सुख, सुस्वास्थ्य र आध्यात्मिकता



प्रा. डा. प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ

मेरो दिमागमा एउटा प्रश्न खेलिरहन्छ । त्यो हो– ‘मान्छेलाई चाहिने सबैभन्दा महत्वपूर्ण कुरा के होला ?’ मेरो मनले आफैँ उत्तर दिन्छ– ‘त्यो सुख हो’ । सबैले खोज्ने सुख नै हो ।

यसको बारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले यसरी लेख्नुभएको छ– ‘खोज्छन् सबै सुख भनि तर सुख त्यो कहाँ छ ?’ मैले बुझेसम्म सुख भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा सबैका लागि फरक हुँदो रहेछ । यतिसम्म कि एउटै मान्छेका लागि पनि जीवनका विभिन्न उमेर र चरणहरुमा सुखको परिभाषा फरक हुने रहेछ ।

म आफ्नै उदाहरण दिन चाहन्छु । म सानो छँदा आफूले खोजेको कुरा पाउनु नै सुख हो भन्ने लाग्थ्यो । विद्यार्थीकाल र जवानीमा पढेर फस्ट हुने अनि सबैले वाहवाह गरेको सुन्न पाए त्यो नै सुख हो जस्तो लाग्थ्यो । जागिर, व्यवसाय गर्दा पैसा र नाम कमाउन पाए सबैभन्दा सुखी भइन्छ जस्तो लाग्थ्यो । आज म ६० वर्ष पार गरिसकेको छु । आज मलाई लाग्छ– स्वस्थ, निरोगी हुन पाए अरु केही चाहिँदो रहनेछ ∕ सुख भन्ने कुरा सुस्वास्थ्यमा पो रहेछ भन्ने लाग्न थालेको छ ।

महाकवि देवकोटाले ‘… आफू मिटाई अरुलाई दिनु जहाँ छ’ भनी सुख प्राप्तिको बाटो बताइदिनुभयो । अरुको सेवा गर्नु नै सुख हो भन्ने तर्क महाकविको रह्यो । सुखबारे सबैका आ–आफ्नै धारणाहरु छन् । आजका दिन र उमेरमा आइपुग्दा मलाई लाग्छ– ‘खोज्छन् सबै सुख भनी तर सुख त्यो कहाँ छ ? आफू स्वस्थ रही, जलथल चहारी, अरुलाई दिनु जहाँ छ ।’ अर्थात् आफू स्वस्थ रही अरुको सेवामा लाग्दा मात्र सुख पाइन्छ । आफू स्वस्थ भएन भने अरुलाई जे–जति गरे पनि सुखी भइँदैन भन्ने मेरो ठम्याइ हो । मलाई यो विचार सानो छँदा, विद्यार्थीकाल, जवानी, व्यावसायिक जीवनकालमा किन आएन ? आफैँले उत्तर दिन्छु– ‘किनकि यो मान्छेको स्वभाव हो, उमेर अनुसारको सोचाइ हो ।’

सुखी बन्ने सूत्र भनेको सुस्वास्थ्य हो । यो कुरा सबैले बुझ्नु जरुरी छ ।

अब अर्को महत्वपूर्ण प्रश्न उब्जिन्छ । ‘खोज्छन् सबै सुस्वास्थ्य भनी तर त्यसको बाटो कहाँ छ ?’ यसको उत्तर म यसरी दिन्छु– ‘आहार, विहार, विचार र व्यवहार अनुशासित हुनु भन्नेमा छ ।’ अर्थात् आहार, विहार, विचार र व्यवहार अनुशासित भयो भने विश्व स्वास्थ्य संगठनले सन् १९४८ मा परिभाषित गरे अनुसारको शारीरिक, मानसिक र सामाजिक सुस्वास्थ्य प्राप्त हुन सक्छ । तर मानिस पूर्णरुपले स्वस्थ हुन यतिले मात्र पुग्लाजस्तो मलाई लाग्दैन ।

कुनै पनि मानिस तबसम्म शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ रहन सक्दैन तबसम्म उसमा एक अति महत्वपूर्ण मानवीय गुणको विकास भएको हुँदैन । यो अति महत्वपूर्ण गुण हो– आध्यात्मिकता । मानिसको पूर्ण सुस्वास्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सुस्वास्थ्यको संगम हो । यीमध्ये आध्यात्मिक सुस्वास्थ्य एउटा यस्तो सशक्त माध्यम हो जसले शारीरिक, मानसिक र सामाजिक सुस्वास्थ्यको ढोका खोलिदिन्छ ।

के हो सुस्वास्थ्यका लागि आवश्यक आध्यात्मिकता भनेको ? यो सुविचार, समर्पण, सेवा र भक्तिको बाटो हो । यो आत्मचिन्तनको वाटो हो । यो सुस्वास्थ्य र सुखको बाटो हो । मैले मेरो क्लिनिकमा जँचाउन आउने सबैलाई चुरोट, सुर्ती, रक्सी आदि नखानू, यसले स्वास्थ्यलाई खराब गर्छ भनी सल्लाह दिने गरेको छु ।

मेरो सल्लाहलाई १० प्रतिशत व्यक्तिले पनि मान्दैनन् । उनीहरुले हुन्छ त भन्छन् तर सल्लाहको पालना गर्दैनन् । तर त्यही व्यक्ति ओम शान्ति नामक आध्यात्मिक चिन्तन समूहमा लाग्यो भने चुरोट–रक्सी मात्र होइन लसुन, प्याज, माछा, मासुसमेत खान छोडिदिन्छ । उसलाई यो खाऊ, त्यो नखाऊ भनिराख्नु नै पर्दैन । ओम शान्तिको समूहमा लागेर त्यसको विचार, आचरण र अनुशासन पालना गर्न थालेपछि मान्छे अर्कै बन्छ । ऊ स्वस्थ र सुखी बन्छ ।

मैले ओम शान्तिको उदाहरण मात्र दिएको हुँ । यस्ता धेरै आध्यात्मिक समूहहरु छन्, जसमा मन दिएर लागेपछि मान्छे आफैँ अनुशासित हुन पुग्छ । आध्यात्मिकताले मान्छेलाई आहार, विहार, विचार र व्यवहारको अनुशासनमा बस्न सिकाउँछ । यी चारवटा विधामा अनुशासित भएपछि मान्छे स्वतः सुखी र स्वस्थ बन्छ । आध्यात्मिकताले जीव, जगत् र आत्माको चिन्तन गर्न सिकाउँछ । यसैलाई मान्छेले आध्यात्मिक चिन्तन भन्ने गर्दछन् ।

यसले मन, मस्तिष्क र शरीरलाई आत्मासँग लगेर जोडिदिन्छ । आध्यात्मिकताको उचाइमा पुग्दै जाँदा मान्छे आत्मज्ञानी बन्दै जान्छ । यस्तो अवस्थामा कुनै पनि चोटले मान्छेको मन र शरीरलाई दुख्दैन । कुनै पनि रोगले मन र शरीरलाई ढाल्न सक्दैन । कुनै पनि दुःख–कष्टले मन र शरीरलाई दुःखी बनाउन सक्दैन । मान्छे सुखी बन्छ, स्वस्थ बन्छ । यसैलाई आध्यात्मिक सुस्वास्थ्य भनिन्छ ।

सुखी र स्वस्थ बन्ने चाहना सबैको हुन्छ । अध्यात्मको बाटोमा कसरी लाग्न सकिएला ? धेरैको सोचाइ छ, आध्यात्मिकताको बाटोमा लाग्न आधुनिक जीवनशैली छोडेर जोगी बन्नुपर्छ, घर–परिवार, उद्योग, जागिर आदि छोड्नुपर्छ अनि ईश्वरको नाम जप्दै ईश्वरकै पूजा–आराधनामा जीवन समर्पण गर्नुपर्छ ।

तर वास्तवमा कुरा त्यसो होइन । सबैजना जोगी भए भने यो संसार कसरी चल्ला र ? आधुनिक जीवनशैली कायम राख्दै, आफ्नो परिवार, उद्योग, व्यापार, व्यवसाय सबै कायम राख्दै, आध्यात्मलाई अँगाल्न सकिन्छ । यसका लागि अथक प्रयास गर्नुपर्छ । आजको युगमा पूर्ण सुस्वास्थ्य प्राप्तिको बाटो यही हो । आध्यात्मिक सोच, आचरण र व्यवहारको विकासका लागि प्रयत्नशील रहिरहे पूर्ण सुस्वास्थ्य प्राप्त गर्न सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्