भोकै रहेर व्रत बस्ने परम्परा प्राचीनकालदेखि नै चलिआएको हो । केही वर्षअगाडिसम्म पनि यसलाई धार्मिक क्रियाकलापको रुपमा मात्र लिइन्थ्यो । तर यही व्रत अर्थात् उपवास क्रिया पश्चिमी मुलकमा पुगेर फास्टिङका नामले पुनः यहाँ भित्रिएपछि भने यसले बढी महत्व पाउन लागेको छ । आजकल धार्मिक आस्थाका लागि नभई शरीरको तौल सन्तुलनमा राख्ने र स्वस्थ रहने अभिप्रायले व्रत बस्नेहरु धेरै पाइन्छन् ।
जापानका डा. योसिनोरी असुमीले लामो अनुसन्धान गरेर २४ घन्टामा १६ घन्टा भोकै बस्दा मानवकोषहरुमा हुने फोहोर सफा हुने कुरा चर्चामा ल्याए । उनले यसबाट क्यान्सरसमेत निको हुन सक्ने बताएका छन् । अहिले नेपालमा समेत १६ घन्टे फास्टिङ भनेर धेरैले पानीबाहेक केही नखाई बस्ने गरेका छन् । यसरी व्रतोपवास बस्ने हाम्रो प्राचीन पूर्वीय संस्कारलाई जापानका डा. योसिनोरीले भनेपछि यहाँ धेरैले अवलम्बन गर्न थालेका छन् । यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।
प्राचीनकालदेखि नै यसको प्रत्यक्ष सम्बन्ध धर्मसँग जोडिएको थियो । एकादशीका दिन केही नखाई व्रत बसे पुण्य कमाइन्छ भनिन्थ्यो तर अहिले स्वस्थताका लागि फास्टिङ वा डाइटिङका नामले उपवास बसिन्छ । पानीमात्र खाने, फलफूलमात्र खाने, दिनको एक छाकमात्र खाने आदि उपवासका प्रकार मानिन्छन् । त्यसमा पनि कोही १२ घन्टा त कोही १६ घन्टा नखाई व्रत (फास्टिङ) बस्ने गर्छन् । अझ तीजको व्रत बस्ने कतिपयले २४ घन्टा नै नखाने गरेको पनि देखिएको छ । जे–जसरी जति घन्टाको व्रत लिए पनि नियमानुसारको व्रतले स्वास्थ्यमा राम्रो प्रभाव पारेको हुन्छ ।
भोकै बस्दा ऊर्जा सन्तुलन कसरी हुन्छ त ?
खाना खाएपछि सो खानाबाट प्राप्त कार्बोहाइडे«ट पाचन प्रक्रियापछि ग्लुकोजमा परिवर्तन हुन्छ । सो ग्लुकोज रगतको माध्यमबाट कोषहरुमा पुगी शक्ति प्रदान गर्छ । तर व्रत बसेको छ भने त्यस अवस्थामा शरीरले खानाबाट शक्ति प्राप्त गर्ने कुरा नै आउँदैन । फलस्वरुप रगतमा चिनीको मात्रा कम हुँदै जान्छ । त्यस अवस्थामा शरीरमा कसरी शक्ति सन्तुलन होला त ? प्रश्न गम्भीर छ ।
पोषण विज्ञ प्रा.डा. जया प्रधानका अनुसार लामो समय खाना नखाँदा शरीरमा जम्मा भइरहेको ग्लाइकोजिन (चिनीको संरक्षित रुप) टुक्रिएर ग्लुकोजमा परिणत भई शक्ति दिने काम गर्दछ । साथै कोष–तन्तुमा जम्मा भएर रहेको प्रोटिन पनि शक्ति दिनको लागि खर्च हुन्छ । यसरी शरीरमा जम्मा भइरहेको चिल्लो पदार्थ टुक्रिँदै शक्ति दिए पनि केही समयको अन्तरालमा भने किटोएसिड नामक हानिकारक पदार्थ पैदा भई किटोसिस हुन सक्छ । जसले गर्दा एकातिर व्यक्तिको शारीरिक तौल घट्छ भने अर्कोतिर रगतमा अम्लीयपन बढ्ने, श्वासमा दुर्गन्ध आउने, थाक्ने तथा शरीरको कार्यमा असन्तुलन भई मिर्गौला तथा कलेजोको कार्यमा गडबडी हुन सक्छ ।
प्रा.डा. प्रधानको भनाइले व्रत बस्नु उत्तम हो तर जथाभावी लामो समय नखाई बस्नु भने हानिकारक हुने बुझ्न कठिन छैन । उहाँले आफ्नो पुस्तक ‘जीवनशैली र पोषण’ मा लेख्नुभएको छ, ‘स्वस्थ व्यक्तिले हप्ताको एक दिन ठीक मात्रामा पानी पिउनुको साथै केही फलफूल खाई उपवास बस्नाले शरीरमा जम्मा भएका अनावश्यक पदार्थहरु बाहिर फ्याँकी शरीर स्वस्थ राख्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । यसै गरी महिनाको एकपटक पानी तथा फलफूल खाई उपवास बस्दा मुटुसम्बन्धी रोग झन्डै ५८ प्रतिशतले कम हुन सक्ने तथा मांसपेशीको घनत्वलाई बढाउन मद्दत पु¥याउनुको साथै चिल्लो पदार्थको मात्रा कम गरी शरीरको तौल ठीक राख्न अनि प्यान्क्रियाजबाट इन्सुलिन हर्मोनको उत्पादनमा मद्दत पु¥याई मधुमेहको सम्भावनालाई पनि कम गर्न सकिन्छ ।’
हरेक वर्षको तीजमा श्रीमान्को आयुरारोग्यका लागि भनेर लिने गरिएको व्रतको बारेमा कुरा गर्दा यसको प्रभाव श्रीमान्लाई भन्दा पनि व्रत बस्ने महिलाको स्वास्थ्यमा प्रत्यक्षरुपमा परेको हुन्छ । यस व्रतका क्रममा बसिने उपवासले शारीरिक तौल नियन्त्रण भई स्वस्थ रहन मद्दत पुग्छ । तर उपवास बस्ने दिन बिहान उज्यालो हुने बेलासम्म झ्याल–ढोकाको प्वालसमेत थुनेर दर खाने अनि व्रत सकिएको अर्को दिनदेखि पनि गरिष्ठ भोजन गर्न नछोड्ने प्रवृत्ति बढ्दो छ । अझ दरमा माछा–मासुसहित चिल्ला, गुलिया खाद्यपदार्थहरु समावेश गरिएको पाइन्छ । उपवासका नाममा गरिने यस्ता क्रियाकलापले स्वास्थ्यमा झनै खराब असर पु¥याउने हुन्छ । धार्मिक मान्यता अनुसार पनि व्रत बस्ने अघिल्लो दिन माछा–मासु, लसुन–प्याजजस्ता पदार्थको सेवन वर्जित गरिएको छ ।
हाम्रो शरीरमा थाइराइड, प्यान्क्रियाजजस्ता आठवटा अन्तश्रावी ग्रन्थिहरु हुन्छन् । यिनबाट आवश्यकता अनुसार रस श्राव भइरहेको हुन्छ । सन्तुलित रुपमा रस श्राव भएन भने मानिस रोगी बन्न जान्छ । यी ग्रन्थिहरुलाई नियन्त्रण गरी रस श्राव सन्तुलित राख्न व्रतोपवासको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रो चिन्तन मनन, खानपान, रहनसहन, आचारविचार अन्तश्रावी ग्रन्थिमा समेत निर्भर रहन्छ । यस्ता ग्रन्थिबाट श्राव हुने रसको प्रभाव हामीमा पर्ने हुन्छ । हाम्रो असन्तुलित खानपानका कारण अन्तश्रावी ग्रन्थिहरु प्रभावित भई रसश्रावमा पनि असन्तुलन पैदा हुन्छ ।
एउटा बुझ्नुपर्ने कुरा के छ भने, हामी बिरामी प¥यौँ भने हामीलाई खाना खान मन लाग्दैन । यस्तो समयमा प्राकृतिक रुपमै शरीरले सुधारको प्रयत्न गरेको हुन्छ । पशुपक्षीहरुमा पनि यही नियम लागू भएको हुन्छ । विनाऔषधि शरीरले नै रोग ठीक पार्न कोशिश गरिरहेको हुन्छ । उपवासको बेला शरीरले झनै बढी सन्तुलित सक्रियता देखाउन खोज्छ । त्यसैले विनाऔषधि उपवास चिकित्साद्वारा बिरामी निको पार्न पनि उपवास महत्वपूर्ण हुन जान्छ । हामीले शरीरलाई कुनै–कुनै दिन उपवासको माध्यमबाट प्राकृतिकरुपमै छोडिदिनुपर्छ, जसले स्वस्थ रहन मद्दत मिल्छ ।
जथाभावी जे पायो त्यही खाँदा हाम्रो शरीरमा अनावश्यक पदार्थ जम्मा हुन थाल्छ । रगतमा जम्मा भएका यस्ता पदार्थ अधिक हुँदै जाँदा शरीरबाट निष्कासन हुन सकिरहेको हुँदैन, जुन टक्सिन (विषाक्त पदार्थ)को रुपमा जम्मा हुँदै जाँदा यसले शरीरमा नराम्रो असर पु¥याउन थाल्छ । उपवासले यस्ता पदार्थ जम्मा हुन त पाएन नै, त्यसमाथि जम्मा भएको टक्सिन पनि बिस्तारै निष्कासन हुने मौका मिल्छ । भोजन नगरेपछि आमाशय खाली हुने नै भयो । खानेकुरा पचाउने कार्य गर्ने जठाराग्नि फुर्सदिलो हुने हुँदा यो पाचनतन्त्र सफा गर्न उद्वेलित हुन्छ । त्यसैले त्यहाँ रहेको टक्सिन सफा हुन मद्दत पुग्छ ।
उता व्रत बसे पनि शरीर सञ्चालनार्थ ऊर्जाको आवश्यक त पर्छ नै । त्यसैले व्रत बसेको समयमा शरीरमा सञ्चित ऊर्जा शरीरले खपत गर्न शुरु गर्छ । यसले गर्दा बोसोको रुपमा जम्मा भएको ऊर्जा घट्न थाल्छ । फलस्वररुप तौल नियन्त्रणमा उपवास हितकारी हुन्छ ।
उपवासले पाचन प्रणाली सुचारु गर्ने अंगहरुमा आराम मिल्छ र मेटाबोलिजम क्रिया राम्रोसँग हुन पाउँछ । हुन त उपवास बस्दा शरीरलाई आवश्यक पर्ने ऊर्जा कसरी पूर्ति हुन्छ त भन्ने प्रश्न पनि उठ्न सक्छ । तर शरीरमा बोसोको रुपमा सञ्चित पदार्थलाई उपवास बसेको समयमा शरीरले ऊर्जाको रुपमा प्रयोग गर्छ ।
यसले गर्दा शरीरको अनावश्यक तौल घट्न मद्दत पुग्छ । हप्तामा एकपटक उपवास बस्दा रोग–प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । उपवासले शरीरमा सेतो रक्तकोशिकाको उत्पादन बढ्छ, जसले रोगसँग लड्ने शक्ति बढाउँछ । उपवासले टाउको दुखाइ, थकान, कब्जियत र न्यूरोलोजिकल समस्याहरूको जोखिमलाई पनि कम गर्छ । कतिपय व्यक्ति शरीरको तौल घटाउन उपवास बस्ने गर्छन् । हप्तामा एकदिन उपवास बसेर शरीरको तौल घटाउन खोज्नु राम्रो हो तर तौल घटाउने नाममा लामो समय खाना नै नखाई बस्नुचाहिँ उचित हुँदैन ।