स्त्रीरोगसम्बन्धी समस्याको न्यूनीकरण गर्ने मूल उद्देश्य लिएर हालै अन्तर्राष्ट्रिय युरोगाइनोकोलोजिकल दोस्रो सम्मेलन नेपालमा सम्पन्न भएको छ । विशेष गरी गाइनोकोलोजिस्ट चिकित्सकलाई थाहा भएको ज्ञान अन्य चिकित्सकलाई पनि शेयर गर्ने उद्देश्य लिएर धुलिखेल अस्पतालमा यो सम्मेलन गरिएको हो ।
साथै नेपालमा भएका प्रयोगात्मक अभ्यासहरुमाथि छलफल गरी विश्वमा भएका अनुभव पनि प्रत्यक्ष तथा जुमका माध्यमबाट शेयर गर्ने र व्यवहारमा उतार्ने सम्मेलनको लक्ष्य हो । महिलाको पिसाब चुहिने, पाठेघर तल झर्ने, पिसाबथैली आफ्नो ठाउँभन्दा तल झर्ने, ठूलो आन्द्रा तल झर्ने आदि स्त्रीरोगको सम्बोधन गर्नसमेत अन्तर्राष्ट्रिय गाइनोकोलोजी सम्मेलनले सहयोग पु¥याएको छ । यसै परिप्रेक्ष्यमा धुलिखेल अस्पतालको गाइनोकोलोजी विभागकी विशेषज्ञ प्रा.डा. आभा श्रेष्ठसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार:
गाइनोकोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा नै किन गरियो ?
सम्मेलनमा जो चिकित्सक सहभागी हुनुभएको छ, उहाँहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ चिकित्सकहरु हुनुहुन्छ । यतिमात्र नभई जर्मनीबाट जुमबाट प्रस्तुत हुनुभएका चिकित्सक युरोगाइनोकोलोजीका विषयमा जर्मनीमा नम्बर वान विज्ञ हुनुहुन्छ । मैले उहाँसँगै सिकेको हो, उहाँ मेरो म्यानिटर हुनुहुन्छ । अर्का एकजना डा. कोभिड संक्रमित भएर आउन सक्नुभएन । तर उहाँ पनि जुमकै माध्यमबाट प्रस्तुत हुनुभयो ।
यो सम्मेलन अत्यन्तै राम्रो भयो । आफ्नो क्षेत्रमा विज्ञहरुसँग सिक्न पाउँदा हामीलाई धेरै उपलब्धि भयो । पहिलो दिनको उद्घाटनमा नेपालस्थित अस्ट्रेलियन राजदूत फेबिसिट भोल्क आउनुभयो । उहाँको भनाइ अत्यन्तै मार्मिक थियो । उहाँले भन्नुभयो, ‘मेरी आमालाई पनि पिसाब चुहिने समस्या थियो । हामी ४ जना सन्तानकी आमा उहाँले उपचार गराउनुभयो ।’
यतिमात्र नभई आफूलाई पनि यो समस्या भएकोले कुनै दिन यसको उपचार सेवा लिने राजदूत भोल्कले बताउनुभयो । यो भनाइले युरोलोजी तथा गाइनोकोलोजी सम्बन्धी समस्या गरिब–धनी, शिक्षित–अशिक्षित जुनसुकै महिलालाई हुनसक्ने स्पष्ट हुन्छ । नेपालमा यस्ता समस्या भएका महिला अनुमान गरेभन्दा बढी नै हुन सक्छन् । त्यसैले नेपाल र नेपालीलाई यसबारे शिक्षा दिई उपचारको पहुँचमा ल्याउन सकियोस् भन्ने उद्देश्यले नै नेपालमा यो सम्मेलन गरिएको हो ।
कस्तो अवस्थामा पिसाब चुहिने समस्या हुनसक्छ ?
कुनै पनि महिला गर्भवती भएपछि अथवा बच्चा जन्माइसकेपछि वा महिनावारी रोकिइसकेपछि उनलाई यो समस्या आउन सक्छ । विवाह नै नगरेका, यौनसम्पर्क नभएका, बच्चा नै नपाएका महिलामा पनि यो समस्या हुनसक्छ । विशेष गरी महिलाको शरीर र मांसपेशीमा हर्मनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
गर्भवती हुँदा पाठेघर ठूलो हुन्छ । त्यति बेला पाठेघरलाई सपोर्ट गर्ने मांसपेशीमा बढी दबाब पर्छ र मांसपेशी कमजोर हुनपुग्छ । बच्चा पाउँदा मासु च्यातिन पनि सक्छ । त्यस्तो हुँदा महिलाहरुको पोस्ट प्रिग्नेन्सी, पोस्ट डेलिभरी, खोक्दाखेरि, हाच्छिउँ गर्दा, एक ठाउँबाट अर्को ठाउँमा जाने क्रममा कान्ला ओर्लंदा, ठूलो हाँसो हाँस्दा पनि पिसाब लिक हुन्छ । विवाह नै नभएका महिलामा महिनावारी रोकिएर हर्मनले काम गर्न छोडेपछि पनि यो समस्या देखिन्छ । हर्मनले मांसपेशीलाई बलियो बनाएर राख्ने काम गर्छ । महिनावारी रोकिएपछि हर्मन उत्पादनमा ह्रास आउँछ । त्यसपछि पाठेघर खुकुलो हुन थाल्छ अनि हाँस्दा, खोक्दा पिसाब चुहिन थाल्छ ।
यो कस्तो र कति महिलामा देखिने समस्या हो ?
यो कमन खालको समस्या हो । १ सयजना महिलामध्ये २५ जनाजतिमा पिसाब चुहिने समस्या देखिन्छ । यो सबै खालका महिलामा हुने समस्या भएकाले जनचेतनाको खाँचो छ ।
यो समस्या भएका महिलाले अस्पतालमा आउँदा के भन्छन् ?
महिलाहरु अरु नै समस्या लिएर अस्पतालमा आउँछन् । तर अन्य उपचारका लागि आएको अवस्थामा महिलालाई सोध्दा पनि यो समस्या बताउन लजाउँछन् । उनीहरु पिसाब चुहिने समस्या छ भनेर यसैका लागि कहिल्यै आउँदैनन् । ओपीडीभित्र आएपछि पनि महिलाहरुले तल्लो पेट दुखेको छ, पिसाब पोलेको छ, तल चिलाउँछ, सेतो पानी बगेको छ भन्न् । चिकित्सकले तपाईंले खोक्दा, हाच्छिउँ गर्दा वा हाँस्दा पिसाब चुहिन्छ ? भनेर सोध्दा एकदम लजाई–लजाई कहिलेकाहीँ चुहिन्छ भन्छन् । त्यसपछि मात्र थाहा हुन्छ ।
यो समस्या महिलाले किन लुकाउँछन् ?
यस किसिमको समस्या भन्न उनीहरु लजाउँछन् । अरुले थाहा पाए भने यसको पिसाब चुहिने रहेछ भन्लान् भन्ने डरले पनि समस्या लुकाएको देखिन्छ ।
हुन त यो समस्या विश्वमा नै देखिन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा गर्भवती हुँदा वा बच्चा जन्माएपछि दिदी–बहिनी, मन मिल्ने साथीसँगको भेटमा आफूलाई भएको समस्या साटासाट गर्छन् । तर कतिपय महिलाले मेरो पनि हुन्छ, यो सामान्य कुरा हो भन्ने गरेको पाइन्छ । तर यो समस्या सामान्य हुनै सक्दैन । यस विषयमा चिकित्सकहरुमा पनि ज्ञान हुनुपर्छ र समस्या भएका महिलाहरुलाई समाधानको उपायका बारेमा ज्ञान दिन सक्नुपर्छ । यसकै लागि पनि यो सम्मेलनको आयोजना गरिएको हो ।
यससम्बन्धी कस्ता खालका समस्या आएका छन् र समाधानको उपाय के हो ?
महिलाका यस्ता स्वास्थ्य समस्याको समाधान गर्न सक्यौं भने धेरै महिलाको जीवन सुन्दर बनाउन सकिन्छ । कतिपयले पहिला त अलि–अलि चुहिन्थ्यो, अलि–अलि मात्र भिज्थ्यो, अहिले त अलिकति हाँस्दा पनि बेस्सरी चुहिन थाल्यो, टालो नै हाल्नुप¥यो भन्नुहुन्छ । टालो हालेपछि हुने संक्रमण र टालो धुने÷सुकाउने समस्या अर्को गम्भीर जटिलता हो । त्यसमाथि गन्हाउने हुनाले अरुका अगाडि पर्न लाज लाग्ने हुन्छ भन्नेहरु पनि हुनुहुन्छ । त्यस्तै एकजना महिलाले पिसाब चुहिने समस्या भएकै कारण श्रीमान्ले यस्ती गन्हाउने फोहोरी भन्दै दोस्रो विवाह गरेको सुनाउनुभयो । आफूले मौन भएर स्वीकृति दिएको भन्नुभयो । यो समस्या कति जटिल भएको रहेछ भन्ने बुझ्न महिला स्वयं र श्रीमान्ले पनि बुझ्नु जरुरी छ । साथै स्वास्थ्यकर्मी चिकित्सकले पनि उपचारमा महिलाको पहुँचलाई प्रस्ट पारी भयरहित वातावरणमा उपचार गर्न पाउने अधिकारका लागि राज्यलाई समेत घचघच्याउनुपर्ने देखिन्छ ।
महिला स्वयंले के गर्नुपर्छ ?
महिलाहरुले भइहाल्यो भनी आफ्नो समस्या लुकाएर बस्छन् । उनीहरुले यसरी बस्नुहुँदैन । यो समस जुनसुकै महिलालाई जुन बेला पनि हुनसक्छ । यो समस्या छ कि छैन भनेर सोध्दा उनीहरुले स्पष्टरुपमा बताउनुपर्छ । त्यसपछि चिकित्सकले परीक्षण गरेर समस्याको प्रकृति पहिचान गरी उपचार गर्न सजिलो हुन्छ । महिलाले समस्या लुकाएको अवस्थामा चिकित्कले परीक्षणका क्रममा खोक्नुस् भन्दा पिसाब चुहिन्छ । त्यति बेला चिकित्सकले के भएर बिसाब चुहिएको हो भनी परीक्षण गर्नु जरुरी हुन्छ । परीक्षणपछि फिजियो थेरापी गराउने या अन्य अपचार गर्ने भनेर चिकित्सकले तालिका दिनुपर्छ । त्यसैले महिला स्वयंले आफ्नो समस्या नलुकाई बताउनुपर्छ ।
कस्तो अवस्थामा कस्तो उपचार गरिन्छ ?
पिसाबको संक्रमण छ र पाठेघरको समस्या छ भने त्यही अनुसारको उपचार गरिन्छ । यस्तो केही छैन भने फिजियो थेरापी गराइन्छ । पिसाब चुहिरहेको छ भने स्टे«स युरिनरी इनकन्टिनेन्ट भनेरै सम्बोधन गर्छौं र फिजियो थेरापीमा पठाउँछौं । फिजियो थेरापीले मसल बलियो बनाउँछ र पिसाब चुहिने समस्यालाई नियन्त्रण गर्न सकिन्छ । फिजियो थेरापीले पूर्णरुपमा निको भने हुँदैन । दीर्घकालीन रुपमा गर्न सक्यो भने यसले राम्रो गर्छ । महिलाहरुले सधैँ फिजियो थेरापी गर्न सक्दैनन् । त्यसैले चिकित्सा विज्ञानमा मिनिसिलिङ भन्ने विधिमार्फत भजाइनलमा एउटा सानो शल्यक्रिया गरी पिसाब चुहिने समस्याको समाधान गर्छौं ।
यो सम्मेलनले कस्तो सन्देश दियो ?
सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्र, अनुभवलगायतका विषयमा छलफल भयो । यसबाट सहभागीहरुमा आएको उत्साहले कार्यक्रमको लक्ष्य र उद्देश्य सफल भएको महसुस गरेका छौं । सर्जिकलको विषय एक दुई–दिनमा सिक्ने कुरा होइन । विषय विज्ञ बन्नलाई नै १० देखि १२ वर्षको प्रयोगात्मक अभ्यास चाहिन्छ ।
सर्जरी गर्नमात्र जानेर पनि हुँदैन । सर्जिकलपछि आउने समस्याको समाधान कसरी गर्ने भन्ने क्षमताको विकास गर्नु अर्को महत्वपूर्ण पाटो हुन्छ । कुन किसिमको बिरामीलाई कुन सर्जरी गर्ने र समस्या आयो भने समाधान कसरी गर्ने भन्ने क्षमताको विकास आफैंमा हुनुपर्छ । गाइनोको समस्या समाधान गर्ने क्षमता सम्मेलनले दिएको आभास भएको छ ।हामीले सम्मेलनमा सहभागी चिकित्सकहरुबाट महिलाको पिसाब चुहिने समस्या समाधानका लागि थप पहल हुने अपेक्षा गरेका छौं । महिलाले लजाएर नभने पनि चिकित्सकले सोधेर उनीहरुको समस्या पहिचान गर्न सकेमा एउटा घर, परिवार र समाजमा सकारात्मक सन्देश पुग्छ अनि समस्याको समाधान गर्न मद्दत पुग्नेछ ।
सम्मेलनमा कुन–कुन देशको सहभागिता थियो ?
सम्मेलनमा नेपाल, भारत, जर्मन, अस्ट्रियालगायतका मुलुकका विज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो । पहिलो सम्मेलन पनि सन् २०१९ को नोभेम्बर ३ र ४ मा धुलिखेल अस्पतालमा नै सम्पन्न भएको थियो । दोस्रो सम्मेलन सन् २०२१ मा गर्ने योजना थियो तर कोरोनाका कारण २०२२ मा गरियो । यो सम्मेलनको मूल उद्देश्य भनेकै धेरैभन्दा धेरै गाइनोकोलोजिस्टलाई समेटेर समस्याको समाधानमा जुटाउन सकियोस् भन्ने नै हो ।
समस्या नै आउन नदिने उपाय छ कि ?
गर्भवती हुँदाकै समयमा परामर्शका माध्यमबाट फिजियो थेरापी गर्न सकेमा समस्या कम हुनसक्छ । समस्या आउन नदिने वा कम गर्ने यो एउटा उपाय हो । समस्या आइसकेपछि सर्जरी गर्न निकै खर्चिलो छ । यसको लागि झन्डै ६ सय अमेरिकी डलर बराबर खर्च लाग्छ । जीवन स्वस्थ रहे पैसा कमाउन सकिन्छ भन्ने सोचेर उपचारमा लागिहाल्नुपर्छ । कुनै पनि हालतमा समस्या लुकाएर बस्नुहुँदैन ।