स्पर्शको स्वीकार्यता



डा. राजेन्द्र भद्रा

केही महिनापहिले चलचित्रकी एक अभिनेत्री मिरुना मगरलाई एक बौद्ध भिक्षुले नराम्रो स्पर्श गरेको भनेर आरोप लागेपछि प्रहरीले ती बौद्ध भिक्षुलाई हिरासतमा लिए । त्यसपछि यो घटना निकै चर्चित बन्योे । यस दौरान उक्त घटना हुनासाथ नायिकाले बौद्ध भिक्षुलाई थप्पड हानेको कुरा पनि आएको थियो । एकातिर बौद्ध धर्मको अपमान भएको भनेर त्यसको पक्षमा र अर्कोतिर अभिनेत्रीलाई यौन दुव्र्यवहार भएको भनेर उनको पक्षमा आमसञ्चार क्षेत्र तथा सामाजिक सञ्जालमा निकै चर्चा–परिचर्चा भए । पछि दुवैको बीचमा एक लिखित समझदारी भएपछि यो घटना मत्थर भएको थियो । यस सन्दर्भमा यहाँ हामी दुई व्यक्तिहरूबीचको स्पर्शको स्वीकार्यताको बारेमा चर्चा गर्नेछौं ।

स्पर्श र यसको महत्व

मानिस सामाजिक प्राणी हो र स्वाभाविक रुपमा नै शारीरिक रुपमा अन्तरक्रिया नगरी बस्न सक्दैन । एक्लोपन वा स्पर्शको अभावले रोग निम्त्याउने वा बढाउने हुन्छ । स्पर्शले समभाव, माया, कृतज्ञताजस्ता भाव बोलेर भन्दा राम्ररी व्यक्त गर्ने गरिन्छ । आत्मीय व्यक्तिको स्पर्श सान्त्वनादायी हुन्छ, एक किसिमले सुख दिन्छ । स्पर्शको कारणले हाम्रो मस्तिष्कमा स्नायु रसायनहरू
(neure-chemicals) जस्तै कि सेरोटोनिन, डोपामिन वा अक्सिटोसिन निःसृत हुन्छन् । यही कारणले हामीमा आनन्द अनि खुशीको अनुभूति हुन्छ । असल स्पर्शले कर्टिसोल वा एड्रेनालिन जस्ता स्ट्रेस (तनाव गराउने) हर्मोनको उत्सर्जनलाई कम गर्न मद्दत गर्दछ । स्नेहमयी स्पर्शले हाम्रो रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । परम्परागत तथा आधुनिक उपचार विधिमा परीक्षण तथा सही निदानको लागि सहयोग मात्र होइन स्पर्शको प्रयोग अपरिहार्य देखिन्छ । तनाव कम गर्न, चिन्ता कम गर्न, निरासापन कम गर्न अनि पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर ( post-traumatic stress disorder) अर्थात् कुनै गम्भीर आघातपछिको मानसिक तनाव कम गर्नेजस्ता कुरामा स्पर्श विधि प्रयोग गरिएको पाइन्छ ।

असल तथा खराब स्पर्श
कस्तो सम्बन्ध भएको व्यक्तिसँग कस्तो प्रकारको स्पर्श स्वीकार्य हुन्छ भन्ने कुराका केही आधारभूत मान्यताहरू छन् । तर समुदायको प्रचलन अनुसार यसमा केही विविधता पाइन्छ ।अहिले विशेष गरी कसैलाई (त्यसमा पनि बालबालिका तथा किशोरकिशोरीमाथि यौन शोषण हुने परिप्रेक्ष्यमा) यौन तथा शारीरिक शोषण नहोस् भनेर खराब किसिमको स्पर्शबाट बचाउन सजिलोको लागि असल तथा खराब स्पर्शको रुपमा वर्गीकरण गर्ने गरिएको पाइन्छ ।

सुखानुभूति दिने स्पर्श असल स्पर्श हो । स्याबास, धाप मार्नु, मालिस, अँगालो, चुम्बन, सुमसुम्याउनु असल स्पर्शका उदाहरण हुन् भने पीडादायी स्पर्श नै खराब स्पर्श हो । पिट्नु, झापड वा लात हान्नुजस्ता स्पर्श खराब स्पर्शका उदाहरण हुन् । यस अर्थमा माथिको घटनामा बौद्ध भिक्षुले थप्पड खानु एक खराब स्पर्श हो तर यस दृष्टिकोणबाट यसको खासै चर्चा भने भएन ।

यौन शोषण त्यसमा पनि बलात्कार खराब किसिमका मध्ये पनि सबैभन्दा निकृष्ट किसिमको स्पर्श हो । बालबालिका तथा किशोरकिशोरीलाई यौन शोषण वा दुराचारबाट बचाउन स्पर्श वर्जित क्षेत्र भनेर सजिलोको लागि ‘अन्डर वेयर (भित्री पहिरन) नियम’ बनाइएको छ । केटाको लागि यौनांग (लिंग, अण्डकोष), गुदद्वार तथा त्यसवरिपरिका क्षेत्र अनि केटीको लागि यौनांग (योनि, भगक्षेत्र), गुदद्वार अनि त्यसवरिपरिको क्षेत्रको साथै छाती (स्तन) लाई स्पर्श वर्जित क्षेत्र मानिन्छ र यहाँको स्पर्श नकारात्मक मानिन्छ ।यस अर्थमा सामान्य रुपमा हेर्दा असल स्पर्शलाई स्वीकार्य र खराब स्पर्शलाई अस्वीकार्य मान्न सकिन्छ । तर गहिरिएर हेर्ने हो भने यो यति सरल भने छैन ।

स्वीकार्यता र अस्वीकार्यता
स्पर्श असर वा खराब मात्रैमा वर्गीकरण गरेर स्वीकार्यतालाई हेरिएजस्तो सरल छैन । कस्तो प्रकारको स्पर्श के–कस्तो परिस्थितिमा स्वीकार्य भन्ने कुरा एकदमै फरक–फरक हुन सक्छ । यसका विषयमा विभिन्न अध्ययन–अनुसन्धान पनि भएका छन् । यसको निचोडलाई सरल रुपमा निम्न तरिकाले भन्न सकिन्छ ।

महिलाको सन्दर्भमा कुरा गर्दा, पति वा पुरुष यौन साथीले लगभग सम्पूर्ण शरीरको अंग–प्रत्यंगको स्पर्शलाई स्वीकार्य मानिन्छ भने त्यसपछि साथीले, मातापिता, दिदी–बहिनी तथा दाजु–भाइको काकी–माइजू, काका–मामा, काका–काकी वा मावलीतर्फका दिदी–बहिनी, दाजु–भाइबाट भएको स्पर्श कम स्वीकार्य हुँदै परिचित व्यक्ति अनि अपरिचित व्यक्तिको स्पर्श अस्वीकार्यको तहमा पुग्दछ । त्यसै गरी स्पर्शको स्वीकार्यताको कुरा महिलामात्र होइन पुरुषको हकमा पनि लागू हुन्छ । पुरुषको सन्दर्भमा पनि पत्नी वा यौन साथीले लगभग सम्पूर्ण शरीरको

अंग–प्रत्यंगको स्वीकार्य मानिन्छ । त्यसपछि साथी, मातापिता, दिदी–बहिनी तथा दाजु–भाइ, काकी–माइजू, काका–मामा गर्दै काका–काकी वा मावलीतर्फका दिदी–बहिनी, दाजु–भाइ क्रमशः कम–कम स्वीकार्य हुँदै, परिचित व्यक्ति अनि अन्त्यमा अपरिचित व्यक्तिको स्पर्श धेरै हदसम्मको अस्वीकार्यको तहमा पुग्दछ । यसमा पनि साथी, काका–काकी वा मावलीतिरका दाजु–भाइ, दिदी–बहिनी, परिचित र अपरिचितको सन्दर्भमा सो व्यक्ति समान लिंगी व्यक्ति हो भने स्वीकार्यता केही बढी र विपरीत लिंगी व्यक्ति हो भने स्वीकार्यता केही कम हुन्छ । अपरिचित व्यक्तिको स्पर्श तुलनात्मक रुपमा पुरुषलाई भन्दा महिलालाई अस्वीकार्य हुने गर्दछ ।

त्यसै गरी शरीरको कुन भाग वा अंगको स्पर्श हो त्यस अनुसार पनि स्वीकार्यता कम वा बढी हुने गर्दछ । सामान्यतया हात वा कुममा गरिएको स्पर्श तुलनात्मक रुपमा बढी स्वीकार्य हुन्छ भने विशेष गरी कटी प्रदेश र महिलाको हकमा वक्षस्थल बढी अस्वीकार्य हुन्छ । तर धेरै हदसम्म परिस्थिति वा आवश्यकतालाई मध्यनजर गरी स्वास्थ सेवा वा सरसफाइ सन्दर्भमा अनुमति लिई गरिएका शरीरको यस भागको स्पर्श मात्र स्वीकार्य मानिन्छ ।

यौनिक पक्ष र व्यक्तिगत रोजाइ

यौन सम्पर्कलाई जनाउन कतिपय परिस्थितिमा शारीरिक सम्पर्क शब्दको प्रयोग भएको पाउँछौं । यसले स्पर्शको यौनसँगको सम्बन्धलाई उजागर गर्दछ । केही परिस्थितिलाई छोडेर धेरैजस्तो स्थितिमा पुरुष र महिलाको स्पर्शलाई यौनको दृष्टिकोणले हेरिन्छ । यौनिकताको एक महत्वपूर्ण पक्ष ऐन्द्रिकता हो । इन्द्रियहरुको प्रयोगबाट आनन्द प्राप्त गर्ने कुरालाई यसमा केन्द्रित गरिन्छ । स्पर्श पक्कै नै इन्द्रियबाट सुख प्राप्त गर्ने कुरा हो र यो निकै महत्वपूर्ण पक्ष हो । यसमा हाम्रो चर्म (छाला)ले महत्वपूर्ण भूमिका खेल्छ ।

हाम्रा अंगहरूमध्ये कतिपय विशेष रुपमा यौन संवेदनशील हुन्छन् । कुनै अंगको स्पर्शबाट हल्का किसिमको यौन उत्तेजना प्राप्त हुन्छ भने कुनै अंगबाट तीव्र किसिमको । महिलाहरूको हकमा भगाङ्कुर, योनि, स्तन निकै नै यौन संवेदनशील हुन्छन् । त्यसै गरी पुरुषको लिंग (अझै अग्रचर्म टाँसिएको भाग, लिंगमुण्डको घेरा (अयचयलब), अण्डकोष थैली, पौरुष ग्रन्थि निकै नै यौन संवेदनशील हुन्छन् । महिला–पुरुष दुवैको हकमा मुख तथा अधर, नितम्ब अनि गुदद्वार यौन संवेदनशील हुन्छन् । यसदेखि बाहेक हाम्रा अन्य अंगहरू पनि यौन संवेदनशील हुन्छन् ।

स्पर्शको स्वीकार्यतालाई लिएर धेरै बहस वा चर्चा हुनुको एक कारण यो मानव यौन तथा यौनिकतासंग जोडिएकोले पनि हो । स्पर्शको स्वीकार्यताको सन्दर्भमा माथि गरिएका कुराहरूमा व्यक्तिगत रोजाइको पनि कुरा हुने गर्दछ । अहिले आत्मनिर्णयका र शारीरिक स्वायत्तताको सन्दर्भमा कुन व्यक्तिको स्पर्श कुन परिस्थितिमा स्वीकार्ने वा अस्वीकार्ने भन्ने रोजाइ विशेष गरी सो व्यक्तिको हुने गर्दछ ।

पति–पत्नी वा यौन साथीको बीचमा पनि स्पर्शको लागि सहमति चाहिनेतिर समाज अग्रसर भइरहेको छ । अहिले कतिपय व्यक्तिले स्पर्शलाई अनावश्यक रुपमा चाहिनेभन्दा बढी यौनिकीकरण गरिएको आरोप लगाएका पनि छन् । तर यो यौन र यौनिकतासँग गहिरोसँग गाँसिएको हुनाले परिचित होस् वा अपरिचित व्यक्तिबाट हुने स्पर्श अति नै संवेदनशील मानिन्छ । यो कारणले नै अर्को व्यक्तिको स्पर्शको सन्दर्भमा सजग र संवेदनशील हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्