परम्परागत तरिकाले घरमै सुत्केरी गराएजस्तै गरी मिडवाइफ नर्सको प्रत्यक्ष निगरानीमा धुलिखेल अस्पतालले वैज्ञानिक रुपमा सुत्केरी गराउनका लागि मिडवाइफफ्रीको नेतृत्वमा बर्थिङ युनिट सेवा सुचारु गरेको छ । यो युनिट सन् २०२२ मे ५ बाट शुरु भएको हो ।
यो सेवाका विषयमा नेपालमा काठमाडौं विश्वविद्यालयमा अध्ययन, अध्यापन शुरु गरी पहिलो ब्याच उत्पादन भइसकेको छ भने दोस्रो ब्याचको पनि मिडवाइफफ्री अन्तिम वर्षको पढाइ भैरहेको छ । धुलिखेल अस्पतालमा डाक्टर, नर्ससहितको आवश्यक सेवा–सुविधा लिएर परम्परागतरुपमा बच्चा जन्माइन्छ ।
केही समस्या भयो भने विज्ञद्वारा सेवा दिएर बच्चा जन्माउने स्थानमा सुत्केरी गराइन्छ । यसले आमा र बच्चाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ । यसै विषयमा मिडवाइफ बर्थिङ युनिटकी मेनेजर बिनु थापा र मिडवाइफफ्री बर्थिङ युनिटकी नर्सिङ इन्चार्ज प्रतिज्ञा निरौलासँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार ः
यो युनिट स्थापना भएयता कतिजनाले सेवा पाइसकेका छन् ?
हालसम्म ९५ जनालाई सेवा दिइसकेका छौँ । यसमा ६५ जनाले परम्परागत तरिकाले बेथा लागेर सामान्य तरिकाले औषधि पनि प्रयोग नगरी बच्चा जन्माउनुभएको छ । अनसाइड लेबर रुमसँगै सञ्चालनमा रहेको बर्थिङ युनिटमा केही समस्या आयो भने चिकित्सकहरुसँग नै सल्लाह गरेर रिफर गर्छौं । मिडवाइफ युनिटमा समस्या भएका २६ जनालाई रिफर ग¥यौं । बर्थिङपछि आमा र बच्चा दुवैलाई राम्रो भएर घर जानुभएको छ ।
यो युनिट खुल्नुअघि गर्भवतीलाई कसरी सेवा प्रदान गरिन्थ्यो ?
यो युनिट खुल्नुअघि लेबर रुम मात्र थियो । सन् २००४ देखि नर्सिङमा अलि धेरै कार्यक्रम आउन थाल्यो । त्यो बेलादेखि नै एन्टिनेटल सर्भिस अपरेसन डिपार्टमेन्ट पनि सुचारु भयो । यस्तो गर्भवती जाँच गराउने काम धुलिखेल अस्पतालमा नर्सहरुले मात्र गर्दै आएका छन् ।
यसरी नर्सले गर्भवती जाँचको सेवा दिने सम्भवतः नेपालमै पहिलो धुलिखेल अस्पताल हो । गर्भवती जाँचको लागि आउनुहुने महिलाहरुको सम्पूर्ण जाँच यहाँ नर्सहरुको समूहले गर्छ । त्यसमा कसैलाई केही समस्या देखियो भने मात्र डाक्टरकोमा पठाइन्छ । महिलाहरुको विश्वासकै कारण नर्सहरुद्वारा चलेको आउट पेसेन्ट डिपार्टमेन्ट सफल भएको छ । यसै कारण मिडवाइफफ्री बर्थिङ युनिट खोल्न र चलाउन उत्साह मिल्यो ।
यो युनिट खोल्नुको उद्देश्य के हो ?
यो युनिटको मुख्य उद्देश्य भनेकै यहाँ सुत्केरी गराउन आउने महिलालाई प्राकृतिक रुपमा आफ्नो घरमा जस्तै महसुस गराएर बच्चा जन्माउन प्रेरित गर्ने हो । प्राकृतिक रुपमा हुने लेबरपेन (बेथा लाग्नु) आफैं हुने कुरा हो भन्ने बुझाउने र सकेसम्म औषधि चलाउँदै नचलाउने भन्ने यो युनिटको उद्देश्य हो ।
कुनै पनि औषधि नचलाई उहाँहरुसँग श्रीमान् अर्थात् परिवारको विश्वास लाग्ने मान्छे साथमै बस्न दिएर उहाँहरुकै अगाडि बच्चा जन्माउने गराउँछौं । बेथा लागेको बेला कहिले हिँड्न मन लाग्छ, बाथरुम जान मन लाग्छ, त्यसैले परिवारको सदस्यकै साथमा हिँड्नलाई प्रशस्त स्थान राखिएको छ । त्यसै गरी बलहरुमा राखेर व्यायाम गराउने पनि गरिन्छ, जसले गर्दा बच्चा चाँडै हुन्छ ।
कतिपयलाई त प्राकृतिक रुपमा नभएर औषधि चलाउनुपर्ने पनि हुन्छ कि ?
कसै–कसैलाई त्यस्तो हुन्छ, औषधि चलाउनुपर्ने भयो भने समयमै पत्ता लगाएर डाक्टरहरुसँग समन्वय गरी लेबर रुममा सिफ्ट गर्छौं ।
यो युनिट गर्भवती महिलाहरुको मन जित्न कत्तिको सफल भएको छ त ?
हामीले सेवा लिनुभएका अधिकांशलाई सोध्छौं, उहाँहरु खुशी हुनुहुन्छ । अन्य अस्पतालमा सुत्केरी हुँदा श्रीमान्लाई भित्र पस्न नदिने चलन छ, यहाँ त पहिलो प्राथमिकता श्रीमान्लाई नै साथमा राख्ने हो । भर्ना भएदेखि डिस्चार्ज नभएसम्म एकजना कुरुवा भित्रै बस्न दिन्छौं ।
धेरै महिलाको चाहना सुत्केरी बेथा लागेको बेला श्रीमान् नै साथमा भए हुन्थ्यो भन्ने हुन्छ र बस्नु पनि हुन्छ । यसो गर्दा श्रीमतीलाई पनि सपोर्ट हुने र श्रीमान्लाई साथमा देखेपछि घरजस्तै ढुक्क महसुस हुन्छ । सुत्केरी हुने बेलामा जुन प्रसवको बेथा जसरी बढ्नुपर्ने हो त्यो पनि सकारात्मक रुपमै बढ्छ ।
औषधि नचलाई सुत्केरी गराउँदा के भिन्नता पाउनुभयो ?
प्राकृतिक रुपमा सुत्केरी गराउँदा सहन सक्ने खालकै दुखाइ हुँदो रहेछ भन्ने हामीले पनि यो युनिटबाट सिक्याैँ ।
यो युनिटमा लेबर रुममा भन्दा भिन्न के छ र यहाँ आउने महिलाहरुको धारणा कस्तो पाउनुभएको छ ?
जसले यहाँ सेवा लिनुभयो, उहाँहरु खुशी हुनुहुन्छ । घरजस्तै वातावरणमा परिवारका साथ बसेर बच्चा जन्माउन पाउने हुन्छ । ट्वाइलेट, बाथरुम भित्रै छ । भीडभाड हुँदैन, एकको समस्या अर्कोले सुन्नुपर्दैन । बाहिर घाम ताप्ने, बच्चालाई तेल लगाउने ठाउँदेखि सबै सुविधा यो युनिटमा छ । त्यसैले गुनासो आएको छैन ।
मिडवाइफको अध्ययन–अध्यापन पनि यहीँ हुन्छ कि ?
काठमाडौं विश्वविद्यालयले मिडवाइफफ्री शिक्षा सन् २०१६ देखि शुरु गरेर पहिलो ब्याचमा ६ जना उत्पादन भैसकेको र सोही ब्याचीले यो युनिट शुरु गरेको हो भने दोस्रो ब्याचमा १० जना निस्कने बेला भैसक्यो ।
यो युनिट भनेकै मिडवाइफफ्रीको एड्भोकेसी र अनिवार्य पनि भयो । यो युनिट शुरु गरिसकेपछि स्वतन्त्र रुपमा प्रयोगात्मक अभ्यास गर्ने स्थान पनि चाहियो । पहिला एन्टिनेटल थियो, त्यसै गरी यहाँ पनि स्वतन्त्र रुपमा मिडवाइफफ्री अर्थात् नर्सहरुले पनि प्रयोगात्मक अभ्यास गर्ने थलोका रुपमा समेत विकास भएको छ ।
नेपालमा मिडवाइफ जनशक्तिको आवश्यकता र माग कस्तो छ ?
नेपाल सरकारले नै सन् २०२३ सम्म लक्षित गरी कति उत्पादन गर्ने भन्ने संख्या तोकेको छ । यसले मातृ तथा शिशुको मृत्युदर घटाउनको लागि महत्वपूर्ण भूमिका खेल्छ भन्ने आधार छ ।
सबै लेबर रुममा यो व्यवस्था भयो भने मिडवाइफफ्री स्वतन्त्ररुपमा सिकेर भविष्यमा अन्य स्थानमा पनि यस्तै युनिटहरु स्थापना गरी यही अनुसार काम गर्न सक्ने हुन सक्छन् । एउटा नर्स, गर्भवती महिलालाई पनि यस्तो खालको युनिट हुँदो रहेछ भनेर सकारात्मक लिन पनि थप जनचेतनाको रुपमा काम गरेको छ ।
शुरु–शुरुमा त यसबारे बुझाउन पनि कठिन भयो होला नि ?
शुरु–शुरुमा बुझाउन गाह्रो हुन्थ्यो । औषधि नचलाई सुत्केरी गराउने युनिट छ भन्दा धेरैले नेगेटिभ रुपमा लिनुहुन्थ्यो । अस्पताल आइसकेपछि औषधि नचलाउने भन्दा उहाँहरुले नेगेटिभ सोच्नुहुँदो रहेछ । तर बिस्तारै परामर्श गरेर औषधि चलाउनै पर्छ भन्ने छैन, औषधि नचलाई गर्न मिल्नेसम्म नचलाई गर्नुपर्छ भनेर सम्झाउँदा उहाँहरु पनि सम्झिँदै जानुभयो ।
आमा र बच्चाको स्वास्थ्यका बारेमा हामी सचेत हुन्छौँ । आधा–आधा घन्टाको बीचमा बच्चाको मुटुको धड्कन जाँच गर्दा केही समस्या देखियो भने डाक्टरको सल्लाहबमोजिम नै अघि बढ्छौं । शुरुका दिनमा अलि गाह्रो नै भयो । अहिले धेरैले बुझ्दै हुनुहुन्छ । एन्टिनेटलदेखि नै यो युनिटमा के–के सुविधा हुन्छ भन्ने बारेमा बुझाउने गर्छौं । पोस्टर पनि बनाएर टाँस्ने, जानकारी गराउने, परामर्श गराउने काम शुरु गरेका छौं ।
कतिपयले प्राकृतिक रुपमा सुत्केरी गराउँदा ढिला भयो पनि भन्नुहुन्छ । प्राकृतिक रुपमा गराउँदा औषधि चलाएर गराउनेभन्दा बच्चा जन्माउने समय ढिलो नै हुन्छ ।
यो एउटा चुनौतीकै विषय हो । शुरुका दिनमा हाम्रै नर्स, डाक्टरले समेत राम्ररी बुझ्नुभएको थिएन । अहिले राम्रो परिणाम आउँदो रहेछ भन्नुहुन्छ । बाहिर बुझाउन त अझ समय लाग्नु स्वाभाविक नै हो । यहाँ डाक्टर, नर्ससहितको आवश्यक सेवा–सुविधा लिएर परम्परागत रुपमा बच्चा जन्माउँछौं । केही समस्या भयो भने विज्ञद्वारा सेवा दिएर बच्चा जन्माउन पाउने दोहोरो फाइदा लिन सक्ने स्थानमा सुत्केरी हुनुले आमा र बच्चाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ ।
अस्पतालको मिडवाइफफ्री युनिटमा सुत्केरी गराउनु र घरमा गराउनुमा के फरक छ ?
घरमा हुँदा केही समस्या आयो भने व्यवस्थापन गर्न सकिँदैन भने अस्पतालमा सबै सुविधा हुन्छ । प्रसवको लागि अक्सिटोसिम भन्ने हर्मोन उत्पादन हुनुपर्छ । यो आवश्यकता अनुसार उत्पादन हुनका लागि चिन्ता हुनुहुन्न । अस्पतालमा त्यसका लागि हिँड्ने, तातो पानी खाने, बलमा बस्ने, म्युजिक सुनेर आनन्द लिने, घाम ताप्ने, आवश्यकता अनुसार नर्स, डाक्टरको परामर्शलगायत चिकित्सकीय सेवा–सुविधा प्रवाह गर्ने सबै व्यवस्था छ ।
नर्स–डाक्टरकै निगरानीमा गरिन्छ । केही समस्या आयो भने तत्काल समाधान पनि हुन्छ । प्रसव नर्मल भयो तर त्यसपछि आउने जटिलता अत्यधिक रक्तश्राव भयो, बच्चा जन्मियो तर बच्चा रोएन, बच्चालाई कसरी रुवाउन सहयोग गर्ने भन्ने प्रयाससँगै डाक्टरलाई जानकारी गराइन्छ । सुत्केरी गराउने घरको जस्तै भए पनि जटिलता हुँदा तत्काल सेवा–सुविधाका लागि व्यवस्था गरिन्छ । वैज्ञानिक प्रविधिसहित परम्परागत सुत्केरी गराउने कार्य अस्पतालमा गरिन्छ ।
मिडवाइफफ्रीकोे अध्ययन कुन तहले गर्छन् ?
पीसीएल सकेर मिडवाइफ पढिन्छ । यहाँ मिडवाइफफ्रीले मात्र नभई लेबर रुमकै नर्सहरुसहित चौथो वर्षमा अध्ययनरत इन्टर्नहरुले पनि यो युनिटमा काम गर्छन् । हामी दुईजना मिलेर यो युनिट बनाएको हो । यसको लागि के–के गर्नुपर्छ, केको आवश्यकता पर्छ भनेर लेबर रुममै काम गर्ने नर्सहरुलाई श्रेय दिन चाहन्छौं ।
धेरै गर्भवती अपरेसनतिर जान्छन रे ! किन ?
प्रसव पीडा धेरै हुन्छ भनेर अपरेसनतिर जान्छन् । शुरुदेखि नै मानसिक रुपमा अपरेसन गर्ने तयारीमा रहेकालाई परम्परागत सुत्केरीका विषयमा बुझाउन धेरै गाह्रो भयो । अपरेसनभन्दा परम्परागत सुत्केरी अस्पतालका डाक्टर–नर्सको रोहवरमा गराउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा राम्रो हुने रहेछ भन्ने बुझेर खुशी भई फर्किएका छन् ।
गर्भवती भएको कति समयदेखि मिडवाइफफ्री युनिटले हेर्ने गर्छ ?
२२ हप्तादेखि परामर्श र परीक्षण शुरु गर्छौं । प्राकृतिक रुपमा बच्चा जन्माउन के–के गर्नुपर्छ भनेर ३ सेसनमा सिकाइन्छ । २२ देखि २८ र २८ देखि ३४ हप्ता र ३४ पछि अन्तिम परामर्श दिन्छौं । अहिले आफैं पनि परम्परागत सुत्केरीका लागि आउन थालेका छन् ।
कत्तिको खर्चिलो हुन्छ ?
धुलिखेल अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू छ । यो पनि आमा सुरक्षा कार्यक्रमभित्रै पर्छ र सुत्केरी हुँदा पैसा तिर्नुपर्दैन । ३४ हप्तापछि महिलालाई बर्थिङ युनिटमा भिजिट गराउँछौं । उहाँहरुले पहिला नै हेरेर जानुहुन्छ । क्याबिनजस्तो देखेर कति पैसा लाग्छ भनी सोध्नुहुन्छ र पैसा पर्दैन भनेपछि धेरै खुशी हुनुहुन्छ ।
जटिलता आयो भने के गर्नुहुन्छ ?
यो प्राकृतिक रुपमै हुने सुत्केरी हो । शरीरमा पहिला नै अक्सिटोसिन हर्मोन हुन्छ । प्रसव पीडा शुरु भएपछि अनिवार्य रुपमा उत्पादन हुन्छ । औषधि चलाउँदा दुखाइ कम हुन्छ । डरका कारण हर्मोन उत्पादन कम हुन सक्छ । यहाँ सुत्केरी गराउँदा हर्मोन उत्पादन अटोमेटिक हुन्छ । त्यसैले जटिलता अहिलेसम्म आएको छैन ।
चार–चार घन्टामा परीक्षण गर्दा पाठेघर खुलेन भने चिकित्सककोमा पठाइने हुनाले पनि समस्या आएको छैन । व्यवस्थापन समयमै गर्न सफल भएका छौं । गर्भवती महिलाले फोलिकएसिड, आइरन खानुपर्ने बेलामा नखाएका कारण एउटा केस तालु फाटेको बच्चा जन्मियो । यो हामी र परिवार दुवैका लागि नयाँ र पीडादायी विषय भएको थियो ।
त्यो बच्चा हेर्दा हामी र बच्चाका बाबुआमा निकै चिन्तित भयौं । उहाँहरुलाई सम्झाएर बच्चालाई बच्चाकै युनिटमा २४ घन्टा राखी सबै गर्दा बाबुआमा दुवै खुशी हुनुभयो । अब ९ महिनाको भएपछि तालु फाटेको समस्याको शल्यक्रिया गर्ने योजना छ । यो केस देखेको दिनमा हामी आफैंले त्यो बच्चा जन्माएजस्तो दुःख लागेको थियो ।
प्राकृतिक रुपमा बच्चा जन्माउनेको संख्या बढ्यो भने अस्पतालले धान्न सक्छ ?
शुरुमा एउटा बेडबाट शुरु गरेको अहिले २ वटा बेड छ र छिट्टै अर्को बेड पनि थप्दै छौं । प्राकृतिक रुपमा बच्चा जन्माउन कुनै उपकरण चाहिन्न, मात्र जनशक्ति र स्थान भए पुग्छ ।
बेड थप्नुपर्ने भयो भने सोच्नै पर्छ । हाल ३ बेडको मात्र क्षमता छ । गर्भवती महिलामा कुनै समस्या नभएकोलाई मात्र यहाँ ल्याउँछौं । त्यसैले अझै केही वर्ष यहीँबाट धान्न सकिन्छ । बिस्तारै प्राकृतिक रुपमा बच्चा जन्माउने चाहना लिएर आउनेको संख्या बढेको छ ।