कम सुताइले रोग र दुर्घटना बढाउँदै



भगवती तिमल्सिना

मानवजीवन सुखी, खुशी बनाउनका लागि स्वस्थ जीवन हनुपर्छ । स्वस्थ जीवनका लागि कम्तीमा ८ घन्टा मजाले निदाउनुपर्छ । निद्रा पुगेन भने शरीरमा रोगको बाटो खुल्छ र मानिसले चाहेका भन्दा नचाहेका विषयहरुले बढी दुःख दिन थाल्छन् । मानिसको जीवन जिउने कला र सक्रियताका लागि पूरा समय निद्रा लाग्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

कन्सल्टेन्ट पल्मोनोलोजिस्ट एन्ड स्लिप मेडिसिन विशेषज्ञ डा. राजु पंगेनीका अनुसार निद्रा मानिसको शरीरलाई नभई नहुने कुरा हो । मानिसको शरीरलाई स्वस्थ बनाउन, शारीरिक वृद्धि विकास, दिमागलाई ऊर्जावान् बनाई शरीरलाई तन्दुरुस्त राख्न, रोग–प्रतिरोधात्मक क्षमतालाई स्थिर राख्न, अध्ययन–अध्ययापन गर्न, लेखपढलगायतका नयाँ–नयाँ सृजना गर्नका लागि दिमागलाई आरामको खाँचो पर्दछ । जब मानिसले पूर्ण गुणस्तरीय निद्रा पाउँछ तबमात्र यस्ता काम गर्न सक्छ ।
निद्रा के हो र कसरी गुणस्तरीय निद्रा प्राप्ति गर्न सकिन्छ र कुन–कुन उमेर समूहका व्यक्तिलाई कति निद्रा आवश्यक हो ? कुन समयको

सुताइलाई गुणस्तरीय मानिन्छ भन्ने विषयमा नेप्लिज सोसाइटी अफ स्लीप डिस्अर्डर सोसाइटीका महासचिव तथा त्रिवि शिक्षण अस्पतालका ईएनटी सर्जन डा. योगेश न्यौपाने भन्नुहुन्छ, ‘स्वस्थ जीवनशैलीका लागि कम्तीमा ७ देखि ८ घन्टा निदाउनै पर्छ । यसमा पनि उमेर अनुसार निदाउने समय फरक हुन्छ । जस्तै– ५ देखि १८ वर्षमुनिका बालबालिकालाई ९ घन्टा र वयष्कलाई कम्तीमा ७ घन्टाको निद्रा आवश्यक पर्छ ।’
डा. न्यौपाने भन्नुहुन्छ, ‘घुरेर सुतेको मानिसको निद्रालाई जसरी अर्को व्यक्तिले देख्दा र सुन्दा कत्ति मज्जाले घुरेर निदाएको छ भन्छाँै त्यो निद्रा गुणस्तरीय होइन । यस्तो निद्राको गुणस्तरमा पनि ध्यान दिनुपर्छ । कतिपय घुरेर निदाउने व्यक्तिमा श्वास–प्रश्वासको समस्या हुने, गुणस्तरीय निद्रा नहुने, हार्टअट्याक हुने, श्वासनली साँघुरिएको हुन सक्ने जस्ता विभिन्न खालका समस्या हुन सक्छन् ।

जुन व्यक्तिलाई यस्तो खाले समस्या छ उसलाई गहिरो निद्रा पर्दैन र लामो समय सुते पनि गुणस्तरीय निद्रा हुँदैन । जो व्यक्ति सुत्नेबित्तिकै निदाउँछ त्यो पनि राम्रो होइन र खाना खानासाथै निदाउनु पनि गुणस्तरीय निद्रा होइन । यसले स्वास्थ्यलाई फाइदा पुग्दैन । जो व्यक्ति बेलुका खाना खाएको २ घन्टापछि ओछ्यानमा जान्छ, निद्राको गहिराइमा पर्छ, हरेक राति एउटै तालिकालाई निरन्तरता दिन्छ र बिहानको सूर्योदयभन्दा पहिला ८ घन्टाको निद्रा पूरा गरेर उठ्छ, त्यो व्यक्तिलाई राम्रोसँग निदाएको भनिन्छ ।’
निद्रा के हो र मानिस रातमा कसरी निदाउँछ भन्ने बारेमा डा. न्यौपाने भन्नुहुन्छ, ‘मानिसको टाउको पछाडि पाइनियल ग्लान्ड हुन्छ । जब रात

पर्छ, यसले मेलाटोनी हर्मोन निकाल्छ अनि मानिसलाई निद्रा शुरु हुन्छ । त्यसपछि आँखा र मुटुको चाल घट्दै जान्छ, श्वास–प्रश्वासको गति पनि कम हुँदै जान्छ र निद्राको दोस्रो चरण शुरु हुन्छ । जब मानिस गहिरो निद्रामा पर्छ, त्यति बेला उसले केही थाहा पाउँदैन । यो तेस्रो चरणको अत्यन्तै गहिरो निद्रा परेको अवस्था हो । यति बेला शरीरका सबै अंगहरुले आराम लिएका हुन्छन् । जति बेला शरीरका मांसपेशीहरु निष्क्रिय हुन्छन् त्यति बेला मानिसले सपना देख्न थाल्छ । यति बेला मस्तिष्क भने सक्रिय भैरहेको हुन्छ । यसलाई चौथो चरणको निद्रा भन्ने बुझ्नुपर्छ । मानिसले चार चरणमा निदाउन सक्यो भने मात्र उसको निद्रा पूरा भएको मानिन्छ । विज्ञानले यसैलाई गुणस्तरीय पूर्ण निद्रा पुगेको आधार मानेको छ । तर सपनालाई वैज्ञानिकरुपमा खोजकै विषयका रुपमा लिइएको छ । सपना देख्नु ठोस कारण नभएर दिनभरिको कामको तर्कना बढ्नु, गहिरो निद्रा नपर्नु, शरीर बढी थाकेर गुणस्तरीय निद्रा नपर्नुजस्ता अनुमान गरिए पनि विज्ञानले अहिलेसम्म सपना के हो भन्ने बारेमा प्रमाणित गरेको छैन । यो खोजकै बिषय बनेको छ ।’

 

निद्रा मानवशरीरका साथै प्राणीहरुको लागि किन आवश्यक भन्ने विषयमा डा. पंगेनी भन्नुहुन्छ, ‘सर्वप्रथम त मानिसको हकमा शरीर आलस्य हुने र सोच्ने क्षमता, स्फूर्तिमा कमी आउनुका साथै काम गर्नै गाह्रो पर्छ । त्यसैले शरीरको आरामका लागि र हरेक गतिविधिमा सक्रियताका लागि निद्रा आवश्यक छ । साथै शारीरिक र मानसिकरुपमा स्वस्थ हुनका लागि पनि निद्रा आवश्यक छ । मानिस अनिदो हुँदा राम्ररी देख्न सक्दैन, सवारीसाधन चलाउँदा दुर्घटना हुने सम्भावना बढ्छ ।

उच्च रक्तचाप, मधुमेह, मुटुरोग, टाउको दुख्ने, आँखा दुख्ने, मानसिकरुपमा समस्या हुने, चिड्चिडाहट हुनेजस्ता थुप्रै समस्या निम्तिनुका साथै दीर्घरोगको सिकार हुन सक्छ । केही वर्षयता इलेक्ट्रोनिक डिभाइस, मोबाइल, आइप्याड, कम्प्युटर, टिभीलगायतका वस्तुको अधिक प्रयोगका कारण निदाउने समय कटौती हुँदै गएको छ । हरेक घरमा मोबाइल, इन्टरनेट, युटुबजस्ता प्रोग्रामहरुले बालक, युवा, वृद्ध सबैलाई आकर्षित गरेको छ । अझ बालबालिकाका लागि खाना खुवाउने माध्यमसमेत मोबाइलमा देखिने प्रोग्राम बन्दै छ । यस्ता दृश्यले मानिसमा धूमपान, मादक पदार्थ सेवन, लागू औषधको सेवनजस्तै नराम्रो लतसमेत बसेको छ । यसले निद्राको समय बिगार्दै र रोग बढाउँदै गएको विषयमा विश्वका मानवजाति चिन्तित भए पनि प्रयोग भने अत्यधिक बढेको छ ।’

डा. न्यौपाने भन्नुहुन्छ, ‘स्वस्थ जीवन जिउनका लागि गुणस्तरीय निद्रा पु¥याउन समयमै सुत्नुपर्छ । बेलुकाको खानामा चिल्लो, पिरो कम खानुपर्छ । नियमित सुत्ने समय निर्धारण गरी सुत्नका लागि घन्टी राख्नुपर्छ । नियमित सुत्ने समय निर्धारण गरेपछि उठ्नका लागि घन्टी राख्नै पर्दैन । सुत्नुपहिला कम्तीमा एक घन्टाअगाडि मोबाइल, फोन, ल्यापटपजस्ता सामग्री आफू सुत्ने ठाउँभन्दा टाढा साइलेन्ट मोडमा राख्ने, कोठामा लाइट नछिर्ने गरी अँध्यारो बनाउने गर्नुपर्छ ।

यसो गरेमा गुणस्तरीय सुताइको पालना राम्ररी हुन्छ र जीवन स्वस्थ, सुन्दर अनि सुखी हुन्छ । विशेष गरी निद्रासम्बन्धी विषयलाई धेरै प्राथमिकता दिएको पाइन्न । निद्रा नपुग्दा व्यक्तिको दैनिकी र स्वास्थ्यमा धेरै समस्या पर्छ । ठूला–ठुला दुर्घटनासमेत निम्तिने गरेको अनुसन्धानले देखाएको छ । समयमा नसुत्ने, राम्रो निद्रा नपर्ने कारणले नेपालमा १७ देखि २० प्रतिशत व्यक्तिमा घुराइसम्बन्धी समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या निम्तिएको छ ।’

निद्रामा दाह्रा किट्नु र खाना खानासाथ अत्यधिक निद्रा लाग्नु पनि समस्या हो । सुतेन भने के हुन्छ त ? किन सुत्नुपर्छ त ? शरीर आलस्य हुने, चिड्चिडाहट हुने, दिउँसो काम गर्ने समयमा निदाउन सक्ने हुँदा राति निदाउनुपर्ने डा. न्यौपाने बताउनुहुन्छ । अमेरिकामा भएको अनुसन्धानले निद्राका कारण धेरै दुर्घटना भएको देखाएको डा. पंगेनी बताउनुहुन्छ । उहाँका अनुसार सवारी चालकहरुमा निद्रा नपुग्दा दुर्घटना र ठूलो क्षति हुँदा यसको जोखिम विभिन्न क्षेत्रमा भएको र ड्राइभिङ तथा मेडिकल लाइसेन्स दिँदा सुताइसम्बन्धी समस्या छ कि छैन भनी विश्वका केही मुलुकमा परीक्षण गरिने गरेको पाइएको छ । धेरै दिन सुतेन भने स्मरणशक्तिमा कमी आउनुका साथै मानिसमा मानसिक असन्तुलनसम्बन्धी समस्या हुन्छ ।

डा. पंगेनी भन्नुहुन्छ, ‘अमेरिकाको एउटा १६ वर्षको विद्यार्थीले गिनिज बुकमा नाम लेखाउनका लागि भनेर ११ दिन २४ मिनेट विश्वमै सबैभन्दा लामो समय नसुतेको रेकर्ड छ । उसको स्वास्थ्य परीक्षण गर्दा परिणाम खराब देखियो । ६ देखि ७ घन्टामात्र सुत्छु, राति १२ बजेसम्म काम गरेर बस्छु, बिहान ५ बजे नै उठेर मर्निङवाकमा जान्छु भन्नेहरुका लागि मर्निङवाक जानु हेल्दी हो तर नसुत्नु अनहेल्दी हो । क्रोनिक सिल्पिलाइजेसन भनेको ७ देखि ८ घन्टाको निद्राबाट २ घन्टा घटाउनुलाई भनिन्छ । यसले उच्च रक्तचाप, मधुमेहजस्ता रोग निम्त्याउँछ । हरेक दिन राम्रोसँग सुतेर शरीरको सुत्ने समयको ऋण तिर्नुपर्छ ।

हरेक दिन २ घन्टाका दरले निद्रा कम गर्नु भनेको शरीरलाई निद्राको ऋण बढाउनुले एकदिन अस्पताल पु¥याउँछ । काममा ध्यान दिन नसक्नु, मोटोपन बढ्नु, काम गर्न सकिन भनेर आत्मग्लानि हुनु, एकपछि अर्को रोग थपिँदै जानुजस्ता थुप्रै समस्या बढ्दै जान्छन् । यसले क्रोनिक समस्याका साथै मानिसलाई छिट्टै मार्दै छ ।’ ‘पछिल्ला अनुसन्धान अनुसार बिजुली बत्ती भएका ठाउँमा ३२ प्रतिशत मानिस चाहिनेभन्दा कम सुत्छन् ।

खाडी मुलुकमा काम गर्नेमा निद्राकै कारण ७ प्रतिशत बढी दुर्घटना हुने गर्छ । अमेरिकामा हुने सडक दुर्घटनामध्ये ५० प्रतिशत दुर्घटना स्लिपिङ ड्राइभिङका कारण हुने गरेको अनुसन्धानमा पाइएको छ । निद्राका कारण हुने यति ठूला दुर्घटनामा कमी ल्याउने उपाय भनेकै ७ देखि ८ घन्टा गुणस्तरीय सुताइ हो । त्यस्तै बिहान ७ बजे स्कुल जाने विद्यार्थीभन्दा १० बजे स्कुल जाने विद्यार्थीमा राम्रो नतिजा आएपछि युरोप, अमेरिकाका धेरै विद्यालयले समय परिवर्तन गरे ।

क्यालिफोर्नियामा साढे ८ बजेअघि स्कुल सञ्चालन गर्न नपाउने नियम नै बनेको छ । घुर्ने व्यक्तिमा उच्च रक्तचापको जोखिम ३० देखि ८३ प्रतिशत, मुटुसम्बन्धी रोगको जोखिम ३० देखि ५८ प्रतिशत बढी हुने विभिन्न अनुसन्धानमा पत्ता लागेको छ । विश्वमा २५ प्रतिशत मानिसमा घुर्ने समस्या पाइएको छ ।’ डा. न्यौपानेका अनुसार घुराइ श्वासनली साँघुरिएका कारण अक्सिजनको कमीले हुने गर्छ । जो व्यक्ति घुरेर ८ घन्टा सुत्छ, उसको शरीरमा चाहिनेजति अक्सिजन अभावले कोषिकाहरुमा समस्या आई मुटुको समस्या निम्तिन्छ ।

घुराइका कारण कतिपय परिवारमा श्रीमान्–श्रीमतीको सम्बन्धमा नै समस्या आएको छ । घुर्ने व्यक्तिले उत्तानो सुत्नुहुन्न, कोल्टे सुत्ने, विकल्पमा स्लिपप्याक माक्स लगाएर सुत्नेजस्ता उपायहरु अपनाउन सकिन्छ । अन्ततः शल्यक्रिया गरेर समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ ।

डा. पंगेनी भन्नुहुन्छ, ‘जो ओछ्यानमा पुगेर सुत्न सक्दैन उसका लागि स्लीप हाइजिन भनेको सधैँ एउटै समयमा सुत्ने, दैनिक व्यायाम गर्ने नै हो । तर सुत्नुभन्दा ४ घन्टाअघि व्यायाम गर्नुहुन्न, खानामा स्पाइसी खाना ४ घन्टाअघिदेखि खानुहुन्न, कफी खानुहुन्न । एकपटक सुत्ने बानी बिग्रियो भने बानी लगाउन गाह्रो हुन्छ । ओछ्यानमा गएर आधा घन्टा निद्रा लागेन भने जुरुक्क उठेर अल्छी लाग्ने विषय पढ्ने, त्यसपछि निद्रा आउँछ । निद्रा आउनासाथै ओछ्यानमा गएर सुत्ने गर्नुपर्छ ।’

नेपालको त्रिवि शिक्षण अस्पतालमा घुराइका कारण सुत्ने समस्याका विषयमा गरिएको एक अध्ययनमा १७ देखि २० प्रतिशत मानिसमा निद्राको गुणस्तर बिग्रिएकै कारण स्वास्थ्यमा असर गर्न सक्ने लक्षणहरु देखा परेका छन् । डा. न्यौपाने भन्नुहुन्छ ‘चारैतिरबाट उज्यालो आउने शहरी क्षेत्रमा यसको असर धेरै बढ्दा हर्मोनमा गडबडी हुन्छ । दिउँसोको सुताइ रातिको जस्तो हुँदैन । सुताइको साइकल हुन्छ । बीचमा उठेर पढ्छु अनि फेरि सुतेर ८ घन्टा पु¥याउँछु भन्नुहुन्न । यो बायोलोजिकल्ली रुपमै गलत हुन्छ । सुतेपछि लगातार ८ घन्टा सुत्नुपर्छ । सुत्नका लागि पहिलो साइकल ८ देखि १२ बजे प्रमुख समय हो । दोस्रो साइकल १२ बजेपछि हुन्छ । यो समयलाई ध्यानमा राखेर जो सुत्छ ऊ बिहान सबेरै उठ्न सक्छ र शरीर पनि फ्रेस हुन्छ । काममा ध्यान पुग्छ । स्मरण शक्ति बढ्छ ।

‘पछिल्लो समय निद्रा बिगार्ने एक प्रमुख कारणमा इलेक्ट्रोनिक डिभाइस र ड्युटी सिफ्ट भएको पाइन्छ । ३६ घन्टा लगातार काम गर्नुपर्ने डाक्टर, नर्सहरुले निद्रा बारेमा सोच्ने बेला आइसकेको छ । उनीहरुको शरीरले कति बेला सुत्ने, उठ्ने लेखाजोखा नै राख्न सक्दैन । यसबाहेकका अवस्थामा मोटोपनले पनि घुर्ने समस्या आउन सक्छ । मोटोपन भएका व्यक्तिले १० प्रतिशत तौल घटाउनुपर्छ । घुर्ने समस्याले अक्सिजन कम हुन्छ र हार्टअट्याक हुन सक्ने सम्भावना ८० प्रतिशत हुन्छ । राति ५ देखि ६ पटकसम्म पिसाब लागिरहन्छ भने त्यो पनि निद्राको समस्या हो । यसको पनि उपचार गर्न मिल्छ ।

सुत्दा मांसपेशी कमजोर हुन्छ र यति बेला तागत कमजोर भएको हुन्छ, उत्तानो सुत्दा जिब्रो पछाडि जान्छ र श्वासनलीलाई थुनिदिन्छ । यसकारणले हार्टअट्याक, उच्च रक्तचापलगायतका थुप्रै समस्याको सम्भावना उच्च हुन्छ ।’ डा. न्यौपाने भन्नुहुन्छ, ‘घुर्ने बिरामीको लक्षण घाँटी दुख्ने हुन्छ । टन्सिल बढ्छ । यसको प्रमुख कारण घुराइको कारणले नसा फुलेर घाँटीको समस्या आएको हो । तर उसको समस्याको पहिचान नगरी अत्यधिक एन्टिबायोटिक खुवाइएको हुन्छ ।

कतिलाई घुर्दा–घुर्दा सास फेर्नै गाह्रो हुन्छ । बिहान उठ्नै गाह्रो हुने अनरिफ्रेसिङ हुन्छ । मुड फ्रेस नहुने, टाउको भारी भएजस्तो हुने, चिया–कफी खाएपछि मात्र फ्रेस भएजस्तो हुने, मर्निङवाक जान पनि मन नलाग्ने, अफिसमा गएपछि हाई–हाई आउने भई काम गर्न नसकिने हुन्छ । बैठकमा बस्यो झुप्प भैहाल्ने, स्मरणशक्ति दीर्घकाल या अल्पकाल क्षति हुने हुन्छ । साथीहरु कहाँबाट कहाँ पुगिसके, आफूले केही गर्न सकिन भन्ने डिप्रेसन एन्जाइटिक आउँछ । सवारीचालक एकछिन् जाममा पर्दा झकाउने, यौनजीवन नैराश्य हुने, कक्षाकोठामा पढाउँदापढाउँदै निदाउने, खाना खाँदाखाँदै निदाउने क्रोनिक निद्राका बिरामी हुन् । बिरामीलाई औषधिको मात्रा बढ्दै जानेजस्ता समस्या पनि अनिद्राकै कारण हुने अर्को समस्या हो ।’

बेलायतमा गरेको एक अध्ययन अनुसार निद्रा नपुगेकै कारण नर्सले बिरामीमा औषधि दिने क्रममा समेत त्रुटि भएको पाइएको उल्लेख गरेको थियो । त्यसै गरी अमेरिकामा चिकित्सकले बिरामीको उपचारमा गल्ती गरेका कारण मोटो रकम क्षतिपूर्ति तिर्नुका साथै लाइसेन्स नै खारेज भएको घटना एक वर्षअघि मात्रै सार्वजनिक भएको थियो । अदालतले फैसला नै गरी एक नेपालीलाई क्षतिपूर्ति दिलाएको थियो । राम्रोसँग निदाउन पाएको छैन भने सवारी चलाउँदा आँखा निदाउनै पर्दैन, दिमागी भागले नै अगाडिको भिजन रोकिदिन्छ र दुर्घटना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्