डा. ललिता जोशी
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ललिता जोशी वीरेन्द्र सैनिक अस्पतालबाट अवकाश भएपछि पनि समाजका महिलाहरुको स्वास्थ्य सेवाका क्षेत्रमा अनवरत रुपमा खटिँदै आउनुभएको छ ।३५ वर्ष सैनिक अस्पतालमा रहेर बिरामीको सेवा गर्नुभएकी डा. जोशी विगतमा पनि सैनिक अस्पतालको ड्युटी सकेपछि समुदायमा रहेर उपचार सेवा दिन रुचाउने भएकै कारण अवकाशपछि पनि सामाजिक सेवाको भावले शहर तथा गाउँमा स्त्रीरोगसँग सम्बन्धित स्वास्थ्य समस्याको समाधानका लागि जुटिइरहनुभएको छ । उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार:
सैनिक अस्पतालमा लामो समय स्त्रीरोगका विषयमा स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिनुभयो । अहिले समुदायमा आएर सेवा दिँदा कस्तो भिन्नता पाउनुभएको छ ?
एउटा डाक्टरको नाताले बिरामी हेर्नलाई त फरक केही छैन । वातावरणीय परिवेशलाई हेर्दा सैनिक अस्पतालमा सैनिकका परिवारलाई मात्र जाँच गरिन्थ्यो । बिरामीमा फरक नभए पनि वातावरण भने फरक थियो । सैनिक अस्पतालमा अनुशासन हुन्छ, तोकिएको समय अनुसार बिरामीको परीक्षण गर्ने हुन्छ । समुदायमा बिरामीको अथवा डाक्टरको समय अनुसार हेर्न सकिने हुन्छ, बाध्यकारी हुँदैन ।
बिरामीहरुका जटिलतालगायतका विषयमा कस्तो भिन्नता पाउनुभएको छ ?
सैनिक अस्पतालमा हुँदा नियमित इन-आउट बिरामीहरु, आकस्मिक कक्षमा आएका बिरामीको अवस्था हेरी उपचार गर्ने, जटिल अवस्थाका बिरामीका लागि अस्पतालमै भर्ना गरेर पनि उपचार गर्ने गरिन्थ्यो । बाहिर काम गर्दा गम्भीर प्रकारका बिरामी आएको अवस्थामा क्लिनिकमै उपचार गर्न सकिन्न । कतिपय अवस्थामा अन्यत्र अस्पतालमा दौडाउनुपर्ने अवस्था पनि हुन्छ ।
एकपटक मैले नै क्लिनिकमा बिरामी हेर्दै थिएँ, एकजना बिरामी उच्च रक्तश्राव भएको अवस्थामा आइपुग्नुभयो । ब्लडप्रेसर पनि अत्यन्तै कम थियो, समयमै एभरेस्ट नर्सिङहोममा लैजान सकेको कारण उहाँको ज्यान बचाउन सकियो । मेरो जीवनमा यो नै निकै जटिल केस र उपचार गर्न सकिएको सफल घटना हो । उहाँको ट्युबमा बच्चा बसेको अवस्थामा उच्च रक्तश्राव भएर अत्यन्तै गम्भीर अवस्थामा मेरो क्लिनिकमा आइपुग्नुभएको थियो ।
मैले नर्सिङहोममा लगी तुरुन्तै शल्यक्रिया गरेर मात्र उहाँलाई बचाउन सकेँ । यो नै मैले सिकेको सीपको सही समयमा सही सदुपयोग भयो भन्ने लाग्छ । बाहिर काम गर्दा अत्यन्तै गम्भीर भएर ध्यानपूर्वक काम गर्नुपर्छ । जुनसुकै अवस्थामा समस्या आयो भने के गर्ने भन्ने बारेमा दीर्घकालीन सोच राखेर काम गरेको खण्डमा जस्तोसुकै जटिल अवस्थामा पनि सफलता मिल्छ भन्ने आत्मबल हुनुपर्छ । अस्पतालमा हुँदा सबै प्रकारको सेवा र समूह हुन्छ अनि जस्तोसुकै समस्याको पनि तत्काल निदान हुन्छ । स्वास्थ्य शिविरमा त्यस्तो सम्भावना हुँदैन ।
अवकाशपछि पनि बिरामीकै सेवा गर्ने अठोट लिएर काठमाडौं उपत्यकाबाहिर समेत स्वास्थ्य शिविरमा जानुहुन्छ । गाउँमा गएर सेवा दिँदा कस्तो अवस्था देख्नुभयो ?
केही समयअघि काठमाडौंबाहिर सिन्धुपाल्चोकमा आयोजित स्वास्थ्य शिविरमा गएको थिएँ । त्यहाँ बिरामीहरुमा जटिलता धेरै देखियो । स्त्रीरोगका विषयमा डाक्टरसँग बोल्न पनि आमा, दिदी, बहिनीहरु लजाउने र रोग लुकाउने गर्नुहुँदो रहेछ । ८० वर्षकी आमा स्वास्थ्य शिविरमा आउनुभएको थियो । उहाँको पाठेघर झरेर निकै जटिल अवस्थामा थियो । तर उहाँले देखाउनलाई बच्चाजस्तै लाज मानेर धेरै बेर फकाएपछि देखाउन मान्नुभयो तर पनि शल्यक्रियाका लागि मनाउन निकै कठिन भयो । उहाँको रिङ हाल्ने अवस्था नभएकाले बल्लबल्ल सम्झाएर प्रसूति गृहमा ल्याई निःशुल्क शल्यक्रिया गरेर फर्काइयो ।
सिन्धुपाल्चोकमा स्त्रीरोगसँग सम्बन्धित कस्ता–कस्ता समस्या बढी पाइयो ?
स्वास्थ्य शिविर नै पाठेघरसँग सम्बन्धित स्वास्थ्य सेवामा बढी केन्द्रित गरिएको थियो । धेरै बिरामी पाठेघर खस्ने लगायतका समस्याले ग्रस्त भएका थिए । पाठेघर खसेर शल्यक्रिया नै गर्नुपर्ने २० जना पहिचान भएकालाई प्रसूति गृह रिफर गरिएकोमा १६ जनाको शल्यक्रिया गराइसकिएको छ ।
पाठेघर खस्ने जटिल समस्या के कारणले हुन्छ र ग्रामीण भेगमा बढी किन हुन्छ ?
पाठेघर खस्ने समस्या अक्सर गरी बच्चा जन्माएपछि नै हुन्छ । बच्चा जन्मिएपछि कसैकसैको पाठेघर झर्ने नभई पाठेघरको मुख लामो भएर चुच्चोजस्तो निस्कने (कन्जनाइटल सर्भाइकल प्रोल्याप्स) हुन्छ । यस्तोमा त्यो चुच्चो काटेर छोट्याउन मिल्छ । कम उमेरमा बच्चा पायो भने, धेरै बच्चा पायो भने, प्रसव हुँदा समयमा नै नहुँदा धेरै बल ग¥यो भने, बच्चा पाइसकेपछि पनि खानपिनमा पौष्टिक आहार नपाउँदा, सुत्केरीपछि छिट्टै भारी बोकेर हिँड्ने गर्दा पाठेघर खस्ने समस्या भएको पाइन्छ । गाउँघरमा बच्चा जन्माएपछि पूरा समय आराम नगरी भारी बोक्ने, खेतबारीको काम गर्ने गर्दा धेरैको पाठेघर खस्ने समस्या भएको पाइन्छ ।
पाठेघर खस्नबाटै जोगाउन ग्रामीण भेगका महिलाहरुलाई के सल्लाह दिनुहुन्छ ?
गर्भवती भएका बेला समयमै परीक्षण गर्नुपर्छ । सुत्केरी घरमा नगराई स्वास्थ्य संस्थामा गएर तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गराउनुपर्छ । प्रसव हुँदा समय नहुँदै दुुखाइ, पीडा भैराखेको बेला आफसे आफ कन्ने हुन्छ । स्वास्थ्य संस्थामा सुत्केरी पुगेमा स्वास्थ्यकर्मीले यसबारेमा सिकाउँछन् र बेथा नलागी कन्ने कम हुन्छ ।
पेटमा बच्चा ठूलो छ भने स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आवश्यकता अनुसारको व्यवस्थापन गरिन्छ र महिलालाई धेरै गाह्रो हुन्न । बच्चा जन्माउनेबित्तिकै गहु्रङ्गो काम नगर्ने, टुक्रुक्क धेरै नबस्ने, पौष्टिक आहारमा ध्यान दिने, ३ महिनासम्म श्रीमान्–श्रीमतीका बीच यौनसम्पर्क नराख्ने विषयमा ध्यान दिनुपर्छ । यदि कसैको पाठेघर खस्ने समस्या भैसकेको छ भने लाज नमान्ने, केटा मान्छेलाई कसरी भनौं, श्रीमतीले श्रीमान्लाई, आमाले छोरालाई कसरी भनौं भनेर हिच्किचाउनुहुँदैन । समस्यालाई लुकाएर बस्दा जटिल अवस्थामा पुगेपछि पाठेघरको मुखको क्यान्सरसम्म हुने गर्छ । यस्तो अवस्थामा रगत बग्ने, गन्हाउने पानी बग्ने भएर क्यान्सर पनि अन्तिम अवस्थामा पुगिसकेको हुनसक्छ । लुकाएर बस्ने, लाज मान्ने, जटिल भएपछि, वृद्ध भएपछि शल्यक्रिया गर्न पनि नमिल्ने अवस्था आउँछ । त्यसैले समयमै समस्याको पहिचान गरी उपचार गरे पाठेघरको समस्या छिट्टै निको हुन्छ ।
रिङ हाल्नु जीवनभर पाठेघर खसेको समस्याको समाधान हो त ?
रिङ हाल्ने भनेको तत्कालका लागि गरिने रोकथाम मात्र हो । रिङ हालेको धेरै वर्ष भयो भने जेलिएर भित्र घाउ बनाउँछ । त्यसैले रिङ राखेका व्यक्तिले छिटोभन्दा छिटो चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ । यो समस्याको समाधानका लागि ग्रामीण भेगमा जनचेतना फैलाउनु जरुरी छ ।
पाठेघर खसेका महिलाहरु श्रीमान्, घरपरिवार र समाजबाट नै अपहेलित हुने गरेका घटना पनि सुनिन्छ । यसलाई एउटा चिकित्सकको नाताले के भन्नुहुन्छ ?
हो, पुरुषप्रधान सोच भएका घरपरिवार र समाजमा यस्ता घटना भएको सुनिन्छ । यो अत्यन्तै दुःखद घटना हो । पुरुषले यौनसम्पर्क गर्दा श्रीमतीबाट सन्तुष्टि नपाउनु, गन्हाउनुजस्ता विषयलाई समयमै उपचार गरी श्रीमतीलाई निको बनाउनुको सट्टा अपहेलना गर्नु पशुवत् व्यवहार हो । त्यसैले यस विषयमा महिलामा मात्र हैन पुरुषमा पनि महिलाको स्वास्थ्य समस्या र पाठेघर खस्ने समस्याका बारेमा जनचेतनाको खाँचो देखिन्छ ।
महिला कुनै मनोरञ्जनको साधन हैन, पुरुषलाई सन्तुष्टि दिन नसकेकै कारण घर निकाला गर्ने वा अपहेलना गर्ने ∕ समयमै उपचार गरे निको हुन्छ भन्ने ज्ञानको खाँचो देखिन्छ । यस विषयमा किशोरावस्थामा विद्यालयको पाठ्यपुस्तकमै समेटेर ज्ञानमूलक व्याहारिक शिक्षा दिनु जरुरी देखिन्छ । यसका साथै गाउँघर क्लिनिक, महिला स्वास्थ्य स्वयंसेविकामार्फत पनि घरदैलो अभियानमा यस्ता विषयमा शिक्षा दिनु उपयोगी र प्रभावकारी हुन सक्छ । सुँडिनी, आमाहरुलाई पनि यस विषयमा ज्ञान दिनु जरुरी देखिन्छ ।
‘महिलाका समस्या पुरुषले थाहा पाउनुहुन्न, भन्नुहुन्नु भन्ने गरिन्छ र बच्चा जन्माउने बेलामा कतिपय अस्पतालमा पुरुषलाई प्रवेश नै दिइन्न भने पुरुषले समस्याको बारेमा कसरी थाहा पाउन सक्छन् त ?
यो २१ औं शताब्दीमा आएर पनि त्यस्तो सोच राख्नु गलत हो । पुरुषलाई पनि स्त्रीरोगका बारेमा, पाठेघर खस्ने विषयमा ज्ञान दिनु जरुरी छ । अहिले देखिएका समस्याको मूल जरो समस्यालाई लुकाएर राख्नु नै हो । यो वातावरण महिलालाई पुरुषले पनि दिनुपर्छ र समय–समयमा परिवारका सदस्यहरुमा छलफल हुनु जरुरी छ । अहिलेको प्रविधिले पुरुषलाई पनि यस विषयमा जानकारी उपलब्ध गराएको छ, जान्न चाहेमा नपाइने केही छैन, जान्न नखोजेको मात्र हो ।
पाठेघर खस्ने कस्ता–कस्ता जटिल समस्याको उपचार गर्नुभएको छ ?
मैले सैनिक अस्पतालबाट अवकाश लिएको ८ वर्ष भयो । सैनिक अस्पतालमै काम गर्दा एकजना आमा पाठेघर झरेको समस्या लिएर आउनुभयो । उहाँ कोठामा प्रवेश गर्नासाथ ह्वास्सै गन्हायो । परीक्षण गरी हेर्दा उहाँको योनिभित्रबाट माटोको लेदोजस्तो निस्कियो । त्यति बेला महाँकालमा ओपीडीमा काम गरिरहेकी थिएँ । अस्पतालको इमर्जेन्सीमा भर्ना गर्नुपर्दा छाउनी पुग्नुपथ्र्याे । समस्याको पहिचान गर्न भित्र जम्मा भएको फोहोर माटोजस्तो वस्तु निकाल्दै गएँ । बिरामीलाई सोधँे– यो के हो आमा ? उहाँले भन्नुभयो– ‘१० वर्ष भयो, कपडामा तुलसीको माटो राखी झरेको पाठेघरलाई भित्र छिराएर राखेको ।’ बिरामीको योनिभित्रको सबै माटो निकालेर हेर्दा भित्र घाउ नै घाउ भएको देखियो ।
दैनिक ड्रेसिङ गरी घाउ निको भएपछि शल्यक्रिया गरेर निको पारियो । यस्ता जटिल समस्याको समाधानका लागि जनचेतनाको खाँचो छ । राज्यले निःशुल्क उपचार गर्ने नीति नै बनाइसक्दा पनि व्यक्ति स्वयंले अपनाउन सक्ने वातावरणका लागि जनचेतना गाउँगाउँमा पुग्नु जरुरी छ । पैसा खर्च हुन्न र समयमै परिवारले उपचारको पहुँचमा लैजानु आजको आवश्यकता भैसक्यो ।