वाहा ⁄ कोदो



प्रा डा प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ

हिजोआज उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह, हृदयघात, क्यान्सरजस्ता नसर्ने रोगहरुको महामारीजस्तै भैसकेको छ । ४० वर्षको उमेर काटेपछि उच्च रक्तचाप नहुने मान्छे पाउन गाह्रो छ । त्यसपछि कोलेस्ट्रोल अनि मधुमेहबाट धेरै नेपाली पीडित भैराखेका छन् । हृदयघात, मस्तिष्कघात र क्यान्सरबाट मर्नेहरुको संख्या दिनदिनै बढ्दो छ । अस्वस्थकर जीवनशैली नै यसको प्रमुख कारण हो ।

रोग नलाग्दासम्म मान्छेलाई जीवनशैलीबारे खासै मतलब हुँदैन । जब रोग लाग्छ अनि बल्ल खानपान र व्यायामबारे खोजीनीति हुन्छ । त्यो पनि आधाभन्दा बढी रोगीले जीवनशैली परिवर्तनबारे डाक्टरले दिएको सल्लाह मान्दैनन् ।

जीवनशैलीको प्रमुख खम्बा भनेको खानपान हो । त्यसपछि व्यायाम, मानसिक तनाव व्यवस्थापन र व्यवहार परिवर्तन आउँछ । खानपान परिवर्तन गर्न मान्छेलाई धेरै गाह्रो पर्छ । जिब्रोमा स्वाद बसेको खाना नखाऊ भन्दा उसले धेरै समय मान्दैन । अन्तिममा रोगले थला परेपछि बल्ल चेत खुल्छ ।

मैले यहाँ चर्चा गर्न खोजेको विषय खानपानकै हो । त्यसमा पनि नेपालमा प्रशस्त मात्रामा उब्जनी हुने अन्न–कोदोको बारेमा हो । यसका बारे हिजोआज धेरै चर्चा भैराखेको छ । विशेष गरी मधुमेह रोगबाट पीडितहरुलाई कोदोले धेरै फाइदा गर्छ भन्ने तथ्यहरु सार्वजनिक भैराखेका छन् । स्वास्थ्यका लागि कोदोको के महत्व छ भन्नेबारे चर्चा गर्दै छु ।

अंग्रेजी भाषाको ‘मिलेट्स’ शब्दले एक विशेष जातका अन्नहरुको समूहलाई जनाउँछ, जसभित्र कोदो पनि पर्दछ । ‘मिलेट्स’ को नेपाली शब्द मलाई थाहा भएन । यस समूहभित्र ठूला र साना आकारका अन्नहरु पर्छन्, जुन अफ्रिका र एसियामा उब्जनी हुन्छन् । पानी नभएको सुख्खा ठाउँमा पनि उम्रिने र अन्न दिने यसको मुख्य विशेषता हो । नेपालमा खेती गरिने ५ वटा प्रमुख अन्नहरु धान, गहुँ, मकै, कोदो र फापर हुन् । नेपालमा खेती गरिने ‘मिलेट्स’ मध्ये कोदो (फिङ्गर मिलेट), जुनेलो (सोरधुम मिलेट), कागुनो (फक्सटेल मिलेट) र चिनो (प्रोसो मिलेट) प्रमुख हुन् ।

बोलीचालीको भाषामा सबै प्रकारका ‘मिलेट्स’ लाई हामीले कोदो नै भन्ने गर्दछौं । धेरै नेपालीले दुवै छाक भात खाने गर्दछन् । उच्च पहाडी र हिमाली भेगमा जहाँ चामल पाइँदैन त्यहाँ मकै, कोदो, फापर खाने चलन छ । चामललाई धनीको अन्न र मकै, कोदो, फापरलाई गरिबको अन्न भन्ने चलन छ । मकै, कोदो, फापर आदिको ढिँडो खाने जात भनेर कथित तल्लो जातलाई जनाउने गरेका थुप्रै उदाहरणहरु छन् ।

ढिँडो खानेलाई हेला गर्नेलाई के थाहा कोदोको ढिँडोले मान्छेलाई कति हृष्टपुष्ट र स्वस्थ बनाउँछ भन्ने कुरा ¤ हामीले आज देखिराखेका छौं, दुई छाक चामलको भात खानेलाई मधुमेह र उच्च रक्तचापले सताइरहेछ अनि डाक्टर साबहरुले उनीहरुलाई चामलको भात खान छाडेर कोदाको ढिँडो खाने सल्लाह दिइराखेका छन् । तर चामलको स्वाद बसेको जिब्रोलाई कोदाको ढिँडोको स्वाद मन पराउन गाह्रो परिरहेको छ । स्वास्थ्यलाई चामत्कारिक फाइदा दिने कोदोको बयान सुनेपछि पक्कै पनि कोदोको ढिँडोको स्वाद मन पर्न थाल्नेछ भन्ने आशा गर्दछु ।

कोदो स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । पाचन प्रणाली ठीकठाक छ भने यो सजिलै पच्छ । यो कार्बोहाइड्रेट्स, प्रोटिन र फाइबरको स्रोत हो । यसमा अत्यन्त धेरै पौष्टिक तत्वहरु हुन्छन् । पौष्टिक तत्वको हिसाबले चामल र कोदोबीच तुलनै हुन सक्दैन । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका पौष्टिक तत्वहरु हुन्छन् ।

कोदोमा निहित पौष्टिक तत्वहरु

वैज्ञानिक अनुसन्धानबाट प्रमाणित कोदोका केही स्वास्थ्यवद्र्धक गुणहरु निम्न प्रकार छन्:

१. रगतमा ग्लुकोजको मात्रालाई घटाउँछ ।
२. रक्तचाप घटाउँछ ।
३. एन्टिअक्सिडेन्टको गुण भएको हुनाले मुटुरोग, क्यान्सर आदि घटाउन मद्दत पु¥याउँछ ।
४. कोलेस्ट्रोल घटाउँछ ।
५. एलर्जी कम गर्छ ।
६. कब्जियत कम गर्छ ।
७. छाला चाउरी पर्नबाट बचाउँछ ।
८. तौल घटाउन मद्दत गर्छ ।
९. महिलाहरुको महिनावारी हुँदा पेट दुख्ने समस्यालाई कम गर्छ ।
१०. जोर्नीहरु दुख्ने समस्यालाई कम गर्छ ।
११. कुपोषणबाट बचाउँछ ।
युरोप र अमेरिकामा कोदोको माग बढिराखेको छ । त्यहाँ धेरै मानिसलाई ‘ग्लुटेन’ एलर्जी हुने समस्या छ । ‘ग्लुटेन’ भनेको अन्नहरुमा पाइने एक प्रकारको प्रोटिन हो, जुन गहुँमा धेरै हुन्छ । जुन व्यक्तिलाई ‘ग्लुटेन’ एलर्जी छ उसलाई ‘ग्लुटेन’ भएको खाना पच्दैन र अन्य एलर्जीका लक्षणहरु पनि देखा पर्दछन् । कोदोमा ‘ग्लुटेन’ हुँदैन । यसकारण त्यस्ता व्यक्तिहरुका लागि यो पौष्टिक आहारको राम्रो विकल्प हुनसक्छ ।

मधुमेह र कोदो

तपाईंलाई मधुमेह रोग छ भने दिनदिनै कोदोको परिकार खाने गर्नोस् । यसबाट धेरै फाइदा छ । धेरै मधुमेहीले भातको सट्टा बेलुकी गहुँको रोटी खाने गर्दछन् । मधुमेहीलाई गहुँभन्दा कोदो धेरै गुणा स्वास्थ्यवद्र्धक छ । गहुँको तुलनामा कोदोले रगतमा कमै मात्र ग्लुकोज बढाउँछ ।

यसको ‘ग्लाइसेमिक इन्डेक्स’ कम छ तर पौष्टिक तत्व धेरै छ । कोदोको अत्यन्तै ठूलो गुण भनेको यसले मधुमेहलगायत धेरै नसर्ने रोगहरुको शारीरिक, रासायनिक विकृति इन्सुलिन रेजिस्टेन्स र मेटाबोलिक डिस्अर्डरलाई घटाउन मद्दत गर्छ । मधुमेह रोगमा इन्सुलिन हर्मोनले काम गर्दैन अथवा यसको कम उत्पादन हुन्छ । कोदोले इन्सुलिनको कार्यक्षमता बढाउन मद्दत गर्छ । कोदोले तौल घटाउन मद्दत गर्छ । तौल घट्दा मधुमेह पनि घट्छ ।

कोदो कति खाने र कसरी खाने ?
कोदो धेरै खाँदा नपच्न सक्छ । दैनिक एकछाक कोदो खानु उत्तम हुन्छ । कोदोको विभिन्न परिकारहरु बनाउन सकिन्छ । कोदोको भात, ढिँडो, पुवा, रोटी, सूप आदिलाई मन परेको स्वादमा बनाउन सकिन्छ । कोदो पकाउँदा थोरै घिउ हाल्ने तर चिनी नहाल्ने सल्लाह दिन्छु । चिनीले कोदोको औषधीय गुणलाई बिगारिदिन्छ । स्वादका लागि मरमसला, ड्राइ फ्रुट्स मिसाउँदा राम्रै हुन्छ । कोदोको रोटीमा अण्डा मिसाएर पकाउँदा पनि खूबै स्वादिलो हुन्छ । कोदोका नयाँ–नयाँ परिकारहरु बनाउन सिक्नुपर्छ ।
कोदो खाँदा अपनाउनुपर्ने सावधानीहरु

कोदोमा यदि विषादी रहेछ भने हानि गर्छ । पेट दुख्ने, उल्टी हुने, पखाला चल्ने हुन्छ । पकाउनुअगाडि राम्रोसँग पखाल्नुपर्छ । कोदोमा पौष्टिक तत्वहरुबाहेक स्वास्थ्यलाई हानि पुग्न सक्ने केही खराब तत्वहरु पनि थोरै मात्रामा हुन्छन् । ती हुन्– फाइटिक एसिड, पोलिफेनोल, एन्टी गोइटर आदि ।

यी तत्वले पौष्टिक तत्वहरुको पाचन प्रक्रियामा अवरोध उत्पन्न गर्ने हुन्छ । एन्टी गोइटरले थाइराइड हर्मोन उत्पादनमा असर पार्छ र गलगाँड बढ्ने हुन्छ । यसकारण यस्ता खराबीहरु देखा परेमा भने कोदो खान बन्द गर्नुपर्छ र उपचार खोज्नुपर्छ । कोदोबाट हुनसक्ने धेरैजसो खराबीलाई घटाउन यसलाई राम्रोसँग पखाल्ने, सही तरिकाले पकाउने र ठिक्क मात्रामा खाने गर्नुपर्छ ।

अन्त्यमा, चामलको भात खानेभन्दा कोदाको ढिँडो खाने मान्छे धेरै गुणा बलियो र स्वस्थ हुन्छ । बालबालिकालाई पनि कोदो खान सिकाउनुपर्छ । यसले उनीहरुलाई बलियो र स्वस्थ बनाउँछ । तपाईं–हामीले पनि सुस्वास्थ्यका लागि कोदो खान सिकौं ।

प्रतिक्रिया दिनुहोस्