सर्वाधिक जनसंख्या भारतमा



चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्न पुगेको छ । लामो समयदेखि चीन नै सबैभन्दा धेरै जनसंख्या भएको मुलुकको रुपमा रहेको थियो, जसले गर्दा चीनले कडा जनसंख्या नीतिसमेत ल्याएको थियो ।

संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) ले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०२३ मा भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको छ भने चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख रहेको छ ।

भारतको हाल प्रतिमहिला बच्चा जन्माउने दर करिब २.० रहेको छ । युएनएफपीएको उक्त प्रतिवेदन अनुसार भारतको एक चौथाइ जनसंख्या ०–१४ वर्ष उमेर समूह, १०–१९ उमेर समूह १८ प्रतिशत, १०–२४ उमेर समूह २६ प्रतिशत, १५–६४ उमेर समूह ६८ प्रतिशत र ६५ देखि माथि ७ प्रतिशत रहेको छ ।

साउदीमा नेपाली नर्स

बेलायत, अस्ट्रेलिया, क्यानाडा, अमेरिकालगायत विभिन्न मुलुकमा नेपाली नर्सहरुको माग भइरहेकोमा हालै साउदी अरेबियाले थप नेपाली नर्सको माग गरेको छ ।

साउदी अरेबियाको साउदी बेस मल्टिनेसनल हस्पिटल ग्रुपको डा. सुलिमान अल हबिब हस्पिटल ग्रुपले दुई सय नेपाली नर्स माग गरेको कुरा हालै सार्वजनिक गरेको छ । सन् २०१९ बाट नेपाली नर्सहरु साउदीका विभिन्न अस्पतालमा कार्यरत रहेकोमा यस वर्षका लागि एउटै अस्पतालले दुई सयजना नेपाली नर्सको माग गरेको हो ।

साउदी अरेबियाको साउदी बेस मल्टिनेसनल हस्पिटल ग्रुपको डा. सुलिमान अल हबिब हस्पिटल व्यवस्थापनले सेवा विस्तार गर्न थप नर्सको आवश्यकता भएपछि नेपाली नर्स लैजाने निर्णय गरेको बताइएको छ । साउदी अरेबियामा हाल नेपाली नर्सहरुले १ लाख २० हजारदेखि २ लाखसम्म तलब पाउने गरेको सम्बद्ध पक्षले जानकारी गराएको छ ।

खतरनाक काठमाडौं 

पर्यटन प्रवद्र्धन गर्ने विश्वका धेरै संस्थाहरुको सूचीमा उत्कृष्ट शहरमध्ये पर्ने गरेको सांस्कृतिक शहर काठमाडौं मानव स्वास्थ्यका लागि फेरि पनि निकृष्ट शहरका रुपमा सूचीकृत भएको छ । वैशाख पहिलो साता काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा १ नम्बरमै पुगेको थियो । एक–दुई नम्बर तल–माथि परे पनि धुवाँ र धूलोको कारण काठमाडौं मानव स्वास्थ्यका दृष्टिले विश्वका खतरनाक शहरहरुमध्ये परेको छ ।

हावाको प्रदूषण मापन गर्ने एयर भिज्युअल सूचक आईक्यु एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेकाले स्थानीय बासिन्दाको स्वास्थ्यमा त यसले नकारात्मक असर पारेकै छ, साथै पर्यटन व्यसायमा समेत यसको नकारात्मक असर पर्ने देखिएको छ ।

वायु प्रदूषणका कारण भिजिबिलिटी ज्यादै न्यून हुँदा निकै दिन हवाई उडान प्रभावित भएको थियो भने मानिसहरुमा रुघाखोकी र दम बढ्ने समस्या देखिएको थियो । वायु प्रदूषण निकै वृद्धि भएका कारण सकेसम्म घरबाहिर ननिस्कन र निस्कनुपर्दा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ।

वायु प्रदूषणको मुख्य कारण वनमा लागेको डढेलो र भारतको उत्तर प्रदेशमा विशेष गरी गहुँ काटेपछि खेतमा लगाइने आगोको कारण निस्कने धुवाँले गर्दा हरेक वर्ष नजिकका शहरमा व्यापकरुपमा प्रदूषण बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्