मन्त्रालयको ट्रयाकिङमा एम्बुलेन्स



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स कहाँ छन् भनी थाहा पाउनका लागि एम्बुलेन्स ट्रयाकिङ गर्ने सिस्टम बनाई बागमती प्रदेश र सुदूरपश्चिममा लागू गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा.समिरकुमार अधिकारीका अनुसार यो सिस्टमले देशभरिका एम्बुलेन्स ट्रयाकिङ गरेर आम नागरिकलाई स्वास्थ्य सेवा प्रवाहमा सहज बनाई एउटै सिस्टममा ल्याउन १०२ नम्बरमा कल गर्ने व्यवस्था मिलाएको बताउनुभयो । यो सेवालाई अझ सहज बनाउनका लागि स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स एप्स नै तयार गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

२०४२ सालयता नेपालमा २ हजार ४ सयवटा एम्बुलेन्स राजस्व सुविधा लिएर भित्रिएको रेकर्ड छ । एम्बुलेन्स सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्छ भने दुई वर्षपछि नवीकरण प्रदेशबाट गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

राजस्व सुविधा लिएर एम्बुलेन्स नेपाल भित्रिएको १० वर्ष चलाएपछि त्यसलाई सञ्चालन गर्न नपाउने व्यवस्था छ । कतिपय यो प्रक्रियामा नआएको देखिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स दर्ता तथा नवीकरणसम्बन्धी सूचना नै जारी गरेको छ ।

हालसम्म स्वास्थ्य मन्त्रालयमा ६ सय ६२ वटा एम्बुलेन्सले स्वीकृति लिएकोमा एम्बुलेन्स ट्रयाकिङ सिस्टममा ८१ वटामात्र आएको डा। अधिकारी बताउनुहुन्छ । नेपालमा एम्बुलेन्सका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार आकस्मिक सेवाको मापदण्ड पालना गरी क र ख वर्गमा विभाजन गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्