किन चाहियो शारीरिक सक्रियता ?



डा. क्षितिज बराकोटी प्राकृति चिकित्सक

हामीमध्ये धेरैजना शारीरिक रूपमा त्यति सक्रिय छैनौं । प्रायः व्यक्तिहरु शारीरिक काम नगर्ने, मेहनत कम गर्ने, व्यायाम गर्दै नगर्ने वा अनियमित गर्ने गर्दछन् ।

पहिले हामी बच्चा वा किशोर हुँदा खेलकुद, घरायसी कामकाज निकै नै बढी हुन्थ्यो तर आजकल बालबालिका र किशोर एवं नवयुवाहरूमा भने शारीरिक अभ्यास वा कामकाज प्रायः नभएको देखिन्छ । साथै मोबाइल-ल्यापटप आदिजस्ता ग्याजेटमार्फत सामाजिक सञ्जालको जालोमा जेलिएको पाइन्छ । यसबाट उनीहरुमा शारीरिक सक्रियता हराउँदै गएको, मानसिक अस्थिरता बढ्दै गएको देखिन्छ । यसले मानिसमा तनाव थपिँदै गई मानसिक अस्वस्थता बढ्न गएको भेटिन्छ ।

त्यसमा पनि पत्रु खाना (जंक फुड)को अत्यधिक प्रयोग र निद्रा बिथोलिने अवस्थाले स्वास्थ्यमा समस्याहरु थपिएका छन् । अत्यधिक मोबाइल प्रयोगको कारण पारिवारिक आत्मीयता गुम्दै गरेको परिस्थितिमा शारीरिक, मानसिक र भावनात्मक समस्याहरुसमेत चुलिँदै गएका छन् । फलस्वरूप कम उमेरमै मोटोपन, हृदयघात, मधुमेह, तनाव, डिप्रेसनजस्ता नसर्ने रोगहरूले बाल्यावस्थामै गाँजिरहेको छ ।

 

शरीर सक्रिय राख्दा हुने फाइदाहरु

शरीरको सक्रियता भनेको शारीरिक अंग–प्रत्यंगलाई नियमितरुपले चलायमान बनाइराख्ने अभियान हो । यसबाट शरीरमा रक्तसञ्चार वृद्धि हुने, मुटु स्वस्थ हुने, रक्तमार्गमा हुने चिल्लोपना (बोसो) घटेर रक्तनलीहरु सफा हुने, पसिना ग्रन्थि सक्रिय भई छालाबाट विकार बाहिरिने, पाचन अंग बलियो भई पाचन तथा निष्कासन प्रक्रिया बढ्ने हुन्छ ।

साथै हाडजोर्नी बलियो हुने, हर्मोनको सन्तुलित उत्पादन हुने एवं ग्रन्थिहरु स्वस्थ हुने हुन्छ । यसरी नै शारीरिक सक्रियताबाट मूत्र प्रणाली, प्रजनन प्रणाली, स्नायु प्रणाली, श्वासप्रश्वास प्रणालीलगायत प्रतिरोधक प्रणाली आदिसमेत सबल भई शरीर हलुका, तन्दुरुस्त र रोगमुक्त हुन सहयोग प्राप्त हुन्छ । समग्रमा शरीरको सक्रियता बढाएका कारण नसर्ने रोगहरूको जोखिम घट्छ । यस्तै मानसिक आनन्दको प्राप्ति भई मनोसमस्या घट्ने तथा भावनात्मक अवस्थाहरुमा पनि सकारात्मक परिवर्तनहरू हुन थाल्दछन् ।

शारीरिक सक्रियताले व्यवहारलाई पनि सकारात्मक बनाई अनेक मानसिक समस्याहरु घटाउन निकै सहयोग गर्छ । वार्बर्टन, निकोल र ब्रेडिन (२००६) को समीक्षात्मक अध्ययन अनुसार शारीरिक सक्रियताले पुराना रोगहरू जस्तै– हृदय रोग, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मोटोपन, डिप्रेसन र हाड मक्किने समस्या (ओस्टियोपोरोसिस) लगायत अकाल मृत्युको नियन्त्रणमा पनि विशेष लाभ दिन्छ । रेनर, निरमन, जेकस र अन्य (२०१३) को अध्ययनले पनि शारीरिक सक्रियताले दीर्घकालीन स्वास्थ्यलाभ हुने कुरालाई संकेत गरेको छ ।

शारीरिक सक्रियताका तरिकाहरु

क) घरायसी काम गर्ने: आलस्य नमानीकन घरायसी कामहरु गर्नु निकै नै राम्रो शारीरिक सक्रियता हो । घरका कामहरु जस्तै– ओछ्यान तथा कोठा मिलाउनु, कुचो लगाउनु, माकुराको जालो हटाउनु, भुइँ तथा टेबल–कुर्सीहरु पुछ्नु, भाँडा सफा गर्नु, भान्साका विभिन्न कामहरु गर्नु, लुगा धुनु, हल्का श्रमदायक कामहरु गर्नु आदि शारीरिक सक्रियताका उदाहरणहरु हुन् । यस्ता काम गर्दा कर वा बाध्यताले भन्दा पनि रहर र आनन्द मानेर सकारात्मक भावका साथ गर्नुपर्दछ ।

ख) शारीरिक अभ्यास गर्ने: विभिन्न खालका व्यायामहरू अभ्यास गर्दा शारीरिक सक्रियता भएको मानिन्छ । यसका लागि उमेर, शारीरिक स्वरुप, रोगको अवस्था आदिलाई ध्यान दिएर आफ्नो क्षमता अनुसारका व्यायामहरु नियमित गर्न सकिन्छ । घरभित्रै वा बाहिर गएर पनि जगिङ (हलुका दौड), खेलकुद, योगासन तथा यौगिक सूक्ष्म÷स्थुल व्यायाम, नृत्य, एरोबिक, जिम, जुम्बा, पौडी, साइकल चलाउने, ब्याडमिन्टन, टेबुलटेनिस, फुटबल, भलिबल, फुट्सल आदि अनेक प्रकारका खेलहरुलाई शारीरिक अभ्यासको रुपमा प्रयोग गर्न सकिन्छ ।
यस्ता शारीरिक अभ्यासहरु सम्बन्धित विज्ञको सल्लाहमा गर्नु बढी फाइदाजनक हुन्छ । दैनिक हिँडडुल गर्ने वा दौडने गर्नु पनि शारीरिक सक्रियताको सरल उपाय हो । यसरी नै सामाजिक रूपमा सहभागिता जनाई विभिन्न कार्यमा सहभागी हुनु पनि शारीरिक तथा मानसिक सक्रियता हुन जान्छ ।

ग) गार्डेनिङ÷बगैँचाका कामहरु गर्नु: शरीरलाई चलायमान राख्न र मनलाई पनि खुशी राख्न बगैँचामा काम गर्नु एउटा राम्रो उपाय हो । घरवरिपरिको सानो ठाउँमा पनि फूल रोप्ने, गोडमेल गर्ने, काँटछाँट गर्ने, पानी हाल्ने, मल छर्नेजस्ता कामहरुबाट शरीर तथा मनलाई व्यायाम प्रदान गर्न र शान्त राख्ने कार्य गर्न सकिन्छ । यसरी नै गमलामा रंग लगाउने, माटो खन्ने÷भर्ने÷निकाल्ने, फूल रोप्ने, काँटछाँट गर्ने आदि कामहरु गर्न सकिन्छ ।
घ) कृषि कार्य गर्ने: यदि स्थान छ भने कोदालोले बारी खन्ने, जोत्ने, बीउ छर्ने, तरकारी र फलफूलको बिरुवा रोप्ने, गोडमेल गर्ने, हुर्काउनेजस्ता कामहरु गर्न सकिन्छ । यदि ठाउँ ठूलो छैन भने कौसी खेतीबाट शारीरिक सक्रियता बढाउन सकिन्छ । समयको व्यवस्थापन गरी कमसेकम बिहान–बेलुका कौसी खेतीमा आधा÷एक घन्टा बिताउन सकेमा पनि थोरै भए पनि शारीरिक अभ्यास पुग्छ । यस्तो शारीरिक सक्रियता पनि रमाइलो हुन्छ ।
ङ) बच्चाहरुको शारीरिक सक्रियता: कम उमेरका बच्चाहरु शारीरिक रुपमा झन् सक्रिय हुनुपर्दछ । शारीरिक सक्रियताले बच्चा किशोर वा नवयुवाहरुमा शारीरिक विकास हुने, उचाइ बढ्ने, बच्चामै बढी मोटोपन हुनबाट बच्ने, सिर्जनशीलता बढ्ने हुन्छ । यसको साथै रोगको जोखिम घट्नेजस्ता अनेकौं लाभ प्राप्त हुने हुँदा अभिभावक तथा शिक्षकहरुले यससम्बन्धमा उनीहरुलाई सम्झाउने÷बुझाउने गर्नुपर्दछ । हिजोआजका बच्चाहरु अथवा युवाहरु मोबाइलमा गेम खेल्ने, बढी समय त्यसैमा खर्चिनेजस्ता काम गर्दछन्, जुन उनीहरूको समग्र विकासलाई अवरुद्ध गर्ने खालको छ । त्यसैले यस्ता बच्चा÷युवाहरुले शारीरिक अभ्यास, खेलकुद र कामहरूमा आवश्यकता अनुसार सहभागी हुन अनिवार्य छ । यदि यसो गर्न सकिएन भने उनीहरु कम उमेरमै अनेक शारिरिक, मानसिक रोगहरुबाट पीडित हुने हुन्छन् ।
च) अफिसमा शारीरिक सक्रियता: लामो समयसम्म बसिरहनुपर्ने, बसेर लेख्ने तथा कम्प्युटर वा ल्यापटपमा काम गर्नेहरुले शारीरिक सक्रियता बढाई बेलाबेलामा कुर्सीबाट उठ्ने, शारीरिक हलचल उत्पन्न हुने गरी साधारण व्यायाम गर्नुपर्छ । जस्तो– उठेर गर्न सकिने टाउको, गर्दन, छाती, कम्मर, हात र गोडाका व्यायाम वा योगासन वा अन्य क्रियाहरु गर्ने गर्नुपर्छ ।
दिनमा पटक–पटक उठ्ने, यताउति चल्ने, पानी पिउने, हातमुख धुने, सेवाग्राहीसँग सोधपुछ गर्ने, साथीहरुलाई पनि काममा सहयोग गर्नेजस्ता क्रियाकलापहरु पनि गर्नु जरुरी छ । यसरी नै कुर्सीमै बसी–बसी गर्ने खालका व्यायाम, आसन, प्राणायाम, मुद्राजस्ता विधिहरुको अभ्यास गर्नाले पनि शरीरमा सक्रियता उत्पन्न हुन्छ । यसबाट मानसिक लाभ पनि प्राप्त गर्न सकिन्छ ।

मनलाई शान्त राख्ने उपायहरु

क) योगको अभ्यास गर्ने: योगमा शरीरको सक्रियता, लचकता र बलको लागि सूक्ष्म÷स्थुल व्यायाम, योगासन, प्राणायाम, मुद्रा, बन्धलगायत शोधन क्रियाहरु छन्, जसले मनलाई पनि एकाग्र र शान्त बनाउन सहयोग गर्दछन् । यम र नियमजस्ता अनुशासनहरुले मानसिक आनन्द र शान्ति प्रदान गर्दछन् । ध्यानात्मक तथा विश्रामात्मक आसनहरुले मन शान्त गर्दछन् । विभिन्न प्रकारका प्राणायामहरूको अभ्यासले मानसिक विचलन कम गर्ने, मन नियन्त्रण गर्ने र मानसिक शान्ति प्रदान गर्ने हुन्छ ।

यसरी नै प्रत्याहारको अभ्यासले इन्द्रियहरूको नियन्त्रण, धारणाको अभ्यासले चित्तवृत्ति नियन्त्रण तथा एकाग्रताको वृद्धि, ध्यानको साधनाबाट चित्त शुद्धि तथा एकाग्रताको गहिरो निरन्तरता एवं पूर्ण शान्तिको अनुभव हुन थाल्छ । वुडयार्ड (२०११) ले पनि योगको प्रयोगले अनेक शारीरिक समस्यालगायत मानसिक समस्या हटाई जीवनको गुणस्तरलाई पनि बढाउने कुरालाई स्पष्ट गरेका छन् ।

ख) प्राकृतिक जीवनको अनुशरण एवं पञ्चमहाभूतको प्रयोग: खोलानाला, झरना, पहाड, हिमाल, उदाउँदो सूर्य आदि प्राकृतिक दृश्यावलोकन, प्रकृतिको निरन्तर निकटता आदिबाट मनमा शान्ति आउँछ । प्राकृतिक चिकित्सामा प्रयोग हुने सूर्यस्नान, जलस्नान, वायुस्नान तथा शुद्ध वायुको प्रयोग, खालि खुट्टाले माटोमा स्पर्श, माटोस्नान, उपवास वा आकाश तत्वको प्रयोग आदिले पनि शारीरिक सक्रियताको वृद्धि तथा विश्राम एवं मानसिक शान्ति प्राप्ति हुन्छ । यसबाट जीवनी शक्ति वृद्धि हुन्छ ।
प्रकृतिमा त्यसै चरिरहेका पशुपक्षी, जीवहरू प्रकृतिकै शरणमा रहेर प्रकृतिमा जस्तो पाइन्छ त्यस्तै नपकाईकन खाएका कारण पनि स्वस्थ नै छन् । तर हामी मनुष्य प्रकृतिबाट टाढा गइरहेका छौं, त्यसैले गर्दा पनि अस्वस्थ बनिरहेको प्रतीत हुन्छ ।

ग) संगीत, नृत्य र प्रार्थना: मनको शान्तिका लागि रमाइलो खालको, मन प्रसन्न हुने किसिमको गीत तथा धुनहरु सुन्ने, गीत–संगीतमा नाच्ने, भजन–कीर्तन गर्ने, आध्यात्मिक रूपमा जागरण ल्याउने गरी प्रेम, मित्रता, करुणा सदाचार, सद्भाव, दया, भक्तिभाव आदिको विकास हुने खालका प्रर्थनाहरु गर्ने गर्दा पनि मनमा शान्ति आउँछ ।

घ) उचित आहारविहार र जीवनशैली: मन शान्त राख्ने खालका सात्विक र प्राकृतिक खानपान आनन्द मनले खाँदा मन शान्त हुन्छ । तामसिक खानपान तथा प्रवृत्तिको अन्त्य गर्दा मन पनि शान्त हुन्छ । यसका साथै उचित जीवनशैली, दिनचर्या, रात्रिचर्या एवं जीवनचर्याले शारीरिक सक्रियता बढाउने र मानसिक शान्ति उत्पन्न गर्ने हुँदा यसप्रति सबै उमेर र पेसाका व्यक्तिहरु सजग हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्