तपाईंको पनि पिसाब चुहिन्छ कि ?



लक्ष्मण अधिकारी

कतिपय मानिसलाई खोक्दा, हाच्छ्युँ गर्दा, हाँस्दा र सामान्य एक्सरसाइज गर्दा पनि पिसाब चुहिने समस्या हुन्छ । के तपाईंले कहिल्यै यस्तो समस्या भोग्नुभएको छ ? यस्तो समस्या भएका मानिसलाई पिसाब लागेको अनुभव हुनासाथ एकदमै हतार हुने र पिसाब फेर्ने ठाउँ नपुग्दै फुस्किइहाल्ने, शरीरमा अलिकता बल पर्नासाथ पिसाब चुहिहाल्ने हुन्छ ।

पिसाब चुहिने समस्या (Urinary Incontinence) पिसाब थैलीले पिसाबलाई कन्ट्रोल गर्न नसक्ने अवस्था हो । यसमा व्यक्तिले नचाहँदा नचाहँदै पनि पिसाब थैलीमा अलिकता चाप पर्नासाथ पिसाब चुहिन्छ । खोक्दा, हाच्छ्युँ गर्दा, हाँस्दा पनि पिसाब खुस्किन्छ र अप्ठेरो पार्छ । कहिलेचाहिँ बल नपरी पनि पिसाब गर्न मन लागेर ट्वाइलेट जाने सोच्नासाथ पिसाब खुस्किइहाल्छ । पिसाब चुहिने समस्या विशेष गरी ५० वर्ष उमेर कटेका महिलाको आम समस्या हो र धेरै वृद्ध पुरुषहरुमा समेत यो समस्या छ ।

उमेर बढ्दै जाँदा मूत्रथैली र त्यसलाई भरथेग गर्ने मांसपेशीहरु कमजोर हुनु, मधुमेह, पार्किन्ससलगायतका विभिन्न रोगहरु, मेरुदण्डको चोटपटक, गर्भावस्थामा हुने हर्मोनहरुको परिवर्तन, महिनावारी रोकिएपछि महिलाको पिसाब नली र पिसाब थैलीलाई मजबुत राख्ने एस्ट्रोजन हर्मोनको उत्पादनमा कमी आउनु आदि पिसाब चुहिनुका कारण हुन सक्छन् । यस्तै गर्भावस्थामा भ्रूणको वृद्धिले पनि अस्थायी रुपमा पिसाब चुहिने समस्या हुन सक्छ । पिसाब प्रवाह हुने क्षेत्रमा कुनै गाँठागुँठी वा ट्युमर पलाएका छन् भने पनि पिसाबको प्रवाहमा असर गरी पिसाब चुहिने समस्या हुन्छ । साथै पक्षघात, ब्रेन ट्युमर आदिका कारण पनि पिसाब चुहिने समस्या हुने गरेको सम्बन्धित विशेषज्ञ चिकित्सकहरुको भनाइ छ ।

पिसाब चुहिने समस्याले गर्दा खुलेर हाँस्न नसक्ने, सामूहिक स्थानमा व्यायाम गर्न, खोक्न, हाच्छ्युँ गर्न पनि अप्ठेरो हुने र घरबाहिर जाँदा लाजमर्दो स्थिति सिर्जना हुने हुन्छ । यस्ता अधिकांश समस्यालाई व्यवहारसम्बन्धी परिवर्तन, औषधि उपचार, नसाहरुको सक्रियतामा वृद्धि (Nerve stimulation)र सर्जरीबाट समाधान गर्न सकिने भए तापनि जानकारीको अभावमा कतिपय मानिस उपचारका लागि जाँदैनन् र जीवनभर पीडा खपिरहन्छन् ।

यसकारण चुहिन्छ पिसाब

मेडिकेयर नेसनल हस्पिटलका वरिष्ठ युरोलोजिस्ट प्रा.डा. अर्जुनदेव भट्ट भन्नुहुन्छ, ‘पिसाब चुहिने समस्या शारीरिक समस्या त हुँदै हो, साथै यसले सामाजिक समस्या पनि सिर्जना गरिदिन्छ । यसले खुलेर हाँस्न, समूहमा जान हिचकिचाहट उत्पन्न गरिदिनुका साथै वृद्धावस्थाका मानिसलाई अपहेलना एवं आत्मग्लानिको स्थितिमा नै पु¥याइदिन्छ ।

पिसाब चुहिने समस्या कमन समस्या हो । महिला, बच्चा, बूढाबूढी र मूत्र प्रणालीसम्बन्धी रोग भएका मानिसहरुमा यो समस्या बढी हुन्छ । भर्खर जन्मिएको बच्चाले जहाँ पनि पिसाब फेरिदिन सक्छ, यो समस्या होइन । त्यस्तै वृद्ध महिला वा पुरुषमा पनि यस्तै खाले समस्या हुन सक्छ । पिसाब लाग्यो, रोक्नै नसक्ने समस्या हुन्छ । यस्तो समस्या सबैमा हुने होइन, तर एक दिन गएर धेरैमा हुन सक्छ ।’

प्रा.डा. भट्ट भन्नुहुन्छ, ‘बीचको उमेर भएकाहरुमा सामान्यतया यो समस्या आउँदैन । तर पुरुषको तुलनामा महिलाहरुमा बीचको उमेरमा पनि यो समस्या बढी देखा पर्छ । यसो किन हुन्छ भने, पुरुष र महिलाको पिसाब नलीमा फरक छ र पिसाब रोक्ने ढोका (Sphincter) पनि फरक हुन्छ । यसबाहेक पिसाबको थैलीलाई ठीक ठाउँमा अड्याएर राख्ने अंग एवं स्तम्भहरु बच्चा पाइसकेका महिलाहरुमा खुकुलो भएको हुन सक्छ । यसरी खुकुलो हुनासाथ महिलाले एक्कासी खोक्दा, हाँस्दा, हाच्छ्युँ गर्दा, गह्रौँ सामान उठाउँदा, यौनसम्पर्क राख्दाका अवस्थामा पिसाब चुहिन सक्छ । अरु बेला ठिक्कै भए पनि यस्तो बेला एक्कासी पिसाब फुस्किन सक्छ ।

अर्कोचाहिँ बढी उमेर भएका महिलामा देखिने खालको समस्या हुन्छ । पिसाब लाग्यो भनेर सोच्न पाएको छैन ठाउँमा (ट्वाइलेट) नपुग्दै पिसाब चुहिदिने हुन्छ । सामान्य अवस्थामा पिसाब थैली भरिएको संकेत पाउनासाथ मस्तिष्कले पिसाब फेर्ने ठाउँमा पुग्न प्रेरित गर्छ र पुगेपछि पिसाब रोक्ने ढोका खोल्न संकेत पठाउँछ । तर यो समस्या शुरु भएकाहरुमा चाहिँ पिसाब थैली भरिएको संकेत मस्तिष्कले पाउनासाथ पिसाब बाहिर पठाउने ढोकालाई संकेत गर्छ र ढोका खुल्छ अनि ठाउँमा नपुगी पिसाब चुहिन्छ ।

यो मस्तिष्कबाट नियन्त्रण हुने अवस्था हो । ठाउँमा नपुगेसम्म पिसाब रोक्ने काम मस्तिष्कको हो, तर उपयुक्त स्थानमा नपुगी नै पिसाब थैलीलाई ढोका खोल्न निर्देशन गइसकेको हुन्छ र ढोका खोलेपछि पिसाब चुहिहाल्छ । सामान्य अवस्थामा पिसाबले एकदमै च्यापेको भए पनि जबसम्म पिसाब गर्ने उपयुक्त स्थानमा पुग्दैनौँ तबसम्म पिसाब रोक्न सक्छौँ । तर यो समस्या शुरु भएपछि पिसाब रोक्न सकिँदैन । यस्तो समस्या केही मात्रामा पुरुषमा भए पनि धेरै महिलामा नै हुन्छ । त्यहाँ पिसाब गर्नुहुँदैन भन्ने थाहा हुँदाहुँदै पनि रोक्नै सक्तैनन्, पिसाब भइदिन्छ ।’

 

महिलामा किन बढी पिसाब चुहिन्छ ?

पिसाब चुहिने समस्या महिला र पुरुष दुवैमा हुने भए पनि लैंगिक हिसाबले यो समस्या महिलामा बढी हुने गरेको डा. भट्ट बताउनुहुन्छ । उहाँका अनुसार ‘सन्तान उत्पादनको सिलसिलामा पिसाबलाई नियमित रुपमा विसर्जन गर्न सहयोग पु¥याउने अंगहरुमा बढी क्षति पुगेको अवस्थामा महिलामा पिसाब चुहिन समस्या हुन्छ, जुन पुरुषले बेहोर्नुपर्दैन । अहिले आधुनिक भन्न रुचाउने कतिपय महिलाहरु नर्मल डेलिभरी गर्दा दुःख हुन्छ भनेर सिजेरियन सेक्सन (अपरेसन) गरेर बच्चा पाउने चाहना व्यक्त गर्दछन् ।

प्रसूति पीडा खप्न नचाहने कतिपयले यो अपरेसन गर्छन् भने कपितयको चाहिँ सामान्य प्रसूति हुन नसक्ने कारणले गर्दा अपरेसन गर्नुपरेको हुन्छ । यस्तो अपरेसन गरेका त्यसमा पनि धेरैपटक यस्तो अपरेसन गर्नेहरुमध्ये केहीमा पिसाब चुहिने समस्या आउन सक्छ । किनभने पिसाबको थैलीको यो भागतिर जाने नसाहरु अपरेसनको सिलसिलामा ड्यामेज भएका हुन सक्छन् । यदि यसरी क्षति पुगेको छ भने पनि पिसाब चुहिने समस्या हुन सक्छ । त्यसकारण पिसाब चुहिने सम्भावित समस्याबाट बच्नका लागि पनि आवश्यकता नपरी सिजेरियन सेक्सनमा जानुहुँदैन । यो अस्पताल र सेवाग्राही दुवैले बुझ्नुपर्ने कुरा हो । त्यस्तै गरी जुनसुकै कारणले पनि पाठेघर निकाल्नुपरेका महिलामा पनि पिसाब चुहिने समस्या हुन सक्छ ।’

प्रा.डा. भट्ट भन्नुहुन्छ,

 

धेरै सन्तान जन्माउनेहरुमा पनि पिसाब चुहिने समस्या आउने गरेको देखिएको छ ।

 

यो हुन त नर्मल डेलिभरी अर्थात् प्राकृतिक तवरको प्रसूति राम्रो हो तर यसो भन्दैमा धेरैवटा सन्तान जन्माउँदा प्रजननसँग सम्बन्धित नसा तथा अंगहरु धेरैपटक लुज वा खुकुलो हुनुपर्ने बाध्यता सिर्जना भएको हुन्छ । पिसाब अड्याउने ढोका, पिसाब थैली अड्याउने मांसपेशीहरु र स्तम्भहरु पटक–पटक खुकुलो भएर कसिलो हुने अवसर नै नपाउने अवस्थाले गर्दा पिसाब चुहिने समस्या हुन्छ । बेलुनमा पटक–पटक हावा वा पानी भर्दै, खन्याउँदै गरियो भने जसरी त्यो बेलुन पहिलाको जस्तो सामान्य आकारमा आउन सक्तैन त्यस्तै नै हो धेरै बच्चा पाएपछि हुने खुकुलोपन र पिसाब चुहिने समस्या ।’

रोगहरुको कारणले पनि चुहिन्छ

महिला तथा पुरुषमा पिसाब चुहिने समस्या शरीरमा लाग्ने विभिन्न रोग, चोटपटक आदिका कारणले पनि हुने हुन्छ । वरिष्ठ युरोलोजिस्ट प्रा.डा. भट्ट भन्नुहुन्छ, ‘कुनै रोगको कारणले पनि पिसाब चुहिने समस्या हुन्छ । कहिलेकाहीँ पिसाबको साधारण संक्रमण हुँदा पनि पिसाब रोक्न गाह्रो हुन्छ । कसैलाई पिसाबको थैलीको क्यान्सर र मिर्गौलाको क्षयरोग भइराखेको छ भने पनि पिसाब चुहिने समस्या हुन सक्छ ।
पिसाबको थैलीमा पत्थरी भयो भने झन् पिसाबको थैलीलाई इरिटेड गर्छ । स्टोनले जहिले पनि निस्किने प्रयत्न गरिरहेको हुन्छ । जहिले पनि त्यो गतिशीलतामा हुन्छ । यसले गर्दा जहिले पनि पिसाब फेर्न जाऊँ–जाऊँ भइरहेको हुन्छ । ढिलो गर्दा पिसाब नै चुहिने समस्या शुरु हुन्छ । यी रोगहरु महिला–पुरुषमा उस्तै नै हुन् ।

पिसाब चुहिने समस्या महिलामा ३५ वर्षमाथिको उमेरमा बढी भएको पाइन्छ । पुरुषमा चाहिँ यो उमेरको हद अलि बढी हुन्छ । पुरुषको यो समस्या प्रोस्टेटसँग सम्बन्धित छ । प्रोस्टेटको समस्या शुरु हुने भनेको नै ४० वर्षपछि हो । प्रोस्टेट बढ्ने वा खुम्चिने कुराले पिसाब नियन्त्रणमा प्रभाव पार्छ । यस्तै गरी प्रोस्टेट ग्रन्थिको क्यान्सर भयो भने पिसाब रोक्नै सक्तैन । पीडितहरु ‘४–५ महिनाअघिसम्म त ठिक्कै थियो, अहिले समस्या भयो’ भन्दै आउँछन् । जाँच गर्दा उनीहरुमा प्रोस्टेट क्यान्सर वा क्षयरोग भएको पाइन्छ ।’ डा. भट्ट भन्नुहुन्छ, ‘प्रोटिनको मात्रा नपुगेका खासगरी बच्चाहरुमा पिसाबको थैलीको पत्थरी धेरै हुने गरेको पाइन्छ भने प्रोटिनको मात्रा बढी भयो भने मिर्गौलाको पत्थरी धेरै हुन्छ ।

पिसाबको थैली भरिएर आफसेआफ पिसाब निस्कने समस्या पनि धेरैलाई हुन्छ । राति सुतेको बेला पिसाब चुहिएको पनि होइन तर ‘ओभरफ्लो इन्कन्टिनेन्स’ अर्थात् गाग्री भरिए पनि हामीले पानी हालेको हाल्यै गरेकाले पोखिएको भनेजस्तै हो । यसमा दिमागको भूमिका हुन्न । सुतेको बेलामा पनि मिर्गौलाले पिसाब बनाइराख्छ । पिसाबको थैली भरियो तर ऊ ब्युँझिएन, पिसाब फेर्न गएन भने पिसाब चुहिने हुन्छ । यो समस्या दिउँसो हुन्न । सुतेको बेला पिसाब बग्ने यो समस्या वृद्ध मानिसमा धेरै हुन्छ ।

प्रोस्टेट समस्या शुरु भएकालाई यो बढी हुन्छ । यस्तोमा परिवारका सदस्यले वृद्धहरुलाई गाली गर्छन् र हीनताबोध गराउँछन्, यो गलत हो । किनकि यो उसले जानेर गरेको होइन । यस्तै गरी मोटोपन भएको मानिसमा पनि पिसाब चुहिने समस्या हुन सक्छ । जसको पेट धेरै ठूलो र झुन्डिएको अवस्थामा पुगेको छ उसलाई पिसाब चुहिने समस्या पनि बढी हुन्छ । मोटो मानिसको पेटभित्र बोसो धेरै हुन्छ । त्यसैले पिसाब थैलीलाई थिचेर थैलीको क्षमता अनुसार काम गर्न नदिएपछि चुहिने समस्या शुरु हुन्छ । शुरु–शुरुमा थाहा नै हुँदैन, जब थाहा हुन्छ । ढिला भइसकेको हुन्छ । त्यसकारण आफ्नो उचाइ अनुसारको तौल कायम गर्नुपर्छ । यसो गर्दा पिसाब चुहिने समस्यामा मात्र होइन, समग्र स्वास्थ्यमा नै सकारात्मक प्रभाव पर्छ ।’

उपचार हुन्छ त ?

पिसाब चुहिने अधिकांश समस्याको समाधान हुने कुरा डा. अर्जुनदेव भट्ट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘उपचारको प्रभावकारिता कस्तो हुन्छ भन्ने कुरा मूलतः कारण र रोगको स्थितिमा भर पर्छ । जस्तो– साधारण इन्फेक्सन (संक्रमण) भएर पिसाब चुहिने समस्या भएकालाई संक्रमणको उपचार गरेपछि तुरुन्त नै सहज हुन शुरु हुन्छ र केही दिनपछि नै सामान्य अवस्था भइहाल्छ । तर जसको पिसाब थैलीका ढोकाहरु बिग्रिन थालेका छन् भने त्यसलाई औषधिले तुरुन्तै निको पार्न सक्दैन । हामी त्यसलाई खुम्च्याउन औषधि दिन्छौँ, तर त्यो औषधि जीवनभर नै खाइरहनुपर्ने पनि हुन सक्छ । ३५-४० वर्षका मानिसलाई जीवनभर यस्तो औषधि खानुप¥यो भने कठिन हुन्छ । त्यसकारण कुनै–कुनै अवस्थामा चाहिँ सर्जरी गर्नुपर्ने हुन सक्छ । विशेष गरी महिलामा सर्जरीबाट पनि रोग निको पार्न सकिन्छ । जसको पिसाबको थैली आफ्नो ठाउँबाट अलि तल झरेको छ, पिसाब अड्याउने ढोका खुकुलो भएको छ, त्यसको अपरेसन गरेर पिसाब चुहिने समस्या बन्द गर्न सकिन्छ । स्ट्रेस युरिनरी इन्कन्टिनेन्स भनिने पिसाब थैलीमा पर्ने चापबाट हुने पिसाब चुहिने समस्यालाई आजकल प्रायजसो अपरेसन गरेर पूरै निको पार्न सकिन्छ ।’

‘यस्तै क्षयरोग लागेर पिसाब चुहिने समस्या भएको रहेछ भने त्यसको उपचार गर्नेबित्तिकै समाधान शुरु हुन्छ । ब्रेन ट्युमर भएर कमान्ड सही किसिमले नदिएर भएको हो भने ब्रेन ट्युमरको अपरेसन गरेर ठीक भएपछि पिसाब चुहिने समस्या पनि समाधान हुन्छ ।’ प्रा.डा. भट्ट भन्नुहुन्छ, ‘कसैलाई डायबिटिज भएको छ भने उसलाई पानी पनि अलि बढी पिउन मन लाग्छ । संक्रमण पनि धेरै भइदिन्छ । यसमा धेरै किसिमको उपचारको आवश्यकता पर्छ । डायबिटिज त कन्ट्रोल गर्नै पर्छ, यस्तै संक्रमणहरु पनि कन्ट्रोल गर्नै पर्छ । अर्कोतर्फ डायबिटिजले गर्दा कमजोर भएका नसाहरुलाई पनि ठीक अवस्थामा ल्याउनुपर्ने हुन्छ । तर यो ठीक हुन्छ नै भन्ने ग्यारेन्टीचाहिँ लिन सकिन्न । यो कुरा महिला–पुरुष दुवैमा लागू हुन्छ ।

 

वृद्धावस्थामा पिसाब थैली भरिएर ओछ्यानमा पिसाब चुहिने समस्याको पनि उपचार गर्न सकिन्छ । यसबाहेक अरु समस्या पनि हुन सक्छन् । उपचार र परामर्शबाट धेरै हदसम्म निको पार्न सकिन्छ । पिसाब चुहिने समस्या बढी उमेरका मानिस र महिलालाई धेरै हुने देखिए पनि धेरै मानिस एकपटक यो समस्याबाट गुज्रिनुपर्ने स्थितिमा पुग्छन् । यो समस्या केही हदसम्म खानपान र जीवनशैलीसँग पनि सम्बन्धित भएकाले केही हदसम्म नियन्त्रण गर्न सकिए पनि उमेरको कारण हुने समस्या धेरैले बेहोर्नुपर्ने हुन्छ ।

त्यसकारण आफूभन्दा वृद्धलाई यस्तो समस्या परेको छ भने यसबारे जानकारी लिने, उपचारका लागि लैजाने गर्नुपर्छ । उनीहरुलाई हीनताबोध हुने गरी गाली गर्ने र सामूहिक कार्यमा उपस्थित हुनसमेत असहज बन्ने स्थिति आउन दिनुहुँदैन । अन्य उमेरका कुनै व्यक्तिले आफूलाई पिसाब चुहिने समस्या शुरु भएको अनुभव गरेको छ, त्यसले आफ्नो दैनिक जीवनमा अप्ठेरो पार्न थालेको अनुभव गरिएको छ भने बेलैमा उपचार गर्नु उचित हुन्छ ।

ओछ्यानमा पिसाब गर्ने बच्चा

युरोलोजिस्ट डा. अर्जुनदेव भट्ट भन्नुहुन्छ, ‘बच्चाहरुले ओछ्यानमा पिसाब गर्ने समस्या ठूला मानिसको जस्तो होइन । दिउँसो यो समस्या हुँदैन पनि । पिसाब आए पनि ठीक ठाउँमा गर्छन् तर राति धेरैले ओछ्यानमै पिसाब गरिदिने गर्छन् । ट्वाइलेट नगई निद्रामा ट्वाइलेटमा पुगेको अनुभव गरेर, सपना देखेर पिसाब थैलीको ढोका खोलिदिन्छन् । यस्तो समस्यामा पनि पिसाब थैलीको ढोका बलियो बनाउने किसिमको रातिको निमित्त औषधि दिन सकिन्छ । त्यसपछि त्यो समस्या पूरै निको हुन्छ । सबै बच्चाहरुलाई यो उपचार आवश्यक पर्दैन ।

शुरु–शुरुमा त प्रायः सबै बच्चाहरुले यसो गर्छन् । पछि उमेर अनुसार बिस्तारै यो समस्या घट्दै जान्छ । ५–७ वर्षपछिसम्म यो समस्या रहेमा उपचारको आवश्यकता पर्न सक्छ । कसै–कसैमा यो समस्या २०–२२ वर्षको उमेरसम्म पनि भइरहेको देखिन्छ । कसैलाई एकदमै नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने गरेको छ भने त्यस्तालाई कारण पत्ता लगाएर उपचार गर्नुपर्ने हुन्छ ।

साना बच्चाहरुलाई सामान्यतया आमा–बाबुले बेला–बेलामा पिसाब फेराउन पठाउने गरेको कुराबाट नै उसले पिसाब गर्न जानुपर्ने समयको हेक्का राख्न थालेको हुन्छ । तर सिकाउँदा सिकाउँदै पनि उसले बुझेन, जहाँ पनि पिसाब गरिदियो भने त्यो समस्या हो । सुत्ने बेलामा पानी पिए पनि नपिए पनि ओछ्यानमा पिसाब गर्न थाल्यो भने त्यो सामान्य होइन ।

उपचार गर्नुपर्छ, उपचारबाट निको पार्न सकिन्छ । तर उपचारको प्रभाव तुरुन्तै देखिए पनि निको हुन लामो समय लाग्ने हुन्छ । पहिला ओछ्यानमा पिसाब गरेकाले पुरानो कुराको रिफ्लेक्स (घटनाको पुनरावृत्ति) स्वरुप पछि पनि फेरि पिसाब गर्न सक्छ । यसरी नदोहोरियोस् भनेर अलि लामो समय औषधि दिने गरिन्छ ।यस्तो समस्यामा बच्चाहरुलाई प्रायः अपरेसन गर्नुपर्दैन, मूलतः औषधि नै हो । त्यसबाहेक बाबु–आमालाई हामी परामर्श पनि दिन्छौँ । बच्चाहरुमा पनि क्षयरोग, पत्थरी, संक्रमण आदि रोग भएर पिसाबसम्बन्धी समस्या हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्