य प्रभाव कम गर्न
३. साथीभाइ तथा आफन्तका वैवाहिक सम्बन्धलाई तुलना गरिने स्थिति हुन नदिन
४. गोप्यता तथा गोपनीयता आधारभूत अधिकार भएकोले
५. एक–आपसमा गुणस्तरीय सम्बन्धका लागि
६. पुराना प्रणय सम्बन्धले नपछ्याउने भएकोले
७. भूत वा भविष्यमा नभई वर्तमानमा जिउनु उत्तम भएकोले
८. जीवन कम जटिल हुने भएकोले
९. आफ्नो यौन तथा जीवनसाथीसँग बढी नजिक हुने भएकोले
१०. पछि छुट्टिनुपरेमा पनि सजिलो हुने भएकोले

माथि उल्लिखित कतिपय बुँदाहरू एक–अर्कालाई समर्पित भएको स्थितिमा गोप्य राख्न चाहेको भनिए पनि अर्कोतिर समर्पित सम्बन्ध नभएको स्थितिमा पनि विवाहलाई गोप्य राख्ने सक्दो कोशिश गरिन्छ नै ।

सामाजिक वा पारिवारिक रुपमा स्वीकार्य नभएको स्थितिमा पनि विवाहलाई गोप्य राख्ने गरिन्छ ।

त्यसै गरी चलनचल्तीको सामाजिक मूल्यमान्यताभन्दा फरक वा सीमाभन्दा बाहिर भएको विवाहलाई पनि गोप्य राख्ने गरिन्छ । केही पेसामा जस्तै– चलचित्र जगत्मा विशेष गरी अभिनेत्री महिला विवाहित भएमा मुख्य महिला पात्रको रुपमा काम नपाउने ठानेर गोप्य राख्ने गरिएको भनिन्छ । पुरुष अर्थात् नायकको हकमा भने यो कम लागू हुने विश्वास गरिन्छ । अर्कोतिर विवाहित नै भएर पनि मुख्य पात्रको रुपमा सफल नायिकाहरूको उदाहरण प्रशस्तै छन् ।

विवाहलाई कसरी गोप्य राख्छन् त ?

पूर्वीय समाजमा विवाह एक सामुदायिक क्रियाकलाप हो । त्यसैले यो न गोप्य राखिन्छ, न त त्यसको आवश्यकता नै पर्दछ । समाजमा स्वीकार्य कार्य गर्दा गोप्यता कायम राख्नु अपरिहार्य पनि बन्दैन । वैवाहिक सम्बन्धलाई अहिले वर्तमानको सम्बन्ध मात्रै नठानेर जन्म जन्मान्तरको सम्बन्ध हो भन्ने विश्वास गरिन्छ ।

तर विवाहलाई गोप्य राख्न दुईजना मात्रै मन्दिरमा गएर विवाह गर्ने वा अदालती विवाह गर्ने चलन छ । यस्तो विवाहमा विशेषतः आफ्ना नजिकका केही व्यक्तिमात्र सहभागी हुने भएकोले एकहदसम्म गोप्यता कायम गर्न सकिन्छ । सानोतिनो भोजको आयोजना गरिए पनि उनीहरूसँग बचन लिइएको हुन्छ कि यसको बारेमा कसैलाई नभनून् । यदि तस्वीर लिइएको भए पनि त्यसलाई कसैलाई नदेखाउन वा सामाजिक सञ्जालमा नराख्न भनिन्छ । कतिपयले त विवाहको गोपनीयता कायम गर्न तस्वीर लिन नै दिँदैनन् ।

धनीमानी तथा चर्चित व्यक्तिहरूको सन्दर्भमा भने सञ्चारकर्मीको धेरै चासो हुने भएकोले उनीहरूलाई विवाह स्थलको नजिक आउन नै दिँदैनन् । उनीहरूका निजी सुरक्षाकर्मीले नपुगे पहुँचको उपयोग गर्दै सरकारी सुरक्षा संयन्त्र पनि उनीहरूले प्रयोग गर्ने गर्दछन् । उनीहरूले अपनाउने अर्को उपाय भने विदेशको विशेष स्थानमा गई विवाह गर्ने हो । पत्रकार वा कसैले सोधेमा विवाहको कुरालाई अस्वीकार गर्ने गरेको देखिन्छ ।

बेफाइदा के–के छन् त ?

गोप्य नै राखिएको भए पनि अदालती विवाह गरिएको भए त्यसले कानुनी हैसियत पाउँछ । यदि कानुनी मान्यता पाएको छैन वा भनौं सरकारी निकायमा दर्ता गरिएको छैन भने त्यसका केही बेफाइदा पनि हुन सक्छन् ।

सार्वजनिक नगरी गोप्य राखिएका विवाहको आधिकारिता नभएमा भोलि सन्तान जन्मेपछि उसको सरकारी कागजात प्राप्ति र त्यस अनुसार प्राप्त गर्ने सेवाको सन्दर्भमा अन्यौल हुन सक्छ । सानै छँदा जन्मदर्ताजस्तो कुरामा असजिलो हुन सक्छ भने पछि विद्यालय भर्ना गर्ने बेलामा पनि समस्या आउन सक्छ । मातापिताको मृत्यु भएको स्थितिमा पैतृक सम्पत्तिको हकदारको रुपमा उसलाई उभ्याउन पनि कसरत नै गर्नुपर्ने हुन्छ ।

गोप्य विवाहमा विवाहित व्यक्ति वा दम्पतीको सन्दर्भमा परिवार र समुदायको निगरानी नहुने र सामाजिक मूल्यमान्यताको परिधिभित्र रहनुपर्ने बाध्यात्मक परिस्थिति खासमा नहुने हुँदा अर्को व्यक्तिसँग प्रणय वा यौनसम्बन्ध हुने सम्भावना बढी हुन्छ । यस्तो कुराले सम्बन्धको स्थायित्वलाई नकारात्मक असर पार्न सक्छ ।

कानुनी आधार नभएको यस्तो गोप्य विवाहमा केही मात्रै आफूलाई मन नपरेको स्थिति भए पनि मिलेर बस्ने भन्दा छुट्टिने परिस्थितिमा सजिलै पुगिने हुन्छ ।

यसले पनि वैवाहिक सम्बन्धको दिगोपनलाई नकारात्मक असर गर्दछ ।पूर्वीय समाजमा विवाहको सन्दर्भ संलग्न व्यक्तिहरू अर्थात् वर तथा वधूमात्रको चासोको विषय नभई परिवार र समुदायको नै चासोको विषय ठानिन्छ । तर अहिले बढ्दो पश्चिमा सोचको प्रचलन बढ्दै गरेको स्थितिमा यो एक व्यक्तिगत मामिला हो भन्ने छ, जसको अर्थ सार्वजनिक गर्ने वा गोप्य राख्ने उनीहरूको रोजाइको विषय हुनुपर्दछ भन्ने हो ।

प्रतिक्रिया दिनुहोस्