चुनौतीको रुपमा प्रतिजैविक प्रतिरोध रोकथाम



हरेक वर्षको नोभेम्बर १८ देखि २४ तारिखसम्म विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह मनाइने गरिएको छ । विश्व स्वास्थ्य संगठन, विश्व खाद्य तथा कृषि संगठन, विश्व पशु स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको संयुक्त आह्वानमा यसरी मनाइने गरिएको हो । प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) को बारेमा सचेतना वृद्धि गर्दै रेजिस्टेन्स नियन्त्रणको लागि असल अभ्यास अपनाउन प्रोत्साहन गर्ने ध्येयका साथ सचेतना सप्ताह मनाउने गरिएको हो ।

यसै सन्दर्भमा नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको सहकार्यमा विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह ‘सबै क्षेत्र जुटौं, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ’ भन्ने मूल नाराका साथ गत मंसिर २ देखि ८ गतेसम्म मनाइयो । यसमा ‘एन्टिमाइक्रोबियलको प्रयोग सावधानीपूर्वक गरौँ’ भन्ने मूल भावना समेटिएको थियो ।

प्रतिजैविक प्रतिरोध विगत केही दशकदेखि विश्वव्यापी चुनौतीको रुपमा देखा परेको छ । यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक्स लगायतका एन्टिमाइक्रोबियल औषधिहरुको प्रभावकारिता कम हुँदै गएको छ । मानिस, पशुपक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरुका जीवाणुविरुद्ध प्रयोग हुने यी औषधिहरुको समुचित प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगहरुको उपचारमा बाधा उत्पन्न भएको छ । यसको कारण बर्सेनि करिब ७ लाख मानिसको मृत्यु भइरहेको छ । यसको नियन्त्रणको लागि ठोस कदम नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्ममा बर्सेनि एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।

यसले मानवीय क्षतिका साथै विश्वभरि करिब एक सय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्ने र यसको प्रत्यक्ष असर नेपालजस्तो विकासोन्मुख देशहरुमा पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनीसमेत दिएको छ । नेपालमा बर्सेनि एक अर्व अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ, जुन कुल औषधि आयातको ३० प्रतिशत हो ।

नेपाली बजारमा करिब ३६५ ब्रान्डका एन्टिबायोटिक औषधिहरु उपलब्ध छन् र देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक औषधि उत्पादन गर्छन् । गाईवस्तु, सुँगुर र कुखुरामा एन्टिबायोटिकको चरम दुरुपयोग हुने गरेको छ । अझै पनि दुग्ध विकास फार्महरुमा एन्टिबायोटिकको सुरक्षित र न्यायोचित प्रयोग हुन सकेको छैन, जसले गर्दा मासु र दुग्धजन्य पदार्थको उपभोगले जनस्वास्थ्यको जोखिम उच्च रहेको छ ।

यस सचेतना सप्ताहको मुख्य उद्देश्य विश्वव्यापी समस्याको रुपमा विकसित भइरहेको एन्टिमाइक्रोबियल रेजिस्टेन्स रोकथाम तथा नियन्त्रणको लागि ‘एक स्वास्थ्य’ अवधारणा अनुरुप मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य तथा वातावरण क्षेत्रलाई संलग्न गराई एन्टिमाइक्रोबियल औषधिहरुको समुचित प्रयोगको लागि व्यवहार परिवर्तनको सन्देश प्रवाह गर्न आम नागरिक एवं सबै सरोकारवालाको भूमिकालाई प्रवद्र्धन गर्नु रहेको छ ।

यसको नियन्त्रण तथा रोकथामका लागि सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य छ । त्यसैले आ–आफ्नो क्षेत्रबाट सफलताका साथ मनाउन सबै सरोकारवाला निकायसमक्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरे पनि प्रतिनिधिसभाको निर्वाचनले यस वर्ष यो सचेतना सप्ताह छायामा परेको भने नकार्न सकिँदैन ।
भगवती तिमल्सिना

प्रतिक्रिया दिनुहोस्