स्मार्ट फोन चलाउँदा होसियार



आजको डिजिटल युगले मानिसलाई धेरै सहज बनाएको छ । तर यसको सही प्रयोग नहुँदा भने कहिलेकाहीँ क्षति पनि व्यहोर्नुपर्ने हुन्छ । अहिले प्रायजसोको हातमा स्मार्ट मोबाइल फोन देखिन्छ । कुनै अन्य काम नभएको समयमा यही फोन खेलाएर बस्ने आदत नै भइसकेको छ ।

साँच्चै भन्नुपर्दा आजकल मानिसको सबैभन्दा नराम्रो बानी भनेको घन्टौंसम्म स्मार्ट फोन चलाएर बस्नु हो । उनीहरू मोबाइल फोनमा विभिन्न सर्च गर्ने निहुँमा स्क्रोल गरिरहन्छन् ।यसरी लामो समय मोबाइल फोनमा हेरिरहँदा उनीहरूको स्वास्थ्य र दृष्टिमा बिस्तारै असर पु¥याउन सक्छ । यदि तपाईं दिनभर मोबाइल फोन प्रयोग गरिरहनुभएको छ भने अलिकति होसियार हुनुहोस् । किनभने यसले तपाईंको आँखाको ज्योति गुमाउन पनि सक्छ ।

दैनिक अधिक समय स्मार्ट फोनमा बिताएका कारण भारतको हैदरावादकी एक युवतीको आँखाको ज्योति गुम्न पुग्यो । एपोलो अस्पताल, हैदरावादका न्युरोलोजिस्ट डा. सुधीर कुमारले हालै आफ्नो ट्वीटरमा यो कुराको पोस्ट गरी सतर्कताका लागि जानकारीसमेत गराउनुभएको छ । आफ्नो ट्वीटमा डा. सुधीरले लेख्नुभएको छ, ‘सामान्य बानीका कारण एउटी युवतीले दृष्टिविहीन हुनुप¥यो ।’

यदि कुनै व्यक्तिले स्वस्थ जीवनशैलीको दिनचर्या पालना गर्छ भने ऊ सधैँ फिट र स्वस्थ रहन सक्छ । त्यसैले स्वस्थ रहनको लागि स्वस्थ र सन्तुलिन खाना खाने अनि व्यायाम गर्ने सल्लाह जो–कसैले पनि दिने गरेको पाइन्छ । यसका साथै राम्रो बानीको पालना गर्न पनि भनिएको छ । तर कतिपय मानिस यस्ता छन् कि आफ्ना नराम्रा बानी छोड्न सक्दैनन् । त्यसपछि उनीहरुले हैदरावादकी ती युवतीको जस्तै नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ ।

३० वर्षीया मञ्जु नामकी ती युवती डेढ वर्षयतादेखि दृष्टिविहीन हुन पुगेकी हुन् । शुरुमा उनलाई दृष्टि कमजोर भएको महसुस भयो । बिस्तारै उनी कुनै पनि वस्तु देख्न र त्यसमा ध्यान केन्द्रित गर्न असमर्थ हुँदै गइन् । मञ्जुले

अँध्यारोमा लामो समय स्मार्ट फोन चलाउने गरेकाले नै उनको आँखामा क्षति पुगेको चिकित्सकले बताएका छन् ।

अँध्यारोमा फोन चलाउँदाको नतिजा:

डा. सुधीरले बताएअनुसार मञ्जुको हिस्ट्री जाँच गर्दा उनले विगत केही वर्षदेखि घन्टौं स्मार्ट फोनमा बिताउने गरेकी रहिछन् । उनलाई फोनमा समय बिताउने नराम्रो बानी परेको थियो । उनी दिनभर फोनमा फिड स्क्रोल गर्थिन् । दिनमा मात्र होइन, रातमा पनि फोनको प्रयोग अधिक गर्ने गर्थिन् । यति मात्र होइन, उनी रातिको समयमा बत्ती निभाएर अँध्यारोमा मोबाइल फोन चलाउने र हेर्ने गर्थिन् ।

अधिक समय स्मार्ट फोन प्रयोग गर्ने, त्यो पनि रातको समयमा समेत बत्ती निभाएर ¤ यस्तो नराम्रो आदतका कारण मञ्जुलाई भिजन सिन्ड्रोमको समस्या भयो । यसैका कारण उनको आँखाको दृष्टि गुमेकाले धेरै तनावको सामना गर्नुपरेको थियो । उनी आफ्नो आँखाको दृष्टि गुमेपछि मात्र झसङ्ग भइन् ।

डेढ वर्षदेखि भिजन सिन्ड्रोमको समस्या:
मोबाइल फोनमा समय बिताउने लतका कारण मञ्जुले डेढ वर्षदेखि भिजन सिन्ड्रोमजस्तो गम्भीर रोगको सामना गर्नुपरेको डाक्टर सुधीर बताउनुहुन्छ । यही नराम्रो लतका कारण उनको दुवै आँखामा क्षति पुगेको थियो ।

यस क्रममा उनले प्रकाशमा हेर्न गाह्रो हुने, गाढा जिगज्याक लाइनहरूजस्तो देख्ने गर्न थालिन् । त्यसले गर्दा उनले कुनै पनि वस्तुमा ध्यान केन्द्रित गर्न कठिनाइ हुनेजस्ता धेरै लक्षणहरूको सामना गर्नुप¥यो । कहिलेकाहीँ उनले कुनै व्यक्ति वा वस्तुलाई ठम्याउन नै नसक्ने भइन् । अर्थात् उनको आँखाको पूरै दृष्टि गुम्यो । यस्तो अवस्थामा पुगेपछि पो उनलाई दृष्टि गुम्यो भनेर डर लाल्यो । त्यसपछि उनले डाक्टरसँग सल्लाह गरिन् । डाक्टरले अवस्था गम्भीर रहेको बताए ।

कसरी निको भयो त ?

आफूहरुले आँखाको ज्योति फर्काउन वा आँखा निको पार्नका लागि शुरुमै औषधि नदिएको डा. सुधीर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बरु हामीले उनलाई मोबाइल फोन नहेर्न सल्लाह दियौं ।’

उनलाई चिकित्सकले एक महिनासम्म मोबाइल फोन प्रयोग नगर्न सल्लाह दिएका थिए । अत्यावश्यक हुँदा मात्र फोन प्रयोग गर्नुहोस् भनिएको थियो । उनले चिकित्सकको सल्लाहलाई गम्भीरताका साथ अनुशरण गरिन् । करिब एक महिनापछि मञ्जुको आँखा पूरै ठीक भयो । उनले सबै कुरा स्पष्ट देख्न सकिन् । त्यसै गरी उनलाई कुनै वस्तुमा ध्यान केन्द्रित गर्न समस्या भएन । यसको मतलब उनी राम्रैसँग देख्न सक्ने भइन् ।

आँखा हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । आँखाको दृष्टि गुम्यो भने हाम्रो जीवन नै सधैँको लागि अन्धकार हुन्छ । त्यसैले आँखाको उचित हेरचाह गर्नु हाम्रो दायित्व हो । त्यसैले घन्टौं मोबाइलमा झुन्डिरहने बानी हटाउने प्रण आजैदेखि गरौं । घन्टौं स्मार्ट फोनको प्रयोग गर्दा आँखाको ज्योति गुम्न सक्ने कुरा मञ्जुको घटनाबाट पुष्टि भएको छ । त्यसैले अत्यावश्यक काममा मात्र स्मार्ट फोनको प्रयोग गरौं ।

आजकल प्रायः बच्चाहरुलाई मोबाइल हेर्न नदिएसम्म खाना खुवाउन पनि नसक्ने अवस्था आएको देखिन्छ । उनीहरु यसको आदतमा फसिसकेकाले दृष्टि गुम्न सक्ने जोखिम बढ्दो छ । त्यसैले आफ्ना बच्चाहरुलाई आजैदेखि मोबाइल फोनबाट टाढै राख्ने कोशिश गर्नु बुद्धिमानी हुन्छ । यसबाहेक आँखाको ज्योति सुरक्षित राख्न ल्यापटप तथा कम्प्युटरको अधिक प्रयोगमा पनि नियन्त्रण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्