तपाईंका घरमा हाम्रा डाक्टर



१. मेरा ७० वर्षका बुबाले झन्डै २७ वर्षदेखि सुगरको औषधि (ट्याबलेट) खाइरहनुभएको छ । अब सुई लगाउनुपर्छ, ट्याबलेटले हुन्न भनेका छन् सिलगढीका डाक्टरले । सुईको सट्टा खाने प्रभावकारी ट्याबलेट उपलब्ध भएमा सुझावका लागि अनुरोध गर्दछु ।

– रामनाथ पराजुली, झापा ।

पराजुलीजी, आवश्यक भएर नै वा जरुरी देखेर नै बुबालाई त्यस्तो सुई लगाउने सल्लाह दिइएको होला । साधारण लाटो नियमले के भन्छ भने, चिनीरोगीहरुको उपचारको क्रममा हरेक एक–दुई–तीन वर्षमा औषधि थपिँदै जान्छ । हरेक १०–१२ वर्षमा अधिकतम औषधिको आवश्यकता देखिएर जान्छ भने त्यसपछि इन्सुलिन सुईको जरुरी पर्दै जान सक्छ । अर्को तथ्य पनि सत्यता तथा वास्तविकतामा आधारित छ कि चक्की लिएको भन्दा इन्सुलिन लिएको धेरै प्राकृतिक अनि सुरक्षित, साथै समायोजनको लागि सहज तरिका हो । तर हाम्रो सोच पहिलेको जस्तो सुईको बारेमा नकारात्मक हुनुको साथै एकदमै कम स्वीकार्यता पाइन्छ ।

तपाईंको बुबाको अवस्था तथा चिकित्सकको सल्लाह विश्लेषण गर्दा यहाँ सुईको बदलामा दिन सकिने चक्की हुँदैन । यो त चक्कीको अधिकतम मात्रा खाँदा पनि प्रभावकारिता नदेखिएर वा मृगौलाको अवस्थाले गर्दा रगतमा चिनीको मात्रा नघट्ने अवस्था हो । त्यसैले अब इन्सुलिन सुई दिनै पर्ने हुन्छ, जुन चक्कीको साथसाथ वा चक्कीको बदलामा सुई शुरु गर्नुपर्ने आवश्यक अवस्था हुन सक्छ । तसर्थ समझदारीका साथ सम्बन्धित चिकित्सकसँग सम्पूर्ण परामर्श गरेर सुरक्षित तथा प्रभावकारी उपचार गर्न पछि नपर्न मेरो सल्लाह छ ।

२. कपाल झरेर तालु भएको टाउकोमा फेरि कपाल रोपेर उमार्न सकिन्छ भनी विज्ञापन गरेको देखिन्छ । के साँच्चै कपाल रोप्न सकिन्छ ? यो कति सुरक्षित र भरपर्दो हुन्छ ? विस्तृत रुपमा बताइदिन अनुरोध छ ।

– रुमी, बालाजु, काठमाडौँ ।

रुमीजी, तपाईंले भनेको कुरा सत्य हो । कपाल प्रत्यारोपण अहिलेको लागि धेरै नै सहज तथा स्वीकारिएको उपचार पद्धति हो । तर त्यसको लागि टाउकोको अन्य स्थानमा प्रशस्त रौँ हुनुप¥यो, जसलाई त्यहाँबाट झिकेर तालु खालि भएको स्थान वा आवश्यक स्थानमा प्रत्यारोपण गर्न सकिन्छ । अहिले यो उपाय अपनाउने प्रशस्तै भेटिन्छन् । साथै प्रत्यारोपण गर्ने केन्द्र पनि धेरै नै भएको कुरा सत्य हो । यो प्रविधि, यसको प्रतिफल वा नतिजा, यसको विश्वसनीयता आशातीत नै छ । यसको मूल्य भने केन्द्र अनुसार फरक–फरक भए पनि यो सस्तो उपाय भने कदापि होइन । त्यसैले खास गरी मिडिया र सिनेमा लाइनमा काम गर्नेहरुले वा पैसाको पर्वाह नगरी आफूलाई सुन्दर बनाउन चाहनेहरुले यो बढी अपनाएको पाइन्छ । प्रत्यारोपण गर्न आफ्नै रौँ भएमा त्यसको सफलता र सुरक्षा बढी ने हुन्छ ।

३. मलाई जाडो महिनामा केही नहुँदा पनि हातखुट्टा चिलाउने समस्या हुन्छ । यसको समाधान कसरी गर्ने होला ? सुझावको अपेक्षा गर्दछु ।

– अनामिका कार्की, दमौली ।

अनामिकाजी, जाडोमा हातखुट्टा चिलाउने कारण चिसोको एलर्जी वा छाला सुख्खा भएर हुनसक्छ । यसै पनि जाडोमा पानी कम पिउने गरिन्छ । त्यस्तै नुहाउँदा वा हातखुट्टा धुँदा धेरै तातो पानी प्रयोग गर्दा यसले शरीरको चिल्लोपना पखाल्न वा घटाउन सक्ने हुन्छ । यसले गर्दा चिसोमा छाला फुट्ने डर पनि हुन्छ ।

छालालाई आवश्यक चिल्लो अर्थात् तेल वा भ्यासेलिन लगाउने काम पनि चाहिएजति गर्न सकिएको हुँदैन । त्यसै गरी ऊनीको वा अन्य धेरै कपडा लगाएर पनि भित्र सुख्खा हुनसक्छ । यसको सीधा समाधान नै शरीरमा नियमित तेल लगाउने गर्नु हो । त्यस्तै नुहाएपछि घाममा बस्दा वा अरु समयमा समेत बेला–बेलामा प्रशस्त पानी पिउने गर्नुपर्छ । नुहाउँदा वा हातगोडा धुँदा धेरै तातो पानी उपयोग नगर्ने, बरु मनतातो पानी चलाउने गर्नुपर्छ । तातोका लागि हिटर वा हिटर फ्यान लगाउन र आगो ताप्नसमेत अलि कम गरी बरु तातो पानीको ब्यागको उपयोग गर्नु हितकर हुन्छ । यसरी प्राकृतिक रुपमा नै शरीरलाई सक्दो एड्जस्ट गर्न सकेमा समस्या न्यूनीकरण हुनेछ ।

४. म २७ वर्षको युवक हुँ तर विवाह भएको छैन । म जीवनमा केही गरिसकेपछि ४० वर्षपछि मात्र विवाह गर्न चाहन्छु । यसले सन्तान उत्पादन र जीवनका अरु पक्षमा हानि गर्ला कि नाइँ ?

– सोमशरण पाण्डे, धुलिखेल, काभ्रे ।

सोमशरणजी, यो त अजीवको कुरा गर्नुभयो । जबसम्म आखिर बिहे त गर्छु नै भन्ने भएपछि किन भद्रा हेर्नुहुन्छ ? बिहे गरी पारिवारिक रुपमा जिम्मेवार भएर जीवन अघि बढाउँदा केही गर्न व्यवधान कदापि हुँदैन, बरु परिवारबाट सहयोग–सल्लाह पो मिल्छ । धेरै जनाको सहभागिता तथा संयुक्त पहल हुनसक्ने हुनाले उद्योग, व्यापार व्यवसाय जे गर्दा पनि हुन्छ । अघि बढ्नुस्, सफल हुनुस् । नाम, दाम, प्रतिष्ठा सब कमाउनुस् । विवाह गरेर अगाडि बढ्नुस्, यही शुभकामना छ । जहाँसम्म सन्तानोत्पादन र जीवनका अन्य पक्षमा पर्ने प्रभावका बारेमा तपाईंको प्रश्न छ, चालीस काटेपछि पनि पुरुषको हकमा बच्चा हुनसक्ने वा प्रजनन वा पारिवारिक जीवनमा खासै फरक त पर्दैन तर मुख्य कुरा आफ्नो जिम्मेवारी, सद्विचार, सामाजिक मान्यता तथा सकारात्मक सोचको जगेर्ना हुनुप¥यो ।

५. मेरो जिब्रोको साइड–साइडमा बेला–बेलामा साना घाउ आएर दुःख दिने गरेको छ । यस्तो किन हुन्छ ? यसको स्थायी समाधान कसरी गर्न सकिएला ? सुझावको अपेक्षा गर्दछु ।

– जंगम थापा, सुनसरी ।

जंगमजी, जिब्रोको साइड–साइडमा आउने स–साना घाउहरु धेरैजसो भिटामिनको कमीले हुने गर्छ । त्यस्तै दाँतको अचानक गल्तीले हुने टोकाइले पनि यस्तो हुनसक्छ । त्यस्तै मुखमा हुने केमिकलहरू, सुर्ती लिने भए त्यस्तोको कुप्रभाव, पेटको गडबडी र संक्रमणमध्ये जेले पनि यस्तो समस्या सृजना हुनसक्छ । यति हुँदाहुँदै पनि कहिलेकाहीँ कोही–कोहीमा यस्ता घाउ त्यसै आउने–जाने सामयिक सिजनल पनि हुनसक्छ । यसरी एउटा लक्षणको भरमा सीधै निदान र उपचार सम्भव हुने कुरा होइन । बरु नजिकको फिजिसियन वा मुखको चिकित्सकलाई भेटेर परामर्श गर्नुपर्ला । हाललाई अन्तिम उपचार नहँुदासम्म भिटामिन बी कम्प्लेक्स खाँदै गर्नुस् । साथै मनतातो नुनपानीले कुल्ला गर्ने र क्वाड्रिजेल भन्ने जेल लगाउँदै गर्नुस् ।

६. जाडो महिनामा मेरी आमालाई सधैँ दम बढ्छ र केही भइहाल्छ कि जस्तो त्रास नै हुन्छ । दमको यो समस्या आउन नदिन हामीले के–के विधि अपनाउन सक्छौँ ? बताइदिन अनुरोध छ ।

– खड्गकुमार भट्टराई, त्रिशूली, नुवाकोट ।

खड्गकुमारजी, तपाईंकी आमा कति वर्ष हुनुभयो वा कति वर्षदेखि दमबाट पीडित हुनुहुन्छ भन्ने स्पष्ट भएन । दमको बारेमा कुरा गर्दा श्वासनली साँघुरिएर समय–समयमा च्याप्ने एक किसिमको दम हुन्छ । त्यसलाई आज्मा भनिन्छ । त्यस्तै हुक्का, चुरोट, बिँडी खानेलाई हुने र समय–समयमा संक्रमण गराउने, खकार आउने खालको दम पनि हुन्छ । त्यसलाई सीओपीडी भनिन्छ । तपाईंकी आमाको कुन किसिमको दम हो ? स्पष्ट भएन । बेला–बेलामा त्रास देखाउने भन्नासाथ पुरानो अनि श्वासनली साँघुरो भएर जटिलतातिर जाँदै गरेको दमरोग हो जस्तो लाग्यो ।

हाम्रो चिकित्सकीय विज्ञानको आजसम्मको ज्ञानमा यो पूरै निर्मूल गर्न गाह्रो छ । किनभने यो नसर्ने प्रकारको दीर्घ रोग हो । यसलाई बढ्न नदिने, नियन्त्रणमा ल्याउन प्रयास गर्ने, उपचारले सहज गराउने तथा लक्षण कम गराउने मात्रै हो । सम्बन्धित चिकित्सक (पलमोनोलोजिस्ट) लाई देखाउने, परामर्श गर्ने र उहाँको सल्लाह अनुसार हिड्ने गर्नुभएमा यस्तो समस्या अवश्य कम होला । साथै त्रासपूर्ण अवस्था आउने पनि कम भएर जाला ।

प्रतिक्रिया दिनुहोस्