तपाईको घरमा हाम्रो डाक्टर



डा. हरिहर खनाल

मेरो जेठो छोरो १० वर्षको भयो । उसले खाना खाने बेलामा मोबाइल माग्छ, मोबाइलविना केही खाँदैन । खानामा पनि तरकारी, साग, दाल केही खाँदैन । खाली सुख्खा भात अथवा गुलियो चकलेट, केक, चिजबल, पोटाटो क्रेकरजस्ता तयारी कुरामात्र खान्छ । अरु जे खुवाए पनि बान्ता गरिदिन्छ । डा. साब, उसको खाने बानी तथा खानाको प्रृकृति सुधार्न के गर्नुपर्ला ?

– लक्ष्मी शाक्य, अनामनगर, काठमाडौं ।

लक्ष्मीजी, यस्तो समस्या आजका धेरै बच्चाहरुमा पाइएको छ । यसको मुख्य कारणमा टिभीको विज्ञापन, मोबाइलको सहज पहुँच, आमाबुबामा समेत मोबाइलको नसा आदि देखिएका छन् । आमाबुबाले आफ्नो कर्तव्यको प्राथमिकताको निर्धारण गर्न नसक्नु पनि एउटा कारण हो । पहिले–पहिलेका अनुशासन, संस्कृति, संस्कार, सत्विचार, सम्मान, इमानदारिताजस्ता कुराहरु हराउँदै गएका छन् । सबैतिर सत्यता र इमानदारिता घटनाले समाजमा हरेक क्षेत्र तहसनहस भएजस्तै बच्चाहरुका व्यवहार तथा आनिबानी पनि बिग्रँदै गएका छन् । जंक फुडको विज्ञापन हेरेर बच्चाले साहसिक बन्न त्यो खानै पर्ने रहेछ भन्ने ज्ञान प्राप्त गर्छ । सरकारले त्यो विज्ञापनको आम्दानी हेर्ने कि त्यस्ता वस्तु बन्द नै गर्ने ? विषय संवेदनशील छ ।

बच्चालाई सानो उमेरदेखि नै खानाको स्वादमा बानी नपारेको फल त्यही हो । तर पनि केही बिग्रेको छैन, बच्चालाई कौतुहलता तथा पुरस्कार अथवा प्रोत्साहनसहित अलि–अलि गरेर खानेकुराहरुमा अभ्यस्त गराउन प्रयास गर्नुस् । त्यस्तै जंक फुड खाएर स्वास्थ्य बिग्रेका बिरामीहरुको उदाहरणसहित परामर्श, कुराकानी गर्दै गरेमा र धैर्यतासहित प्रयास जारी राखेमा सुधार होला भन्ने लाग्छ । मुख्य कुरा सन्तुलित खानाको महत्व तथा खानाको शुद्धताका बारेमा बच्चालाई अलि–अलि गर्दै सम्झाउने गर्नुस् ।
डाक्टर साब, मेरी सात वर्षीया छोरीको देब्रे कानबाट पीप बगिरहन्छ । धेरैपटक घरनजिकैको औषधि पसलमा, हेल्थपोस्टमा तथा जिल्ला अस्पतालमा समेत देखाएर औषधि पनि खुवाइयो तर निको भएन । पीप बगिनै रहन्छ, कान सुन्न पनि अलि कमजस्तो लागेको छ ।

यसको राम्रो उपचार कहाँ र कसरी गर्नसकिएला ?

– सिर्जना न्यौपाने, पीपलडाँडा, पर्वत ।

सिर्जनाजी, कानमा तीन भाग हुन्छन्– बाहिरी कान, मध्यकान र भित्री कान । तपाईंकी छोरीको कानको संक्रमण अलि भित्रसम्म गएर मध्यकानसम्म भेटेको जस्तो लाग्यो । यसको उपचार पूर्ण परीक्षण गरी अलि राम्रैसँग र परेमा अपसेरनसमेत गरेर गर्नुपर्ने हुन्छ । नाक कान घाँटी विशेषज्ञले बिरामी हेरेर, अत्यावश्यक परीक्षण गरेर, रोगको स्तर तथा जटिलता अध्ययन गरेर, उपचारको जोखिम र सफलताको बारेमा परामर्श गरेर मात्र निक्र्योल गरी उपचारको विधि तय गर्न सक्छन् । त्यसैले पर्वतबाट पोखरा वा काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा आई सम्बन्धित चिकित्सकलाई भेटेर जति सक्यो छिटो उपचारतर्फ लागिहाल्नुस् ।

म २७ वर्षीय युवक हुँ । मलाई तत्काल मधुमेह भइहालेको त छैन तर मेरो बुबालाई मधुमेह भएर मृगौलासमेत फेल भएकोले मैले अहिलेदेखि नै यसबाट बच्नका लागि कुनै सावधानी अपनाउनुपर्ला कि ?

– हरि खड्का, पाल्पा ।

हरिजी, बुबालाई सुगर भएकोले तपाईंलाई हुने सम्भावना २५ प्रतिशत हुन्छ । त्यस्तै बाबुआमा दुवैलाई भएमा सुगर हुने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले अहिलेदेखि नै जीवनशैली सुधार्दै जानु आवश्यक हुन्छ । साथै बेला–बेलामा रगत परीक्षण गर्दै रहनुपर्छ । सुगरले मृगौला फेल मात्रै होइन, हृदयघात हुने, आँखाको समस्या हुने, घाउ–खटिरा आउने, पाक्ने, सन्चो नहुने, जीउ दुख्नेजस्ता अनेक समास्या देखिन सक्छन् । त्यसैले बेलैमा ख्याल गर्नु अति नै आवश्यक रहन्छ । जीवनशैली सुधार्ने भन्नाले शरीरमा सुगरको लोड कम गर्न गुलियो कमभन्दा कम खाने, चिल्लो पनि नियन्त्रण गर्ने, तौल ठिक्क राख्ने, सक्रिय हुने, नियमित व्यायाम गर्ने, धूमपान–मद्यपान नगर्ने, सकारात्मक सोच्ने आदि क्रियाकलाप पर्छन् । यसका लागि एकजना फिजिसियनको सम्पर्कमा रहनुभएमा सही परामर्श पाउनुहुनेछ ।

म ४६ वर्षको भएँ । जाडो महिना लागेपछि सधैँ जसो रुघाखोकीले सताउने गर्छ । यसबाट जोगिने उपाय बताइदिनुभए आभारी हुने थिएँ ।

– रुद्र कार्की, ताहाचल, काठमाडौँ ।

रुद्रजी, जाडो महिनामा मात्रै सधैँजसो रुघाखोकीले सताउने भनेपछि सबै कुराको चुरो जाडो नै देखियो । चिसोको एलर्जी भएर वा चिसो सहन नसकी शरीरको इम्युनिटी कमजोर भएर अथवा श्वासप्रश्वास प्रणालीमा संक्रमण भएर यस्तो समस्या हुने हो । यो रुघाखोकी भन्ने समस्या अधिकत्तर भाइरसको संक्रमणले हुन्छ । रुघाखोकी ऋतु÷मौसम परिवर्तन हुँदा र जाडोमा बढी सक्रिय भएर विकसित हुने गर्छ । यसबाट जोगिनको लागि जाडोबाट बच्ने, न्यानो लुगा लगाउने, तातो तथा स्वच्छ खानेकुरा खाने गर्नुपर्छ । यसै गरी घरको बनावट वा परिवेश हावा आवतजावत हुने र घाम लाग्ने किसिमले मिलाउनुपर्छ । यसका अतिरिक्त शरीरको रक्षात्मक शक्ति बढाउने खानेकुराका खानुका साथै थप भिटामिन सी र बी कम्प्लेक्स खाने गरेमा सुरक्षित हुन सक्ने वा रुघाखोकी कम भएर जाने हुन्छ ।

हाम्रो विवाह भएको एक वर्षजति भयो । हामी दुवैको उमेर २७–२८ वर्ष छ । हाम्रो चाहना विपरीत गर्भ रहेको दुई महिना भयो । बच्चा पाउने वा नपाउने विषयमा परिवारमा विवाद भइरहेको छ । उचित सल्लाह पाऊँ ।

– नर्वदा, सामाखुसी, काठमाडौँ ।

नर्वदाजी, समसामयिक कुरो उठाउनुभयो । अहिलेका पुस्तामा भेटिने यस्ता विचारमा छलफल गर्न अति जरुरी छ । सबै महिलाले आफ्नो भविष्य हेर्नु अति आवश्यक कुरा हो तर त्यसका लागि पारिवारिक जीवन अनि जिम्मेवारी तथा पारिवारिक स्वास्थ्य दाउमा लगाएर एकतर्फी दृष्टिकोण बनाई हिँड्नु कदापि राम्रो कुरा होइन । सबै कुरा समयमै गर्नु भनेकै सफलताको सूचक हो । हामी स्वास्थ्यको दृष्टिकोणले पहिलो बच्चा ३० वर्षभित्रै जन्माउन सल्लाह दिन्छौं । यो अति जरुरी सल्लाह पनि हो, बच्चा तथा आमाको सम्भावित स्वास्थ्य ख्याल गरेर हेर्ने हो भने । तपाईंहरुको उमेर यसको लागि ठिक्क देखियो । बच्चा हुनुपर्ने कुरामा एकमत छ भने केको सुनको वर्षा नै कुर्ने हो र ? भाग्यले बसेको गर्भलाई सम्मान गर्नुस् । पटक्कै गर्भ नरहेर तनावसहित अस्पताल चहार्नेहरुको समूहमा आफू परिएन भनेर आफूलाई भाग्यमानी सम्झनुस् । सामाजिक जिम्मेवारी महसुस गरेर यो बच्चा पाउने तयारी गर्नुस् ।

म प्रायः छातीको पकेटमा मोबाइल बोक्ने गर्छु तर यो तरिका मुटुका लागि हानिकारक हो भन्छन् । के यो सत्य नै हो त ? स्पष्ट पारिदिनुहुन आग्रह गर्दछु ।

– लालसिं भण्डारी, घोराही ।

भण्डारीजी, खासमा मोबाइल छातीको पकेटमा नबोकेको राम्रोजस्तो लाग्छ । किनभने मोबाइलको लामो कुराकानीको कारण विकिरण हुने र त्यो स्वास्थ्यको लागि प्रत्युत्पादक हुने कुरा अध्ययनले देखाइसकेको कुरा हो । त्यसैले कुरा छोटो र छरितो गर्ने सल्लाह दिने गरिन्छ । त्यस्तै छातीको सँगै मुटु हुनाले त्यहाँ विकिरणको केही प्रभाव त होला नै, त्यसको अलावा भाइब्रेसन जुन मोबाइलबाट पैदा हुन्छ त्यसले मुटुलाई नकारात्मक प्रभाव पार्ने हुनाले समेत मुटुको सामीप्यमा मोबाइल नराखेकै राम्रो ।

प्रतिक्रिया दिनुहोस्