प्रेम एउटा भावना हो, जुन प्रत्येक जीवित प्राणीले अनुभव गर्न सक्छ । मनुष्य, पशुपक्षी, कीरा, फट्याङ्ग्रा, माछा जातिले मात्र होइन कि वनस्पतिहरुले समेत प्रेमको भावनालाई बुझ्न सक्छन् र त्यसप्रति आफ्नो प्रतिक्रिया जनाउन सक्छन् ।
प्रेमको भावनामा यति ठूलो शक्ति रहेको हुन्छ कि यसको प्रभावले औषधिले ठीक गर्न नसकेको अति कडा रोगसमेत निको पार्न सक्छ । यसले मृत्युको मुखमा पुगिसकेकालाई समेत जीवित तुल्याएर सक्रिय बनाएका धेरै उदाहरणहरु छन् । प्रेम भावनाले सुखी, आनन्दित, हर्षित, उत्तेजितजस्ता सकारात्मक अवस्थाको सृजना गर्न सक्छ । व्यक्ति, परिवार, समाज, राष्ट्र, विश्व र ब्रह्माण्ड सबै प्रेमको भावनाबाट प्रभावित हुन्छन् । सकारात्मक मात्र नभएर यसको प्रभावबाट धेरै नकारात्मक परिस्थिति सृजना भएको पनि हामी देख्छौं ।
प्रेमले गर्दा धेरै युद्ध, लडाइँ, मारकाट भएका छन् । एउटा व्यक्तिप्रतिको प्रेमले गर्दा ठूला–ठूला नरसंहार भएका ऐतिहासिक घटनाहरु धेरै छन् । प्रेमले सुखी र हर्षित बनाउने मात्र होइन, यसको उल्टो दुःखी, चिन्तित र अति पीडितसमेत गराउँछ । प्रेमले अन्धो बनाउँछ, पागल बनाउँछ, रोगी बनाउँछ । यति ठूलो शक्ति भएको प्रेम भावना आखिर कहाँ उत्पन्न हुन्छ ? के यो मुटुबाट उत्पन्न हुन्छ वा दिमागबाट निस्किन्छ ? प्रेम भावनाको उत्पत्ति कहाँ हुन्छ भन्नेबारे धेरैको जिज्ञासा रहेको देखिन्छ ।
प्रेम भन्ने कुरा युवा र युवतीबीच एक–अर्कालाई मन पराउँदा उत्पन्न हुने भावना मात्र होइन, कुनै पनि जीवित प्राणीका बीच एक–अर्काप्रति प्रेम भावना जाग्न सक्छ । यो भावनाले सृजना गर्न पनि सक्छ र नष्ट गर्न पनि सक्छ । मानिसले रुखबिरुवालाई दिनदिनै प्रेमपूर्वक सुम्सुम्यायो भने मर्न लागेको बिरुवाबाट पनि नयाँ पात पलाउँछ । यति मात्र होइन, प्रेम भावना कुनै पनि माध्यमबाट पोख्यो भने बिरुवाले राम्रो फूल र फल दिन्छ । यसैबाट बुझ्न सकिन्छ कि प्रेम भावनामा कति ठूलो शक्ति निहित छ ।
प्रेम भावनाको प्रतीकको रुपमा मुटुको आकृतिलाई प्रयोग गरेको देखिन्छ । वाणले छेडेको मुटुको आकृतिले प्रेमरोगको पीडालाई जनाउँछ । बीचमा चिरा परेको मुटुको आकृतिले विछोड भएको प्रेमलाई जनाउँछ । सुन्दर, पान आकारको मुटुको आकृतिले जल्दोबल्दो अवस्थाको प्रेम भावनालाई जनाउँछ । यसको मतलब प्रेम र मुटुको गहिरो सम्बन्ध छ । उसो भए के मुटुबाटै प्रेम भावना जाग्ने हो त ? वैज्ञानिकहरुले यसबारे अध्ययन, अनुसन्धान गरेका छन् । सबैले प्रेम भावनाको अनुभूति गरेका छन् । तर त्यो भावना कहाँबाट आयो भन्नेबारे नबुझेको हुनसक्छ ।
वैज्ञानिकहरुले प्रेम भावना जागृत भएको व्यक्तिको मस्तिष्कको अध्ययन गरेका छन् । प्रेम भावनाको गहिराइमा डुबेको व्यक्तिको मस्तिष्कको अध्ययन गर्दा त्यसका केही भागहरु सक्रिय भएको साथै केही रसायन र हर्मोेनहरु उत्पादन भएको पाइएको छ । यिनै हर्मोन, रसायन र मस्तिष्कका न्युरोनहरुको सक्रियता वा सिथिलताका कारण शरीरमा विभिन्न परिवर्तहरु हुने गरेको पाइएको छ । यिनै परिवर्तनहरु प्रेम भावनाका लक्षणका रुपमा देखा पर्दछन् । यसका केही उदाहरणहरु दिन चाहन्छु ।
प्रेम भावना सक्रिय भएको बेला शरीरमा डोपामिन, अक्सिटोसिन, भाजोप्रेसिन आदि रसायन धेरै मात्रामा उत्पादन हुन्छ र रगतमा यसको मात्रा ह्वात्तै बढ्छ । अर्कोतर्फ सेराटोनिक नामक हर्मोनको मात्रा भने घट्छ । यी रसायनहरुले गर्दा मुटु छिटो–छिटो धड्किन्छ, छाती गरुङ्गो हुन्छ, मनमा छटपटी हुन्छ, रक्तचाप बढ्छ, शरीर तातेर आउँछ । यी लक्षणहरु क्षणिक हुन्छन् । आउँछन्, जान्छन् । प्रेमी नजिक आउँदा यी लक्षणहरु पनि आउँछन्, प्रेमी टाढा गएपछि यी लक्षणहरु पनि जान्छन् । रसायन हर्मोन उत्पादन हुँदा लक्षणहरु आउँछन् अनि यिनीहरुको मात्रा घटेपछि लक्षणहरु जान्छन् ।
पछि बिस्तारै भोक नलाग्ने, निद्रा नलाग्ने, मन छटपटी भइराख्ने लक्षणहरु उत्पन्न हुन्छन् । प्रेम भावनाको रोग भएको यही अवस्था हो । भनिन्छ, प्रेममा मानिस अन्धो हुन्छ, निडर हुन्छ, उसले आत्महत्यासमेत गर्न पछि हट्दैन । किन यसो हुन्छ भन्नेबारे वैज्ञानिकहरुले अध्ययन गरेका छन् । दिमागको केन्द्रीय र तल्लो भागमा अमिगडाला (Amygdala) नामक केन्द्र हुन्छ । यस भागले उत्तेजना र डरसम्बन्धी भावनालाई नियन्त्रण गर्दछ । यो भाग सक्रिय हुँदा डर उत्पन्न हुन्छ । कुनै पनि डर लाग्दा अवस्थाहरुमा दिमागको यो केन्द्रका कोशिकाहरु सक्रिय हुन्छन् ।
अनि मान्छे डराउँछ । प्रेम भावनाले यो केन्द्रलाई निष्क्रिय बनाइदिन्छ । प्रेममा डुबेको मान्छेको डर हराएको हुन्छ, ऊ निडर हुन्छ, भीरबाट हाम्फाल्न, आगोको मुस्लोभित्र पस्न, गहिरो नदीमा हाम्फाल्न ऊ डराउँदैन । दिमागको कारणले प्रेमी निडर भएको हो, मुटुले गर्दा होइन । भनिन्छ, प्रेममा मान्छे अन्धो हुन्छ । यसबारे पनि अध्ययन भएको छ । अन्धो हुन्छ भनेको आँखा देख्दैन भन्न खोजेको होइन । यसको मतलब मान्छेले सोचविचार नगरी, अगाडि के–कसो छ, त्यो नहेरी निर्णय लिन्छ र यो निर्णयले अरुलाई के असर पर्छ भन्ने उसलाई मतलब हुँदैन । यसलाई नै अन्धो प्रेम, अन्धो भक्ति, अन्धो निर्णय आदि भन्न खोजिएको हो ।
प्रेम भावना जागृत भएको बेला दिमागको अगाडिको भाग (Frontal Cortex) निष्क्रिय हुन जान्छ । दिमागको यो भागले सोचविचार गरेर घटनाको मूल्यांकन गर्ने र उचित कदम चाल्ने आदेश दिन्छ । प्रेम भावना सक्रिय हुँदा उत्पादन हुने केही रसायनहरुले दिमागको यो सोच्ने र मूल्यांकन गर्ने केन्द्रलाई निष्क्रिय बनाइदिन्छन् । फलस्वरुप प्रेमीले उचित र अनुचित कदमबारे निर्णय लिन सक्दैन । ऊ मनमा जस्तो भावना जाग्यो त्यसकै पछि लाग्छ । दिनभर पानीमा भिजेर बस्दा पनि उसलाई आनन्द लाग्छ, भोकभोकै पनि बस्छ, जाडोमा पातलो कपडा लगाउँदा पनि उसलाई चिसो हुँदैन । घरपरिवार, बाबुआमा रिसाए पनि उसलाई मतलब हुँदैन । आफूले जे ग¥यो त्यो नै सही हो भन्ने उसलाई लाग्छ । यो नै अन्धोपन हो ।
प्रेम भावनाले सकारात्मक रुप लिँदा आनन्दको सञ्चार हुन्छ, जताततै रमाइलो लाग्छ, मन शान्त हुन्छ, शरीर सिथिल हुन्छ, मन हलुको हुन्छ, उडूँ–उडूँ लाग्छ । यस्तो भावना कहाँबाट आउँछ ? अध्ययनले देखाएको छ कि यो भावना दिमागबाट आउँछ । प्रेम भावना दिमागी उपज हो । मुटुले प्रतिक्रिया देखाउने मात्र हो, काम सबै दिमागबाट हुने हो । यसकारण प्रेमीको प्रेम भावना दिमागमा उत्पन्न हुन्छ, दिमागले यो गर, त्यो नगर भन्ने आदेश दिन्छ अनि मुटुले त्यो आदेशको पालना गर्छ । प्रेम दिमागले गर्छ तर वाण मुटुले खान्छ ।