हाड–जोर्नीका लागि प्राकृतिक चिकित्सा



स्पार्क हेल्थ होम हस्पिटलले विगत ३१ वर्षदेखि प्राकृतिक चिकित्सा पद्धतिद्वारा बिरामीको उपचार गर्दै आएको छ । विशेष गरी हाड–जोर्नी र नसासम्बन्धी उपचारमा यो अस्पतालको प्राथमिकता रहेको देखिन्छ ।

औषधि एवं कुनै केमिकलहरुको प्रयोग नगरी प्राकृतिक विधिहरु प्रयोग गरेर बिरामीको उपचार गर्ने गरिएकाले यो विधिबाट उपचार गर्दा विनासाइड इफेक्ट नै बिरामी निको हुने यस अस्पतालको व्यवस्थापनले बताउँदै आएको छ । अस्पताल व्यवस्थापनले दिएको जानकारी अनुसार स्पार्क हेल्थ होम हस्पिटलमा विशेष गरी बिरामीको खानपान, जीवनशैली मिलाउने, दुखाइ भैहाल्यो भने प्राकृतिक पद्धतिबाट पानी थेरापी गर्ने र विभिन्न मेसिनहरुबाट अकुपंचर थेरापी विधि प्रयोग गरी उपचार गरिन्छ ।

बसाइ, उठाइ, हिँडाइ, सुताइ नमिल्दा हुने नसा तथा जोर्नीसम्बन्धी समस्या, पोषण तथा खानेकुरा नमिल्दा देखिने समस्या, अन्य कारणबाट सिर्जना हुने हाड–जोर्नीका समस्याहरु, मोटोपन, मधुमेह, उच्च रक्तचापलगायतका समस्यामा प्राकृतिक चिकित्सा विधि प्रभावकारी हुने यस हेल्थ होमका चिकित्सकहरु बताउनुहुन्छ । यससम्बन्धमा स्पार्क हेल्थ होम हस्पिटलका नेचरोपेथी फिजिसियन डा. गीता केसी र अस्पतालका संस्थापक तथा प्रबन्ध निर्देशक हरिशरण रिजालसँग साधनाका प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार:

बिरामीहरु यो हेल्थ होम नै खोज्दै आउँछन् कि विभिन्न ठाउँमा उपचार गर्ने क्रममा यहाँ आइपुग्ने गर्छन् ?

पहिला धेरै ठाउँमा देखाएर उपचार गराउँदा पनि निको नभएपछि अन्तिममा एकपटक हेरौँ न त भनेर आउँथे भने अहिले हाड–जोर्नी र नसाको समस्या भयो भने सीधै यहाँ आउनेको संख्या बढेको छ र परिणाम पनि राम्रो छ । पछिल्लो समय रोग अनुसारको अस्पताल, डाक्टर, नर्स भएका उपचार केन्द्रमा बिरामी जाने प्रवृत्ति बढेको छ । यसकै आधारमा यस हेल्थ होममा पनि बिरामीहरु आइरहेका छन् । धेरै बिरामी प्राकृतिक पद्धतिको उपचारबाटै निको हुने अवस्थामा आउनुहुन्छ र उहाँहरुलाई उपचार गरी निको पारेर पठाउँछौँ पनि ।

प्राकृतिक पद्धतिको उपचार अलि लामो समयको हुन्छ भनिन्छ, वास्तविकता के छ ?

रोग के कारणले लागेको हो, त्यसमा उपचारको अवधि भर पर्छ । ढाड दुखाइकै क्रममा पनि कसैलाई मासु बाउँडिएर दुखेको हो भने ४ देखि ५ दिनमा कम हुँदै जानुपर्छ, कम हुन्छ ।कसैको नसा च्यापिएको हुन्छ । नसा विभिन्न कारणले च्यापिन्छ । पछिल्लो समय डिस्क फुटेर नसा च्यापिने गरेका केस धेरै छन् । यस्तोमा उपचार अवधि अवस्था हेरेर एक–डेढ महिना पनि लाग्न सक्छ ।ढाडको हड्डी खिइएर ढाड दुखेको हो भने त्यस्ता बिरामीलाई केही समय उपचार गर्ने र घरमा आफैँले व्यवस्थापन गर्न सकिने भएकाले त्यस्ता केसलाई हप्ता–१० दिन लगातार उपचारपछि घरमै व्यायाम गर्न लगाइन्छ । उनीहरु हाम्रो अप्रत्यक्ष निगरानीमा नै व्यायाम गरिरहेका हुन्छन् ।

बिरामीलाई म डाक्टरको निगरानीमा छु भनेर ध्यानपूर्वक व्यायाम गर्न सिकाइएको हुन्छ । यसले गर्दा बिरामीलाई लाभ पुग्छ । तर सिकाए अनुसार नगर्ने हो भने त्यसले हानि पनि गर्न सक्छ ।

नसा च्यापिने, हड्डी खिइने समस्या विशेष गरी कुन उमेर समूहमा हुन्छ र पूर्वसावधानी कसरी अपनाउने ?

यो समस्या पहिला ५० वर्षमाथिका मानिसलाई मात्र हुन्थ्यो भने अहिले नसा च्यापिएर १४ वर्षका किशोर पनि आउने गरेका छन्, हामीले उपचार गरिरहेका छौँ । यसको विशेष कारण बदलिँदो जीवनशैली नै हो । पहिलाका बच्चाहरुको शरीर धेरै लचकदार हुन्थ्यो तर आजभोलिका बच्चामा यस्तो लचकताको कमी छ । पहिलाका बच्चाहरुमा कुद्ने, उफ्रिने तथा शारीरिक व्यायाम हुने खालका धेरै खेल खेल्ने प्रवृत्ति हुन्थ्यो । तर आजभोलिका बच्चाहरु घन्टौँ इलेक्ट्रोनिक ग्याजेटमा बिताउँछन् । घरबाहिर खेल्न, कुद्न निस्किँदैनन् । यसले साना–ठूला सबै उमेर समूहलाई प्रभाव पारेको छ ।

विशेष गरी शारीरिक सक्रियता कम हुनु, घाममा देखा नै नपर्नुले शरीरको मांसपेशी कमजोर हुन्छ । खानपान पूरै कुपोषणयुक्त हुँदै गएको छ र ब्यालेन्स डाइट छैन । खानामा जिब्रोमा स्वाद आउने वस्तु प्राथमिकतामा पर्ने गरेको छ । शारीरिक सक्रियता एकदमै कम छ, धेरैजसो बसेर नै बिताउँछौँ । २४ घन्टामा ८ घन्टा सुत्ने र बाँकी समय पनि अधिकांश बसेर बिताउनु शरीरको लागि हानिकारक हो ।

लामो बसाइ, खानपानमा ध्यान नदिनु, जंक फुडलाई प्राथमिकतामा राख्नु, व्यायाम नगर्नु, घाममा नदेखिनुजस्ता थुप्रै कारणहरुले गर्दा कम उमेरका मानिसमा पनि नसा च्यापिने समस्या बढ्दो छ । त्यसैले समय अनुसार जीवनशैली परिवर्तन गर्नुपर्छ । शरीरलाई स्वस्थ राख्न व्यायाम गर्ने, दिनमा कम्तीमा १ घन्टा हिँड्ने गर्नुपर्छ । बसेर काम गर्नेको गर्दन र ढाडमा बढी दबाब पर्छ भने उभिएर काम गर्नेलाई हिप ज्वाइन्टमा बढी असर पर्छ । दैनिक क्रियाकलापले शरीरमा केही जोखिम हुनसक्ने भएमा ती जोखिमहरुबाट जोगिनुपर्छ । स्वस्थ हुँदा नै खानपान र जीवन शैलीलाई ठीक अवस्थामा राख्न सक्यौँ भने धेरै किसिमका समस्याबाट बच्न सकिन्छ ।

प्राकृतिक चिकित्सा, एलोपेथिक र आयुर्वेदिक चिकित्सा सँगसँगै जानुपर्छ कि ?

सबै उपचार विधिका बलिया र कमजोर पक्ष हुन्छन् र विशेषता पनि फरक–फरक छन् । आकस्मिक उपचारका लागि र सर्जरीको पक्षमा एलोपेथिक उपचार विधि प्रभावकारी छ ।नेचरोपेथी अपनाउनका लागि कुनै रोग लाग्नुपर्दैन । बिरामी हुनुभन्दा पहिला नै अपनाउन सकिने विधि खालिपेट (फास्टिङ) बस्ने, सनबाथ लिने, घाममा बस्ने एकदम स्वस्थ मान्छेले पनि गर्दा अझ बलियो हुन्छ । रोग लाग्नबाट जोगाउनका लागि प्राकृतिक चिकित्सा अपनाउन सकिन्छ । रोगी भएर मात्र उपचार गराउने भन्ने हुन्न । रोग लागेर वा नलाग्दै यो उपचार विधि अपनाउन सकिन्छ ।

रोग लागेपछि मात्र उपचार विधि खोज्ने हाम्रो जस्तो मुलुकका रोग नै नलागी उपचारमा आउन कसरी तयार होलान् ?

बिस्तारै शुरु गर्नुपर्छ । बिरामी लिएर एकजना साथमा आउनुहुन्छ, त्यसमा बिरामीलाई नै बढी प्राथमिकता दिइन्छ । त्यसैले सँगै आउने व्यक्ति र विद्यालय समयमा बच्चाहरुलाई रोलमोडल बनाएर सिकाएको खण्डमा यो सम्भव छ । बच्चाले गरेको कामबाट साथी र अभिभावकले छिट्टै परिवर्तन गर्न सक्छ ।

जीवन शैलीका बारेमा युवा पुस्तालाई नै शिक्षा दिनुपर्छ । अहिले बिरामी र बिरामीका आफन्तलाई हामीले सिकाउँछौँ । राज्यले नै स्वस्थ नागरिकका लागि आवश्यक जीवन शैली सिकाउनुपर्छ ।

हरिशरण रिजाल, संस्थापक

स्पार्क होम किन र कसरी शुरु गर्नुभयो ?

२०४८ साल फागुन ११ मा एउटा कोठाबाट योगासनको अभ्यास गराउँदै संस्था शुरु ग¥यौँ । त्यति बेला योगासन गर्ने भनेको जोगीहरुले गर्ने हो भन्ने खालको सोच थियो । धेरै मानिसहरु सक्रिय काममै हुन्थे र योगासनका बारेमा खासै खाँचो महसुस भएको पनि थिएन ।
फाटफुट बिरामीहरु आउनुहुन्थ्यो र रामै्र सन्देश दिएर जानुहुन्थ्यो । दम, बाथ, पिनासका बिरामीले योग गर्दा फाइदा पुगेको बताउनुहुन्थ्यो । बिस्तारै प्रचार हुँदै गयो र हामीले प्राकृतिक चिकित्सालाई थप्याँै । प्राकृतिक चिकित्सामा घाम, पानी, माटो, हावाबाट उपचार गर्ने भन्ने हुन्छ । यसको प्रभाव बढ्दै गएपछि फिजियो थेरापीबाट चिकित्सा पद्धति शुरु भयो । भारतमा शुरु भएको फिजियो थेरापी नेपालमा पहिलो शुरु गर्ने हामी नै हो ।
शुरुमा फिजियोमा (सीपीटी) प्रमाणपत्र तहको कोर्स थियो । भारतमा बीपीटी निस्किने क्रममा थियो । ४ वर्ष प्रमाणपत्र तहले नै धान्याँै, त्यसपछि बीपीटी आयो ।

पहिला र अहिलेमा बिरामीमा के फरक पाउनुहुन्छ ?

पहिला विभिन्न अस्पताल चहारेर आउँथे भने अहिले सीधै आउँछन् । अन्य अस्पतालका डाक्टरहरुले पनि रिफर गर्नुहुन्छ । ढाड दुख्यो भने स्पार्कमा जानुस्, फिजियो थेरापी गर्नुस्, भएन भने मात्र अपरेसन गर्ने भनेर पठाउनुहुन्छ । प्यारालाइसिसका धेरै बिरामी सीधै यहीँ आउँछन् । कतिपयलाई आकस्मिक एलोपेथिक मेनेजमेन्टको आवश्यकता पर्छ, त्यस्तो अवस्थामा हामी रिफर गरेर उता पठाउँछौँ ।

यो सेवा काठमाडौंबाहिर पनि विस्तार भएको छ कि ?

यहाँ आउने धेरै बिरामी काठमाडौंबाहिरकै हुनुहुन्छ । काठमाडौंकै बिरामी घरबाटै आउने–जाने गर्नुहुन्छ । पहिला धरानबाट धेरै बिरामी आउनुहुन्थ्यो निको भएर गएका बिरामीले धरानमा, झापामा, पोखरामा र विराटनगरमा आफैँ स्पार्क खोलेर सेवा दिँदै हुनुहुन्छ । त्यहाँ सेवा नहुँदा यहीँ आउनुहुन्छ । चावहिलमा स्पार्क सिटी क्लिनिक खोलेका छौँ । प्यारालाइसिस, जीबीएस, ढाड–घुँडाको समस्यालाई विशेष प्राथमिकतामा राखेका छौँ ।

आर्थिक कमजोरी भएका शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका बिरामी आए भने बिरामीको चाहना अनुसार रिफर गर्छौं । बिरामीको अवस्था थाहा पाउन एलोपेथिक डाक्टर पनि राखेका छौँ र उहाँले नै रिफर गर्नुहुन्छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सेवा हुन्छ । अर्थो, न्युरो, गाइनोमा छुट्टै एमडी गर्ने डाक्टर हुनुहुन्छ । तालिमप्राप्त दक्ष जनशक्तिले नै सेवा दिनुहुन्छ ।

अत्यन्तै गम्भीर अवस्थामा आएर निको भई पुनः पेसा व्यवसायमा फर्किने कत्तिको छन् ?

प्यारालाइसिस भएर आएको व्यक्ति ३ महिनामा हिँडेर फर्केको अवस्था धेरै छ । युवाहरुमा छिटो रिकभर हुन्छ भने पाको उमेरकोमा पूर्णरुपमा निको भए पनि काममा फर्कन सक्नुहुन्न । बढी नै नसा च्यापिएको छ भने अपरेसनमै रिफर गरिन्छ । खानपानकै कारण प्यारालाइसिस हुनेमा बढी सुगर र प्रेसरका बिरामी छन् ।

मान्छे स्वस्थ हुनका लागि के गर्नुपर्छ ?

आफ्नो लागि आफैँ लागिपर्नुपर्छ । खानपिन मात्र सुधारेर हुन्न, दैनिक व्यायाम, योग, हिँडडुल गर्नुपर्छ । खानपान, निद्रामा ध्यान दिने, मादक पदार्थ, सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने, वर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्ने र रोग लागेपछि परीक्षण गरौँला भन्ने नभई तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्