मानसिक रोगको उपचारलाई योगले प्रभावकारी बनाउने



डा. अरुणा उप्रेती जनस्वास्थ्य विज्ञ

भारतको कर्नाटकमा रहेको मानसिक रोगसम्बन्धी अध्ययन गर्ने प्रसिद्ध संस्था ‘राष्ट्रिय मानसिक स्वास्थ्य र स्नायु विज्ञान संस्था (NIHHANS)’ मूलरुपमा मानसिक रोगीहरुको उपचार गर्ने संस्था हो । यस चिकित्सा विज्ञान संस्थामा मानसिक रोग विषयमा उच्च स्तरको पढाइ पनि हुन्छ ।सन् १९७० मा खुलेको यो संस्थामा सन् २०१४ देखि योगले मानसिक रोगहरुको उपचार गर्न कस्तो भूमिका खेल्न सक्छ भनेर अध्ययन पनि शुरु भएको थियो ।

मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गर्ने उक्त संस्थामा मानसिक रोग विज्ञहरु, आयुर्वेद तथा योग विज्ञहरुसमेत समावेश गरेर कसरी योगासनले मानसिक बिरामीलाई फाइदा गर्छ भनेर अनुसन्धान पनि गरिँदै आएको छ ।

यस संस्थानमा गरिएको अध्ययनबाट के देखिएको छ भने, निराशापन (डिप्रेसन) का बिरामीलाई औषधि, परामर्शको साथै योगासनहरु पनि गर्दा रोग निको पार्न बढी सहज भयो । यो अध्ययन कोरोनाको महामारीको बेला गरिएको थियो । प्रोफेसर मुरलिधरन केसवनले यो अध्ययनको नेतृत्व गरेका थिए ।

७० जना बिरामीलाई साढे ३ वर्षसम्म यो अध्ययनमा सहभागी गराइएको थियो । यो अध्ययनको प्रतिवेदन क्यानडाबाट प्रकाशित हुने ‘मानसिक रोग’ सम्बन्धी पत्रिकामा पनि प्रकाशित भएको थियो । यससम्बन्धी अध्ययन गर्दा बिरामीहरुको अनुभवको साथै मस्तिष्कको विभिन्न भागको पनि आधुनिक तरिकाको जाँच गरिएको थियो ।

विभिन्न योगासनहरु गरेपछि सहभागीहरुको मस्तिष्कबाट निस्कने त्यस्ता किसिमका रसायनहरु बढी भएको पाइयो, जुन रसायनहरु कम हुँदा मानिस निराश हुने गर्छ । अन्य विभिन्न अध्ययनहरुमा पनि योगासनहरु र व्यायामहरु गर्दा साधारणदेखि कडा खालका डिप्रेसनलाई कम गर्न मद्दत पुग्ने गरेको कुरा उल्लेख गरिएको छ । यसरी व्यायाम गर्दा, हिँड्दा, पौडी खेल्दा मानिसको शरीरमा विषेश प्रकारको हर्मोन ‘इन्ड्रोफिन’ ९भ्लमयचउजष्ल० निस्कन्छ । यो रसायन (हर्मोनको) प्रभावले तनाव कम हुन्छ अनि मानिसलाई सहज र स्वस्थ महसुस हुन्छ ।

पहिले–पहिले योग र व्यायामले मानसिक तनाव, मानसिक रोग आदिको उपचारमा मद्दत गर्छ भन्दा यो अवैज्ञानिक कुरा हो भनेर हाँसोमा उडाइन्थ्यो । तर अहिले विभिन्न मानसिक रोगमा यिनको भूमिकाबारे वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेका छन् । तर यस्ता प्रयोगहरु आफैँले घरमा गर्नुहुँदैन, विज्ञहरुको सल्लाह अनुसार मात्र गर्नुपर्छ भन्ने कुरामा चाहिँ ध्यान राख्नुपर्छ ।

अत्याधुनिक मेसिन प्रयोग गरेर योगासन गर्ने व्यक्तिहरुको मस्तिष्कको जाँच गर्दा मस्तिष्कका अस्वस्थ कोषहरु बिस्तारै स्वस्थ भएको पाइएको छ । उमेरसँगै मानिसको मस्तिष्कका कोषहरु कमजोर हुँदै जान सक्छन् । तर अध्ययनले योगासन गर्नेहरुको मस्तिष्क सक्रिय र स्वस्थ रहने गरेको पुष्टि गरेको छ ।

चिकित्सकहरुले पहिले–पहिले ‘मस्तिष्कका कोषहरु उमेर बढ्दै जाँदा मर्दै जान्छन् र मस्तिष्कको सक्रियता कम हुन्छ’ भन्ने गर्थे । तर अनेक वैज्ञानिक अनुसन्धान, व्यावहारिक प्रयोग आदिले के देखाएको छ भने वास्तवमा मस्तिष्कका कोषहरुलाई सक्रिय बनाइराख्न अनेक उपायहरु छन् । पहिले त सकेसम्म शरीरलाई चलायमान राख्नु नै हो । उमेर अनुसारको हिँडाइ, व्यायाम, योगासन गर्नुपर्छ भनेर अहिले चिकित्सकहरुले पनि सल्लाह दिन्छन् ।

विभिन्न किसिमको ध्यानले तनाव कम गर्न सहयोग पुगेको र ज्येष्ठ नागरिकहरुको डिप्रेसन, आत्तिने समस्या पनि कम गर्न मद्दत पुगेको पाइएको कुरा ‘वृद्धावस्था र मानसिक स्वास्थ्य’ नामक एक स्वास्थ्य पत्रिकाले एक अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै प्रकाशन गरेकोे छ । यसको साथै मसाज गर्ने, संगीत सुन्ने आदिले पनि मद्दत गर्छ भन्ने निष्कर्ष निकालेको छ ।

कुनै ठूलो दुर्घटना परेपछि लामो समयसम्म रहिरहने निराशालाई कम गर्न पनि योगासनले मद्दत गर्ने कुरासमेत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।साथै श्वास–प्रश्वासको व्यायाम (अनुलोम–विलोम, कुम्भक) आदिले मस्तिष्कलाई सक्रिय गरेर निराशा (डिप्रेसन) कम गर्न सक्छ भनेर अनुसन्धानले देखाएको छ । हुन त योगका विभिन्न प्रकारहरु हुन्छन् । अनेक थरीका योगासन, श्वास–प्रश्वासले शरीरको लचकता बढाउन, तनाव कम गर्न मद्दत गर्छ ।

विभिन्न वैज्ञानिक अनुसन्धान प्रतिवेदनमा उल्लेख भएअनुसार योगासनले खुशी हुने हर्मोन मस्तिष्कमा पैदा गर्छ । जस्तो– डोपामिन, सेराटोनिन आदि । यस्ता रसायनहरुको कमीले डिप्रेसन हुन सक्ने सम्भावना हुन्छ । योगासन गर्दा प्रायः व्यायामजस्तो छिटो–छिटो गरिन्न तर पनि यसले मुटुको धड्कन बढाउन र मस्तिष्कलाई पनि सक्रिय गराउन भूमिका खेल्छ, आनन्दको अनुभूति दिन्छ । औषधिको साथै योगको संयुक्त प्रयोगले मानसिक समस्या छिट्टै निको हुन मद्दत गर्न सक्ने विभिन्न अध्ययनले पुष्टि गरिसकेका छन् ।

अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार दैनिकरुपमा योगासन गर्नेहरुमध्ये ८६ प्रतिशतले योगासनले तनाव कम गर्न मद्दत गरेको बताएका छन् । योगासनले निद्रा राम्रो लगाउन पनि मद्दत गर्छ । ६० जना सहभागीहरुलाई समावेश गरेर गरिएको एक अनुसन्धान प्रतिवेदन अनुसार योगासन नियमित गर्दा निद्राको गुणस्तर र समयावधिमा पनि वृद्धि भएको पाइयो । निन्द्रा राम्रो भएपछि तनाव पनि कम भयो ।
ध्यान, योग गर्ने व्यक्तिहरुको भोजन पनि प्रायः स्वस्थकर हुने गरेको पाइएको छ ।

यसले गर्दा तौल बढ्ने क्रम पनि नियन्त्रणमा आउँछ र नसर्ने रोगहरु हुने सम्भावना पनि न्यूनीकरण हुन्छ । तर ज्येष्ठ नागरिकहरुले योगासन शुरु गर्दा आफँैले नगरी गुरुहरुको निगरानीमा गर्नुपर्छ ।अक्सर्फाेड विश्वविद्यालयले गरेको एक अनुसन्धान प्रतिवेदन अनुसार एकदम रिसाउने, झगडा गर्ने मानिसको व्यवहारमा योगासनको प्रयोगले परिवर्तन ल्याउन सफलता मिलेको पाइएको छ । यो अध्ययन बेलायतको जेलमा गरिएको थियो । जेलका १८ वर्षमुनिका व्यक्तिहरुमाझ गरिएको यो अध्ययन १० हप्तासम्म गरिएको थियो । यो अध्ययन गर्दा जेलमा भएकाहरुको मानसिक तनाव आदिमा योगासनले के प्रभाव पार्छ भनेर हेरिएको थियो ।

सो अध्ययनमा आएको परिणाम अनुसार योगासन नगरेका व्यक्तिहरुको तुलनामा १० हप्ते योगको अनुसन्धानमा भाग लिएकाहरुको तनाव कम भएको पाइयो । उनीहरुको व्यक्तित्वमा पनि धेरै सुधार भएको पाइयो । ‘यसरी योगासन गर्दैमा सबै कैदीहरु एकैचोटि रिसाउन त छोड्दैनन् तर योग र ध्यानले उनीहरुमा सकारात्मक भाव भने जगाउने गरेको पाइएको छ । रिसाउनु र झगडा गर्नुभन्दा अघि विचार गर्ने शक्ति बढाउँछ । जेलबाट आएपछि समुदायमा कसरी रहने भन्ने जानकारी दिन्छौँ’, साम सेटल अक्सफोर्ड जेलका बन्दीहरुसँग काम गर्ने संस्थाका निर्देशकले भनेका छन् ।

त्यसै गरी सो सम्बन्धी केन्या (अफ्रिका) मा गरिएको एक अध्ययन प्रतिवेदन बेलायतको ‘जुर्नाल अफ मेडिसिन’ नामक पत्रिकामा छापिएको छ । सो प्रतिवेदन अनुसार मानसिक समस्या भएका ६३२ जनालाई योगासनमा सहभागी गराइएकोमा उनीहरुको बानी–व्यवहारमा परिवर्तन आउनुको साथै रोगमा समेत कमी आएको पाइयो ।

त्यसै गरी योगासनका कारण समय–समयमा विनाकुनै कारण अति टाउको दुख्ने समस्या (माइग्रेसन) को न्यूनीकरणमा पनि मद्दत पुग्ने गरेको केही अनुसन्धानले देखाएका छन् ।यसै गरी कलेजमा पढ्ने ६० जना छात्रहरुलाई परीक्षा शुरु हुनुभन्दा १२ हप्ताअघिदेखि योगासन गराएर अध्ययन गरिएको थियो । त्यसपछि जाँचको बेलामा उनीहरुको रगत जाँच गर्दा ‘कोर्टिजोल’ नामक रसायन उनीहरुको शरीरमा कम भएको पाइयो । कोर्टिजोल शरीरमा बढी हुँदा तनाव उत्पन्न हुने गर्छ ।

सन् २०२१ मा गरिएको एक अध्ययनमा निराशापन (डिप्रेसन) भएका ८४ जना बिरामीमध्ये केहीलाई दश हप्तासम्म हप्ताको दुईचोटि योगासन गराउनुको साथै औषधि र परामर्श दिइएको थियो । केहीलाई औषधिको साथै परामर्शमात्र दिइएको थियो । औषधि र परामर्शमात्र गरिएका बिरामीहरुको तुलनामा योगासनसमेत गरेका व्यक्तिहरुले बढी स्वस्थताको अनुभव गरेको पाइयो । यस्ता अनुसन्धानहरुबाट योगासनले मानव मस्तिष्कलाई स्वस्थ राख्न तथा तनाव कम गर्न भूमिका खेल्छ भन्ने त भएको छ तर केवल योगासनकै भरमा मानसिक रोगहरु ठीक हुँदैनन् भन्नेचाहिँ सबैले
बुझ्नुपर्छ ।

योगको सान्दर्भिकता झन् बढ्यो

धुलिखेल अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. अजय रिसाल भन्नुहुन्छ, ‘पाश्चात्य चिकित्सा विधिमा समेत अहिले आएर पूरक या वैकल्पिक चिकित्सा पद्धतिका रुपमा योगलाई पनि लिन थालिएको छ । योगलाई अहिले शारीरिक, मनोवैज्ञानिक एवं मनोसामाजिक स्वास्थ्योपचारको साधनको रुपमा मान्यता दिइएको छ । कोभिड महामारीपछिको आजको समयमा त यसको सान्दर्भिकता अझै बढी हुन पुगेको छ । योग शारीरिक सक्रियताका लागि मात्र नभएर सबै उमेर समूहका लागि गतिशीलता, सन्तुलन, बोध, अनुभूति, निद्रा, जीवनको गुणात्मकता, व्यक्तिपरक स्वस्थता अनि मनोवैज्ञानिक स्वास्थ्यका लागि समेत महत्वपूर्ण अवयव बन्न सक्ने कुरा अन्तर्राष्ट्रिय अध्ययनहरुमा समेत देखिएको छ ।

वास्तवमा ‘जीवेम शरदः शतम्’ अर्थात् ‘स्वस्थ भई सय वर्ष नै बाँच्न सकियोस्’ भनेर प्रार्थना गर्न या चाहना राख्न त हाम्रो सनातन संस्कृतिले नै शदीयौंदेखि नै सिकाउँदै आइरहेको छ । हाम्रो चिकित्सा विज्ञानमा शारीरिक गतिशीलतालाई नै स्वस्थ रहने आधार मान्ने गरिएको छ । विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिकहरुका लागि हप्तामा दुईदेखि तीन दिनको करिब १५०–३०० मिनेटको गतिशील व्यायामको आवश्यकता रहेको देखाएको छ ।

वृद्धवृद्धाहरुलाई उमेर अनुसारको कार्यक्षमतामा आउने ह्रासको रोकथामका लागि पनि शारीरिक गतिशीलताको जरुरत छ । यसले तिनमा स्वास्थ्यका साथसाथै स्वायत्तता, स्वतन्त्रता, सामाजिक उत्तरदायित्व, मर्यादा अनि जीवनको गुणात्मकतामा समेत वृद्धि हुने गर्दछ । शारीरिक सक्रियताका लागि वृद्धवृद्धाहरुका लागि योगाभ्यासजस्तो उपयोगी अरु के पो होला र ? हाम्रोजस्तो सनातन संस्कृतिमा भिजेका ज्येष्ठ नागरिकहरुले त सजिलैसँग योगाभ्यासमा आफ्नो दैनिकीलाई अभ्यस्त गराउन सक्छन् ।

योगको आसन विधिले तिनलाई शरीरिक अन्ततः व्यक्तित्वको विकास अनि आध्यात्मिक चेतनामा पनि जागरुक गराउँछ । सन्तुलनका लागि अभ्यस्त गराउँछ भने प्राणायाम अनि ध्यान विधिले मानसिक शान्ति प्रदान गर्दछ । अन्ततः आत्मानुशासनमा बाँधेर तिनलाई सबल एवं जागरुक बनाउँछ ।

यसले स्मरणशक्तिमा समेत वृद्धि गराउने तथ्य पनि पस्केका छन् विभिन्न अध्ययनहरुले । उदासीनता, तनावजन्य मनोसामाजिक समस्या, निद्राका समस्याहरुमा पनि कमी ल्याउँछ योगले । मुटुरोग, रक्तचाप, दम, श्वास–प्रश्वासजन्य समस्याहरुमा कमी ल्याएर रोग–प्रतिरक्षा क्षमतामा पनि वृद्धि गराउँछ योगाभ्यासले ।’

रोगमा विभिन्न आसन

मस्तिष्कलाई स्वस्थ राख्ने केही आसनहरु गर्दा लाभदायक भएको पाइएको छ । जस्तो– हलासन गर्दा मस्तिष्कमा प्राणवायु बढ्न जान्छ । मस्तिष्कको तौल शरीरको तौलको केवल २ प्रतिशतमात्र हुन्छ । तर यसले सम्पूर्ण शरीरमा जाने २० प्रतिशत ऊर्जा प्राणवायु खपत गर्छ । ५ मिनेटसम्म यदि मस्तिष्कमा प्राणवायु (अक्सिजन) पुगेन भने मृत्यु हुन्छ । मस्तिष्कमा कति कोषहरु हुन्छन् भन्ने छलफल गर्दा विज्ञान भन्छ– ‘जति आकाशगंगामा तारा छन्, त्यति नै मस्तिष्कमा कोष छन्’ । यी कोषहरु लामो समयसम्म सक्रिय भएर रहन भने योगासनलाई महत्व दिनुपर्छ ।

त्यसै गरी मस्तिष्कलाई शान्त राख्न उत्तानासनको पनि महत्व छ । पद्मासनमा तपस्या गर्ने ऋषिमुनीहरुको फोटो सबैले देखेका छन् । ‘पद्मासन’ मा बस्नु, श्वास–प्रश्वास (सास लिनु) पनि मस्तिष्क सक्रिय राख्ने एक प्रक्रिया हो । नियमितरुपमा यी आसन गर्दा फाइदा पुग्छ ।

प्रतिक्रिया दिनुहोस्