तपाईको घरमा हाम्रो डक्टर



हरिहर खनाल
१. खाना खाएपछि मेरो पेट सधैँ फुल्ने गर्छ र निकैबेर असजिलो हुन्छ । यसको समाधानको उपाय बताइदिनुभए आभारी हुने थिएँ ।
– रोशन तिवारी, कीर्तिपुर ।
रोशनजी, पेट फुल्ने समस्या धेरै कारणले हुनसक्छ । खाना नपच्ने भएर वा पचाउने इन्जाइमको कमीले यस्तो हुनसक्छ । साथै जुका परेर, ग्यास्टिक भएर, पेटमा अत्यधिक ग्यास वा हावा भएर वा खाना पचाउने लाभदायी कीटाणुको कमीले आदि कारणले पनि यस्तो हुनसक्छ । सबभन्दा बढी भेटिने कारणमा ग्यास्टिक हुनसक्ने भएकोले ओमेपेराजोल क्याप्सुल २० मि.ग्रा. दिनको दुईपटक खालि पेटमा र साथमा डोमपेरिडोल १० मि.ग्रा. दिनको तीनपटक खालि पेटमा केही दिन खाएर हेर्नुस् । यदि कम नभएमा पेटरोग विशेषज्ञ भेटेर परामर्श गरेमा उचित परीक्षण तथा आवश्यक उपचार पाउनुहुनेछ । यसभन्दा अघि ५–७ दिन विनामसला, विनाचिल्लो सादा खाना अनि प्रशस्त सागसब्जीसहित फलफूल खाएर हेरेमा तपाईंको समस्या आफैँ समाधान भएर जान पनि सक्छ ।

२. मेरो ढाडको निश्चित सानो भागमा करिब एक महिनादेखि झमझमाउने समस्या भएको छ । यो कुनै रोग हो कि होइन होला ? उचित सल्लाहको अपेक्षा गर्दछु ।
– विशाल भट्टराई, चपुर, रौतहट ।
विशालजी, झमझमाउने कारणहरु धेरै हुन्छन् । स्नायुको खराबी, त्यो स्नायुको जलन वा स्नायु ढाडमा च्यापिएर यस्तो समस्या हुनसक्छ । भिटामिनको कमीले पनि यस्तो हुनसक्छ । त्यस्तै कुनै खानामा हुने केमिकल वा विषाक्त तत्वले पनि यो समस्या आउन सक्छ । कहिलेकाहीँ केवल झिन्झिनावटले मात्रै पनि यस्तो हुनसक्छ । त्यस्तो पिर गर्ने खालको जटिल समस्या वा रोग नै हो जस्तो लाग्दैन । तर पनि कति समस्याहरु साधारणबाट नै शुरु हुने हो । त्यसैले परामर्श गर्नु ठिक्कै होला । सानो भाग मात्रै झमझम गर्ने हुनाले ठूलो वा मुख्य स्नायु संलग्न छैन भन्ने भैहाल्यो । एकपटक नजिकैको अस्पताल वा क्लिनिकमा गएर फिजिसियनलाई भेटी सल्लाह गर्न सक्नुहुन्छ । अथवा स्नायु विशेषज्ञ भेटेर परामर्श गर्न पनि सकिन्छ । त्यसपछि उहाँहरुको सल्लाह अनुरुप आवश्यक परीक्षण गरेर समस्याको निदान र उपचार गर्न सकिन्छ । अहिले चिकित्सक नभेट्दासम्म भिटामिन ‘बी’ कम्प्लेक्स तथा भिटामिन ‘ई’ र प्रशस्त हरियोपरियो अनि फलफूल खाएर हेर्नुस् । यसले कम भएर गएमा राम्रै भयो, होइन भने अस्पतालमा गएर परामर्श गर्नुहोला ।

३. मलाई सामान्य अवस्थामा पनि पिसाब पोल्ने समस्या भएको छ । यदि यो रोग हो भने यसको उपचार गर्न कहाँ जाँदा ठीक पर्ला ? सुझावको अपेक्षा गर्दछु ।
– रिमा, पकनाजोल, काठमाडौं ।
रिमाजी, पिसाब पोल्ने कारणहरुमा ८० प्रतिशतचाहिँ पिसाब नलीमा वा पिसाब थैलीमा हुने संक्रमण नै हो । अर्को पानी थोरै पिएमा पनि पिसाबको मात्रा घटेर वा घनत्व बढेर पोल्ने हुन्छ । त्यस्तै अर्को धेरै नै भेटिने कारणमा पत्थरी वा पत्थरीको शुरु अवस्था मूत्रनली वा पिसाब थैलीमा हुँदासमेत यस्तो पोल्ने हुनसक्छ । तसर्थ अत्यावश्यक परीक्षण र सम्बन्धित चिकित्सकको विश्लेषणविना केही भन्न मिलेन । सामान्य अवस्था भनिए पनि सामान्य वा असामान्य जे पनि हुनसक्छ । त्यसैले यहाँको पहिलो पाइला भनेको एकजना फिजिसियन भेट्ने वा युरो शल्यचिकित्सक भेटी उहाँहरुले भनेअनुसार परीक्षण, सल्लाह अनि उपचारमा जाने नै हो । अहिलेलाई चिकित्सक नभेटेसम्म प्रशस्त पानी पिएर हेर्नुस्, आफैँ सुधार भएर जान पनि सक्छ ।

४. आजकलको समयमा कम्प्युटर, मोबाइल नहेरी काम चल्ने अवस्था नै छैन तर यसले आँखालाई खराब गर्छ भन्छन् । यसको सुरक्षित प्रयोग कसरी गर्ने होला ?
– रमा खड्का, सिपाडोल ।
रमाजी, यहाँले भनेको सही हो । यसले आँखा बिगार्ने त छँदै छ, त्यसमाथि बच्चाको मनोविज्ञानमा पर्ने प्रभाव अनि व्यवहारमा देखिने असामान्यपन यसका नकारात्मक पक्ष हुन् । हामी सबैको यस्ता गजेटहरुप्रति बस्ने लत अनि निर्भरता, त्यस्तै यिनीहरुबाट मानवजीवनमा पर्ने दीर्घकालीन प्रभाव सबै डर लाग्दा कुरा हुन् । हुन पनि हो, आज के विद्यार्थी, के शिक्षक, के व्यापारी, के उद्योगी, के सामाजिक कार्यकर्ता सबैलाई यसमा भर पर्नुपर्ने परिवेश भयो । त्यसैले यसलाई निश्चित समय तोकेर दिनमा सम्पूर्ण उपयोगको २–३ घन्टा मात्रै उपयोग गर्ने गर्नु श्रेयष्कर हुन्छ । कम्प्युटर प्रयोग गर्दा फिल्टर तथा हानि नगर्ने मोनिटर उपयोग गर्ने, मोबाइल कमभन्दा कम चलाउने, फोन पनि अत्यावश्यक मात्रै कुरा गरेर छोटो गर्ने, मेल वा अन्य इन्टरनेटको काममा मोबाइलभन्दा कम्प्युटर मिलेसम्म उपयोग गर्नेजस्ता उपायहरु अपनाएर केही मात्रामा भए पनि सुरक्षित हुन सकिन्छ । आफूलाई समय अनुकूल अपडेट पनि राख्ने अनि सुरक्षित पनि हुने खालको बीचको बाटो अपनाएर अघि बढ्नुपर्ने हुन्छ । कुनै खास फर्मुला छैन, मात्र बुझ्ने र समझदारी अनुसार कदम चाल्ने हो ।

५. म दुई वर्षको लागि बहराइन आएको ६ महिना जति भयो । काम र तलब त ठीकठाक नै छ तर एक्लै भयो कि असाध्य न्यास्रो अनुभव हुन्छ । यसलाई कम गर्ने केही उपाय भए बताइदिनुहुन अनुरोध गर्दछु ।
– देव लामा, हाल ः बहराइन ।
देवजी, यो धेरैलाई हुने समस्या हो । यसले धेरै नै परिवारलाई मिस गर्छ । जो पहिलोपटक परिवारबाट टाढा भएको छ, जो अति नै परिवार आश्रित छ, त्यस्तालाई बढी हुन्छ यस्तो समस्या । कतिले त यस्तो समस्याले गर्दा काम नै छोडेर फर्केका घटना पनि छन् । फेरि यस्तो अनुभूति एक्लै हुँदा, अनि घर–परिवारका बारेमा वा आफ्नो भविष्यको बारेमा धेरै चिन्ता गर्ने वा सपना देख्ने गर्दा यो समस्या बढी हुन्छ । यसलाई कम गर्ने उपाय भनेको व्यस्त हुने, गीत सुन्ने वा साथीभाइसँग समय बिताउने हो । साथै एक्लो हुँदा पनि सुझबुझ विकास गर्ने, आफ्नो परिवेश अनि दायित्व महसुस गरेर आफैँलाई सम्झाउने, सकारात्मक सोचसम्बन्धी किताब पढ्ने वा प्रवचन सुन्ने, नियमित व्यायाम गर्ने, योग अनि नियमित ध्यान गर्नेजस्ता उपायहरु अपनाएमा समस्या कम भएर जानेछन् । सबभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो उपचार आफैँ गर्ने, आफैँले आफैँलाई सम्झाउने गर्नुस् । मलाई केको आवश्यकता छ, मेरो जिम्मेवारी के हो, किन यसरी नियास्रो लाग्यो, जबकि मेरो कामधन्दा राम्रो छ, सबैसँग फोन च्याट भएकै छ, आखिर छिट्टै म फर्किहाल्छु, ममा हिम्मत अनि शक्ति छ, मैले सोचेको र चाहेको अनि आँटेको पूरा गर्छु भन्नेजस्ता विचार अनि विश्लेषण गरेर ढाढस दिई मन बुझाउने गर्नुस् । यदि धेरै गाह्रो भएमा घर आउने वा चिकित्सक भेटेर परामर्श गर्ने उपाय त सधैँ खुला नै छ ।

६. मेरो उमेर ५४ वर्ष भयो । मेरो तौल झन्डै १०० किलो हुन लागेको छ । अपरेसन गरेर बोसो निकाल्न मिल्छ भन्ने सुनेको छु । यो सेवा नेपालमा उपलब्ध छ कि ? साथै यसरी बोसो निकाल्नु ठीक हो कि होइन ? सल्लाह पाऊँ ।
– उमा कार्की, चितवन ।
उमाजी, शरीरको तौल अधिक हुनु धेरै किसिमले राम्रो होइन भने त्यो तौल घटाउन पनि प्राकृतिक वा प्राकृतिक नजिकको उपाय अवलम्बन गरेर घटाएमा दिगो हुन्छ, स्वस्थ पनि हुन्छ । त्यस्तो उपाय भनेको शरीरको क्यालोरी (शक्ति) आयातमा कटौती अनि खर्चमा बढोत्तरी गर्ने व्यवस्था मिलाउनु हो । त्यसको लागि खानामा चिल्लो, गुलियो (फ्याट, कार्बोहाइड्रेट) खाद्यपदार्थमा कटौती अनि शारीरिक क्रियाकलाप, व्यायाम, खेलकुद, योग आदिमा बढोत्तरी गर्ने सल्लाह दिन चाहन्छु । जहाँसम्म अपरेसन गरेर बोसो निकाल्ने भन्ने कुरा छ, अहिलेसम्म नेपालमा त्यो सेवा गर्ने गरेको थाहा छैन तर भारतमा हुन्छ भन्ने सुन्नमा आएको छ । मेरो सल्लाह छ कि प्राकृतिक किसिमले जीवनशैली सुधारेर तौल घटाउने प्रयास गर्नुहोला ।

 

प्रतिक्रिया दिनुहोस्