सुहागरातमा धर्मसंकट 



श्रीरामसिंह बस्नेत

गुहेश्वरी मन्दिरको प्राङ्गणमा सजाइएको विवाह मण्डपमा अञ्जु दुलही बनेर बसिरहेकी छिन्, घुम्टोभित्र निहुँरिएर । सँगै दुलहा पनि बसिरहेका छन्, विवाहको कर्मकाण्डमा सरिक भएर ।

दुलहीसँगै बसेका केटीहरु र दुलहासँगै बसेका केटाहरुबीच बेलाबेलामा छेडाखानी पनि चलिरहेको छ । यत्तिकैमा दुलहीलाई तल्लो पेट घोचेको अनुभव हुन्छ । उनलाई के गरौं, के गरौं हुन्छ । सँगै रहेकी केटीको कानमा दुलहीले खुसुक्क केही भन्छिन् । ती केटीले सँगैकी अर्की केटीको कानमा केही भन्छिन् । बिस्तारै दुलही आफ्नो आसनबाट उठ्छिन् र ती दुईवटी केटीले दुईतिरबाट समातेर दुलहीलाई बिस्तारै शौचालयतर्फ लैजान्छन् । त्यो देखेपछि अन्य सबैले कुरो बुझ्छन्, कसैले केही प्रश्न गर्दैन ।

 

शौचालयभित्र छिरेकी दुलही अञ्जु एकछिन्पछि बाहिर निस्किन्छिन् र आफूलाई पर्खी बसेका दुईवटी केटीतर्फ हेर्दै भन्छिन्– ‘ला’ अब के गर्ने होला ? म त मिन्स भएँ ।’ दुलहीको कुरा सुनेर ती दुई केटी पनि अक्क न बक्क परे । अब के गर्ने ? बीचैमा मिन्स भएपछि फेरि जग्गेमा गएर कर्मकाण्ड गर्न हुने हो कि नहुने हो ? यो कुरा कसलाई कसरी सोध्ने ? आदि प्रश्नमा उनीहरु घेरिए । शौचालयबाट फर्किएर जग्गेमा गइहाल्न सकेनन् । दुलही जग्गेमा फर्किन विलम्ब गरेको देखेर दुलहीकी ठूली भाउजू शौचालयतिर गइन् । त्यहाँको

परिस्थिति बुझेपछि उनले समाधान निकालिन्– ‘पूर्वाङ्ग गरेर जग्गेमा बसी कर्मकाण्ड शुरु गरिसकेपछि कुनै पनि कारणले कर्मकाण्ड रोकिँदैन, त्यसैले जग्गेमा फर्केर सामान्य रुपमा जग्गेको काममा सरिक हुने, कोही तुरुन्तै बजारतिर गएर प्याड किनेर ल्याउने ।’ यो उपाय सबैलाई चित्त बुझ्यो र त्यसै गरियो, अरु विकल्प पनि त थिएन ।

बेलुका अन्मिएर दुलहाको घरमा भित्रिएपछि पनि अञ्जुले आफू पर सरेको कसैलाई पत्तो नदिई विवाहको रीतिरिवाजमा सरिक भइन् । राति सुत्ने बेलातिर मात्र उनले आफ्नी नन्दलाई खुसुक्क आफू भर्खरै पर सरेकीले सुत्नका लागि अलग व्यवस्था गरिदिन अनुरोध गरिन् । नन्दले परिवारका अरु महिलाहरुको समेत सहयोग लिई दुलहीलाई अलग्गै सुत्ने व्यवस्था गरिदिइन् । यस क्रममा ती महिलाहरुले ‘विचरा दुलहा आज जिल्लिने भो’ भन्न बाँकी राखेनन् । अञ्जुलाई पनि एकातिर पेट र तिघ्रा दुखेर पीडा भइरहेको थियो भने अर्कोतिर यो परिस्थिति उनका लागि पनि अप्रिय थियो । विवाहको दिनबारे निर्णय गरिँदा उनले आफ्नो महिनावारीको समय हेक्का नराखेकोमा अहिले उनी पछुताइरहेकी थिइन् ।

अर्को उदाहरण, दुलही भित्र्याउने काम सम्पन्न भएपछि दुलहा सुमन आफ्ना विशेष निकट साथीहरुसँग भोलिको पार्टीबारे छलफल गर्दै थिए । रात छिप्पिसकेकोले विवाह घरको चहलपलह केही सुस्ताएको थियो । तर पनि दुलहा र उनका निकट साथीहरु बियरको चुस्कीसँगै पार्टीलाई कसरी भव्य बनाउने भन्ने गफमा तल्लीन थिए । यत्तिकैमा दुलहा सुमनको मोबाइलमा मेसेज रिङ टिङ्ग बज्यो । उनले मेसेज हेरे, ‘क्या बोर’ मात्र लेखिएको थियो । मेसेज उनकै दाजुको थियो । उनले रिप्लाइ लेखे– ‘किन, के भो र दाइ ?’ जवाफ आयो– ‘तेरी भाउजूलाई सोध् ।’ सुमनले कुरो बुझेनन् ।

त्यत्तिकैमा दाइकै फेरि अर्को मेसेज आयो– ‘चार दिन हो, धन्दा नमान्, धैर्य गर्, धैर्यको फल मीठो हुन्छ केटा ।’ त्यसपछि सुमनले कुरो बुझे तर उनले गर्न सक्ने केही थिएन । साथीहरु पनि घरतिर लागेपछि सुमन आफ्नो कोठातिर लागे । कोठामा दुलही थिइनन् । त्यत्तिकैमा दाजु–भाउजू हाँस्दै सुहागरातका लागि सजाइएको दुलहाको कोठामा आए । भाउजूले भनिन्– ‘मैले त पहिल्यै भनेकी थिएँ, विवाहको साइत जुराउँदा दुलहीको महिनावारीको दिन विचार गर्नुपर्छ, त्यसैले सोध्नू भनेको, सोध्न लाज मान्नुभो, अहिले यस्तो प¥यो ।’

सुमन केही बोलेनन् । उनलाई यस्तो कुरा आफूले सोध्ने भन्दा पनि दुलहीले नै विचार पु¥याउनुपर्ने हो भन्ने लाग्यो । फेरि आफैंले सोधेको भए पनि के बिग्रन्थ्यो र ? आखिर प्रेमी–प्रेमिका नै त थियौं भन्ने पनि लाग्यो । दाजुले मुसुमुसु हाँस्दै ‘सुत्–सुत् अब, थाकेको होलास्, चार दिनको कुरो त हो नि ∕’ भने । सुहागरातप्रतिको कौतुहल सबै भताभुंग भएकोमा दुलही र आफूलाई पनि दोष दिँदै सुत्ने तरखर गर्नुबाहेक सुमनसँग अरु विकल्प थिएन ।

यी दुवै उदाहरण सत्य घटनामा आधारित हुन्, पात्रका नाममात्र परिवर्तित ।

यौवनमा प्रवेश गरेपछि विवाह, सुहागरात, यौनसम्बन्ध आदिबारे जिज्ञासु हुनु, कौतुहल बढ्नु, त्यसबारे सोचेर आफैं रोमाञ्चित हुनु आदि प्रत्येक पुरुष र महिलाका लागि प्रकृतिप्रदत्त मनोभाव हुन्, जो कुनै पाप, अपराध वा चरित्रहीनता होइन । विवाह विधि सम्पन्न गरी आफ्नो जन्मघर छोडेर दुलहाको घरमा सधैँका लागि प्रवेश गरेकी नवविवाहिता दुलहीको मनमा उर्लेर आउने अनेकौं भाव र सोचबारे यथार्थ चित्रण गर्नु कुनै पनि पुरुषका लागि असम्भवसरहको कार्य हो ।

दुलहा–दुलहीले सँगै अन्तरङ्गरुपमा बिताउने पहिलो रात जसलाई सुहागरात, ब्राइडल नाइट आदि नाम दिइएको छ, प्रत्येक महिला–पुरुषको जीवनमा सुहागरातको बेग्लै महत्व रहिआएको छ । मानव समाजमा वैवाहिक सम्बन्धको महत्व रहेसम्म यो रातको महत्व कायमै रहनेछ । यो रातको रोमाञ्च बिथोलियोस् भन्ने कोही पनि चाहँदैन । युद्ध मैदानमा तैनाथ रहेको सैनिकलाई समेत विवाहको लागि अल्पकालीन छुट्टी दिँदा पनि सुहागरातपछि मात्र हाजिर हुने गरी बिदा दिइएको हुन्छ ।

सुहागरातलाई अविस्मरणीय बनाउन दुलहा–दुलही दुवै सचेत हुनु जरुरी छ । यसका विभिन्न पक्ष छन् तर यस लेखको सन्दर्भ दुलहीको रजस्वलाका कारण सुहागरातमा पर्ने असरसँग मात्र सीमित छ । सुहागरातप्रति स्वाभाविक कौतुहल साँचेर बसेका नवविवाहित दम्पतीले सुहागरात नै मनाउन पाएनन् भने त्यो निकै अप्रिय स्थिति हुन जान्छ । यहाँनिर बुझ्नुपर्ने कुरो के छ भने, सुहागरात यौनसम्पर्कको लागि विशेष रात हो कि होइन ? सुहागरातमा यौनसम्पर्क गर्नै पर्छ भन्ने जरुरी छैन । तर लामो प्रतीक्षापछिको पहिलो निश्चिन्त, वैधानिक र न्यानो स्मर्शसहितको मधुर मिलनमा यौनसम्बन्ध हुनु अस्वाभाविक पनि होइन ।

त्यसैले सुहागरातमा दुलहा–दुलही दुवैजना शारीरिक र मानसिकरुपमा तरोताजा अवस्थामा हुनु जरुरी छ । कतिपय समाजमा सुहागरातमा नै सम्भोगरत भई दुलही अक्षत कुमारी (भर्जिन) हो वा होइन भनेर मूल्याङ्कन गर्ने प्राचीन विधिहरु पनि प्रचलित थिए र अझै केही मात्रामा छन् । यस्तो महत्वपूर्ण सुहागरातको अवसर रजस्वलाका कारण दुलहा–दुलही टाढिएर बिताउनुप¥यो भने त्यसको पछुतो जीवनभर रहिरहन्छ ।

त्यसो त हाम्रो सामाजिक प्रचलन अनुसार चार–पाँच दिनपछि रजस्वलाको अनुशासनबाट मुक्त भएपश्चात् दुलहा–दुलहीले साथमै रात बिताउँछन् नै । तर दुलही गृह प्रवेश गरेको पहिलो रातमै मनाइने सुहागरात र चार दिनपछि मनाइने सुहागरातमा केही अन्तर अवश्य हुन्छ । किनकि चार–पाँच दिनको अवधिमा यौन अनुभवबाहेक दुलहीमा रहेको दुलहीपन, मनोभावना, नयाँ घर–परिवारप्रतिको जिज्ञासा आदि धेरै घटिसकेको हुन्छ । सुहागरातमा दुलहा–दुलहीलाई अलग्याउने कारण प्रायः रजस्वला नै हुने गरेको पाइन्छ, अन्य कारण अत्यन्तै असाधारण अवस्थामा मात्र हुन्छ ।

रजस्वलासँगै गाँसिएर आउने अर्को अहम् प्रश्न पनि छ । त्यो हो रजस्वला अवधिभर यौनसम्पर्क गर्नु हुन्छ कि हुँदैन ? यस प्रश्नले सुहागरातमा मात्र होइन अरु समयमा पनि अर्थ राख्छ । सामान्यतया हरेक धर्म, सम्प्रदाय र समाजमा रजस्वला अवधिभर यौनसम्पर्कलगायत धेरै कार्यलाई वर्जित मानिने गरेको छ । धार्मिक, सांस्कृतिक तर्क जे–जस्तो भए पनि शारीरिक र मनोवैज्ञानिक कारणबाट समेत रजस्वला अवधिमा यौनसम्पर्क अनुपयुक्त नै हुन्छ ।

किनकि त्यस अवधिमा महिलाको पाठेघर र योनिमार्ग धेरै संवेदनशील हुन्छ, जसले गर्दा सम्भोगको दबाब ती आन्तरिक अङ्गका लागि घातक हुन पुग्छ । अर्को, रजस्वला अवधिमा महिलाले तल्लो पेट घोच्ने, तिघ्रा दुख्ने, रिँगटा लाग्ने, टाउको दुख्ने, झर्को मान्ने, चिडचिडाहट हुनेजस्ता प्रतिकूल शारीरिक अवस्था भोगिरहनुपर्ने हुनाले त्यस्तो स्वास्थ्य अवस्था सम्भोगका लागि उपयुक्त नहुनु स्वाभाविकै हो । साथै रजस्वला अवधिभर योनिमार्गमा रक्तश्राव भइरहने हुनाले पुरुषका लागि उक्त दूषित रगतसँगको संसर्ग सुखद् अनुभूति हुँदैन ।

रक्तश्राव जारी नै रहेको अवस्थामा सम्भोगरत हुँदा अत्यधिक रक्तश्राव हुन सक्ने जोखिम पनि रहन्छ । यी सबै कारणले रजस्वला अवधिभर यौनसम्पर्कबाट टाढै रही चोखिने दिनको प्रतीक्षा गर्नु सर्वथा उत्तम हो । अपवादको रुपमा केही अत्यन्त कम सङ्ख्याका महिलाहरु रजस्वला अवधिमा समेत सम्भोगरत हुन रुचाउने हुन्छन् । त्यसको मुख्य कारण कसै–कसैलाई रजस्वला अवधिमा योनिमार्गभित्र चिलाएको अनुभव हुन्छ ।

त्यो चिलाइ मार्न उनीहरु सम्भोगलाई एक सहज उपाय मान्दछन् । साथै अर्को कारणचाहिँ, कतिपय महिलाहरुको मनोभावनामा आन्तरिकरुपमा विद्रोही भावना लुकेर बसेको हुन्छ । त्यसलाई व्यक्त गर्न उनीहरुले आफ्नै किसिमका अनेकौं उपाय अपनाउँछन् । यसमा मुख्य उपाय भनेको समाजमा गर्नुहुँदैन भनेर वर्जित गरिएका कामहरु लुकेर भए पनि गरेर मौन विद्रोहको सन्तोष लिनु पनि एक हो । त्यसैले केही महिलाहरु रजस्वला अवधिमा पनि सम्भोगरत हुन अग्रसर हुन्छन् । तर यो ज्यादै नगण्य मात्रामा पाइने प्रवृत्ति हो ।

रजस्वलाकै कारणले सुहागरातमा धर्मसङ्कट आउन नदिन मुख्यतः दुलही नै चनाखो हुनुपर्छ । आफ्नो रजस्वला हुने अपेक्षित दिन उनलाई मात्रै थाहा हुने विषय हो । त्यसैले विवाहको साइत तय गर्दा रजस्वलाबाट निवृत्त भइसकेको वा रजस्वला हुने सम्भावना नरहेको समयमा पार्नुपर्दछ । यसका लागि दुलही बन्न लागेकी युवतीले समयमै आमा, दिदी, भाउजू आदि महिला अभिभावकसँग खुलस्त कुरा गर्नुपर्दछ ।

कतिपय युवतीहरुले विवाहको समयमा रजस्वला हुने सम्भावनालाई टार्न औषधि खाएर छिटो वा ढिलो रजस्वला गराउने गरेको पनि पाइन्छ । तर यो गलत अभ्यास हो । यसो गर्दा हर्माेन्समै प्रत्यक्ष असर पार्ने कडा रासायनिक औषधिको प्रयोग गरिन्छ, जसले गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । साथै रजस्वलाको स्वभााविकतालाई अस्वाभाविक तरिकाले प्रभाव पार्दा रिँगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी आउने, अधिक रक्तश्राव हुने, पेटमा पीडा हुने र एक प्रकारले बिरामीकै अवस्थामा पुगिने सम्भावना पनि त्यत्तिकै हुने हुनाले जुन कामका लागि रजस्वला टार्न खोजिएको हो त्यही काममा सक्रिय रुपमा सरिक हुन नसक्ने अवस्था पनि आउन सक्छ । त्यसैले रजस्वलालाई जबर्जस्ती सार्ने, टार्ने अस्वस्थ काम गर्नुभन्दा सुहागरातजस्ता महत्वपूर्ण कामको लागि समय छनौट गर्दा नै बुद्धि पु¥याएमा धर्मसङ्कटमा पर्नुपर्ने अवस्था आउँदैन ।

प्रतिक्रिया दिनुहोस्