कलेजो फेल भएर प्रत्यारोपण गर्न अस्पताल जानेहरुमध्ये अधिकांशको कलेजो रक्सीले बिग्रेको हुने कुरा तपाईंले कहिल्यै विचार गर्नुभएको छ ? कलेजोको जुनसुकै शल्यक्रिया जटिल र खर्चिलोमध्ये मानिन्छ । साथै कलेजो प्रत्यारोपण त सबैभन्दा जटिल शल्यक्रिया नै हो र खर्चको हिसाबले पनि त्रि.वि. शिक्षण अस्पतालमा प्रत्यारोपण गर्दा नै करिब ३० लाख रुपियाँ खर्च हुन्छ । प्राइभेट अस्पताल वा विदेशमा गएर कलेजो प्रत्यारोपण गराउँदा त अझ बढी खर्च लाग्छ । यस्तै जटिलताका कारण कलेजो प्रत्यारोपण मिर्गौला प्रत्यारोपणको गतिमा गर्न पनि सकिएको छैन ।
त्रि.वि. शिक्षण अस्पताल कलेजो तथा ग्यास्ट्रो सर्जरी युनिटका प्रमुख प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा उक्त अस्पतालमा पहिलोपटक सन् २०१९ मा कलेजो प्रत्यारोपण भएको थियो । विविध कारणले हालसम्म ९ जनामा मात्र कलेजो प्रत्यारोपण गर्न सकिएकोमा हाल दशौँ व्यक्तिको कलेजो प्रत्यारोपणका लागि तयारी भइरहेको प्रा.डा. भण्डारीले जानकारी दिनुभएको छ ।
डा. भण्डारी ‘कलेजो प्रत्यारोपण जटिल र ज्यादै खर्चिलो भएको कारणले पनि कलेजोलाई क्षति हुनबाट जोगाउनुपर्ने’ बताउनुहुन्छ ।
मेडिकेयर अस्पतालमा समेत सर्जरी गर्नुहुने कलेजो तथा ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारी भन्नुहुन्छ, ‘वयष्कहरुमा कलेजो फेलियर हुनुको एउटा प्रमुख कारण सिरोसिस हो र यसका विविध कारकमध्ये प्रमुख कारक तत्व भनेको रक्सी नै हो । डा. भण्डारी भन्नुहुन्छ, ‘लामो समयदेखि रक्सी सेवन गरिरहेका र अत्यधिक रक्सी सेवन गर्नेको कलेजो बिग्रिँदै जान्छ र अन्तिममा सिरोसिस हुन्छ । त्यसबाहेक पहिला हेपाटाइटिस बी वा सी भएको मानिसमा पनि सिरोसिस हुनसक्छ । सिरोसिस भएपछि बिस्तारै कलेजो काम नलाग्ने अवस्थामा पुग्दै जान्छ । बेलैमा यसको उपचार नगरे कलेजो फेलियरको अवस्थामा पुग्छ र प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।’
‘सामान्यतया कलेजो नरम किसिमको हुन्छ । बिग्रिँदै जाँदा कलेजो साह्रो हुन्छ र चाउरिँदै पनि जान्छ । सिरोसिस तहमा पुगेपछि यसले गर्ने काम कम हुँदै जान्छ । सिरोसिस नै क्यान्सरमा पनि पुग्न सक्छ । यसरी काम नगरेपछि शरीरमा लक्षणहरु देखिन थाल्छन् । सिरोसिस भनेको शरीरको महत्वपूर्ण इन्जिन कलेजो लगभग पूर्णरुपमा बिग्रिएको अवस्था हो’, कलेजो रोग विशेषज्ञ डा. भण्डारी भन्नुहुन्छ ।
उहाँका अनुसार
‘आजभोलि कलेजोमा बोसो जम्ने (फ्याट्टी लिवर) समस्या पनि कलेजो बिग्रिँदै फेलियर अवस्थामा पुग्ने कारण हुन थालेको छ ।
कलेजोमा लामो समयसम्म बोसोपन रहेर कलेजो बिग्रिन थालेको अवस्थामा रक्सी पनि थपियो भने अझ छिटो असर गर्छ र कलेजो फेलियरको अवस्थामा पुग्छ । कलेजोमा बोसोपन बढी भएको अवस्थामा रक्सी सेवनले बोसोपन एवं जोखिम अझ बढाउँछ ।
यसका साथै खानपिनमा राम्रो ध्यान दिइएन, व्यायाम भएन अर्थात् स्वस्थ जीवनशैली भएन, अधिक मोटोपन भयो, डायबिटिज भयो, कोलेस्ट्रोल भयो र कन्ट्रोल भएन भने उनीहरुमा फ्याट्टी लिवर हुनसक्छ । शरीरलाई चाहिनेभन्दा बढी कोलेस्ट्रोल भयो भने फ्याट्टी लिवर हुन्छ । वंशाणुगत कारणले पनि हुनसक्छ । यी सबै समस्या बेलैमा औषधि उपचारले नियन्त्रण गर्नुपर्छ, साथै स्वस्थ जीवनशैली अपनाउनुपर्छ । फ्याट्टी लिवर पछि गएर सिरोसिस हुनसक्छ । समयमै नियन्त्रण गर्दा सिरोसिस हुनबाट जोगाउन सकिन्छ । नत्र कलेजो फेलियरको अवस्थामा पुगेर प्रत्यारोपण गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ ।यसका साथै कलेजो प्रत्यारोपण गर्नुपर्नाको अर्को कारण कलेजोको क्यान्सर पनि हुन्छ । यी उल्लिखित कारणहरु सबैजसो लामो समय रोग लागेर हुने खालका भए तापनि कहिलेकाहीँ एक्युट पोइजनिङ जस्तो– एकैचोटि अधिक सिटामोल सेवन गर्नु, विषालु च्याउ खानु, कुनै जडीबुटी अधिक खाएर कलेजो काम गर्न नसक्ने अवस्थामा पुग्ने हुनु पनि हो । साथै कहिलेकाहीँ भाइरल इन्फेक्सनले पनि कलेजो फेलिएर हुन्छ । हेपाटाइटिस बी र सीले लामो समयपछि कलेजो बिगार्छ भने हेपाटाइटिस ईले तत्काल कलेजो फेलियर गराउन सक्छ । कलेजो फेलियरको अवस्थामा विकल्प भनेको कलेजो प्रत्यारोपण नै हो । यसबाहेक कलेजोमा लागेका विविध रोगका कारण कलेजोका अन्य अपरेसनहरु पनि गर्नुपर्ने हुन्छ ।’
तस्वीर : अनिल आङदेम्बे
धेरै सर्जरीको कारण हाइडाटिड सिस्ट !
कलेजोमा लागेका विविध रोगका कारण प्रत्यारोपणबाहेक अन्य सर्जरी पनि गर्नुपर्ने हुन्छ र ती सर्जरीहरु पनि कलेजोको प्रकृतिका कारण सहज भने हुँदैनन्, त्यसबाट अन्य जटिलता पनि उत्पन्न हुन सक्छन् । डा. भण्डारी भन्नुहुन्छ, ‘कलेजोमा पीप जमेको, कलेजोनजिकका अन्य अंगहरुको क्यान्सर रोग सरेको, कलेजोको चोट, कलेजोको पत्थरी, कलेजोमा हुने कुनै गाँठागुँठी आदि कारणले पनि कलेजोको अपरेसन गर्नुपर्ने हुन्छ ।
यस्तै गरी कलेजोमा भएका कुनै परजीवी र हाइडाटिड सिस्ट ९जथमबतष्म अथकत० का कारणले पनि कलेजोको अपरेसन गर्नुपर्ने हुन्छ ।’ प्रा.डा. भण्डारी भन्नुहुन्छ, ‘नेपालमा धेरै गरिने कलेजोको सर्जरीमा हाइडाटिड सिस्टको कारणले ९जथमबतष्म अथकत० गरिने सर्जरी पनि हो । हाइडाइटिड सिस्ट प्रायः कुकुरको फोहोर, ¥यालबाट मानिसमा सर्ने हुन्छ । यो नेपालमा धेरै देखिने समस्या हो । शिक्षण अस्पतालमा महिनामा एक–दुईवटा यस्ता सर्जरी हामीले गरिरहेका हुन्छौँ । कुकुरबाट सर्ने भए तापनि कुकुरलाई सामान्यतया भेडाबाख्राबाट सर्छ । भेडाबाख्राको फोहोर वा मासु कुकुरले खायो भने कुकुरमा त्यस्तो सिस्ट आउँछ ।
कुकुर पालेको वरिपरि खसी वा भेडा काट्ने गरेको छ र त्यसको मासु कुकुरले खायो, छोयो भने पहिला कुकुरमा सर्छ । भेडाबाट कीरा नै कुकुरमा सर्छ । कुकुरमा सरेपछि कुकुरले मानिसको खानामा फोहोर मिसाइदियो, ¥याल मुखमा प¥यो वा खानामा परेमा मानिसलाई सर्छ । मानिसमा यो सिस्ट धेरैजसो कलेजोमा जान्छ । शरीरका अरु अंगहरुमा पनि देखिन सक्छ । सिस्टको विभिन्न स्टेज हुन्छ । हामीले देख्दा पानीको फोकाजस्तो (सिस्ट) भएको हुन्छ । यो समस्या नेपालमा निकै देखिन्छ र यसको पनि हामी अपरेसन गर्छौं । यसबाहेक अरु किसिमका सिस्टहरु हुन्छन् । त्यसको पनि हामी अपरेसन गरिरहेका छौँ ।’
प्रत्यारोपण किन जटिल ?
काम गर्न नसक्ने अवस्थामा पुगेको कलेजोको उत्तम उपचार भनेको कलेजो प्रत्यारोपण नै हो । गाडीको इन्जिन बिग्रिएर नयाँ राख्नुपर्ने अवस्थाजस्तै नै हो । तर कलेजो प्रत्यारोपणलाई चिकित्सा विज्ञानले नै ज्यादै जटिल प्रक्रिया मानेको छ । यससम्बन्धमा कलेजो तथा ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारी भन्नुहुन्छ, ‘कलेजो धेरै रक्तनलीहरुले भरिएको जटिल अंग हो । त्यसकारण कलेजो काट्दा अत्यधिक रक्तस्रावको सम्भावना हुन्छ । अन्य अंगमा जस्तो यसमा हुने रक्तस्राव सहजै रोक्न सकिँदैन । त्यसैले कलेजोको शल्यक्रिया गर्दाको सबैभन्दा ठूलो समस्या भनेको, शल्यक्रिया गरेको ठाउँबाट रक्तस्राव बढी हुने समस्या नै हो । यसकै कारण कहिलेकाहीँ बिरामीको मृत्यु हुन पनि सक्छ ।
मिर्गौला प्रत्यारोपण गर्नका लागि भन्दा पनि कलेजो प्रत्यारोपणका लागि बढी तयारी गर्नुपर्ने, परीक्षणहरु गर्नुपर्ने हुन्छ । यसका प्रक्रियाहरु धेरै भएकाले समय पनि बढी लाग्छ । कलेजो प्रत्यारोपणका लागि सिटिस्क्यान, एमआरआई, रक्तपरीक्षण आदि थुप्रै परीक्षणहरु गर्नुपर्ने हुन्छ ।
कुनै बिरामीको कलेजो प्रत्यारोपण गर्ने निर्णय भयो भने तयारीका लागि ३–४ हप्तासम्म लाग्छ । साथै काटेको भागबाट पित्तनलीहरु लिक हुने, बिरामीमा रहेको कलेजोको भागले काम नगर्न सक्ने, शल्यक्रिया गर्दा नसा ड्यामेज भएमा कलेजो फेल हुनसक्ने हुन्छ । यसले गर्दा सबै अंगलाई असर गरी डायबिटिज, उच्च रक्तचाप, जन्डिस भई नियन्त्रण नै नहुने जोखिम बढ्छ । साथै कलेजो दाताको कलेजो निकाल्दा सिटिस्क्यान र एमआरआई गरेर रगत र पित्तको नसाहरु हेरेर कहाँनेर आधा पर्छ भन्ने आधारमा दुई भागमा बाँडिन्छ । यसरी बाँड्दा ४० देखि ६० प्रतिशतसम्म भाग लगाएर निकाल्ने गरिन्छ । वास्तवमा यो शल्यक्रिया अलि जटिल प्रकृतिकै छ ।
कलेजोको शल्यक्रिया गर्न धेरै समय लाग्ने, शल्यक्रिया गर्न विशेष किसिमका महँगा उपकरण आवश्यक पर्ने, दक्ष तथा अनुभवी जनशक्ति एवं पूर्वाधार चाहिने हुन्छ । शल्यक्रियाका लागि ५–६ घन्टासम्म लाग्नु सामान्य मानिन्छ । अन्य शल्यक्रियामा भन्दा यो शल्यक्रियामा रगत बढी आवश्यक पर्छ । यसमा रक्तस्राव बढी हुने र कलेजोको काममा असर पुग्ने भएको हुँदा धेरै रगत तयारी अवस्थामा राख्नुपर्छ । यी आदि कारणले गर्दा कलेजो प्रत्यारोपणलाई जटिल प्रकारको शल्यक्रिया मानिन्छ ।’
लामो तयारी गर्नुपर्ने
कलेजो प्रत्यारोपणका लागि पहिला त १८ देखि ५५ वर्षबीचको स्वस्थ कलेजोको दाता तयार हुनुपर्छ । यस्तो दाता कुनै अपरेसन नगरेको, नियमित रुपमा लामो समयदेखि कुनै औषधि नखाएको हुनुपर्छ । रक्तसमूह र अन्य परीक्षण गर्दा मिल्ने किसिमको भयो भने सिटिस्क्यान, एमआरआई गरेर हेरिन्छ । दिने मानिस पनि सुरक्षित छ कि छैन, त्यो हेर्नै पर्ने हुन्छ । दाताको कलेजो टुक्र्याएर लान मिल्ने हो कि होइन र लगेपछि बाँकीले दातालाई पुग्छ कि पुग्दैन, हेर्नुपर्छ । साथै काटेर लगिएको भागले लिने मानिसलाई पुग्छ कि पुग्दैन, त्यो सबै विस्तृत अध्ययन गर्नुपर्छ अनि मात्र कलेजो प्रत्यारोपणको चरण आउँछ ।
कलेजो प्रत्यारोपण दुई तरिकाको हुन्छ । एउटा, मस्तिष्क मृत्यु भएका मानिसको कलेजो झिकेर ल्याई पूरै प्रत्यारोपण गर्न सकिन्छ । अर्को, कानुनले तोकेअनुसारको जीवित ब्यक्तिबाट सामान्यतया स्वस्थ मानिसको आधाजति कलेजो झिकेर, बिरामीको कलेजो पूरै निकालेर फाली स्वस्थ कलेजो राखिन्छ । यस्तो टुक्रा कलेजो दुवैमा पछि आफैँ वृद्धि हुँदै जान्छ र ६ देखि ८ हप्तासम्ममा सामान्य साइजमा नै आउँछ ।
कलेजो शरीरको ज्यादै महत्वपूर्ण अंग हो र यसविना मानिसको जीवन चल्न सक्तैन । अन्य अंगहरुको सट्टामा यान्त्रिक अंगहरु बनिसकेको भए तापनि कलेजोको सट्टामा कुनै अंग बनेको छैन । कलेजो फेलियर भएको अवस्थामा बिरामीको उपचार भनेको मृत व्यक्तिको कलेजो वा जीवित व्यक्तिबाट केही भाग कलेजो लिएर प्रत्यारोपण गर्नु मात्र हो । यो ज्यादै जटिल र महँगो पनि भएकोले कलेजोलाई रोग लाग्नबाट बचाउनु नै उत्तम उपाय हो ।
रोगको लक्षण नदेखिन सक्छ
तुलनात्मक रुपमा कलेजोले गर्ने काम अत्यधिक हुन्छ । शायद त्यसैले होला यसलाई ‘शरीरको इन्जिन’ ‘फ्याक्ट्री हाउस’ पनि भन्ने गरिन्छ । रगतमा भएका अनावश्यक वस्तु, हानिकारक तत्वहरुलाई कलेजोले मेटाबोलाइज गरेर फ्याँक्ने गर्दछ । कलेजोले हाम्रो शरीरको अनावश्यक विषाक्त पदार्थ पित्तनली हुँदै निष्कासन गर्ने गर्छ ।
कलेजोमा शरीरलाई चाहिने महत्वपूर्ण प्रोटिनहरु बन्छन् । कलेजोले सुगरलाई पनि स्टोर गरेर राख्छ र चाहिएको बेलामा शरीरलाई उपलब्ध गराउँछ । रगतलाई चाहिने अर्थात् रक्तस्राव हुँदा रगत बग्न बन्द गराउन सक्ने तत्व क्लोटिङ फ्याक्टर्स पनि कलेजोले नै उत्पादन गर्छ । शरीरको प्रतिरोधात्मक शक्ति वृद्धि गर्न चाहिने एन्टिबडीहरु पनि कलेजोले बनाउँछ । वास्तवमा भन्ने हो भने कलेजोले गर्ने जति काम अरु कुनै पनि अंगले गर्दैन भने पनि हुन्छ’, डा. रमेशसिंह भण्डारी भन्नुहुन्छ ।
डा. भण्डारीका अनुसार कलेजोमा रोग लागेपछि उल्लिखित सबै कामहरु गर्न कम हुन थाल्छ । बुझ्नुपर्ने के छ भने, कलेजोका रोगहरुमा सधैँ र सबै लक्षणहरु देखिने खालका हुँदैनन् । यदि लक्षणहरु देखिए भने आँखा तथा छाला पहेँलो हुने, पेट दुख्ने तथा फुलिने, खुट्टा, कुर्कुच्चा सुन्निने, छाला चिलाउने, पिसाब अलि कालो हुने, छाला अलि फिक्का हुने, वाकवाक लाग्ने तथा बान्ता हुने हुन्छ । कलेजो क्यान्सर भएका बिरामीहरुमा खाना खान मन नलाग्ने हुन्छ र बिरामी दुब्लाउँदै जान्छ । यस्तै शरीरको दाहिनेतिर दुख्ने र कलेजोको भागतिर डल्लोजस्तो आउन सक्छ । कलेजोमा पीप एवं सिस्ट छ भने धेरै ज्वरो आउने र दुख्ने पनि हुन्छ ।
यस्तै गरी पाचन प्रक्रिया कमजोर हुने हुन्छ । शरीरको रोग–प्रतिरोधात्मक क्षमता कम भएको कारण बारम्बार रोगको संक्रमण हुने हुन्छ । स–सानो कुरामा पनि संक्रमण हुन थाल्छ । कलेजो बिग्रिन थाल्दा शुरुमा केही लक्षण नदेखिन पनि सक्छ तर पछि लक्षणहरु देखिँदै जान्छन् । बिरामीको शरीरमा पानी भरिएर फुलिएको पनि देखिन्छ । जन्डिस हुने, आँखा पहेँलो हुने, मानिस बेहोस हुन थाल्नेजस्ता समस्याहरु देखिन थाल्छन् । यदि यस्ता लक्षणहरु देखिएका छन् भने कलेजो रोग विशेषज्ञलाई भेटी जँचाउनु उपयुक्त हुन्छ ।
कलेजो कसरी बचाउने ?
जोन्स हप्किन्स युनिभर्सिटीका क्लिनिकल लिवर रिसर्चर डा. सलेह अलक्वाटनी भन्छन्, ‘कलेजो शरीरका लागि अत्यन्तै महत्वपूर्ण अंग हो, यसले काम गर्न छोड्यो, विषाक्त वस्तुहरु निष्कासन गर्न र खाएको खानालाई मेटाबोलाइज गर्न छोड्यो, सेवन गरेका औषधिका हानिकारक वस्तुलाई त्याग्न छोड्यो भने केही दिनमै मानिसको मृत्यु हुने भएकाले यसलाई सुरक्षित र स्वस्थ राख्न विशेष ध्यान दिनुपर्छ ।
तस्वीर : अनिल आङदेम्बे
त्यसैले कलेजोलाई जोगाउन निम्न कार्य गर्न उनको सुझाव छ:
रक्सीबाट सावधान: यदि सधैँ मात्तिने गरी रक्सी खाँदा मात्र कलेजो खराब (सिरोसिस) हुन्छ भन्ने सोचेको छ भने त्यो ज्यादै गलत हुनेछ, किनकि दैनिक रुपमा एक वा दुई पेग रक्सी खाँदा पनि कलेजोमा दाग बस्न वा क्षति पु¥याउन शुरु हुनसक्छ, जसले पछि कलेजोलाई सिरोसिससम्म पु¥याउँछ ।
विषादीबाट सावधान: बालीहरुमा छर्किने विषादी, फलफूल तरकारी पकाउन प्रयोग गरिने रसायन तथा विषादीले कलेजोलाई हानि पु¥याउन सक्ने भएकाले त्यसबाट सावधान र सचेत रहनुपर्छ । त्यस्ता खाद्यवस्तुलाई राम्ररी धोई शुद्धीकरण गरेर मात्र खानुपर्छ ।
हेपाटाइटिसबाट सावधान: हेपाटाइटिस ए, बी र सीबाट कलेजोलाई जोगाउनुपर्छ । हेपाटाइटिस ए र बी कलेजोका भाइरल डिजिज हुन् । हाल बच्चालाई हेपाटाइटिस ए र बीको सुई लगाउन थालिएको अवस्थामा वयष्कमा आवश्यकता भए÷नभएको बारे चिकित्सकसँग परामर्श गर्नुपर्छ । हेपाटाइटिस बी र सीले पनि दीर्घरोग भई अन्त्यमा कलेजोलाई क्षति पु¥याउँछ । यो रोग रगत र शरीरको तरल पदार्थबाट सर्ने हुन्छ । सुरक्षित (कन्डम प्रयोग) यौनसम्पर्क मात्र गर्नु यसबाट बच्ने प्रभावकारी उपाय हो । हेपाटाइटिस ए अशुद्ध खाना र पानीको माध्यमबाट सर्ने अनि यसले पनि कलेजोमा हानि पु¥याउने भएकाले सुरक्षित र स्वस्थ खाना मात्र खानुपर्छ । खानुअघि सधैँ हात धुनुपर्छ ।
औषधि र जटीबुटीमा सावधानी: कतिपय औषधि, जटीबुटी र सप्लिमेन्टहरुले कलेजोलाई हानि पु¥याइरहेकोले यसबाट सावधानी अपनाउनुपर्छ । औषधिको जथाभावी प्रयोग गर्नुहुँदैन । कतिपयले जडीबुटीले हानि गर्दैन भनेर जडीबुटीबाट बनाइएका औषधि वा बोटबिरुवाका अंश खाने गर्छन् । यो पनि गलत तरिका हो, किनकि यसले पनि कलेजोमा हानि गर्छ । शरीरलाई तन्दुरुस्त राख्न दिइने सप्लिमेन्टहरुले पनि कलेजोलाई हानि गर्छन् ।
तौल नियन्त्रण: अधिक मोटोपन पनि कलेजो फेलियरको कारण भएकाले शरीरको तौल सधैँ नियन्त्रणमा राख्नुपर्छ । यसका लागि व्यायाम र सन्तुलित खानपानमा जोड दिनुपर्छ ।
नेपालको सन्दर्भमा कलेजो बिग्रिएर अस्पतालमै पुग्नुपर्ने कारणमध्ये रक्सी नै प्रमुख कारण भएकोले रक्सी खाँदै नखाने सल्लाह दिनुहुन्छ कलेजो तथा ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारी । साथै कलेजोमा रोग लाग्ने अन्य कारक तत्वहरुबाट बच्न पनि डा. भण्डारीको सुझाव छ ।