तल्लो पेट दुखिरहने “इन्डेमेट्रिओसिस”



प्रा. डा. सुमनराज ताम्राकार स्त्रीरोग विशेषज्ञ

अल्ट्रासाउन्ड एवं ल्याप्रोस्कोपी प्रविधिको बहुउपयोगिताका कारण विगत केही दशकदेखि इन्डेमेट्रिओसिसको समस्या पत्ता लगाउन अलि सहज हुन थालेको छ । त्यसैले पनि इन्डेमेट्रिओसिसका केसहरु बढ्न गएका हुन् कि भन्ने गलत आभास हुन्छ ।
पाठेघरका तीनवटा तह हुन्छन् ।

यसमध्ये पाठेघरको भित्री तहको सक्रिय तन्तु (ग्रन्थिसहित) पाठेघरको भित्री तह वा पाठेघरभन्दा बाहिर रहने अवस्थालाई मेडिकल भाषामा इन्डेमेट्रिओसिस भनिन्छ । कथंकदाचित यस्तो तन्तु पाठेघरको मध्य तह (मायोमेट्रियम) मा पुगेको अवस्थालाई मेडिकल भाषामा एडेनोमायोसिस भनिन्छ । इन्डेमेट्रिओसिसका दाग वा फोका पाठेघरबाहिर डिम्बाशय, पाठेघर र गुदद्वारबीचको भाग, पाठेघरलाई अड्याइराख्ने तन्तुहरु, पेटमा रहेको शल्यक्रियाको घाउ, नाइटो, योनि, पाठेघरको मुख, फोक्सोमा पनि हुन सक्छ ।

किशोरी वा महिलाहरुमा महिनावारीको बेला तल्लो पेट दुख्ने समस्या अर्थात् यस बेला हुने समस्याको कारण पीडादायी महिनावारी हुने कारणहरुमध्ये स्त्री जननेन्द्रियको माथिल्लो भागवरिपरि रगत जम्ने समस्या (इन्डोमेट्रिओसिस) एवं उमेर पुगेका महिलामा पाठेघर समग्रमा बढ्ने स्थिति (एडेनोमायोसिस) पनि हुन् । सामान्यतया १० प्रतिशत किशोरी वा महिलामा यस्तो समस्या हुन्छ । जब कि निःसन्तान महिलाहरुमध्ये करिब ३०देखि ४० प्रतिशतमा इन्डेमेट्रिओसिसको समस्या हुन्छ ।

तारन्तार तल्लो पेट दुख्ने समस्याबाट प्रताडित महिलाका गुनासाहरुको सही विश्लेषण गरिएन भने वा आवश्यकता अनुसार अल्ट्रासाउन्ड एवं ल्याप्रोस्कोपी प्रविधिलगायतका जाँच प्रविधि अपनाइएन भने पटक–पटक विभिन्न खाले एन्टिबायोटिक तथा पेट दुख्न कम हुने औषधिहरु मात्र लिइरहने सम्भावना बढी हुन्छ ।

प्रभावित महिला वा किशोरी यस्तो समस्या निराकरणका लागि क्लिनिक वा अस्पताल धाउँदैमा आजित हुन्छन् ।

इन्डेमेट्रिओसिसको समस्या हुनुमा थुप्रै  सिद्धान्तहरु आँकलन गरिएका छन् । यसमध्ये महिनावारीको समयमा रगतको बहाव डिम्बवाहिनी नली हुँदै उल्टो बहाव भई भित्री पेटमा रगत जम्छ भन्ने सिद्धान्तलाई बढ्ता विश्वास गरिएको छ । यसका साथै पाठेघरको भित्री तहमा हुने तन्तु जन्मजात रुपमा अन्यत्र हुनाले, शल्यक्रियाको दौरान भित्री पाठेघरको तन्तु भित्री पेटको मासु तथा घाउमा प्रत्यक्ष बस्न गएर, लिम्फेटिक वा रक्तसञ्चार प्रणालीबाट सर्नाले र कतिपय महिलामा वंशाणुगत वा इम्युनोलोजिकल कारणले हुन्छ भन्ने तर्कहरु पेस गरिएका छन् ।

कारण जुनसुकै भए पनि पाठेघरको भित्री तहको तन्तु अन्यत्र बस्न गएपछि त्यहाँ पनि प्रत्येक महिना इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको प्रभावमा मासिक श्रावजस्तै हुन्छ । ती स्थानहरुमा रगत बगेर जाने ठाउँ नहुनाले त्यहीँ जम्मा हुन्छ । यस्तो प्रकारको रगत जम्ने समस्या आपैंmमा चिडचिडाहटपूर्ण हुनुका साथै वरिपरिका तन्तुहरुमा पनि चिडचिडाहट ल्याउँछ । यसै कारण पीडा उत्पन्न गराउनुका साथै यताउति टाँसिने, त्यान्द्रा बनाउने तथा झिल्ली बाक्लो बनाउने गर्दछ ।

स्त्री जननेन्द्रियका अन्य अंगहरुमा भन्दा पुठ्ठाभित्रका अंगहरु (डिम्बाशय, पाठेघरवरिपरिका अंगहरु तथा तन्तुहरु) इन्डेमेट्रिओसिसले बढ्ता प्रभावित गर्दछ । करिब ३० देखि ४५ वर्षका अविवाहित वा बच्चा नपाएका वा थोरै बच्चा भएकालाई बढ्ता प्रभावित गर्दछ । निःसन्तान, विवाहपश्चात आपूmखुशी पहिलो बच्चा पाउन ढिलाइ गरेका एवं उच्च घरानियाँका महिलाहरुलाई पनि यस्तो समस्या हुन्छ ।

करिब २५ प्रतिशत यस्ता खाले बिरामीमा कुनै लक्षण चिह्नहरु नभए पनि महिनावारीको बेला सानो पेट दुख्ने (५० प्रतिशतमा), महिनावारी गडबड हुने (६० प्रतिशतमा), निःसन्तानको समस्या (४० देखि ६० प्रतिशतमा), यौनसम्पर्क राख्दा पीडा हुने, कम्मर तथा पुठ्ठा दुख्ने तथा दिसा–पिसाब गर्दा पोल्ने हुन सक्छ ।

स्त्री जनेन्द्रिय एवं तल्लो पेटको आन्तरिक परीक्षणमा खासै खराबी नदेखिन सक्छ । तर कहिलेकाहीँ पाठेघर मलद्वारतर्फ फर्किएको र पाठेघरवरिपरिका अंगहरुमा टाँसिने कारण पाठेघर यताउति चलाउन नमिल्ने खालको हुन्छ । यदि डिम्बाशयमा रगत जमेको खण्डमा डल्लो भेटिन सक्छ ।

ल्याप्रोस्कोपी प्रविधि पुठ्ठाभित्रको स्त्री जनेन्द्रियवरिपरि हुने इन्डेमेट्रिओसिस पत्ता लगाउनका लागि अति उपयुक्त प्रविधि हो । तर कहिलेकाहीँ रगत र भिडियो एक्स रेबाट पनि यो समस्या ठम्याउन सकिन्छ । स्त्री जनेन्द्रियको माथिल्लो भागवरिपरि बाहेक अन्यत्र हुने इन्डेमेट्रिओसिसका आ–आफ्नै लक्षण चिह्नहरु हुन्छन् ।

त्यसैले बिरामीसँग पूर्णरुपमा जानकारी लिनुपर्दछ । समग्रमा अन्यत्र इन्डेमेट्रिओसिस हुँदा महिनावारीको बेला डल्लो उठ्ने, सोही ठाउँमा केही दिन अत्यधिक पीडा हुने, हल्का रगत बग्न सक्ने तथा दिसा–पिसाब गर्दा पोल्ने हुन सक्छ । स्त्री जनेन्द्रियवरिपरि बाहेक अन्यत्र हुने इन्डेमेट्रिओसिस समस्याको उपचार धेरैजसो साधारण शल्यक्रियाबाट गर्नुपर्ने हुन्छ । तर छोटो समयका लागि महिनावारी नगराउने हर्मोनयुक्त औषधिहरु चलाउन सकिन्छ ।

इन्डेमेट्रिओसिस समस्याको ठ्याक्कै रोकथाम गर्ने कुनै उपायहरु नभए पनि महिनावारीवरिपरि पाठेघर तथा डिम्बवाहिनी नलीमा गरिने परीक्षणहरु नगर्नु तथा विवाहपश्चात् बच्चा पाउन धेरै ढिलो नगर्नु बेस हुन्छ । यस समस्याको उपचारको क्रममा पीडा गर्ने तथा महिनावारी नगराउने हर्मोनयुक्त औषधिहरु दिन सकिन्छ । कतिपय अवस्थामा हर्मोनयुक्त औषधिले सुधार नभएमा, डिम्बाशय तथा डिम्बवाहिनी नलीलाई बेरुप बनाएमा तथा पुरानो रगत जमेर ठूलो डल्लो बनेमा शल्यक्रियाकै जरुरत पर्न सक्छ । इन्डेमेट्रिओसिससँगै निःसन्तान समस्याको व्यवस्थापन विशेष तवरले गर्नुपर्दछ ।

महिनावारीको बेला तल्लो पेट दुख्ने समस्या (डिस्मेनोरिया) को बेलामा जस्तै इन्डेमेट्रिओसिसका कारणले हुने पीडाबाट छुटकारा पाउन कतिपय घरेलु उपायहरु अपनाउन सकिन्छ । तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका तरिकाले मालिस गर्न सकिन्छ । तल्लो पेट वा ढाडमा सेक्न तातोपानीलाई रबरको थैली वा सिसाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ । अदुवा–पानी तताएर पिए आराम मिल्छ । आफ्नो दैनिक क्रियाकलाप जारी राख्न सकिन्छ । व्यायाम र घुमफिर गर्नाले आफ्नो ध्यान अन्यत्र मोडिने हुनाले फाइदै पुग्छ । यतिले पनि आराम नपुगे नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्दछ ।

एडेनोमायोसिस

विशेष प्रकारको इन्डेमेट्रिओसिसको समस्या अर्थात् एडेनोमायोसिसमा पाठेघरको भित्री तहको तन्तु किन पाठेघरको मध्य तहमा पुग्छ भन्ने प्रस्ट कारण थाहा नभए पनि पटक–पटक गर्भ रहेको, बलपूर्वक पाठेघर सफा गरेको तथा महिलाको शरीरमा अत्यधिक मात्रामा इस्ट्रोजेन हर्मोन उत्पादन भएको खण्डमा यस्तो स्थिति सिर्जना हुन सक्छ । करिब ४० प्रतिशत बिरामीमा भने एडेनोमायोसिससँगै पाठेघरको वरिपरि इन्डेमेट्रिओसिसको समस्या पनि हुन सक्छ ।

एडेनोमायोसिसको समस्यामा पाठेघरको समग्र क्षेत्रमा असर गर्ने हुनाले महिलाको उमेर अनुसार पाठेघरको आकार ठूलो हुन्छ । यस्ता महिला प्रायः बच्चा पाइसकेका तथा ४० वर्ष नाघेका हुन्छन् । पाठेघर ठूलो हुनुको साथै महिनावारी हुँदा धेरै रगत बग्ने, सानो पेट दुख्ने, पिसाब वा यौनसम्पर्क राख्ने बेलामा दुख्ने हुन्छ । यस समस्याको निदान अल्ट्रासाउन्डबाट गर्न सकिन्छ । सन्तानको रहर पुगिसकेका महिलामा पाठेघर निकाल्ने शल्यक्रिया गर्नुपर्दछ । महिनावारी हुँदा दुखाई कम गर्नुबाहेक अन्य उपचारले खास फाइदा पुग्दैन ।

प्रतिक्रिया दिनुहोस्