स्वाद र स्वास्थ्यका लागि गुन्द्रुक



डा. केदार कार्की

गुन्द्रुक सागबाट बनाइने तरकारीजन्य परम्परागत खाद्यवस्तु हो । रायोको साग, तोरीको साग, मुलाको साग वा अन्य सागबाट पनि गुन्द्रुक बनाउन सकिन्छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । तिब्बत, भुटान, सिक्किम, दार्जीलिङमा पनि गुन्द्रुक खाने प्रचलन छ । नेपालीहरु पुगेका अन्य मुलुकमा समेत गुन्द्रुक खाने गरेको पाइन्छ । यसलाई नेपालीको विषेश खानेकुराको रुपमा विदेशीहरुले समेत चिनेका छन् । यो विशेष गरी जाडो याममा खाने गरिन्छ

अहिले समाजमा पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने चेत बढेको छ । त्यसैले सन्तुलित भोजनको तालिका अनुसार खाना खाने गरिन्छ । यस्तो अवस्थामा सागलाई उसिनेर, बफ्याएर, सुकाएर तयार गरिएको गुन्द्रुक के खान लायक हो त ? प्रश्न स्वाभाविक रुपमा उठ्छ । वास्तवमा नेपालीहरुले परम्परागतरुपमा खाने गरेको गुन्द्रुकमा पोषण शक्ति हुन्छ । गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइड्रेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदार्थ हुने गर्छ ।

पोषणका कुरा मात्र होइन, अन्य तरकारी पकाउने समय भएन भने गुन्द्रुक छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार हो । अन्य तरकारीलाई पकाउनुपर्छ भने गुन्द्रुकलाई उमाले मात्र हुन्छ । स्वादका लागि लसुन, प्याज, हरियो धनियाँ आदि पनि हाल्न सकिन्छ । यसरी पकाएको गुन्द्रुक सुपको रुपमा पनि खान सकिन्छ । साग धेरै भएको सिजनमा गुन्द्रुक बनाएर राखेमा तरकारीको अभाव भएको समयमा उमालेर खान सकिन्छ ।
गुन्द्रुक सेवनका फाइदा
– आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । गुन्द्रुकले आँखामा हुने अल्सरको सम्भावनालाई पनि कम गर्छ ।
– गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ ।
– गुन्द्रुकले क्यान्सरको सम्भावनालाई समेत कम गर्ने देखिन्छ ।
– ग्यास्ट्रिक र अल्सर भएका बिरामीलाई सादा गुन्द्रुकले फाइदा पु¥याउँछ । गुन्द्रुकमा खनिज पदार्थको मात्रा प्रशस्त हुन्छ ।
– स्मरणशक्ति कम हुनेहरुले रायोको गुन्द्रुक सेवन गर्नु उत्तम हुन्छ । किनकि यसले स्मरणशक्ति बढाउनको लागि सहयोग पु¥याउँछ ।
– अधिक कोलेस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ ।
– शरीरको हड्डी मजबुत बनाउनको लागि पनि गुन्द्रुक सेवन फाइदाकारक हुन्छ ।

– गुन्द्रुकको सेवन जाडो मौसममा बढी हितकर मानिन्छ । मेडिकल भ्यूबाट हेर्दा गुन्द्रुकले कोल्ड लुबाट बचाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
गुन्द्रुक कसरी तयार गर्ने ?
– गुन्द्रुक तयार पार्दा पहिला रायो, तोरी, मुला या काउलीको सागलाई सफा गरेर हल्का घाममा सुकाउनुपर्छ । सुकाउने भन्दैमा खुरुम्म हुने गरी सुकाउनेचाहिँ होइन

। सामान्य किसिमले सुकेर ओइलाएको सागलाई काठ, ढुङ्गा वा ओखलमा कुटेर दगल्च्याउनुपर्छ । यसरी कुट्दा धेरै धूलो वा पेस्ट नै हुने गरी कुट्नुहुँदैन ।यसरी कुटेको सागलाई सागको परिमाण अनुसारको कुनै डिब्बा वा भाँडामा खाँदेर हावा नछिर्ने गरी बन्द गर्नुपर्छ । गुन्द्रुक खाँदेको यस भाँडोलाई गुन्द्रुक अमिल्लियोस् भनेर घाम लाग्ने ठाउँमा राख्नुपर्छ ।

गुन्द्रुक चाँडै तयार गर्नु छ भने वा ४–५ दिनमा पनि अमिल्लिएन भने थोरै मात्रामा मनतातो पानी त्यसमा हाल्नुपर्छ र पुनः केही गह्रौं वस्तुले थिचेर राख्नुपर्छ । यसो गर्दा गुन्द्रुक चाँडो तयार हुने र अमिल्लिने हुन्छ ।हप्ता–दश दिनसम्ममा खाँदेको गुन्द्रुक बिस्तारै अमिलो भइसक्छ । भित्रको गुन्द्रुकको त्यान्द्रो झिकेर खाँदा पनि अमिलो भए÷नभएको थाहा हुन्छ । तर कहिलेकाहीँ धेरै दिन यसरी राख्दा कुहुन पनि सक्छ । त्यसैले होस पु¥याउनुपर्छ ।

गुन्द्रुक तयार भएपछि डिब्बा वा भाँडोबाट झिकेर केही दिन घाममा सुकाउनुपर्छ । घाममा सुकेर झुरुम्म भएपछि गुन्द्रुक तयार भएको सम्झनुपर्छ । सुकेर झुरुम्म भएको गुन्द्रुक धेरै धूलो हुन सक्छ, त्यसैले धेरै माडमुड नगर्नु नै बेस हुन्छ ।यसरी तयार भएको गुन्द्रुकलाई सुरक्षित तरिकाले हावा नपस्ने गरी कुनै भाँडामा राख्न सकिन्छ र चाहिएको अवस्थामा थोरै निकालेर तरकारीको रुपमा पकाउन सकिन्छ । यसलाई नपकाई साँधेर अचारको रुपमा पनि खान सकिन्छ ।
गुन्द्रुकको परिकार
सामान्यतया गुन्द्रुकलाई झोलको रुपमा प्रयोग गर्ने प्रचलन छ तर यसलाई अरु पनि स्वादिष्ट परिकारको रुपमा तयार पारी सेवन गर्न सकिन्छ । नेपालका तारे होटलहरुमा गुन्द्रुकको झोलमा भटमास राखेर पकाउने गरेको पनि पाइन्छ । यसो गर्दा गुन्द्रुकको विशेष स्वादिष्ट परिकार बन्ने हुन्छ । यसै गरी गुन्द्रुकलाई हिमालय सुपको रुपमा पनि सेवन गर्ने गरेको पाइन्छ ।

मस्यौरा, सिन्की, माछाको ग्रेभी बनाउँदा पनि थोरै मात्रामा गुन्द्रुकको धूलो राख्यो भने निकै स्वादिष्ट हुन्छ । त्यस्तै कागती, टिमुर, नुन, खुर्सानी, भुटेको भटमास, धनियाँ, भुटेको तोरीको तेल राखी गुन्द्रुकलाई साँधेर पनि खान सकिन्छ । यसरी तयार पारेको परिकारलाई कोदो, फापरको रोटी वा नेवारी मासको बारासँग खाँदा पनि निकै स्वादिष्ट हुन्छ ।

आजकल थकाली थाली सेटमा पनि गुन्द्रुकको अचारलाई अनिवार्य परिकारको रुपमा राख्ने गरिएको देखिन्छ । आलु अन्य जुनसुकै तरकारीमा मिसाएर पकाउन सकिने भएजस्तै गुन्द्रुकलाई पनि अन्य तरकारी बनाउँदा मिसाउन सकिन्छ । अझ दालमा गुन्द्रुकको धूलो छरेर खाने हो भने यसको स्वाद उत्कृष्ट बन्छ ।

प्रतिक्रिया दिनुहोस्