चौध वर्षअगाडि मलाई इरानको भूकम्प प्रभावित क्षेत्रमा गएर काम गर्ने अवसर मिल्यो । यसै क्रममा एकदिन केही खान भनेर त्यहाँको एउटा चमेना गृहमा पसेँ । मैले शुरुमै ‘म शाकाहारी हुँ मासु नहालेको परिकार दिनु है’ भनेँ । ‘हुन्छ’ भनेर वेटरले नान (रोटी) र तरकारीको सुप ल्याए । म दंग परेँ । तर मुखमा हाल्नेबित्तिकै मलाई थाहा भयो कि यसमा त मासु छ । ‘मैले त मासु खान्न भनेको, मासु छ नि यसमा’ भन्दा चमेना गृहका व्यक्तिले भने, ‘होइन, यो त मासुको रसमात्रै हो, मासुको टुक्रा त मैले झिकिसकेँ नि ! मासु नखाने मानिसहरू आउँछन्, हामी यसै गरी सुप पकाउँछौं ।’
उनको कुरा सुनेर मलाई हाँस उठ्यो । मैले बुझेँ– यहाँ मासुको रसलाई शाकाहार भन्ने चलन रहेछ । इरानमा ३ महिना बसुन्जेल मैले तरकारी नै खाइन । फलफूल, दही र भातमात्र खाएँ । म इरान, अफगानिस्तान र पाकिस्तानमा काम गर्न बस्दा पनि त्यहाँका मेरा साथीहरुले मलाई सोध्ने गर्थे, ‘मासु नखाए पनि मान्छे बाँच्न सक्छ र ?’अहिले पनि विभिन्न ठाउँ र समय अनुसार मासु खाने कि नखाने भन्ने बहस हुन्छ । मासु स्वस्थकर कि तरकारी स्वस्थकर भनेर पनि बहस शुरु भएको छ । शाकाहारी मानिसको जमात पनि बढेको छ । मेरा केही साथीहरू पहिले मासु पाएपछि छाकमा आधा किलोसम्म खान्थे । अहिले उनीहरूले मासु कम गर्दै लगेर हप्तामा ३ दिन विनामासुको खाना खान्छन् ।
मासु खाने कि नखाने आफ्नो बानी, संस्कृति र चलनमा भर पर्छ । कतिले बिहीबार, आइतबार, एकादशी आदिमा व्रत भनेर दाल–भात खान्छन् तर मासु खाँदैनन् । कतिपय मानिसहरु एकादशीमा शाकाहारी भोजनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भनेर मासुको सट्टा तरकारीको सेवन बढी गर्न थालेका छन् ।
शाकाहार र मांसाहारबारे बहस
शाकाहार र मांसाहारबारे मैले भन्ने गरेको छु, ‘म शाकाहारी हुँ तर मासु पकाएको ठाउँमा खाना नखाने र मासु खाने ठाउँमा बस्दै नबस्नेचाहिँ गर्दिन । सामान्य अवस्थामा मांसाहारीहरूले खान्छन् भने उनीहरुलाई बेठिक भन्ने जरुरत छैन तर स्वास्थ्यमा समस्या भएमा मासु छोडे पनि हुन्छ ।’मासु खानु स्वस्थकर हो कि होइन ? भन्ने प्रश्नको जवाफ एउटै नहोला । मांसाहारीले ‘शाकाहारीलाई प्रोटिन नै पुग्दैन’ भन्छन् । तर शाकाहारीहरूलाई प्रोटिन पुग्दैन भन्ने तथ्यचाहिँ ठीक होइन । म आफैं शाकाहारी भएको २५ वर्ष भयो । मलाई प्रोटिनको कमी भएको छैन ।
वास्तवमा शाकाहारीहरुले राम्रोसँग मिलाएर सन्तुलित भोजन गर्ने हो भने प्रोटिनको कमी भएर बिरामी पर्ने कुरै हुँदैन ।
मेरी ८४ वर्षीया आमा माछा–मासु त के लसुन–प्याजसमेत खानुहुन्न तर उहाँलाई क्याल्सियम, लौहतत्वको कमी छैन । उहाँको रगत जाँच गर्दा सबै तत्व ठीक हुन्छ । उहाँलाई अन्य स्वास्थ्य समस्या भए पनि प्रोटिनको कमी छैन । मेरी एक साथी छिन्, माछा–मासु नखाने तर मिठाइ भनेपछि चाहिँ हुरुक्कै हुन्छिन् । उनको शारीरिक तौल ८५ केजी छ । उनको दुवै घुँडामा समस्या छ । हिँड्न गाह्रो छ । उनी भन्ने गर्छिन्, ‘आजकल मिठाइ खान छोडेकी त हुँ तर देखेपछि मन थाम्न सक्दिन ।
एक किलो पनि मिठाइ खान सक्छु ।’ यसरी शाकाहारीले पनि धेरै गुलियो खाना खाएमा शरीरमा नराम्रो असर परी अस्वस्थ भइन्छ ।यस्तै अर्की साथी छन् । उनी व्रत लिएको बेलामा मासु र अण्डा खान्नन् । तर अरु बेला दिनको तीनचोटि मासु खान्छिन् अनि पश्चात्ताप गर्छिन् । उनलाई कब्जियतको समस्या छ । त्यसैले उनी हरेक दिन इसबगोलको भुसी खान्छिन् । हरियो तरकारी धेरै खाएर मासु कम खाए उनलाई कब्जियत हुँदैन थियो तर उनलाई मासु नखाई सन्तुष्टि नै हुँदैन । यदि आफ्नो शरीरलाई विचार गरेर सन्तुलित खाना खाने हो भने शायद मांसाहारी र शाकाहारी दुवै स्वस्थ रहन्छन् ।
नेपाली चलन अनुसार ‘सुत्केरीलाई खुट्टीको रस ख्वाएपछि मात्र उनी तङ्ग्रिन्छिन्, उनको दूध आउँछ’ भन्ने गरिन्छ । वास्तवमा शाकाहारीले खाने दाल, सुप, ज्वानो, कोदो, फापर आदिले शरीरलाई पर्याप्त प्रोटिन दिने हुन्छ । यी खानेकुरामा अनेक सूक्ष्म तत्व पनि हुन्छ । यी खाद्यपदार्थ खाएमा सुत्केरीले मासु नै नखाए पनि स्वास्थ्यमा समस्या पर्दैन ।
‘२० वर्ष भयो मैले मासु नखाएको तर मलाई न रगतको कमी छ, न सूक्ष्म पोषक तत्वको कमी भएर क्याप्सुल खानुपरेको छ ।’ मेरी एक साथी आफ्नो अनुभव सुनाउँछिन् । वास्तवमा मासु खाने मानिसले आफ्नो स्वास्थ्य राम्रो पार्न तरकारी र दाल पनि खानै पर्छ । रेसादार पदार्थले गर्दा कब्जियत हुन पाउँदैन ।
कब्जियत भयो भने अनेक थरीका समस्या हुन्छन् । कब्जियत भएपछि मलद्वारमा घाउ, पाइल्सको समस्या निम्तिन सक्छ । त्यसैले हरियोपरियो तरकारी त खानै पर्छ । मासुले मात्र पनि सूक्ष्म पोषण तत्व पुग्दैन ।हुन त नेपाली चलन अनुसार कुनै तरकारी स्वादिष्ट भए ‘आहा कस्तो मासुजस्तो मीठो’ भन्ने चलन छ । शायद पहिले मासु कम खाने भएर होला । ५० वर्षअघि हाम्रा घरमा दशैंमा बाहेक कुनै–कुनै शनिबार त्यो पनि पाहुना आउने दिनमा मात्र मासु पाक्थ्यो । दुई रुपियाँ पाउमा मासु पाइन्थ्यो । मासुको टुक्राभन्दा बेसी झोल बन्थ्यो । मासुको झोल र भात मीठो गरेर खाइन्थ्यो ।
मासु पकाउँदा लसुन, प्याज काट्ने काममा हामी मद्दत गथ्र्यौं । मासुमा नुन पुग्यो वा पुगेन भनेर आमाले चाख्न दिनुहुन्थ्यो, चाख्न दिए हुन्थ्यो भन्ने लोभ पनि हुन्थ्यो । मासु पकाएको भाँडा पनि आफैंलाई दिए हुन्थ्यो भन्ने लाग्थ्यो, त्यसमा भात हाली सोहोरेर खानको लागि । शायद त्यो बेलामा ‘मासु भएपछि त भातसँग अरू के चाहिन्थ्यो र ?’ भन्ने लाग्थ्यो । दिनदिनै मासुभात खान पाए हुन्थ्यो भन्ने पनि लाग्थ्यो त्यो बेलामा । विदेशमा मानिसहरूले बिहान–बेलुका नै मासु खान्छन्, त्यहाँ त तरकारी महँगो तर मासु सस्तो हुन्छ भन्ने सुन्दा ‘अहा त्यहाँ जान पाए त म कति मासु खान्थेँ होला’ भन्ने लाग्थ्यो । बिस्तारै समय बदलिँदै गयो । त्यसैले विदेशमा गए पनि मैले हरियो तरकारी, भात, सुप, फलफूल नै खाएँ । फलफूल त जीवनको अभिन्न अंग बन्यो मेरो ।
मासु खानु ठीक होइन भन्ने कुराचाहिँ म मान्दिन । किनकि नेपालको हिमाली भाग जहाँ मासु मुख्य भोजन हो, त्यहाँ गएर ‘तरकारी खाऊ, मासु नखाऊ’ भन्न सकिन्न । त्यहाँ हरियो तरकारी नै पाइन्न त कसरी शाकाहारी बन भन्न सकिन्छ ?
नेपालमा पनि गंगटो, भ्यागुतो, मुसा, अनेक थरीका माछा खाने हाम्रा जनजाति छन् । त्यो समुदायमा गएर ‘मासु खानुहुँदैन भन्न पनि सकिन्न ।
पहिले–पहिले विदेश जाँदा शाकाहारी भएको कारण मलाई केही समस्या पथ्र्यो तर अहिले विदेशमा पनि धेरै मानिसले तरकारी, दाल, फलफूलको प्रयोग गर्छन् । शाकाहारीहरु पनि त्यहाँ धेरै छन् । अहिले शाकाहार भोजन नपाइने भन्ने त्यति हुँदैन, त्यसैले समस्या पर्दैन ।‘मासु नखाए अस्वस्थ भइन्छ’ कि भनेर कतिले सोचेका हुन्छन् । कोरोना भएको बेला ‘मासुको झोल खानै पर्छ’ भनेर मेरा केही साथीहरुलाई उनीहरुको परिवारले ढिपी गरेछन् । आखिर मासु खाएपछि उनीहरुलाई बान्ता भएको थियो । मलाई पनि कोरोना भएको थियो । त्यस बेला दाल, क्वाँटी, सुप, हरियो तरकारी, कोदो र फापरको रोटी खाएर म तङ्ग्रिएको थिएँ । अरुलाई पनि यस्तै खान सल्लाह दिएको थिएँ ।
मैले केही यस्ता व्यक्तिहरु देखेकी छु कि मासु नभई खाना नै नखाने । मासु पकाउँदा पनि बजारिया धेरै तेल हालेर मज्जासँग पकाउने । अनि तिनीहरुको तौल नबढे कसको बढ्छ त ? तौल बढेर मुटुको समस्या, उच्च रक्तचाप भयो भने बिरामी आफैँले मासु कम गरी तरकारी बढी खान थाल्छन् । मासु नखाए पनि स्वस्थ भइन्छ भन्ने बुझ्छन् । कृषियुग शुरु हुनुभन्दा अघि पनि हाम्रा पुर्खाहरू मासु नै खान्थे । कृषियुग शुरु भएपछि अन्नको चलन चलेको हो । त्यसैले मांसाहार भए पनि शाकाहार भए पनि सन्तुलित रुपमा खानुप¥यो ।
शाकाहार र मांसाहारमा बहस नै चल्ने गरेको छ । कुनै धर्मले मासु नखाऊ भन्छ, फेरि कतिपयको धार्मिक संस्कारमा मासु र अण्डा नभई हुँदैन । कतिपयको श्राद्धमा ‘मासु’ उच्चारण नै गरिन्न भने कतिपयको श्राद्ध संस्कारमा झन् बंगुर, खसीको मासु हुनै पर्छ । त्यसैले मासुको प्रयोग गर्दा बेठीक भन्नेचाहिँ होइन । तर स्वास्थ्यमा खराबी नहोस् भनेर भोजमा तरकारी, अन्न, दूध खाने सल्लाह डाक्टरले दिने गर्छन् ।
बर्ड फ्लु भएर कतिजनाले कुखुराको मासु खान छोडे पनि फेरि खान थाले । स्वाइन फ्लु आएर बंगुरको मासु खान छोडेकाले फेरि खान थाले । समय र परिस्थिति अनुसार मानिसहरुको भोजनमा परिवर्तन हुने गर्छ । मुख्य कुरा ‘मासु नखाएर शरीरलाई प्रोटिन र सूक्ष्म तत्व पुग्दैन’ भनेर विज्ञानले भन्दैन । तर शाकाहारीले पनि शरीर स्वस्थ रहने गरी खाना मिलाएर खानुपर्छ भन्ने कुरा सत्य हो । यसमा विज्ञान पनि सहमत हुन्छ ।
सयुक्त राष्ट्र संघ एवं खाद्य कृषि संगठनले तरकारी र फलफूलको महत्व बढाउन र भोजनमा यस्ता कुरा बढी समावेश होस् भनेर जागरण फैलाउन सन् २०२१ लाई ‘फलफूल र तरकारीको वर्ष’ भनेर घोषणा गरेको थियो । मानव स्वास्थ्यमा तरकारी र फलफूलको महत्व दर्शाएर यस्ता वस्तुको दैनिक जीवनमा बढी प्रयोग होस् भन्ने यसको उद्देश्य थियो । यसै सिलसिलामा मासु खाने मानिसलाई फलफूल र तरकारी पनि उपभोग गर्नुपर्छ भन्ने सन्देश दिनसमेत खोजिएको थियो ।
यसबाट पुष्टि हुन्छ कि शरीर स्वस्थ राख्न शाकाहारी र मांसाहारी दुवैले स्वस्थकर एवं सन्तुलित खाना खाने गर्नुपर्छ । शारीरिक तौल कम गर्न भात र रोटी कम गरी तरकारीको सेवन बढी गर्ने अनि दैनिक योग, व्यायाम गर्नुपर्छ । मांसाहार कि शाकाहार भनेर बहस गर्नुभन्दा आफ्नो रुचि र शारीरिक स्वास्थ्य अवस्था अनुसार सन्तुलित भोजनको व्यवस्था गर्नुपर्छ ।