पाठेघरमा मासु पलाउने समस्या



प्रा .डा .सुमनराज ताम्राकार

४७ वर्षकी मेलिना प्रत्येक पटकको महिनावारीमा धेरै रगत जाने र तल्लो पेट पनि निकै दुख्ने समस्याबाट पीडित थिइन् । यसकै उपचारका लागि उनी अस्पताल आएकी थिइन् । चेकअपको क्रममा पाठेघरमा मासु पलाएको हुनसक्ने आशंकाले उनको भिडियो एक्सरे गराउँदा पाठेघरमा मासु पलाएको देखियो ।

उक्त समस्याको निराकरणका लागि ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघर निकाल्ने शल्यक्रिया गरियो । यदि यही समस्या २५÷२६ वर्षकी महिलामा भएको भए अर्थात् बच्चा पाउन नै बाँकी भएको उमेरकी महिलामा भएको भए सामान्यतया पाठेघर निकालिँदैनथ्यो । पाठेघरमा पछि पलाएको मासु मात्र निकाल्ने शल्यक्रिया (मायोमेक्टोमी) मात्र गरिन्थ्यो ।

स्त्रीरोग विभागको बहिरंगमा आउने प्रायः महिलाका गुनासा– महिनावारी गडबडी, असामान्य योनिश्राव, तल्लो पेट दुख्ने, तल्लो पेटमा डल्लो आउने, आङ खस्ने, सन्तान नहुने, ट्युमर वा क्यान्सर पलाउने आदि हुन् ।

तल्लो पेटमा डल्लो आउने समस्या लिई आउनेमध्ये करिब ३ प्रतिशतमा फाइब्रोइडको समस्या हुने गरेको छ । बढीजसो ३५ देखि ४५ वर्ष उमेरका महिलालाई फाइब्रोइडको समस्या हुनसक्छ । धेरै वा थोरै संख्यामा भए पनि ४० वर्षको उमेर पुग्ने बेलासम्म करिब २० प्रतिशत महिलामा पाठेघरमा मासु पलाउने समस्या हुनसक्छ ।

यसरी विभिन्न प्रकारका स्त्रीरोग समस्याको पहिचानको क्रममा भिडियो एक्सरेको उपयोगिताले पाठेघरमा मासु पलाउने समस्यालगायतका अन्य समस्या पत्ता लगाउन सम्भव भएको छ । र, उपचारकै हकमा नेपालमा पनि ल्पाप्रोस्कोपी प्रविधिबाट स्त्रीरोगसम्बन्धी उपचारहरु गर्न सम्भव भएको छ । बिरामी चाँडै तङ्ग्रिने, अस्पतालमा कम समय बसे पुग्ने, शल्यक्रियापछि पीडा पनि कम हुने र चाँडै काममा फर्किन मिल्ने भएकोले पछिल्लो समय ल्याप्रोस्कोपी प्रविधि लोकप्रिय हुँदै गएको छ ।

फाइब्रोइडका कारण र जोखिम

पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) हुनाको प्रस्ट कारण नभए पनि करिब ३० प्रतिशतमा वंशाणुगत र अन्यमा शारीरिक वृद्धि गराउने विभिन्न तत्वहरुले इस्ट्रोजेन नामक हर्मोनमार्पmत फाइब्रोइड गराउन सक्छ ।

फाइब्रोइडको वृद्धि इस्ट्रोजेनमा आधारित छ भन्ने कुरा बच्चा पाउने उमेरमा, गर्भवती बेलामा, इस्ट्रोजेन ग्राह्य केन्द्र बढी भएकामा फाइब्रोइड हुने र किशोरी अवस्थापूर्व र महिनावारी सुकेपछि नहुनेबाट प्रस्ट हुन्छ । प्रायः फाइब्रोइडको समस्यासँगै महिनावारी गडबडी पनि हुन्छ ।

बच्चा नपाएका, उच्च मोटोपना भएका, इस्ट्रोजेनको मात्रा बढ्ता भएका तथा काला जातिका मानिसहरुमा फाइब्रोइड बढ्ता हुने गरेको छ । गर्भावस्था तथा पिल्स चक्की खाइरहेकामा पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) तीव्र गतिमा बढ्ने गरेको छ ।

लक्षण चिह्न

यो समस्यामा करिब ७५ प्रतिशतमा कुनै लक्षण चिह्न देखा नपर्न सक्छ । अन्यमा महिनावारी हुँदा अधिक रक्तश्राव हुने, सानो पेट दुख्ने, निःसन्तान हुने, सानो पेटमा डल्लो भेटिने तथा गर्भ रह्यो भने गर्भ तुहिने, महिना नपुग्दै व्यथा लाग्ने तथा बच्चा सानो हुने हुन्छ ।

फाइब्रोइड प्रायः पाठेघरको माथिल्लो भाग र धेरै संख्यामा हुन्छ । पाठेघरको मध्य तहबाट शुरु हुने फाइब्रोइड समस्या समयक्रमसँगै पाठेघरको बाहिरतिर वा भित्री भागतिर बढ्छ । पाठेघरको भित्री तहतिर बढ्ने सम्भावना कम भए पनि यस प्रकारको फाइब्रोइड चाँडै कुहिने र संक्रमण (फाइब्रोइडका जटिलताहरु) हुने कारणले महिनावारीको बेला बढ्ता रक्तश्राव गराउँछ ।

बिरामीको गुनासो अनुसार पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) को शंका गरी आन्तरिक परीक्षण वा सानो पेट जाँच (यदि फाइब्रोइडको आकार ठूलै छ भने) गर्दा कडा खालको, अनियमित सतह भएको, बाह्य सतह प्रस्ट भएको दायाँ–बायाँतिर मात्र चलाउन मिल्ने हुन्छ । आन्तरिक परीक्षणको क्रममा फाइब्रोइड पाठेघरबाट (डिम्बाशयजस्तै) छुट्टै भेटिँदैन र पेटबाट फाइब्रोइड समाएर चलाएको खण्डमा पाठेघरको मुख पनि चल्दछ ।

गर्भावस्था, पिसाब थुनिदा, डिम्बाशयको ट्युमर हुँदा, पाठेघर पूरै बढ्ने अवस्था (एडेनोमायोसिस), पाठेघरमा पीप वा रगत जम्ने अवस्था एवं पाठेघर तथा पाठेघरको क्यान्सरसँग पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) झुक्किन सक्छ । अतः विस्तृत जाँच पड्ताल गराउनुपर्दछ ।

पिसाब जम्मा गरेर गरिने अल्ट्रासाउन्डबाट धेरैजसो फाइब्रोइड पत्ता लाग्नुका साथै डिम्बाशयको ट्युमर वा गर्भावस्था पनि छुट्याउन सकिन्छ । पाठेघरको भित्री तहमा हुने फाइब्रोइडका लागि हिस्टोरोस्कोपी (पाठेघरभित्र दूरबिनले हेरी गरिने जाँच) तथा सानो खालको फाइब्रोइड, सानो पेट दुख्ने एवं निःसन्तान समस्या भएकामा ल्याप्रोस्कोपी गरी फाइब्रोइड वा अन्य कुनै समस्या पत्ता लगाउनु उपयुक्त हुन्छ ।

उपचार

करिब २५ प्रतिशतमा पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) सँगै लक्षण चिह्न देखा पर्दछ । महिनावारी तथा शल्यक्रिया दौरान रक्तश्राव घटाउन, कतिपय निःसन्तान तथा महिनावारी सुक्न लागेका बिरामीमा तथा थोरै समय शल्यक्रिया सार्नलाई फाइब्रोइडको लागि मेडिकल उपचार गर्न सकिन्छ ।

यदि पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) को आकार सानो छ, फाइब्रोइड नै हो भन्ने निक्र्यौल भएको छ, बेलाबेलामा फलो अप जाँच गर्न सकिन्छ र फाइब्रोइडको कारण कुनै लक्षण चिह्न (अधिक रक्तश्राव÷दुखाइ) देखा परेको छैन भने तत्काल उपचार गर्नुपर्ने जरुरत छैन ।

शल्यक्रिया चाहिने स्त्रीरोगसम्बन्धी विभिन्न समस्याहरुमध्ये फाइब्रोइड पनि एक हो । फाइब्रोइडको हकमा पाठेघर पूरै निकाल्ने वा मासु पलाएको मात्र निकाल्ने भन्ने विकल्पहरु छन् । यसका लागि पेटमा ठूलो घाउ बनाउने वा स–साना प्वाल मात्र बनाई ल्याप्रोस्कोपीबाट वा पाठेघरभित्रै दूरबिन छिराई पलाएको मासु निकाल्नेजस्ता विकल्प पनि छन् ।

त्यसो त विकसित देशहरुमा पाठेघरभित्र फरक तवरको औजार छिराई पलाएको मासु धुल्याउने वा पाठेघरमा रगत सप्लाइ गर्ने नसामा विशेष खालको औषधि राखी पलाएको मासु सुकाउने प्रविधि पनि आइसकेको छ ।

सन्तानको रहर पुगिसकेका तथा ४० वर्ष नाघेकालाई पाठेघर निकाल्ने शल्यक्रिया गरिन्छ । बच्चा पाउन बाँकी वा बच्चा पाउन इच्छुक महिलाको हकमा फाइब्रोइड (मासुको डल्लो) मात्र निकाल्ने शल्यक्रिया (मायोमेक्टोमी) गर्न सकिन्छ । फाइब्रोइडको प्रकृति, अवस्थिति, आकार तथा उपचार विधिको उपलब्धता अनुसार ल्याप्रोस्कोपी वा हिस्टेरोस्कोपीबाट पनि फाइब्रोइडको सफल उपचार गर्न सकिन्छ ।

कहिलेकाहीँ पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) पाठेघरको तल्लो भागमा पलाउन सक्छ । यसको अवस्थिति अनुसार पिसाब, मलद्वारसम्बन्धी तथा रक्तनली थिचिनाले तत्सम्बन्धी लक्षण चिह्न देखा पर्न सक्दछ । यस्ता खाले फाइब्रोइडको व्यवस्थापन छुट्टै खालले गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्