स्वस्थ जीवनका लागि अष्टाड्ड योगको नियम



डा. क्षितिज बराकोटी प्राकृतिक चिकित्सक

जीवनलाई सकारात्मक र उचित रुपमा अगाडि बढाउन व्यक्तिले अनेक नियमहरुको पालना गर्नुपर्दछ । व्यक्तिको आत्म अनुशासनविना उसको जीवनशैली अस्तव्यस्त हुन्छ । व्यक्तिले समग्र विकासका लागि अपनाउनुपर्ने विशेष अनुशासनको रुपमा महर्षि पतञ्जलिले योगसूत्रमा अष्टाङ्ग योगको विशेष ढंगले जानकारी दिएको पाइन्छ । यिनै आठ अंगमध्ये सकारात्मक जीवनशैलीका अनेक पक्षलाई समेट्दै दोस्रो अंगका रुपमा ‘नियम’लाई प्रस्तुत गरिएको छ ।
नियम अन्तर्गत व्यक्तिले अपनाउनुपर्ने आत्म अनुशासनका पाँच प्रकारका विधिहरु पर्दछन्, ती हुन्– शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्रणिधान । यी आत्म अनुशासनका विधिहरु अर्थात् नियमको स्वयंमा प्रयोग गर्दा के हुन्छ र नगर्दाका अवस्थामा के–कस्ता समस्या आइपर्न सक्छन् भन्ने कुरा सबैले मनन गर्नु अत्यावश्यक छ ।

लाभ–हानिहरु
पहिलो नियम: शौच
नियमको पहिलो अनुशासन हो– शौच । शौचको अर्थ निर्मलीकरण, शोधन, शुद्धीकरण अथवा पवित्रता हो । शरीर, मन, विचार, भाव, व्यवहार र कर्मको सफाइ नै शौच हो । पञ्चमहाभूत, आहारविहार, सकारात्मक मनोभाव, प्रार्थना आदि विभिन्न प्रयोगबाट शौच क्रियाको रुपमा शोधनका विधिहरुको प्रयोग सम्पन्न गर्न सकिन्छ । शरीरको बाह्य सरसफाइ गर्न स्नानादिको प्रयोग, भित्री शोधन गर्न योगविधिहरु जस्तै– नेति, धौति, वस्ति,आसन, प्राणायाम आदिको प्रयोग उदाहरण हुन् । योगले कर्म एवं व्यवहारलाई सकारात्मक, सात्विक, कुशल र निष्काम भावका साथ सम्पन्न गर्न सिकाउँछ, जसका लागि विभिन्न सूत्रमा व्याख्या गरिएको प्रयोगलाई अपनाइन्छ ।

शौचको प्रयोग गर्दा हुने लाभहरु: शरीर मलरहित वा पवित्र राख्न सकियो भने शारीरिक अंगहरुको क्षमतामा विकास हुन्छ । यसबाट प्रतिरोधक र जीवनी शक्तिको वृद्धि भई रोगमुक्त हुन सहयोग मिल्छ । बाहिरी शरीरको शौचादि क्रियाहरु जस्तै– स्नानादिबाट छालाको रौंका छिद्रहरु खुली पसिनाका माध्यमबाट विकारहरु निस्कने, छाला स्वच्छ हुने, यसबाट शारीरिक अभ्यासको लाभ प्राप्त हुने, स्नायु एवं रक्तनलीहरुमा समेत सकारात्मक प्रभाव पर्नेजस्ता अनेकौं प्रकारका फाइदाहरु प्राप्त हुन्छन् ।

आन्तरिक तथा बाह्यरुपमा गरिएका शौचकर्मबाट नित्य सहज किसिमले पेट सफा हुने, मूत्रविकार हट्ने, शरीरका प्रणाली, अंग र कोशिकाहरुमा भएका विजातीय तत्व वा विकारहरुको निष्कासन हुन्छ । योगले मानसिक तथा भावनात्मक शौचक्रियालाई सम्पन्न गराउँछ । नकारात्मक भावहरु जस्तै– तनाव, रिस, राग, द्वेष, घमण्ड, ईष्र्या, चिन्ता, अनावश्यक आशक्ति आदिलाई शौचको प्रयोगले सामान्य वा सकारात्मकतातिर लैजान्छ । यसबाट व्यक्तिको जीवनशैली सकारात्मक दिशामा मोडिन्छ भने शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यमा समेत प्रगति हुन्छ । तनको शौचबाट शरीरमा नियन्त्रण र मन एवं चित्तको अन्तरशौचबाट मनमा आनन्द, स्थिरता, इन्द्रिय नियन्त्रयण तथा आत्मदर्शनको उपलब्धि बढ्दछ ।

शौचको प्रयोग नगर्दा हुने हानिहरु: शारीरिक शौचक्रियाहरुको अभाव हुँदा वा सही अभ्यास नहुँदा शरीरभित्र र बाहिर मल तथा विकारहरु बढी मात्रामा थुप्रिन थाल्छन् । यसबाट शारीरिक अंगहरुमा रोग, कमजोरी, अनेक लक्षण तथा संकेत र अनेक विकृतिहरु आउन सक्छन् । यसबाट प्रतिरोधक क्षमता एवं जीवनीशक्तिको कमी भई विभिन्न समस्या आउने सम्भावना रहन्छ । यसरी नै मनमा अनेक प्रकारका नकारात्मक भाव वा विचार आएमा त्यसले मानसिक रोग र विभिन्न मनोवैज्ञानिक असामान्यावस्थाहरु सृजना हुन्छन् । तनाव–गडबडी, चिन्ता–गडबडी, अवसादलगायत कडा खालका मनोविकारहरु उत्पन्न हुन्छन् । नकारात्मक व्यवहार, प्रवृत्ति तथा व्यक्तित्व–विकारहरु जन्मिन्छन् । यसबाट मनोशारीरिक समस्याहरुको विकास र समग्र स्वास्थ्यका आयामहरुमा नै असर पर्न सक्छ । मन र इन्द्रियहरु नियन्त्रणमा नरही छाडा बनेमा समग्र जीवनमा समस्या आउँछ ।

दोस्रो नियम: सन्तोष
जस्तोसुकै समय र परिस्थितिमा पनि मनमा सन्तुष्टिको भाव कायम राख्नु र सन्तुष्ट रहनु नियमको दोस्रो अनुशासन हो । कर्तव्यबोध गर्दै कार्य गरेपछि प्राप्त फल जे हुन्छ, त्यसैमा रमाउनु र विषयवासना हटाएर आशक्तिविहीन अवस्थामा पुग्नु अर्थात् जति छ त्यसमै चित्त बुझाउनु सन्तोष हो ।

मनमा सन्तोष लिँदा हुने लाभहरु: सन्तोष लिँदा परम सुखको प्राप्त हुने कुरा शास्त्रहरुले बताएको पाइन्छ भने व्यवहारमा पनि मनमा सन्तोष लिएमा त्यसले आनन्दको अनुभूति हुन्छ । काममा दत्तचित्त रही जे कुरामा पनि सन्तोष लिने मान्छेलाई मानसिकरुपमा आनन्द र शान्तिको अनुभव हुन्छ । यसबाट उसको जीवनशैली सकारात्मक र स्वस्थ बन्दछ । त्यस्तो व्यक्तिमा मानसिक स्वास्थ्य र समायोजनको अवस्था राम्रो भएको मानिन्छ । सन्तोष गर्ने तर तप वा मेहनत गरेपछि प्राप्त फलप्रति सन्तुष्ट रहने कुरालाई यहाँ सन्तोष भन्न खोजिएको हो । तर परिश्रम तथा कर्तव्य पूरा नगरी सन्तुष्ट हुने प्रवृत्तिले भने व्यक्तिलाई समस्याग्रस्त बनाउँछ ।

असन्तोषको भावबाट हुने हानिहरु: असन्तुष्टि पनि अनेक मानसिक तथा भावनात्मक समस्याको जरो हो । असन्तुष्ट रहने व्यक्ति कहिल्यै खुशी रहन सक्दैन, असन्तोषं परं दुःखम् भनिएको छ । भौतिकरुपमा असन्तुष्टिले मनमा अशान्ति, लोभ, लालच, चिन्ता, ईष्र्या, छटपटी र बेचैनी आउँछ । असन्तुष्टिको परिपूर्ति वा सन्तुष्टि प्राप्त गर्न व्यक्तिले अनैतिक वा नकारात्मक काम गर्न सक्छ । यस्तो अवस्थामा उसको मानसिक असन्तुलन बिग्रन सक्छ र अनेक खालका मनोरोग उत्पन्न हुने सम्भावना रहन्छ । त्यसैले असन्तुष्ट विचार, बानी र व्यवहारलाई त्याग्ने अभ्यास गर्नुपर्दछ । यसो गर्दा उसको जीवनशैलीमा पनि सकारात्मक प्रभाव पर्न थाल्छ ।

तेस्रो नियम: तप
तपको अर्थ हो– तपस्या गर्नु, मेहनत वा परिश्रम गर्नु र दृढ साधना गर्नु । आप्mनो परम्परा र क्षमता अनुरुप स्वधर्मको पालना गर्दै दुःख–पीडा आदिलाई सहँदै, समस्यासँग जुझ्दै, समत्वको भावलाई अपनाउनु पनि तप हो । आप्mनो जीवन धान्न, वृत्तिविकास गर्न र शिक्षा एवं ज्ञान प्राप्त गर्नको लागि मेहनतको निकै आवश्यकता पर्छ । दृढ संकल्पका साथ साधना गर्न सकेमा त्यसले सफलता प्राप्त हुन्छ । बाह्य वा अन्तरंग दुवै खालको साधनाका लागि निरन्तर परिश्रम गर्नु जरुरी छ । जीवनका हरेक पक्षमा सकारात्मक परिवर्तनका लागि तपस्या गर्नुपर्छ, लामो र निरन्तर प्रयत्न नै तपको स्वरुप हो ।

तपको प्रयोग गर्दा हुने लाभहरु: तपको अभ्यासले व्यक्तिलाई सफल बनाउन मद्दत गर्दछ । तपले परिश्रमता, निरन्तर अभ्यास, जागरुकता, काम र ज्ञानप्राप्तिको निष्ठा, लक्ष्यप्राप्तिको दिशाबोध आदिलाई जनाउँछ । व्यक्तिमा भएको अकर्मण्यता, कमी–कमजोरी, अक्षमता, अविद्या, अज्ञानता आदिलाई हटाएर सक्षमता र दक्षतातिर उन्मुख बनाउँछ । तपले आलस्य हटाई तरोताजा र परिपक्व बनाइराख्न मद्दत गर्दछ ।

तपको प्रयोग नगर्दा हुने हानिहरु:लगनशीलता र परिश्रमविना न भौतिक विषयमा प्रगति हुन्छ, न त आध्यात्मिक उन्नति नै हुन्छ । चाहे शरीरको अभ्यासका दृष्टिकोणले होस् वा व्यक्तित्व, बौद्धिक, आर्थिक, मानसिक एवं भावनात्मक वा आध्यात्मिक विकासका लागि नै किन नहोस्, यदि झारा टार्ने कार्य गरियो भने वा विशेष प्रयास गरिएन भने त्यो अर्थहीन हुन पुग्छ र त्यसले विफलतालाई निम्त्याउँछ । जीवनशैलीका दृष्टिबाट पनि दिनचर्या, रात्रिचर्या, आहारविहार, रोग वा सामान्यावस्थामा तनमनको व्यवस्थापन आदिको लागि तमस्या गर्नु जरुरी छ ।

चौथो नियम:स्वाध्याय
स्वाध्याय भनेको आत्मचिन्तन एवं कर्तव्यबोध हो । शास्त्रको अध्ययन, गुरु तथा मान्यजनको विचारहरुको सम्मान र निर्देशनहरुको पालना गर्नु स्वाध्याय हो । जब व्यक्तिले आत्मावलोकन, बाह्यज्ञान तथा अन्तरज्ञानको साधना गर्दछ, म को हुँ, के गर्नु छ, म अन्तमा कहाँ पुग्ने हो भन्ने स्वचिन्तन गरी आध्यात्मिक मार्गमा हिँड्ने अभ्यास गर्नु त्यो स्वाध्याय हुन्छ । स्वस्थ जीवनशैलीका दृष्टिकोणबाट हेर्दा मैले आनीबानी, व्यवहार र जीवनचर्या ठीक राखेको छु कि छैन ? कस्तो गर्नुपर्छ ? चेतनाको जागरण ल्याई समग्र पक्षमा रुपान्तरणको कार्य कसरी गर्ने ? आदिमा ध्यान दिनु नै स्वाध्याय हो । योगले स्वाध्यायमा ईश्वरको चिन्तनका लागि जप–साधनालाई महत्वपूर्ण मानेको छ ।

स्वाध्यायको प्रयोग गर्दा हुने लाभहरु: शारीरिक दृष्टिकोणमा स्वाध्यायले शरीरको शुद्धीकरण र स्वास्थ्यमा विशेष प्रभाव पार्दछ । बौद्धिक विषयमा स्वाध्यायले ज्ञानलाई बढाउँछ । मानसिक तथा भावनात्मक पक्षबाट स्वाध्याय गर्दा मानसिक विकारको अवस्थालाई हटाई मन तथा विचारहरुमा सात्विकता, शान्ति र आनन्द पाउन सकिन्छ । आध्यात्मिक दृष्टिले स्वाध्याय गर्दा आत्मदर्शन एवं परम चैतन्यता प्राप्तिमा सहयोग गर्दछ । जसले स्वाध्याय र स्वमूल्यांकन गर्दछ, उसले जीवनशैलीलाई सकारात्मक दिशामा अगाडि बढाउँछ ।

स्वाध्यायको प्रयोग नगर्दा हुने हानिहरु: स्वाध्यायको अभ्यासविना आत्मनियन्त्रण र स्वविकास पूर्ण हुँदैन । आपूmले गरेका कामको स्वमूल्यांकन गर्न कठिनाइ हुन्छ । स्वाध्यायको अभ्यास नगरी आत्मचिन्तन हुँदैन । स्वाध्याय नगर्दा शारीरिक, मानसिक, भावनात्मक र सामाजिक पक्ष असन्तुलन हुन्छ, जीवनशैली भताभुंग हुन्छ र आध्यात्मिक उन्नति हुन पाउँदैन ।

पाँचौँ नियम: यम ईश्वर प्रणिधान
ईश्वर प्रणिधानको अर्थ ईश्वरप्रतिको प्रेम हो । मन, वचन र कर्मले करुणा, दया, माया, सदाचार, प्रेम आदि सकारात्मक भावहरुको विकास गर्नु र भौतिक चिन्तनभन्दा आध्यात्मिक चिन्तन गर्नु पनि ईश्वर प्रणिधान हो । नवधा भक्तिको माध्यमले ईश्वरलाई चिन्तन गर्नु र समर्पणभाव अभिव्यक्त गर्नु पनि ईश्वर प्रणिधान हो ।

ईश्वर प्रणिधानको प्रयोग गर्दा हुने लाभहरु: लौकिक र भौतिक चिन्तनबाट जति सुखको अनुभव भए पनि त्यो अन्ततः दुःखको मार्ग बन्दछ भन्ने पूर्वीय मान्यता छ । आध्यात्मिक चिन्तन र आपूmभित्रै सुख खोज्ने माध्यम भनेको अन्तर्यात्रा र अन्तरंग योगको साधना हो । ईश्वर प्रणिधानले भक्तियोग, कर्मयोग, ज्ञानयोग, राजयोग, हठयोग आदि साधनाको पराकाष्ठालाई इंगित गर्दछ । यसरी नै नवदा भक्तिको प्रयोग र चित्तवृत्तिको नियन्त्रणबाट समेत ईश्वरप्राप्ति हुने जनाइएको छ । ईश्वरप्रतिको प्रेम र समर्पणले सद् चिद् आनन्दको प्राप्ति हुन्छ । जीवनमा ईश्वरप्रतिको विश्वास र चिन्तनले व्यक्ति र परिवारमा आपसी मित्रता, सद्भाव, खुशी, आनन्द र सकारात्मक भावहरुले तनाव घट्ने, सात्विक गुणको विकास हुने, मनमा असीम आनन्द आउने र विशेष ऊर्जा प्राप्त भई जीवनशैली स्वस्थ र आदर्शमूलक बन्दछ ।

ईश्वर प्रणिधानको प्रयोग नगर्दा हुने हानिहरु: अध्यात्मविना जीवन पूर्ण हुँदैन । आध्यात्मिकता नभएको तामसिक प्रवृत्तियुक्त मानिस क्रूर, हिंस्रक, तामसी प्रवृत्तिले युक्त र स्वार्थी हुन्छ । त्यस्ता व्यक्तिमा कसैप्रति डरभर नहुने, अनुशासनको कमी हुने आदिका साथै जीवनचर्यामा अस्तव्यस्तता र अनेक नकारात्मकताहरु रहेका हुन्छन् । तामसिक प्रवृत्ति नभएका व्यक्तिहरुमा पनि आध्यात्मिकता नभएमा मनमा पूर्ण शान्ति, चरम आनन्द र प्राणीहरुप्रति करुणाको भाव विकास नहुन सक्छ । ईश्वरप्रति विश्वास भएमा जीवनशैली स्वस्थ, सकारात्मक, गुणात्मक र आध्यात्मिक बन्दछ, जसले जीवनमा सुखानुभूति र खुशी प्राप्त हुन्छ ।

(स्वस्थ जीवनशैलीका लागि पतञ्जलिको योगदर्शनमा आधारित अष्टांगयोगले के महत्त्व राख्छ भन्ने बारेमा यहाँ चर्चा गरिएको छ । आगामी अंकहरुमा अष्टांगयोगका बाँकी अंगहरुको बारेमा पनि क्रमशः चर्चा गरिनेछ ।)

प्रतिक्रिया दिनुहोस्