स्वस्थ जीवनशैलीका लागि अष्टाङ्ग योग



डा. क्षितिज बराकोटी प्राकृतिक चिकित्सक

आफूलाई स्वस्थ र सकारात्मक बनाई समाजमा व्यावहारिक ढंगले जीवनयापन गर्नको लागि अनुशासित हुन अति आवश्यक छ । महर्षि पतञ्जलीले योगदर्शनमा अष्टाङ्ग योगलाई सूत्रबद्ध गरी विभिन्न अनुशासनहरुको बारेमा चर्चा गरेका छन्, जुन वर्तमान समयमा पनि त्यत्तिकै महत्वपूर्ण रहेको छ । सबैका लागि आवश्यक पर्ने यौगिक जीवनशैलीलाई अष्टाङ्ग योगले व्याख्या गरेको छ । पतञ्जलीको योग दर्शनका अनुसार योगका आठ अङ्गहरुमध्ये पहिलो अङ्ग हो– यम ।

योगमा यमले व्यक्तिको समाज र प्राणीहरुप्रतिको दायित्व, सकारात्मक व्यवहार र अनुशासनलाई जनाउँछ । यी अनुशासनहरु (यम) पाँचवटा छन् । ती हुन्– अहिंसा, सत्य, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य । स्वस्थ जीवनशैलीका लागि हामीले यमका प्रकार तथा यी अनुशासन (यम) को पालना गर्दा र नगर्दा हुने प्रभाव एवं असर वा लाभ–हानिको बारेमा जान्नु जरुरी छ ।

यम र यसको प्रयोग गर्दा/नगर्दा हुने लाभ/हानिहरु

पहिलो यम– अहिंसा
यमको पहिलो अनुशासन हो– अहिंसा । यसलाई व्यक्तिले समाज र प्राणीहरुप्रति अपनाउनुपर्ने सामाजिक अनुशासन मानिन्छ । कुनै पनि प्राणीप्रति नराम्रो सोच्नु, दुर्वचन बोल्नु, दुःख दिनु, झै-झगडा गर्नु एवम् मारकाट गर्नु वा दुव्र्यवहार गर्नु हिंसा मानिन्छ । त्यसैले कायिक अर्थात् शरीर वा कर्मले, वाचिक अर्थात् बोलीवचनले र मानसिक अर्थात् मनले कसैप्रति कुभलो नगर्ने, दुःख–कष्ट नदिने, चोट नपुर्‍याउने, सोच वा कल्पनासम्म पनि नगर्ने र सदैव मन, वचन र कर्मले सबैप्रति राम्रो व्यवहार गर्नु नै अहिंसाको पालना गर्नु हो ।

अहिंसात्मक सोचका लाभहरु: अहिंसा सकारात्मक सोच र व्यवहार हो । जब हामी सबैको राम्रो होस् भन्ने सोच्दछौं वास्तवमै अरुको मात्र नभई त्यसको सकारात्मक प्रभाव आफूमा पनि पर्न गई आफूलाई पनि राम्रो हुन्छ । शरीर वा कामले अरुलाई हिंसा नगर्दा, राम्रो र मीठो बोलीवचन गर्दा, हँसिलो र अनुशासित भएर क्रियाकलाप गर्दा र मनले पनि सबैको भलो होस्, कसैको नराम्रो नहोस् भन्ने सोच्दा यसबाट मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ र अनेक मनोशारीरिक लाभहरु प्राप्त हुन्छन् ।

सकारात्मक सोच र व्यवहारबाट शरीरभित्र पनि सकारात्मक वा खुशी, आनन्द उत्पन्न गर्ने हर्मोनहरुको स्राव वृद्धि, आराम र निद्रा दिने रसायनको वृद्धि, मस्तिष्क तरंग तथा स्नायुविक कार्यहरुमा सकारात्मक प्रभाव र सबै प्रणालीहरुको क्षमता तथा कार्यमा राम्रो प्रभाव पर्दछ । यदि हामीले अरुप्रति राम्रो सोच्यौं र राम्रो व्यवहार गर्‍यौं भने हामीलाई पनि अरुले राम्रो सोच्ने र सोही खालको व्यवहार गर्ने हुन्छ । यसबाट व्यक्ति–व्यक्तिबीच आत्मीयता, प्रेम र सद्भाव कायम रहन्छ ।

हिंसात्मक सोचका हानिहरु:  हिंसा भनेको नकारात्मक सोचविचार तथा व्यवहार हो । जब एउटा नकारात्मक भाव मनमा आउँछ तब पछि–पछि लाइन लागेर अरु नकारात्मक भाव वा विचारहरु पनि जोडिन आउँछन् । हिंसाको विचार जन्मिएपछि अरुप्रति नराम्रो होस् भन्ने कामनाको अभिव्यक्ति हुन थाल्छ, अरुको कुभलोको सोच तथा कल्पना गरिन्छ र अन्त्यमा यस्तो सोचबाट सोही खालको व्यवहार र कार्य गरिने हुन्छ ।

 

मनमनै गरिएको हिंसाबाट रिस उठ्ने, चिन्ता र तनावग्रस्त बनाउने हुन्छ ।

 

यसबाट मानसिक स्वास्थ्य खराब हुने, नकारात्मक संवेगहरु झन्–झन् बढ्दै जाने हुन्छ । मानिसमा अरुप्रति घृणाको भाव जन्मने, रिस उठ्ने, अरुलाई नराम्रो गर्छु भन्ने सोच आउने र सोही अनुरुपका योजनाहरु बुन्ने कार्यको थालनी हुन्छ । यसबाट व्यक्तिमा चरम हिंसात्मक प्रवृत्ति आउन सक्छ, जसले उसलाई आपराधिक कर्ममा धकेल्छ र ठूलो समस्यामा पार्दछ । हिंसात्मक सोच–व्यवहार गर्नेको संगत त्यस्तै व्यक्तिहरुमा पर्न जान्छ र यसबाट उम्किन निकै कठिन हुन्छ । त्यसैले हिंसाबाट जोगिन अहिंसाको चिन्तन र व्यवहारहरु अपनाउनु अनिवार्य छ ।
दोस्रो यम– सत्य
असत्य चिताउनु, झुटो बोल्नु र झुटा कामहरु गर्नु-गराउनु असत्य हो भने सबैप्रति साँचो व्यवहार गर्नु, सत्य कुरा बोल्नु र सदैव सत्यप्रति निष्ठावान् रहनुलाई सत्य भनिन्छ ।

सत्यबाट हुने लाभहरु: सत्यको प्रभाव सकारात्मक हुन्छ । साँचो बोल्ने व्यक्ति डराउँदैन, झुक्दैन तर उसमा आत्मविश्वासको वृद्धि भैरहन्छ । निष्ठावान् व्यक्ति सदैव सदाचारयुक्त भइरहन्छ । सदाचारिता र निष्ठाबाट उसलाई अझै राम्रो काम गर्ने आत्मप्रेरणा प्राप्त हुन्छ ।

निरन्तरको सत्यनिष्ठा र सदाचारले व्यक्तिलाई सदैव माथि उठाउँछ । समाजमा उसलाई सबैले आदर्शको रुपमा लिन्छन् र ऊ वास्तवमै महान् बन्दछ । सत्यवादिता अपनाउने व्यक्तिको आचरण र व्यवहार ठीक हुन्छ । सत्य कार्यबाट उसमा भय, तनाव, चिन्ताजस्ता नकारात्मक मनोभावहरु हुँदैनन्, जसले गर्दा उसको मानसिक स्वास्थ्यको स्तर उच्च हुन्छ र व्यवहारहरु समायोजित एवं सकारात्मक रहन्छन् ।

सत्य निष्ठाको पालनाले सदाचारिता, कर्तव्य परायणता र इमानदारिताको पालना हुन्छ, जसबाट मान, सम्मान र खुशी प्राप्त हुन्छ । सत्यको प्रयोगबाट सामाजिक र आध्यात्मिक स्तरमा वृद्धिसमेत हुन्छ । सत्वचन, सत्कार्य, सत्संग, सत्भाव र सत्संकल्पजस्ता नियमहरुको पालनाबाट सत्यलाई प्रयोगमा ल्याउन सकिन्छ ।

असत्यबाट हुने हानिहरु: सत्यको विपरीत असत्यको प्रयोगबाट व्यक्तित्वको पतन हुन थाल्छ । झुटो धेरै दिन टिक्दैन । झुटो कल्पना, सोच र कार्यबाट अरुलाई हानि पुग्ने त हुन्छ नै, व्यक्ति स्वयंलाई समेत यसले क्षति पुर्‍याउँछ ।

 

असत्यबाट भ्रष्टाचार, अनैतिकता, अकर्मण्यता, चिन्ता, डर, छटपटी, तनाव र डिप्रेसनसम्मका समस्याहरु आउँछन् ।

 

असत्यबाट अविश्वास जन्मिन्छ र व्यक्तिले घर–परिवार र समाजमा समेत आफूलाई समायोजन गर्न नसकी ऊ कुसंगत र कुलतमा फस्ने हुन्छ र क्रमिक रुपमा उसको सामाजिक, मानसिक तथा संवेगात्मक स्वास्थ्यको अवस्था गम्भीरतातिर जान सक्दछ । असत्यले व्यक्तिलाई ढिलो–चाँडो समाजका अगाडि नाङ्गो पार्छ र आपराधिक पुष्टि हुन जान्छ । अरुको अगाडि सत्यको ढोंग गर्ने तर वास्तविकतामा झुटो जीवनयापन गर्नेहरु धेरै दिन टिक्दैनन् ।

तेस्रो यम– अस्तेय

अस्तेयको अर्थ हो– चोरी नगर्नु । चोर्नु वा चोर्ने उद्देश्य लिनु, ठग्नु शोषण गर्नु, घूस खानु, भ्रष्टाचार गर्नु आदि विभिन्न खाले चोरी (स्तेय) का रुपहरु हुन् । मन, वचन र कार्यद्वारा चोरी गर्नुहुँदैन भन्ने कुरा यमले सिकाउँछ ।

अस्तेयबाट हुने लाभहरु: लोभलालचमा नफस्ने र अरुको सम्पत्तिमा ध्यान नदिने व्यक्तिमा कुनै समस्या आउँदैन । ऊभित्र नकारात्मक भाव वा चोर्ने, ठग्ने, भ्रष्टाचार गर्ने, घूस खाने गर्दैन । यसबाट उसको छवि स्वच्छ बन्दछ । उसमा आत्मनिष्ठा र इमानदारिताको वृद्धि हुन्छ । उसको मन र हृदयमा सदैव केही राम्रो गरौं भन्ने निस्काम कर्मयोगको बास भैरहन्छ । यस्ता व्यक्ति जे–जति आफूसँग छन् त्यसमै रमाउने र खुशी हुने हुन्छन् । उनीहरुमा सन्तुष्टि र आत्मनिर्भरता कायम रहन्छ । अस्तेयको प्रयोग गर्ने व्यक्तिहरुको मानसिक, सांवेगिक तथा आध्यात्मिक स्वास्थ्यको अवस्था पनि राम्रो हुन्छ ।

स्तेयबाट हुने हानिहरु: अस्तेय नचोर्नु हो भने स्तेयको अर्थ चोरी गर्नु हो, यो एक अपराध हो । अरुको वस्तुमा आँखा लगाउने, लोभ गर्ने र चोर्ने कार्यले व्यक्तिलाई आपराधिक बनाउँछ । कसैको अनुमतिविना उसको अधिकारमा रहेको वस्तु, सेवा आदिको प्रयोग गर्नु पनि चोरी हो । व्यक्ति, समाज वा राष्ट्रको सम्पत्तिको दुरुपयोग पनि चोरी हो ।

भौतिक सम्पत्ति मात्र हैन बौद्धिक सम्पत्तिको समेत चोरी भैरहेको पाइन्छ । चोरीबाट मनमा पस्ने थप लोभलालच, अरुले थाहा पाउला व समातिएला कि भन्ने त्रास, तनाव, चिन्ता, चेतना आएपछि हुने आत्मग्लानि, गल्तीबोधजस्ता नकारात्मक संवेगहरु बढ्न सक्ने हुँदा यसबाट उसको मानसिक स्वास्थ्यमा समेत समस्या आउँछ ।

हुन त चोरी गर्नु स्वयं एक मानसिक समस्या नै हो, तथापि चोरी गरौं–गरौं लाग्ने र चोरी गर्ने मनोसमस्या क्लेप्टोमेनियाभन्दा जानाजान योजना बनाएर चोर्नु र चोर्ने कल्पना गर्नु पनि एक मनोसमस्या नै हो । जब आफैँप्रति सचेत भइन्छ तब हामी अस्तेयको पालना गर्न सक्छौं ।

चौथो यम– ब्रह्मचर्य

कतिपय व्यक्तिहरु बिहे नगरी बस्नुलाई मात्र ब्रह्मचर्य हो भन्ने सम्झन्छन्, तर त्यसो होइन । ब्रह्मविचार र ब्रह्मज्ञानमा समर्पित गर्नु वास्तविक ब्रह्मचर्य हो । साथै विषयवासनामा लिप्त भई इन्द्रिय–सुखमा मात्र ध्यान दिनु एवं अनावश्यकरुपले मन, वचन र कर्मले भोगविलासमा लिप्त हुनु पनि ब्रह्मचर्यको विपरीत कार्य हो । यसरी नै व्यभिचारी बन्नु, बहुविवाह गर्नु, अश्लील क्रियाकलापहरु अपनाउनु, परस्त्रीप्रति नकारात्मक भाव उत्पन्न गर्नु आदि गरेर शारीरिक, चारित्रिक एवम् मानसिक शक्ति नाश गर्नुलाई ब्रह्मचर्य पालना नगरेको मानिन्छ ।

ब्रह्मचर्यबाट हुने लाभहरु: ब्रह्मविचार वा ब्रह्मज्ञानतिर मनलाई लैजानु स्वयंमा सात्विक भावको विकास गर्नु हो, जसबाट आध्यात्मिक उन्नति र अन्तरचेतनाको विकास हुन्छ । यस्तो कार्यमा लाग्ने व्यक्तिहरु विषयवासनाबाट विमुख हुन्छन् । यसरी नै यौनजीवनलाई अनुशासित र चरित्र निर्माणको पक्षमा जागरुक हुँदा व्यक्तिको समग्र विकास हुन थाल्दछ । ब्रह्मचर्यको प्रयोगबाट सात्विक प्रवृत्तिको निर्माण र यसबाट सकारात्मक भावहरुको जन्म तथा विकास हुन्छ ।

ब्रह्मचारीमा दया, माया, करुणा, त्याग, प्रेम, सदाचारिता, सत्चरित्रजस्ता गुणहरु विकास हुन्छन्, जसबाट शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा भावनात्मक स्वास्थ्यका पक्षहरु बलियो बन्दछन् ।

अब्रह्मचर्यताबाट हुने हानिहरु: अब्रह्मचर्यताबाट अज्ञानता, राजसिक एवं तामसिक प्रवृत्तिहरुको विकास हुन्छ । यसबाट चित्त एवं मनमा नकारात्मकता हाबी हुन्छ, जसले इन्द्रियहरुलाई भौतिक सुख र विषयवासनातिर मोह जगाउँछ । इन्द्रियहरु (पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र एघारौं इन्द्रिय मन) लाई नियन्त्रण गर्न नसकेमा आशक्तिको परिणामस्वरुप अनेक समस्याहरु आउन सक्छन्, जसबाट व्यक्तिको पतन हुन्छ । यसबाट व्यक्तित्व, शारीरिक तथा मानसिक स्वास्थ्य र सामाजिक, चारित्रिक एवं आध्यात्मिक सबै पक्षहरुमा क्षति पुग्छ ।

पाँचौँ यम– अपरिग्रह

अपरिग्रहको अर्थ आफ्नो जीवन निर्वाहको लागि चाहिनेभन्दा बढी भौतिक साधनहरु जम्मा नगर्नु हो । लोभी बनेर आफूलाई चाहिनेभन्दा बढी धनसम्पत्ति एवम् सामानहरुको सञ्चय गर्नुहुँदैन भन्नेबारे अपरिग्रहले सिकाउँछ । अनावश्यक सामग्रीहरुको सङ्ग्रह गर्नु, क्षमता छ भन्दैमा जे पनि जम्मा गर्नु, अरुको वस्तु पनि आफैँलाई चाहिनु आदि अपरिग्रहका उदाहरणहरु हुन् ।

अपरिग्रहको प्रयोग गर्दा हुने लाभहरु: अनावश्यक भौतिक सम्पत्तिको जोरजाम नगर्दा त्यसले मन शान्त रहने, सरसामान कम भए पनि सन्तुष्टिको अनुभव हुने, सामानको संरक्षणप्रतिको चिन्ता नहुने र अति महत्वाकांक्षा हट्ने हुन्छ । मनमा बेचैनी नभई प्रसन्नता आउने हुन्छ । अपरिग्रहको प्रयोगबाट मनोभावहरुमा सकारात्मकता आएर मानसिक स्वास्थ्य पनि उन्नत हुन थाल्दछ । यसबाट सादा जीवन उच्च विचारको साथमा सदाचारिताको जन्म हुन्छ । आफूसँग बढी भएका वस्तुहरु अरुलाई बाँड्नु पनि अपरिग्रह हो । यसबाट समत्व र अपनत्वको भाव विकास हुन्छ ।

अपरिग्रहको प्रयोग नगर्दा हुने हानिहरु : अपरिग्रहको प्रयोग नगर्दा अनावश्यक चिन्ता, दुःख र असमानताको भावना उत्पन्न हुन्छ । मानिसलाई जति भए पनि पुग्दैन । जति सुख भए पनि त्योभन्दा बढी पाऊँ भन्ने इच्छा जागृत हुन्छ । लोभलालच र आकांक्षाहरु झन्–झन् बढी हुन थाल्छन् ।

यसबाट उसमा नकारात्मक भावहरु बढ्ने र अति महत्वाकांक्षा आउन थाल्छ । जसरी पनि चाहेको साधनको परिपूर्ति गर्ने बानीबाट गलत कार्यतिर उन्मुख हुने हुन्छ र ऊ भ्रष्टाचारी बन्न पुग्छ । यसबाट असन्तुष्टि, जति भए पनि नपुग्ने मानसिकता, बढी जम्मा गरेको भौतिक सम्पत्ति संरक्षणको चिन्ता र असुरक्षाको भाव जन्मिन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य अवस्थामा गडबडी आउन सक्ने, अनेक मनोवैज्ञानिक प्रभावहरु उत्पन्न हुनेलगायत सामाजिक असमानता र सम्बन्धमा समस्या अनि आध्यात्मिक उन्नतिमा समेत बाधा आउन सक्छ ।

योग एक महत्त्वपूर्ण विज्ञान हो, जसले समग्र स्वास्थ्यका पक्षलाई विकास गर्दछ भने आध्यात्मिक चेतनाको ढोका खोल्दछ । यम योगको पहिलो आधार हो । आसन, प्राणायाम, धारणा, ध्यान आदिको अभ्यास गरेर मात्र योग हुँदैन । यमको प्रयोगविना योग हुँदै नहुने हुनाले यसको अभ्यास अति महत्त्वपूर्ण छ । जीवनलाई सुखी र खुशी दिने सफलताको सूत्रको रुपमा यमको प्रयोग अपरिहार्य छ ।

(पतञ्जलीको योग दर्शनका आठ अङ्गहरुमध्ये अन्य ७ अङ्गहरुको पनि क्रमशः वर्णन गरिनेछ ।)

प्रतिक्रिया दिनुहोस्