मदिरा सेवन : भ्रम र यथार्थ



श्रीरामसिंह बस्नेत

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १०३ वर्षको असाधारण दीर्घ जीवनयापन गरी गतवर्ष संसारबाट बिदा हुनुभयो । उहाँको जीवन लामो मात्र थिएन, सक्रिय पनि थियो । अस्पताल भर्ना हुनुअघिसम्म पनि उहाँले आफ्नो क्रियाशील दैनिक जीवन बिताइरहनुभएको थियो । उहाँले हरेक साँझ आफ्नै घरमा बनाइएको शुद्ध ‘अयला’ (मदिरा) दुई पाला सेवन गर्ने गरेको एक अन्तर्वार्तामा बताउनुभएको थियो ।

खुशवन्त सिंह भारतका एक सुप्रसिद्ध लेखक, स्तम्भकार र सांसद थिए । ९९ वर्षसम्म यस संसारमा रहेका उनको हरेक साँझ एक लार्ज पेग दैनिक जीवनको अभिन्न हिस्सा थियो । यस्ता उदाहरण अनगिन्ती पाइन्छन् । यसै गरी अत्यधिक मदिराकै कारण आफ्नो व्यक्तिगत र पारिवारिक जीवन ध्वस्त पार्नेहरुको उदाहरण झन् बढी पाइन्छ ।

मानव समाजमा मदिराको आविष्कार कहिले, कहाँ, कसरी भयो भन्ने प्रश्नको यकिन जवाफ उपलब्ध नभए पनि धार्मिक ग्रन्थहरु पल्टाउँदा मदिरासम्बन्धी चर्चा भने पाइन्छ । हिन्दू देवताहरुबीच ‘सोमरस’ लोकप्रिय रहेको चर्चा पाइन्छ भने स्वर्गका राजा इन्द्रको सभा सुरा र सुन्दरीका लागि विशेष चर्चित रहेको छ । यद्यपि कट्टर वैष्णवमार्गी हिन्दूहरुमा मदिरा र पशुबलि वर्जित छ । तर शक्तिस्वरुपा भगवती, भैरव, महाङ्काल आदिलाई बलि र मदिरा चढाउने गरिएको छ ।

इसाई धर्ममा पनि ‘होली वाइन’ (पवित्र मदिरा)को चर्चा मनग्य पाइन्छ । तर इस्लाम धर्ममा भने मदिरालाई त्याज्य (त्याग्नयोग्य) पदार्थ मानिएको छ । त्यसैले इस्लामिक मुलुकहरुमा मदिरा खुला रुपमा प्रयोग गर्न बन्देज छ । तर रमाइलो यथार्थ के छ भने, मदिराको गुणगानमा उर्दु र फारसी साहित्यमा जत्तिको सुन्दर रचनाहरु अरु भाषाका साहित्यमा विरलै पाइन्छन् । भगवान् बुद्ध अहिंसावादी र सच्चरित्रका आदर्श भएकाले मदिरा र पशुवध उनका लागि स्वीकार्य थिएन ।

तर उनीपछि बौद्ध धर्म विभिन्न मतमा विभाजित भएकाले कोही बौद्धमार्गीहरु मदिरालाई पूरै त्याज्य मान्दछन् भने कोही बौद्धमार्गीहरु स्वीकार्य । विशेष गरी बौद्धधर्ममा तन्त्रवादले स्थान पाएपछि पशुबलि र मदिरा प्रचलित भएको मानिन्छ । के खाने, के नखाने भन्ने यी सबै नियमहरुलाई धार्मिक आवरण दिइए पनि आखिर बनाएका त मानिसहरुले नै हुन् । त्यसैले मानिसको अन्तरमनको इच्छाशक्तिले नै समयअनुसार सबै कुरा निर्धारण गर्दछ । मदिराको मामिलामा पनि त्यही नै हो ।

मदिरा किन बदनाम ?

मदिरा बदनाम नै हुनुपर्ने पदार्थ होइन । वास्तवमा भन्ने हो भने मदिरा पिएर स्वास्नी कुट्ने र अरुसँग झैझगडा गर्नेहरुका कारण हाम्रो समाजमा मदिरा बदनाम भएको हो । युरोप, अमेरिकालगायतका देशमा मदिरा सेवन गरेर स्वास्नी कुट्ने गलत चलन छैन, त्यसैले त्यहाँ मदिरा बदनाम छैन । मदिराको दुरुपयोग गर्नेहरुका कारण यसलाई नकारात्मक रुपमा लिने गरेको पाइन्छ ।

मदिरा उत्पादनको वैज्ञानिक प्रक्रियालाई राम्ररी अध्ययन र अवलोकन गर्ने हो भने यसको शुद्धताबारे थाहा पाइन्छ । टाढा जानुपर्दैन, हाम्रै समाजमा मदिरा सेवनको परम्परा भएका परिवारमा आफ्नै घरायसी प्रयोजनका लागि बनाइएको अयला वा रक्सीको उत्पादन प्रक्रिया हेरे, बुझे पुग्छ । तर गलत व्यापारिक प्रयोजनले बनाइएका र बदनीयत राखेर बनाइएका मदिराले भने दशौं व्यक्तिको ज्यान एकैपटक लिन सक्छ । सीमापारि भारतीय बस्तीहरुमा यस्ता दुःखद घटना बारम्बार हुने गरेका छन् ।

 

मदिरा सेवनको प्रभाव

मदिरा सेवन गर्ने मानिसमा अनेकौं प्रभाव परेको देखिन्छ । मदिराको नसाले छोएपछि मानिसको व्यवहारमा आउने परिवर्तन रोचक पनि हुन्छन्, आपत्तिजनक र दुःखद पनि । केही प्रभावहरु यस्ता पनि देखिन्छन्–
– मदिराको नसाले छोएपछि मीठा, रमाइला गफ गर्न अग्रसर हुने ।
– अघिपछि अंग्रेजी नबोल्ने मानिस पनि मदिरा लागेपछि अंग्रेजी बोल्न थाल्ने । अंग्रेजी मात्र होइन हिन्दी, नेवारी वा आफूले सधैँ बोल्ने गरेको भाषाभन्दा फरक भाषा बोल्न थाल्ने ।
– कोही गीत गाउन मन पराउँछन् । लोकप्रिय गायक नारायण गोपालको यो बानी निकै प्रख्यात थियो । तर सबैजना नारायण गोपाल हुन सक्दैनन्, स्वर राम्रो होस् वा नहोस्, मदिराको नसामा गीत गाउनुको मजा बेग्लै हुन्छ ।
– मधुर कर्णप्रिय गीत सुन्दै मदिरा सेवन गर्ने सोख पनि कम रोचक हुँदैन ।
– वाद्ययन्त्र बजाउन जान्नेहरु मदिराको नसाले छोएपछि आफ्नो प्यारो वाद्ययन्त्र खोज्न थाल्छन् ।
– कोही मदिरा लागेपछि मस्तसँग निदाउन रुचाउँछन् ।
– मदिरा लागेपछि बाहिर निस्केर हल्ला गर्दै हिँड्न रुचाउने मदिराप्रेमी पनि हुन्छन् । कोही नदी वा समुद्रको किनारैकिनार हिँड्न रुचाउँछन् ।
– जुनेली रातमा मदिरा सेवन गरी चौर, बगैंचा वा खुला ठाउँमा पल्टेर घन्टौं बिताउन चाहने सौखिन पनि हुन्छन् ।
– कोही मदिराको नसाले छोएपछि यौनसम्पर्क गर्न उत्तेजित हुन्छन् । विशेष गरी महिलाहरुमा यो रुचि पाइन्छ । कतिपय पुरुषहरु मदिराको नसाका कारण उत्तेजित भई बलात्कारसमेत गर्न पुग्छन् र गम्भीर परिणाम भोग्छन् ।
– कोही मदिराले छोएपछि आफ्नो नजिकमा जो छ (पुरुष वा महिला) उसलाई चुम्बन गर्न अग्रसर हुन्छन् ।
– कतिपय मानिसहरु मदिराले लठ्ठ पारेपछि हाँसेको हाँस्यै गर्न थाल्छन् भने कोही रुन थाल्छन् । यस पंक्तिकारको एकजना परिचित छन्, जो मदिरा लाग्न थालेपछि निधन भइसकेका आफ्ना परिवारजन वा प्रियजनहरुलाई सम्झिई भक्कानिएर रुन थाल्छन् ।
– कोही मदिरा सेवन गरेपछि पिसाब गर्दा सन्तुष्टिको अनुभव गर्छन् भने कोही मदिरा लागेपछि पिसाब नियन्त्रण गर्न नसकी लुगाभित्रै पिसाब खुस्काउँछन् ।
– गर्मी ठाउँका मानिसहरु मदिरा लागेपछि नुहाउन वा पौडी खेल्न रुचाउने गरेको पनि पाइन्छ । तर मदिरा धेरै लागेको अवस्थामा पौडी खेल्नु जोखिमपूर्ण हुन्छ ।
– कोही मदिरा लागेपछि तीव्र गतिमा गाडी वा मोटरसाइकल हाँक्न रुचाउँछन्, यो पनि अत्यन्तै जोखिमपूर्ण बानी हो ।
– कतिपय मानिसहरु मदिरा लागेपछि निहुँ खोज्ने, झगडा गर्ने, कुटपिटमा अग्रसर हुने गर्दछन् । यो मदिराको सबैभन्दा निकृष्ट प्रभाव हो । यसबाट जघन्य अपराधसमेत हुनसक्छ, आदि ।

 

कति पिउने ?

मदिरा पिउने मानिसका लागि मदिरा कति पिउने भन्ने प्रश्न निकै महत्वपूर्ण हुन्छ । ऊ सभ्य किसिमको मदिराप्रेमी हो वा असभ्य र निकृष्ट किसिमको भन्ने कुरा उसले पिउने मदिराको मात्रामा निर्भर गर्दछ । यद्यपि यो व्यक्ति विशेषमा भर पर्ने कुरा हो । कसैलाई थोरै मात्राले पनि नसा लाग्छ भने कोही धेरै पिउँदा पनि होसहवासमै सकुशल हुन्छन् । विशेष गरी बच्चैदेखि मदिरा पिउने संस्कार भएको परिवारमा हुर्केर वयष्क भएकाहरुलाई थोरै मदिराले केही असर गर्दैन । तर वयष्क भएपछि मात्र मदिरा पिउन सिकेकाहरुलाई भने थोरैले पनि धेरै लाग्छ । ब्राह्मण, क्षत्रीहरुलाई थोरैले पनि छिट्टै लाग्ने तर आदिवासी, जनजाति परिवारका मानिसहरुलाई धेरै पिउँदा पनि नलाग्ने कारण यही हो ।

आफ्नो शरीरले कति मात्रा मदिरा थेग्न सक्छ भन्ने हेक्का नराखी जथाभावी पिउनेहरु आत्मघाती हुन् ।

जे चिज पनि अति गरे खती अवश्य हुन्छ नै । पानी पनि धेरै पिए शरीरलाई हानि गर्न सक्छ । एक दिनमा पाँच लिटरभन्दा बढी पानी पिएमा मिर्गौला र मूत्र प्रणालीलाई बढी भार पर्न गई समस्या आउन सक्छ भने मदिराजस्तो असरदार पदार्थ धेरै मात्रामा सेवन गर्दा शरीरलाई असर नपर्ने कुरै भएन । तर सबै व्यक्तिका लागि मदिराको उचित मात्रा यति नै भनेर निश्चित गर्न सकिँदैन । त्यसैले मदिरा पिउन रुचाउने व्यक्तिले आफ्नो लागि उचित मात्रा आफैं निश्चित गरी त्यसलाई साँच्चिकै पालना गर्न सकेमा मदिराले हित गर्छ, पालना नगरे मदिरा विषमा परिणत भइदिन्छ । मदिराको मात्रा मापन गर्ने आ–आफ्नै तरिका हुन्छन् । स्मल पेग, लार्ज पेग, पाटियाला पेग, प्याला, क्वाटर, हाफ, ट्वाक, ग्लास आदि । मिलिलिटर (एमएल) को हिसाबले मापन गर्दा सहज हुन्छ । दिनहुँ साँझ मदिरा सेवन गर्ने बानी भएका निरोगी वयष्क पुरुषले बढीमा ६० एमएलसम्म मात्र पिउनु ठीक मानिन्छ । औसत रुपमा भन्दा ३० एमएलसम्म पिउनु सामान्य, ६० एमएलसम्म मध्यम र ९० एमएलसम्म अधिक र त्यो भन्दा पनि बढी पिउनु अत्यधिक र जोखिमपूर्ण हुन्छ । डाक्टरहरुले बिरामीहरुलाई मदिरा पिउन बन्देज लगाएका हुन्छन् । यसको मुख्य कारण यदि डाक्टरले कसैलाई ‘थोरै मात्रामा मदिरा पिए हुन्छ’ भनेर सल्लाह दिए भने पिउने मान्छेले त्यसलाई ‘मलाई त डाक्टरले पनि पिए हुन्छ भनेको छ’ भन्दै अनियन्त्रित मात्रामा पिउन थाल्छ । जसले गर्दा उसको स्वास्थ्य जोखिममा त पर्छ नै, डाक्टरसमेत विवादमा पर्न सक्छ । त्यसैले कतिपय डाक्टरहरु आफू मदिराको मजा लिन्छन् तर अरुलाई सल्लाह दिनुपर्दा कठोर बन्छन् ।

कसरी पिउने ?
खासमा भन्ने हो भने धेरैजसो मानिस मदिरा ठीक ढंगले पिउन जान्दैनन् । मदिरा पिउनु पनि एउटा कला हो । स्वास्थ्यलाई हानि नगर्ने, प्रतिष्ठामा पनि आँच नपुग्ने र आनन्दको मात्र अनुभूति हुने गरी ठीक तरिकाले मदिरा पिउन जान्नु साँच्ची नै कला हो । मदिरा पिउँदा सबैभन्दा मुख्य कुरो त आफ्नो मात्राको अनुशासनभित्र रहनुपर्दछ । आफूले थेग्न नसक्ने मात्रामा मदिरा पिउनु सबैभन्दा गलत हो । मदिरा सेवन गर्दा पर्याप्त मात्रामा अन्य ठोस खानेकुरा (स्न्याक्स) खानुपर्दछ । स्न्याक्स खाँदा अक्सर मासु धेरै खाने चलन छ, त्यो गलत हो । किनकि मासुमा हुने चिल्लो पदार्थले मुटुको स्वास्थ्यलाई सोझै असर गर्ने हुँदा मदिरा सेवन गर्दा मासु थोरै तर हरियो सलाद र मसला (ड्राई पु्रmट्स) धेरै सेवन गर्नुपर्दछ । मदिरा सेवन गरेपछि प्रशस्त मात्रामा पानी पिउनुपर्दछ ।

मदिरा पिउने पनि दुई तरिका हुन्छ । एउटा मदिरामा पानी नमिसाईकन ‘नेट’ पिउने, अर्को पानी मिसाएर पिउने । यो आ–आफ्नो बानीको कुरा हो । तर मदिराका वास्तविक पारखीहरु बरु थोरै पिउँछन् तर पानी नमिसाईकन पिउँछन् । पानी मिसाउँदा मदिराको वास्तविक स्वाद बिग्रन्छ भन्ने उनीहरुको तर्क छ ।

मदिरा पिउने ठीक तरिका हो– हतार नगरीकन बिस्तारै पिउने । कतिपय मानिस एकैपटकमा गिलास रित्याएर पिउने गर्छन्, त्यो ठीक होइन । मदिरा पनि विभिन्न गुणस्तरका हुन्छन् । निम्न गुणस्तरको मदिरा सधैँ जोखिमपूर्ण हुन्छ । महँगो मदिराको मात्र गुणस्तर राम्रो हुन्छ भन्ने कुनै निश्चित छैन । घरमै शुद्ध तरिकाले बनाइएको मदिरा उच्चस्तरको हुन्छ । सबैभन्दा जोगिनुपर्ने नक्कली मदिरा र अखाद्य पदार्थसमेत मिसाएर बनाइएका मदिराबाट हो, जो स्वास्थ्यका लागि अत्यन्तै घातक हुन्छ ।

मदिरा र स्वास्थ्य

मानव स्वास्थ्यमा मदिराले सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्दछ । निद्रा लगाउन सहयोग गर्ने, खानाको रुचि बढाउने, शरीरलाई चिसोको असरबाट जोगाउने, मन प्रफुल्ल राख्ने आदि यसका सकारात्मक प्रभाव हुन् । अधिकांश भिटामिन, टनिक वा शरीरलाई तागत दिने औषधिमा केही मात्रामा अल्कोहल मिसाइएकै हुन्छ, जुन मदिराकै औषधीय रुप हो । तर अत्यधिक मदिरा सेवनले शरीरका अति महत्वपूर्ण आन्तरिक अंगहरुमा घातक असर पार्दछ, जसको परिणाम मृत्युसमेत हुनसक्छ । अत्यधिक मदिरा सेवन गर्ने मानिसको केही वर्षभित्रै लिभर खराब हुने गरेको पाइएको छ । त्यस्तै मुटु, मिर्गौला, नसा, मस्तिष्क, रगत आदिसम्बन्धी समस्या भएका व्यक्तिहरुका लागि पनि मदिरा सेवन घातक हुन्छ ।

शरीरको अवस्था अनुसार पनि मदिरा सेवन घातक हुन जान्छ । जस्तै– जन्डिसको सामान्य प्रारम्भिक लक्षण देखिएको अवस्थामा थोरै मात्रामा मात्र मदिरा सेवन गरे पनि त्यो विषसरह नै हुन जान्छ । त्यस्तै ज्वरो, टाइफाइड, औलो, डेङ्गु, इन्सेफलाइटिस, मेनेन्जाइटिस आदिले समातेको बेलामा मदिरा सेवन घातक हुन्छ । क्षयरोग, क्यान्सर, मिर्गौला फेलजस्ता दीर्घकालीन रोगीका लागि पनि मदिरा अत्यन्तै घातक हुन्छ । मदिराका पक्षमा जति चर्चा गरे पनि मदिरा सेवन नगर्दा भने स्वास्थ्यलाई कुनै हानि गर्दैन, यो एक सत्य हो । यसका साथै मदिरा सेवन नगर्दैमा निरोगी होइन्छ, स्वास्थ्यसम्बन्धी कुनै समस्या भोग्नुपर्दैन भन्ने सोच पनि पूर्णतया भ्रम हो । मदिराभन्दा धूमपान स्वास्थ्यका लागि बढी घातक हुन्छ । मदिराको साथमा धूमपान गर्नेहरुको स्वास्थ्य दोहोरो जोखिममा पर्दछ ।

मदिराबाट देशको प्रतिष्ठा

मदिरा मानव समुदायमा करिब विश्वव्यापी प्रयोगकै रुपमा रहेको तरल खाद्यपदार्थ हो । कतिपय देश विशेष मदिरा उत्पादनका कारण पनि विश्वमा चिनिएका छन् । जस्तै– फ्रेन्च वाइन, फ्रेन्च स्याम्पियन, रसियन भोड्का, चाइनिज माउथाई, स्कटल्यान्डको स्कच व्हिस्की, जापानी साके, साउथ अफ्रिकी अमरुला आदि ।

हाम्रो ‘अयला’ लाई पनि ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने प्रयास भइरहेको छ, यो एक सकारात्मक काम हो । मदिरासँग जोडिएको आर्थिक पक्षले देशको अर्थतन्त्रमा महत्वपूर्ण अर्थ राख्छ । मदिरा उत्पादन, बिक्री, यसबाट राज्यले पाउने कर, कामदारले पाउने रोजगारी आदि सबैको हिसाब गर्दा अर्थतन्त्रमा यसको उल्लेख्य योगदान देखिन्छ ।

 

मदिरा र साहित्य

मदिरासँग साहित्यको गहिरो सम्बन्ध रहिआएको छ । कतिपय साहित्यकारहरु आफैंँ मदिराका पारखी हुन्छन् भने कतिपय आफू मदिरा सेवन नगर्ने तर मदिरासम्बन्धी उम्दा साहित्यिक अभिव्यक्ति दिने पनि हुन्छन् । हिन्दी कवि हरिवंशराय बच्चन (बलिउड सुपरस्टार अमिताभ बच्चनका पिता) आफू मदिरा पिउँदैनथे तर उनले लेखेका ‘मधुशाला’ हिन्दी काव्यको एक कोसेढुंगा मानिन्छ । नेपाली साहित्यमा कवि भूपि शेरचन, हरिभक्त कटुवाललगायत कतिपय साहित्यकारहरु आफ्ना साहित्यिक सिर्जनाका साथै मदिराप्रेमीका रुपमा पनि चर्चित थिए । आजका कतिपय साहित्यकारहरुले पनि त्यो विरासत थामेकै छन् ।

अन्त्यमा, भारतका चर्चित कवि तथा गीतकार साहिर लुधियानवीले रचना गरेका र सन् १९६५ मा निर्मित ‘काजल’ हिन्दी सिनेमाका लागि महम्मद रफीले गाएका प्रस्तुत गीतलाई मदिराको प्रशंसामा सिर्जित एक कालजयी गीत मानिन्छ–
‘छु लेने दो इन नाजुक होठोंको कुछ और नहीँ हे जाम हे ये
कुदरत ने हमें जो बक्सा हे वह सबसे हसीं इनाम हे ये …’
यसै गरी अम्बर गुरुङको स्वर र संगीतमा बुँद रानाको गजल पनि मदिरासम्बन्धी नेपाली संगीतको एक उत्कृष्ट सिर्जना मानिन्छ–
‘पिउँदै नपिउने मान्छे पिएँ अलिकति
उनको वचन राख्न लिएँ अलिकति…
जसलाई सोधे पनि गाह्रो छ पिउन भन्छन्
त्यो हो कि होइन जाँच्न पिएँ अलिकति…।’
विश्व साहित्य र संगीत यस्ता सयौं उदाहरणले भरिएका छन् । त्यसैले मदिरालाई खराबै चिज मात्र हो भन्न सकिँदैन । सही सदुपयोग गरेमा मदिरा मानवजातिले विकास गरेको एक उपयोगी पदार्थ हो, दुरुपयोग गरेमा मानवजीवन नै नष्ट पार्न सक्ने विषादी पनि हो । निष्कर्शमा भन्नुपर्दा, मदिरा नपिउँदा कुनै घाटा छैन तर पिउने हो भने यसको अनुशासनभित्र रहेरमात्र पिउनु अनिवार्य छ । अन्यथा मानिसले मदिरा होइन, मदिराले मानिसलाई नै खाइदिन्छ ।

(वरिष्ठ पत्रकार बस्नेतले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)

प्रतिक्रिया दिनुहोस्