सुख र सुस्वास्थ्यका लागि योग साधना



प्रा. डा. प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ

म नेपालको एक मुटुरोग विशेषज्ञ हुँ । योगप्रति अगाध आस्था र विश्वास भएको हुनाले नै यससम्बन्धमा केही कुराहरू लेख्ने प्रयास गरेको छु । मैले बुझेअनुसार ‘योग’ प्राचीन समयदेखि शास्त्रहरूमा वर्णन गरिएको अनि ज्ञानी, तपस्वी र योगीहरूले जीवनचर्यामा प्रयोग गर्दै आएको एउटा गम्भीर एवं महत्वपूर्ण विषय हो ।

यो ६ थरी पूर्वीय आस्तिक दर्शनमध्येको एउटा हो । मन–चित्त एकाग्र पार्ने र समाधिमा लीन रहने विधानको विवेचना रहेको महर्षि पतञ्जलि रचित योगशास्त्र नै अहिले विशेष चर्चा र व्यवहारमा छ । समाधिपाद, साधनपाद, विभूतिपाद र कैवल्यपादसमेत ४ थरी शीर्षकका १९५ सूत्रहरूमा महर्षि पतञ्जलिद्वारा योगदर्शन रचना गरिएको छ । यस योगशास्त्रको साधनापाद, विभूतिपाद अन्तर्गत अष्टाङ्ग योग साधनाको चर्चित विधिको वर्णन गरिएको छ ।

‘योगः चित्तवृत्ति निरोधः’ (चित्तका वृत्ति अर्थात् विचार तरंगहरूलाई रोक्नु योग हो) भन्दै प्रारम्भ गरिएको यसमा बहुचर्चित अष्टाङ्ग योग भनेर यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिका विषयहरूको विवेचना सूत्रात्मकरूपमा गरिएको छ ।

शास्त्रमा भने योगका विविध विषयहरूलाई अति विस्तारमा बताइएको छ । योग साधनामार्फत सुख र सुस्वास्थ्य प्राप्ति हुन्छ भनी गहिरो व्याख्या गरिएको छ । योग दर्शन अन्तर्गतका स्वास्थ्योपयोगी अङ्गहरूमध्ये योगासन, प्राणायाम र ध्यान प्रमुख हुन् । योगासन शारीरिक व्यायाम हो । प्राणायाम श्वास–प्रश्वासको अभ्यास हो । ध्यान स्नायु प्रणालीलाई शान्त पार्ने अभ्यास हो । आजको भौतिक व्यस्तताको समयमा जो–कोही योगको पूर्ण साधना गर्न समर्थ हुन सक्दैनन् । तर पनि यी अष्टाङ् योगका जे–जति पनि साधना र अभ्यास गर्न सकेको खण्डमा मानिसको जीवनमा फाइदा नै फाइदा हुन्छन् ।

योगाभ्यास गरेमा मन चंगा र शरीर पूmर्तिलो हुन्छ । मानिसको विचार, चालचलन, भोजनशैली, आचरण आदिमा सकारात्मक परिवर्तन आउँछ । मानिसमा असल चरित्र, गुण, चिन्तनको विकास हुन्छ । उसले लोककल्याणकारी काम गर्दछ । योगको अभ्यास गरी यसमा निपुण भएका साधकहरूलाई योगी भन्ने गरिएको हो । योगले मन र शरीरलाई स्वस्थ र पूmर्तिलो बनाउनुका साथै असल चरित्रवान् व्यक्तित्वको निर्माण गराउँछ ।

मुटुका रोगीहरूका लागि योग अत्यन्त फाइदाजनक छ । उचित खानपान, व्यायाम, तनाव व्यवस्थापन, प्राणायाम, ध्यान आदि मुटुको रोगको उपचारका लागि आवश्यक र सहयोगी विषयहरू हुन् । यसबाट उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, मोटोपन आदि घट्ने हुन्छ र मुटुलाई स्वस्थ बनाउन सहयोग पुग्छ । मानसिक तनाव घटाउन योगका प्राणायाम र ध्यानभन्दा प्रभावकारी अर्को पद्धति छैन ।

तर यी उपायहरूबाट मात्र रोग पूर्णरूपमा नियन्त्रणमा नआउन सक्छ । यसकारण योग गर्दा मुटुका रोगीहरूले आफूले खाइरहेका डाक्टरी औषधिहरूको सेवन पनि जारी राख्नुपर्छ भन्ने म ठान्दछु । योग चिकित्साको प्रभाव अत्यन्त सकारात्मक देखिएको अवस्थामा औषधिको मात्रा घटाउन सकिन्छ । तर यो कार्य औषधि सिफारिस गरेको डाक्टरको रेखदेखमा हुनुपर्छ । डाक्टरको सल्लाहविना योग चिकित्सा अवलम्बन गर्नेहरूले औषधि सेवन बन्द गर्नु जीवनका लागि खतरनाक हुन सक्छ ।

योगबारे अध्ययन गर्दै जाँदा मैले कतै पढेको थिएँ– भगवानले ब्रह्माण्डको सृष्टि गरेपछि पृथ्वीलोकको विकास गर्न मानिसलाई दिमागमा बुद्धि राखिदिएर पृथ्वीमा पठाएका हुन् रे ¤ स्वर्गलोकबाट पृथ्वीमा झर्न त्यो मानिसलाई मन लागेन तर भगवानले भनेपछि जानै पर्ने बाध्यता भयो । मानिसले भगवानसँग एउटा विन्ति गरेछ, ‘प्रभु यहाँ हजुरसँग रमाएर, सुख र आनन्दपूर्वक बस्न पाएको छु । त्यो पृथ्वीलोकमा गएर दुःख पाइएला ।

यसकारण यहाँ हजुरसँग बस्दाजस्तै सुख हुने उपाय बताइदिनुप¥यो ।’ यसको जवाफमा भगवानले ‘पृथ्वीमा गएर योगमा लाग, योग गर, योगलाई कहिल्यै नबिर्स, तिमीले मसँगै बसेजस्तै आनन्द पाउनेछौ’ भन्नुभएछ । यसबाट यो बुझिन्छ कि सुख अर्थात् भगवान् प्राप्तिका लागि योगाभ्यास गर्नुपर्छ । तर भगवानले भन्नुभएको योगको मतलब आसन र प्रणायाममात्र होइन । सुख र आनन्द प्राप्तिका लागि योगका अन्य उत्कृष्ट पक्षहरूको पनि अभ्यास गर भन्नुभएको हो ।

योग धेरै किसिमका छन् तापनि मुख्यतः कर्मयोग, ध्यानयोग (राजयोग), भक्तियोग र ज्ञानयोग प्रमुख हुन् । यी सबै किसिमका योगको लक्ष्य एउटै हो– सुख, सुस्वास्थ्य र आनन्द प्राप्त गर्नु अनि आत्मज्ञानी हुनु । योगमा सफलता पाउनको लागि शरीर र मन स्वस्थ हुनै पर्छ । यसकारण सुस्वास्थ्यको आधार तयार गर्न अष्टाङ्ग योगका प्रथम दुई खुड्किला यम र नियमको पूर्णरूपमा पालना गर्नै पर्छ । कर्मयोग भनेको निःस्वार्थ भावले फलको आशा नराखी कर्तव्य गरेर उसको जो मर्जी भनेर हरकार्य उसको, उसद्वारा, उसको लागि भन्ने सम्झिएर गर्नु ।

यस्तै प्रकारले अध्ययन, मनन, चिन्तन आदि प्रयासद्वारा आत्मासँग मिलन हुने कार्यलाई ज्ञानयोग भनिन्छ । योगको सर्वोच्च स्तर ध्यानयोग अर्थात् राजयोग हो । एकाग्रता तथा ध्यानका विभिन्न प्रक्रियाद्वारा परमात्मा अर्थात् ब्रह्मसँग मिल्नुलाई राजयोग भनिन्छ । जसरी नुनलाई पानीमा हालेपछि त्यो पानीमा घुलेर विलिन हुन्छ ठीक त्यसरी नै राजयोगमा मन र मस्तिष्क आत्मामा गएर मिसिन्छ र एक हुन्छ । राजयोग सबै योगको उद्देश्य र उपाय दुवै हो । योगी हुनका लागि लिने उद्देश्य आसन र प्रणायाममात्र होइन, यो त राजयोग हुनुपर्दछ ।

राजयोगमार्फत शरीरको पूर्ण स्वस्थता, आनन्द, सुख र आत्मज्ञान सबै प्राप्त हुन्छ । यो स्थितिमा शरीरमा दुखेको पनि थाहा हुँदैन, काटेको वा काँडा बिजेको पनि थाहा हुँदैन । राजयोगले मानिसलाई स्वस्थ, सुखी, सुन्दर, ज्ञानी, चरित्रवान्, दानी, सहयोगी, मायालु, दयालु, भक्तिवान्, कर्मशील सर्वगुण सम्पन्न बनाउँछ । सुन्दा वा पढ्दा अलगजस्तो देखिए पनि यी सबै किसिमका योगको लक्ष्य मस्तिष्क र आत्माको मिलन गराउने हो । यो मिलनबाट अपार भित्री ऊर्जा उत्पन्न हुनुका साथै परमानन्दको प्राप्ति हुन्छ । यो भित्री ऊर्जाले सम्पूर्ण रोगको नाश गर्छ ।

पढ्दा र सुन्दा, ल गजब रहेछ जस्तो लाग्छ । तर जो–कोहीले त्यो स्तरसम्म अभ्यास गर्न सक्दैन । जसले जति सक्छ त्यति गर्दा पनि सुस्वास्थ प्राप्त हुन सक्छ । योगले अनुशासित बनाउँछ । अनुशासनले स्वस्थ र सुखी बनाउँछ । म र योगगुरु डा. हरिप्रसाद पोखरेल मिलेर १०० जनाभन्दा बढी मुटुरोगीहरुलाई अभ्यास गराई त्यसबाट निस्किएको नतिजाको उत्कृष्ट पक्षहरुबाट तयार परिएको हृदय सञ्जिवनी ध्यान सम्पूर्ण योगप्रेमी पाठकवर्गहरुका लागि यहाँ प्रस्तुत गरेको छु ।

हृदय सञ्जीवनी ध्यान गर्ने तरिका

शुरुवात: सजिलो आसनमा बस्नुहोस् । आँखा बन्द गर्नुहोस् । मनलाई श्वास–प्रश्वासमा केन्द्रित गर्नुहोस् । ओउम् उच्चारण गर्नुहोस् ।
प्रथम चरण :
श्वासभित्र भर्दै पेट फुलाउनुहोस् । प्रश्वास बाहिर फ्याँक्दै पेट खुम्च्याउनुहोस् । श्वास लिने र छाड्ने लयबद्धरूपमा गर्नुहोस् । (३ मिनेट) श्वास भित्र भर्दैै छातीको मध्यभागलाई फुलाउने अनि प्रश्वास बाहिर फ्याँक्दै सो भागलाई खुम्च्याउने गर्नुहोस् । (३ मिनेट)
श्वास भित्र भर्दै छातीको माथिल्लो भाग र कुमलाई फुलाउनुहोस् । प्रश्वास बाहिर फ्याँक्दै छातीको माथिल्लो भाग र कुमलाई खुम्च्याउनुहोस् । (३ मिनेट)
दोस्रो चरण:
कपालभाति: नाभिलाई केन्द्र मानेर प्रश्वासलाई जोडसँग बाहिर फाल्नुहोस् । श्वास लिने कुरामा ध्यान नदिनुहोस्, फ्याँक्ने कुरामा मात्र ध्यान दिनुहोस् । आफ्नो शारीरिक क्षमता अनुसार क्रमिकरूपमा बढाउँदै जानुहोस् । (५ मिनेट)
तेस्रोे चरण:
आनापान साधना:आइरहेको चिसो श्वास र गइरहेको तातो प्रश्वासलाई नाकको अघिल्लो भागमा हेर्नुहोस् र अनुभव गर्नुहोस् । श्वासलाई लामो पनि नबनाउनुहोस्, छोटो पनि नबनाउनुहोस् । जस्तो आउँछ आइरहोस्, जस्तो जान्छ गइरहोस् । केवल साक्षी बनेर हेर्नुहोस् । (१० मिनेट)
चौथो चरण:
साक्षी साधना: मनलाई पूर्णतः स्वतन्त्र गरिदिनुहोस् । तपाईंको भित्र र बाहिर जे–जस्ता घटना घटिरहेका छन् तिनलाई साक्षी बनेर हेर्नुहोस् । घटना कथा नबनाउनुहोस् । बाहिर चरा कराइरहेका छन्, मोटरको हर्न बजिरहेको छ । अन्य विविध आवाज आइरहेको छ । भित्र मनमा विभिन्न विचारहरू आइरहेका छन्, शरीरमा भिन्न–भिन्न अनुभूति भइरहेको छ । सम्पूर्ण गतिविधिप्रति साक्षी हुनुहोस् । कुनै पनि घटनालाई कथा नबनाउनुहोस् । राम्रो छ ठीक छ, नराम्रो छ ठीक छ । केवल हरेक घटनाप्रति होसपूर्वक साक्षी बन्नुहोस् । (१० मिनेट)
पाँचौँ चरण:
संकल्प साधना: यो ध्यान र प्राणायामको शक्तिद्वारा मुटुरोग ठीक पार्ने अभ्यास हो । भित्री आँखाले छातीभित्र आफ्नो मुटु चलिरहेको, रक्तनलीहरूमा रक्तसञ्चार भइरहेको दृश्यको चिन्तन गर्नुहोस् । रक्तनलीहरू सफा र मुटु स्वस्थ रहेको चिन्तन गर्नुहोस् ।

गहिरो श्वास लिनुहोस् र लामो श्वास फाल्नुहोस् । श्वास भित्र लिँदा शरीरभित्र शक्ति प्रवेश गरेको अनुभव गर्नुहोस् । श्वास बाहिर फाल्दा श्वासको साथसाथै रोग बाहिर निस्किएर रक्तनली अझ सफा र मुटु अझ बलियो अनि स्वस्थ भएको दृश्य चिन्तन र साधना गर्नुहोस् । यस अभ्यासलाई आनन्द अनुभव हुँदासम्म कायम राख्नुहोस् ।
अन्त्य:
शरीर निर्मल भइरहेछ, मन निर्मल भइरहेको छ । नराम्रो कुराले मन आत्तिने र राम्रो कुराले मात्तिने मनोरोग समाप्त भएको छ । आनन्द वर्षिरहेको छ । परमात्मालाई धन्यवाद दिनुहोस् । यो आनन्दमयी क्षणमा पवित्र प्रार्थना गर्नुहोस् ।
‘जीव, जीवन र जगतको कल्याण होस् ।
जीव, जीवन र जगतको मङ्गल होस् ।
सबै स्वस्थ हुन्, सबै आनन्दित हुन् ।
सबै स्वस्थ हुन्, सबै सुखी हुन् ।’
ओउम् उच्चारण गरी ध्यानको अन्त्य गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्