ढिलो र धेरै बच्चा जन्माउँदाका खतरा



प्रा. डा. सुमनराज ताम्राकार स्त्रीरोग विशेषज्ञ

नेपालमा महिलाहरुको शैक्षिक, सामाजिक एवं आर्थिक स्थितिमा सुधारसँगै उमेर ढल्केपछि मात्र विवाह गर्ने तथा सन्तान उत्पादन गर्ने क्रम बढ्दो छ । पछिल्ला दिनमा तीस वर्ष कटेपछि बच्चा पाउनेहरुको संख्या बढिरहेको छ ।

अर्कोतिर, छोराको आशैआशमा पटक–पटक बच्चा पाइरहने प्रवृत्ति पनि जारी छ । तुलनात्मकरुपमा ग्रामीण भेगमा सानैमा विवाह गर्ने र परिवार नियोजनका साधनहरु पनि कममात्र प्रयोग गर्ने गर्दा धेरै बच्चा पाउने क्रम रहिरहेको छ । यसै सन्दर्भमा एउटा घटना यहाँ राख्न चाहन्छु ।

३२ वर्षीया बैंकर रेश्मा विवाह नगर्ने भनेर बसिरहेकी थिइन् । तर अन्ततः उपयुक्त परिस्थिति बनेपछि विवाह गरिन् । गर्भावस्थाका बेला हल्का रक्तचाप बढे पनि वा सुगरको मात्रा थोरै बढे पनि औषधि भने सेवन गरिहाल्नुपरेन । तर उनको गर्भको महिना पुगेपछि पनि प्राकृतिकरुपमा व्यथा लागेन ।

त्यसैले अस्पतालमा भर्ना गरेर व्यथा शुरु हुने औषधि चलाइयो, तैपनि आशातीत रुपमा व्यथा बढ्न सकेन । यसै बीच उनले सिजेरियन गरेर बच्चा निकालिदिन पटक–पटक अनुरोध गर्न थालिन् । तर अनुभवी चिकित्सकले बच्चा आउने बाटो यथेष्ट भएको कारण प्राकृतिकरुपमा योनिद्वारबाटै डेलिभरी भैहाल्छ कि भनेर सम्झाई–बुझाई गरिरहे । तर पानीको थैलो फुट्ने क्रममा हल्का खैरो पानी देखिएपछि उपचारमा संलग्न चिकित्सकले अब भने जोखिम लिएर अडान कस्न सकेनन् ।

किनकि खैरो पानी देखिनुको संकेत गर्भेशिशुलाई सकस हुन थालेको संकेत पनि थियो । अन्ततः सिजेरियनबाट बच्चा निकाल्ने निर्णय भयो । सिजेरियनपछि नवजात शिशुलाई केही दिन नवजात शिशुको सघन कक्षमा भर्ना राख्नुपरे पनि आमा र शिशु सकुशल घर जान पाए । यही परिस्थिति बीस–पच्चीसको उमेरमा हुँदो हो त प्राकृतिकरुपमै बच्चा पाउने सम्भावना निकै हुन्थ्यो । उमेर ढल्केकी गर्भवती महिलामा आइपर्ने समस्याको प्रतिनिधिमूलक घटनामात्र हो यो । संक्षेपमा समयमा नै सजगता अपनाइएन भने गर्भवती महिला एवं नजवात शिशुको ज्यान जोखिममा पर्न सक्छ ।
ढल्कँदो उमेरका गर्भवती महिलाका समस्या

स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको विश्वव्यापी संस्था (फिगो) का अनुसार कुनै पनि महिला ३५ वर्षपछि पहिलोपटक गर्भवती भएकी छिन् भने पनि त्यस्तो गर्भलाई जोखिमपूर्ण मानिन्छ । यस्तो परिस्थितिमा गर्भ राम्रो नै हुन्छ भन्ने निश्चितता हँुदैन । ढिलो गरी विवाह गरे पनि उर्वरा शक्ति बढी हुने, छिटो गर्भ आउने वा विवाह गरेको धेरै समयपछि मात्र गर्भ आउने दुवै हुन सक्छ । तुलनात्मकरुपमा पछिल्लोचाहिँ राम्रो मानिदैन । पछिल्लो समय शहरी क्षेत्र एवं शिक्षित महिलाहरुमा ढिलो विवाह गर्ने चलनले यस्तो समस्या बढ्दो छ ।

ढल्कँदो उमेरमा गर्भवती हुँदा गर्भावस्थाकै शुरुवातीतिर नै गर्भ तुहिने, उच्च रक्तचापको समस्या बढी देखिने, व्यथा नलाग्दै साल छुट्टिने, पाठेघरमा मासु पलाउने, बढ्दो उमेरसँगै मधुमेह, मुटुको समस्या देखा पर्ने, समयमै व्यथा नलागी महिना नाघ्ने, गर्भको शिशुको वृद्धि कम हुने सम्भावना बढी हुन्छ ।

यस्तै गरी महिना नपुग्दै व्यथा लाग्ने, प्रसवको क्रममा सुत्केरी व्यथा लामो हुने, आमा तथा गर्भे शिशुलाई सकस हुने, शल्यक्रियाजन्य उपचार बढी चाहिने, सुत्केरीपछि साल अड्किने सम्भावना बढी हुने हुन्छ । सुत्केरीपश्चात् शल्यक्रियाजन्य उपचारका जटिलता थपिने, आमाको दूध उत्पादनमा खराबी आई स्तनपान सफल नहुने, सुत्केरीपश्चात्को समयमा उच्च ज्वरो आउने तथा संक्रमण हुने सम्भावना पनि बढी हुन्छ ।

यसका साथै ढल्कँदो उमेरका गर्भवती महिलामा रोगव्याधी लाग्ने तथा मातृ मृत्यु हुने सम्भावना तुलनात्मकरुपमा बढी हुन्छ । महिना नपुगी प्रसव हुने कारणले कम तौलको बच्चा जन्मिने, वंशाणु अंशमा गडबडी आई जन्मजातरुपमा शारीरिक विकलांग देखा पर्ने बढी सम्भावना हुन्छ ।यसका साथै उमेर ढल्केकी महिलामा गरिने शल्यक्रियाजन्य उपचारका कारण नवजात शिशुको मृत्यु हुने सम्भावना बढी हुन्छ ।

व्यवस्थापन कसरी गर्ने ?

गर्भावस्था तथा प्रसवका क्रममा महिला तथा शिशुमा देखा पर्न सक्ने जटिलताका कारण उमेर ढल्केकी महिलाको गर्भवती अवस्थालाई उच्च जोखिम मानिन्छ । अनुभवी विशेषज्ञ डाक्टरको निगरानीमा रही नियमित रुपमा गर्भवती जाँच र ल्याब परीक्षण गराउनुपर्दछ । यस्तो खालको महिलाको सुत्केरी अस्पतालमै गराउनुपर्दछ । सुत्केरीपश्चात्को समयमा पनि थप हेरचाह पु¥याउनुपर्दछ ।

धेरै बच्चा पाउँदा हुने समस्या

स्वस्थ र व्यवस्थित परिवारको अवधारणा अनुसार एक वा दुईमात्र बच्चा पाउनु राम्रो हुन्छ । शहरी क्षेत्र तथा शिक्षित दम्पतीहरुमाझ कमै बच्चा पाउने चलन भए पनि ग्रामीण तथा दुर्गम भेगमा चेतनाको कमी, स्वास्थ्य सेवाको अभाव, इच्छाशक्तिको कमी तथा छोरा नै पाउनुपर्ने लोकाचारका कारण बढी बच्चा पाउने चलन अहिले पनि छ । कुनै पनि महिलाले चार वा सोभन्दा बढी बच्चा (जीवित) पाइसकेकी छिन् भने पनि यसलाई जोखिमपूर्ण मानिन्छ ।

अस्पतालमा गर्भावस्था तथा सुत्केरीका कारण हुने महिलाको मृत्युको करिब १० प्रतिशत तथा मातृ मृत्युमध्ये एक तिहाइ कारण बढी बच्चा पाउनुसँग सम्बन्धित छ । त्यसैले पनि बढी बच्चा पाइसकेकी गर्भवती महिलाको हेरचाहमा बढी ध्यान पु¥याउनुपर्दछ ।

धेरै बच्चा पाएकी गर्भवती महिलामा गर्भावस्थाका शुरुवातीतिर गर्भ तुहिने, बच्चाको बसाइ उल्टो वा गलत हुने, जुम्ल्याहा वा तिम्ल्याहा बच्चा हुन सक्ने, साल गलत ठाउँमा बस्ने हुन सक्छ । रक्तअल्पता, उच्च रक्तचाप, मुटुको क्षमतामा गडबडी, मलद्वार एवं पिँडौलामा नसा फुल्ने, महिना नपुग्दै व्यथा लाग्ने समस्या आउन सक्छ ।

यस्तै गरी प्रसवको क्रममा गर्भे शिशुको गलत बसाइका कारण नाल पहिला निस्कने, गर्भको संख्यासँगै तुलनात्मकरुपमा गर्भेशिशुको तौल बढ्दै जाने, योनिद्वार हुँदै प्रसव हुने सम्भावना कम हुने, प्रसव व्यथा कष्टकर हुने, शल्यक्रियाजन्य उपचार चाहिने, प्रसवपछि अधिक रक्तश्राव हुने तथा बेहोस हुने (कमजोर शारीरिक अवस्था, रक्तअल्पता, प्रसव व्यथासँगै पाठेघर च्यातिएको पत्ता लाग्न नसकेर) हुन सक्छ । सुत्केरीपश्चात् पनि पाठेघर राम्ररी नखुम्चिने, स्तनपान सफल नहुने, पाठेघर तथा योनिद्वारको संक्रमण बढ्ने, उच्च ज्वरो आउने हुन सक्छ ।

यसरी व्यवस्थापन गर्नुपर्छ

धेरै बच्चा पाएकी गर्भवती महिलाको गर्भावस्थालाई पनि उच्च जोखिमपूर्ण मान विशेष निगरानीमा गर्भ जाँच आवश्यक हुन्छ । यस्तो महिलाको सुत्केरी पनि अस्पतालमै हुनुपर्दछ । प्रसवको क्रममा योनिद्वार यथेष्ट छ-छैन दोहो¥याएर परीक्षण गरेपछि वा व्यथा लामो वा कष्टकर हुने छाँटकाँट भए उपयुक्त विकल्प अपनाइन्छ । प्रसवपछि साल अड्किने वा अधिक रक्तश्राव हुने सम्भावना बढी हुने भएकोले समयमै चनाखोपना अपनाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्