सम्भोग–सुख बढाउने चुम्बन



श्रीरामसिंह बस्नेत

कोभिड–१९ ले संसारलाई नै गाँजेको बेला मानिसहरुले धेरै किसिमका कठिनाइ भोगे । त्यसमध्ये एउटा तीतो भोगाइ थियो, चुम्बनबाट वञ्चित रहनुपर्ने परिस्थिति । कोभिड–१९ को कारण विशेष गरी युगल जोडीहरु अप्रिय स्थितिको सिकार बन्न पुगे । सथै सङ्क्रमण सक्रिय रहेका स्थानहरुमा अझै पनि यो कहर जारी नै छ ।

जीवन–मरणको दोसाँधमा परेको अवस्थामा यस्तो क्रियालाई प्राथमिकता दिन नसकिनु स्वाभाविकै हो, तर कतिन्जेल ? हप्तौं होइन, महिनौं पनि होइन, वर्षौंसम्म मानिसदेखि मानिस भागेर र टाढिएर बाँच्नुपर्ने स्थिति मानवसभ्यताले भोगेको एक कहाली लाग्दो त्रासदी हो ।

कोरोना, एचआईभी, क्षयरोग लगायतका महामारीका कारण चुम्बनजस्ता निकटतम् शारीरिक सम्पर्क क्रिया बेलाबेलामा सङ्कटमा परे तापनि मानवजातिले चुम्बनलाई परित्याग गर्न कहिल्यै सक्दैन । किनकि यो प्रकृतिप्रदत्त चरम सुखानुभूति हो । कतिपय मानिसहरु सम्भोगलाई चरम सुखानुभूति दिने प्राकृतिक क्रिया हो भन्ने ठान्दछन्, तर त्यो भ्रममात्र हो । क्षणिक सम्भोगभन्दा प्रगाढ चुम्बनबाट पाइने सन्तुष्टि र सुखानुभूति धेरै उच्चस्तरको र आत्मिक हुन्छ ।

त्यसैले चुम्बनलाई ख्यालठट्टा होइन, गम्भीररुपमा लिनु जरुरी छ । सिनेमामा देखाइने अभिनयकृत चुम्बनले चुम्बनलाई व्यापक र सामान्यजस्तो त बनाइदियो, साथै सस्तो, व्यावसायिक र अप्राकृतिक पनि बनाइदिएको छ । तसर्थ समझदार पुरुष–महिला दुवैले अप्राकृतिक चुम्बनको होइन, प्राकृतिक एवम् आत्मिक चुम्बनको गहनताबारे आधारभूत जानकारी राख्नु आवश्यक छ ।

मानव समाजमा चुम्बन

परापूर्व कालदेखि नै मानव समाजमा चुम्बनको अत्यन्तै महत्वपूर्ण र बहुपक्षीय स्थान रहिआएको छ । वात्सल्य, आदर, श्रद्धा, भक्ति, सद्भाव, प्रेम, आशक्ति, कामुकता आदि भाव अभिव्यक्त गर्ने एक अत्यन्त कोमल, न्यानो, आनन्ददायक र प्रभावकारी माध्यम चुम्बन नै हो । मानव–मानवबीचको मात्र होइन, मानव र अन्य प्राणीबीच र मानव र निर्जीव वस्तुबीचको सम्बन्धमा समेत चुम्बनको महत्वपूर्ण भूमिका रहिआएको पाइन्छ । प्रेमी–प्रेमिकाले एकान्तमा गर्ने ओठ चुम्बनमात्र होइन, शिष्यले आफ्नो परम श्रद्धेय गुरुको पाउमा श्रद्धापूर्वक गर्ने चुम्बनसमेत असीम सुखानुभूतिको क्षण हो ।

आफूलाई मन पर्ने, प्यारो लाग्ने निर्जीव वस्तुलाई समेत छुन, सुमसुम्याउन, चुम्न मन लाग्नु स्वाभाविक मानवीय स्वभाव हो । जुनसुकै उमेर समूहको भए पनि आफ्नो प्यारो व्यक्तिलाई स्पर्श गर्ने चाहना सबैमा हुन्छ तर मन नपरेको वा घृणा लागेको व्यक्तिलाई भने मानिसहरु छुन त परै जाओस्, देख्न पनि नपरोस् भन्ने ठान्दछन् । यसरी प्रेम, वात्सल्य, श्रद्धा आदिले स्पर्श खोजिरहेको हुन्छ । यो भावना मानवजातिमा मात्र होइन, अन्य प्राणीमा पनि प्रचूर मात्रामा पाइन्छ । चुम्बन विपरीत लिंगी–प्रेममा मात्र सीमित छैन, समलिंगी–प्रेममा पनि व्यापक छ । अझ विपरीत लिंगी जोडीभन्दा समलिंगी जोडीबीच चुम्बन बढी प्रयोग हुने गर्दछ ।

चुम्बनबाट अभिव्यक्त हुने भावना सधैँ एउटै हुँदैन । चुम्बन गर्ने व्यक्ति र चुम्बन गरिने अङ्गमा यो निर्भर गर्दछ । शिशुलाई गालामा चुम्बन गर्र्न वात्सल्य हो भने पतिले पत्नीको स्तनमा चुम्बन गर्र्न यौन अभिव्यक्ति हो । यसै गरी अभिभावक वर्ग, गुरु, महात्मा आदिले निधार, कपाल, हातमा चुम्नुलाई आशीर्वादको रुपमा ग्रहण गरिन्छ ।

विश्वका सबै शृङ्गार रसका साहित्यमा चुम्बनलाई विशिष्ट महत्व दिइएको पाइन्छ । यसै गरी संगीत, चित्रकला, मूर्तिकला, मूर्त तथा अमूर्तकलामा समेत चुम्बनलाई अत्यन्तै आकर्षक शिल्पमा सदियौंअघिदेखि चित्रण गरिँदै आएको छ । आधुनिक चिकित्सा विज्ञान र मनोविज्ञानमा समेत चुम्बनबारे अध्ययन–अध्यापन हुने गरेको छ । चुम्बनशास्त्रलाई फिलमात्थोलोजी (philematology) भनिन्छ ।
चुम्बनका प्रकार
युगल जोडीका बीच हुने चुम्बनलाई विभिन्न प्रकारमा वर्गीकरण गर्ने गरिएको छ । प्राचीन कामशास्त्रले यस्तो चुम्बनलाई १५ प्रकारमा वर्गीकरण गरेको पाइन्छ । समग्रमा विश्लेषण गर्दा चुम्बनको उद्देश्य र तरिकाका आधारमा १० किसिमका चुम्बनमा प्रायः सबै खालका चुम्बनलाई समेट्न सकिन्छ–
क. वात्सल्य चुम्बन  ( kiding kiss) : आमा, बाबु वा अभिभावकहरुले शिशु वा बालबालिकाहरुलाई गर्ने चुम्बन वात्सल्य चुम्बन हो । यसमा अगाध स्नेहको भाव हुन्छ । ठूलाले त्यसरी आफूलाई चुम्बन गर्दा अबोध शिशुले पनि देखासिकी गरी प्रत्युत्तरमा चुम्बन गर्दछन् । यस्तो चुम्बनको भावनात्मक पक्ष निकै उचो हुन्छ ।

ख. आशीर्वाद चुम्बन(blessing kiss): चुम्बन आशीर्वाद व्यक्त गर्ने माध्यम पनि हो । मान्यजनले निधारमा, कपालमा हलुका चुम्बन गरेर सन्तान वा कनिष्ठ प्रियजनलाई आशीर्वाद दिन्छन् । आध्यात्मिक गुरु, साधुसन्तहरुले पनि आफ्ना शिष्य वा अनुयायीहरुलाई हलुका चुम्बनद्वारा आशीर्वाद दिने परम्परा व्यापक रुपमा पाइन्छ ।
ग. शिष्टाचार चुम्बन ( courtesy kiss ) :औपचारिक शिष्टाचार पूरा गर्न पनि चुम्बन प्रयोग हुन्छ । अतिथि वा निकट व्यक्तिको स्वागत, बिदाइ, भेटघाट आदि अवसरमा शिष्टाचारवश वा औपचारिकता पूरा गर्न पनि शिष्टाचार चुम्बन गरिन्छ । राजनीतिक र कूटनीतिक वृत्तमा यस्तो चुम्बन बढी प्रचलित छ । यस्तो चुम्बन गालामा हलुका ढंगले ओठ स्पर्श गरेर आपसमा साटिन्छ । पश्चिमी जगत्मा यो बढी प्रचलित रहेको देखिन्छ ।
घ. श्रद्धा चुम्बन (homage kiss):  आफूले श्रद्धा गरेको विशेष गरी धार्मिक वा आध्यात्मिक व्यक्तिप्रति अगाध श्रद्धा वा आस्था व्यक्त गर्न पनि उसको हात वा पाउमा चुम्बन गरिन्छ । पवित्र धर्मग्रन्थ वा ईश्वरको मूर्तिलाई पनि चुमेर श्रद्धाभक्ति प्रकट गरिन्छ ।
ङ. हर्षोल्लास चुम्बन ( celebration kiss): अत्यन्त हर्ष वा उल्लासको क्षणमा खुशी व्यक्त गर्न पनि चुम्बन गरिन्छ । यस्तो अवसरमा परिचित मात्र होइन अपरिचित व्यक्तिहरुबीच पनि चुम्बन आदान–प्रदान हुन सक्छ । जस्तै– युद्ध जितेर आएका सैनिक, विजयी खेलाडी, चुनाव जितेको उम्मेदवार आदिलाई जितको खुशीयालीमा चुम्बन गर्न विशेष गरी महिलाहरु तँछाड मछाड गर्दछन् । सन् १९४५ मा दोस्रो विश्वयुद्ध जितेर न्यूयोर्क नगरीको प्रसिद्ध टाइम्स स्क्वाएरमा आइपुगेका अमेरिकी सैनिकहरुलाई अपरिचित युवतीहरुले गरेको चुम्बन विशेष चर्चित रहेको छ । त्यस ऐतिहासिक खुशीको क्षणमा सेना र सर्वसाधारण युवतीका ७५ भन्दा बढी जोडी प्रगाढ चुम्बनमा लिप्त भएका थिए ।

च. प्रणय चुम्बन (romantic kiss): पति–पत्नी वा प्रेमी–प्रेमिकाबीच अत्यन्त प्रेम र समर्पण भावले गरिने चुम्बन प्रणय चुम्बन हो र यो अलौकिक हुन्छ । यस्तो चुम्बन प्रेमसम्बन्ध र समर्पण भाव नभएकाहरुबीच हुन सक्दैन । एकले अर्कालाई निधार, आँखा, गाला, ओठ, जिब्रो, हात आदिमा चुम्बन गरिन्छ । यस्तो चुम्बन यौनक्रियामा परिणत हुनुपर्छ भन्ने जरुरी छैन तर हुन पनि सक्छ । सम्भोग सम्बन्ध नभएका प्रेमी जोडीबीच यस्तो प्रणय चुम्बन हुन सक्छ । यसले प्रणय सम्बन्धलाई अझ प्रगाढ बनाइदिन्छ । विशेष गरी विवाह निश्चित भई विवाहको प्रतीक्षामा रहेका जोडीबीच यस्तो चुम्बन हुने गर्दछ । यो चुम्बनमा दुवैजनाको आँखा आफैं बन्द हुन्छ र एकक्षणको लागि आफैंलाई बिर्सन पुग्छन् । यस्तो चुम्बनलाई चित्रण गर्दै प्रख्यात अमेरिकी साहित्यकार अर्नेस्ट हेमिङ्ग्वेले ‘चुम्बन लिइरहेको बेलामा दुवैजनाको नाक कता जान्छ ? म सधैँ अचम्म पर्दछु’ भनेर सन् १९४० मै आफ्नो रचनामा परिहास गरेका थिए । युरोपमा यस्तो चुम्बनलाई ‘फ्रेन्च किस’ भन्ने चलन छ । किनकि फ्रान्समा यो शैलीको चुम्बन बढी प्रचलित छ ।
छ. कामुक चुम्बन (erotic kiss) : सम्भोग क्रियाका लागि जोडीले एक–अर्कालाई तयार गर्ने उद्देश्यले गरिने चुम्बन कामुक चुम्बन हो । सम्भोगपूर्वको प्रेमक्रीडामा यो चुम्बनको व्यापक प्रयोग गरिन्छ । यसमा प्रणय शैलीको चुम्बनबाट प्रारम्भ गरी पछि कामुक शैलीमा परिणत हुन्छ । जस्तै– निधार, आँखा, गाला, ओठ, मुख हुँदै कानको लोती, कानपछाडिको कनपटी, गर्धन, स्तन, नाइटो, तिघ्रा, पिँडुला, खुट्टाको औंला र जनेन्द्रियमा समेत चुम्बन गर्र्न । यस्तो चुम्बनको वर्णन गर्दै महाकवि जयदेवले १२औं शताब्दीमा रचेका ‘रति मञ्जरी’काव्यमा यसरी वर्णन गरेका छन्–
‘घाँटी, आँखा र गालामा अनि छाती यताउति
चुसोस् दुवै स्तनका मुन्टा, लागोस् नाभीमा काउकुती’ (संस्कृतबाट अनुदित)
कामुक चुम्बनले पुरुष र महिला दुवैलाई यौन उत्तेजनाको शिखरमा पु¥याउँछ । यस अवस्थामा पुगेपछि सम्भोग क्रिया प्रायः अवश्यम्भावी हुन्छ । प्राचीन कामशास्त्रमा यस्तो चुम्बनलाई ‘कामोदीपक चुम्बन’ अर्थात् कामुकता जगाउने चुम्बन भनेर वर्णन गरिएको छ ।
ज. साङ्केतिक चुम्बन (symbolice kiss): कुनै कुरा एक–अर्कामा सूचित गर्न, सन्देश दिन वा व्यक्त गर्न पनि चुम्बनको प्रयोग गरिन्छ । जस्तै– मस्तसँग निदाइरहेको आफ्नो प्रियजनलाई ब्यूँझने संकेत दिन हलुकासँग उसको आँखा, निधार वा गालामा चुम्बन गरी ‘वेक अप किस’ दिइन्छ । यस्तै एक–अर्कालाई राम्ररी देख्न सकिने तर छुन वा बोल्न नसकिने निकट दूरीमा रहेका प्रियजनबीच आफ्नो हत्केलामा चुमेर फू गरी साङ्केतिक चुम्बन आदान–प्रदान गरिन्छ, यसलाई फ्लाइङ किस पनि भन्ने चलन छ ।

झ. अनायास चुम्बन ( suprise kiss): एकले अर्कोलाई पत्तै नदिई अनायास झुक्याएर पनि चुम्बन गरिन्छ । यस्तो चुम्बन पति–पत्नी, प्रेमी–प्रेमिकाबीच मात्र हुन्छ । अरुसँग हुँदा त्यसले विवाद उत्पन्न गराउन सक्छ । एकसुरले कुनै काममा एकाग्र भइरहेकी पत्नी वा प्रेमिकालाई उसले थाहा नपाउने गरी अचानक चुम्बन गर्न सकिन्छ । यस्तै पति वा प्रेमीलाई पनि गर्न सकिन्छ । ठुस्किएको आफ्नो पति, पत्नी वा प्रेमी, प्रेमिकालाई फुल्याउन यस्तो चुम्बन एक अचुक उपाय बन्न सक्छ । तर विगतमा चुम्बनको कहिल्यै सम्बन्ध नभएका पात्रहरुबीच अनायास चुम्बन भएमा त्यसले विवाद उत्पन्न गराउन सक्छ । हलिउड सिनेकर्मी रिचर्ड गेरले बलिउडकी अभिनेत्री शिल्पा सेट्टीलाई सार्वजनिक कार्यक्रमकोे स्टेजमै अनायास चुम्बन गरेको घटनाले ठूलो विवाद उठाएको थियो ।
ञ. प्रतिस्पर्धात्मक चुम्बन ( competaritivekiss): प्रगाढ प्रणय व्यक्त गर्न मात्र होइन प्रतिस्पर्धा गर्न वा कीर्तिमान राख्न पनि चुम्बन गर्ने चलन मानव समाजमा रहेको छ । आजको आधुनिक युगमा मात्र होइन परापूर्वकालमा समेत चुम्बन प्रतियोगिता हुने गरेको इतिहास पाइन्छ । इ.पू. १५०० मा रोमन सम्राट टिबेरियसले सरुवा रोगको महामारी फैलिन नदिन चुम्बन प्रतियोगितामा प्रतिबन्ध लगाएको उल्लेख रोमन इतिहासमा पाइन्छ । यसबाट रोमन साम्राज्यमा सामूहिक चुम्बन प्रतियोगिताको परम्परा धेरै अघिदेखि नै रहेको पुष्टि हुन्छ । यस्तो प्रतियोगितामा तोकिएको निश्चित समयभित्र एकजनाले कति जनालाई चुम्बन गर्न भ्याउँछ भन्नेमा प्रतियोगिता हुन्छ भने जोडीहरु निरन्तर कति समयसम्म चुम्बनमा लीन हुन सक्छन् भन्ने पनि प्रतियोगिता हुन्छ ।

चुम्बनका फाइदा

चुम्बन आदान–प्रदानबाट हुने भावनात्मक सुखानुभूतिका अतिरिक्त व्यक्तिका स्वास्थ्यमा प्रत्यक्ष वा परोक्ष रुपमा पनि विभिन्न फाइदा पुग्छ । विशेष गरी युगल जोडीका चुम्बन उनीहरुको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । चुम्बनबाट हुने केही प्रमुख फाइदा–
क) मनस्थितिलाई प्रफुल्ल, ताजा र रचनात्मक बनाउन मद्दत गर्छ ।
ख) तनाव, डिप्रेसन आदि प्रतिकूल मनोभावबाट जोगाउँछ ।
ग) यौन चाहनामा अभिवृद्धि गराउँछ ।
घ) बारम्बार प्रगाढ चुम्बनरत हुँदा मुख सुख्खा हुने, स्यालिभा अर्थात् ¥याल कम आउने समस्या समाधान हुन्छ । स्यालिभा प्रशस्त आउँदा मुख स्वास्थ्य ९इचब िज्भबतिज० लाई निकै राम्रो प्रभाव पर्दछ ।
ङ) रक्तचापलाई स्थिर राख्नमा मद्दत गर्छ भने रक्तसञ्चारमा सकारात्मक प्रभाव पार्दछ । रक्तचाप न्यून भएका व्यक्तिहरुलाई चुम्बनले विशेष फाइदा गर्दछ ।
च) वृद्धावस्था, जटिल रोग, शारीरिक अशक्तता आदिका कारण यौनरत हुन नसकेको अवस्थामा चुम्बनको माध्यमबाट यौनचाहना पूर्ति गर्न सकिन्छ ।
छ) प्रगाढ चुम्बन गर्दा उत्तेजनाले अनुहारका नसा र कोशिकाहरुमा पर्याप्त रक्तसञ्चार हुँदा अनुहारको छालामा सकारात्मक प्रभाव पर्दछ । यसले अनुहारमा चाउरी पर्ने, छाला सुख्खा हुने समस्या छिट्टै आउँदैन । चुम्बनबाहेक अन्य सामान्य अवस्थामा अनुहारका नसाहरुमा प्रचूर मात्रामा रक्तप्रवाह हुने कुनै क्रियाकलाप गरिएको हुँदैन ।
ज) बारम्बार प्रगाढ चुम्बनमा लीन हुँदा शरीरभित्र पैदा हुने यौनसम्बन्धी हर्मोनले महिलालाई रजस्वलामा हुने तनाव, पीडा आदिलाई न्यूनीकरण गर्न निकै राम्रो मद्दत गर्दछ । यसै गरी टेस्टोस्टेरोन हार्मोन सक्रिय हुँदा चुम्बनरत पुरुषको यौनक्षमतामा वृद्धि हुन्छ ।
झ) प्रगाढ चुम्बन गर्दा शरीरको बोसो पनि घट्छ भन्ने अनुसन्धानले देखाएको छ ।
सावधानीको खाँचो
क) चुम्बनबाट हुने सबैभन्दा बेफाइदा सरुवा रोगको सङ्क्रमण हो । निकटतम् सम्पर्कबाट सर्ने सबै खालका रोगहरुको सक्रिय संवाहक चुम्बन हो । चुम्बन गर्दा थुक, ¥याल र सास एकबाट अर्कोमा सहजै सर्ने भएकोले रोगका जीवाणु पनि सजिलै सर्दछन् ।

कलिला शिशु र बालबालिकाहरुलाई धेरै मानिसहरुले चुम्बन गर्र्न उचित होइन ।

बालबालिकाको रोग–प्रतिरोधात्मक क्षमता न्यून हुन्छ । त्यसैले रोगग्रस्त व्यक्तिले उसलाई चुम्बन गर्दा सजिलै रोग सर्न सक्छ । एकै घरपरिवारका व्यक्तिले पनि आफ्नो स्वास्थ्य स्थिति ठीक नभएको अवस्थामा परिवारका शिशु, बालबालिकासँग टाढै रहनु उचित हुन्छ ।
ख) ओठ, मुख, जिब्रो, दाँत, गिजा, घाँटी आदिमा घाउ–खटिरा आएको, पीडा भइरहेको अवस्थामा चुम्बन पूरै वर्जित हुन्छ । यस्तो अवस्थामा पनि चुम्बन गर्र्न आफ्नो र जोडी दुवैका लागि घातक हुन सक्छ ।
ग) आफ्नो जोडीको शरीर पूर्णतया सफा र स्वच्छ छ भने मात्र उसका शरीरका विभिन्न स्थान र अङ्गमा चुम्बन गर्न सकिन्छ, अन्यथा पछि पछुताउनुपर्ने अवस्था आउन सक्छ । आफ्नो शरीर यदि पूर्ण सफा र स्वच्छ छैन भने त्यस्तो अवस्थामा सर्वाङ्ग चुम्बनका लागि आफू तयार हुनुहुँदैन ।
घ) यदि आफ्नो सास वा मुख गन्हाउने समस्या छ भने त्यो समस्या पूर्णतया समाधान नभएसम्म मुख चुम्बनका लागि अग्रसर हुनुहुँदैन । यसले जोडीको सम्बन्धमा समेत प्रतिकूल असर पार्न सक्छ । यसै गरी ओठको कुनामा थुक निस्किरहने, नियमित रुपमा दाँत सफा नगर्ने, जिब्री लगायर जिब्रो सफा नगर्ने, मुखबाट ¥याल निस्किरहने र ज्यादै नमिलेको दाँतसमेत प्रेमपूर्ण प्रगाढ चुम्बनका लागि अयोग्य हुन्छन् ।
ङ) व्यक्तिको आदत वा अम्मल पनि चुम्बनका लागि बाधक बन्न सक्छ । जस्तै– धूमपान, खैनी, जर्दाको लत भएको मानिससँग चुम्बनरत हुनु निकै कष्टकर कार्य हो ।
चुम्बन प्रकृतिले दिएको एक अमूल्य उपहार हो । यसको प्रयोग मूलतः समुदायको संस्कृति, रीतिरिवाज र व्यक्तिको सोच अनि आचरणमा भर पर्दछ । स्नेह, श्रद्धा र प्रणय अभिव्यक्त गर्ने यो अत्यन्त सुन्दर एवं सुमधुर माध्यमको मर्यादालाई सम्मान गर्र्न जरुरी छ । चुम्बनलाई उच्छृङ्खल ढंगले प्रयोग गर्र्न यसको गरिमा धमिल्याउनु मात्र होइन, यसबाट प्राप्त हुन सक्ने वास्तविक सुखानुभूतिबाट आफूलाई वञ्चित गर्र्नसमेत हो । उमेरको एक विन्दुमा पुगेपछि वा विभिन्न कारणवश बीचैमा पनि सम्भोग–सुखले मानिसको साथ छोड्छ नै, तर चुम्बनले जीवनपर्यन्त साथ छोड्दैन ।
(वरिष्ठ पत्रकार बस्नेतले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)

प्रतिक्रिया दिनुहोस्