स्वस्थ रहन आसनको महत्त्व



डा. क्षितिज बराकोटी

शारीरिकरुपमा स्वस्थ र तन्दुरुस्त रहन मात्र हैन मानसिकरुपमा सकारात्मक, स्वस्थ र सबल रहनसमेत अष्टांगयोगको एक अंग आसन अति महत्वपूर्ण रहेको पाइन्छ । योगको ग्रन्थ घेरण्डसंहितामा चौरासी लाख आसनहरु रहेको कुरा उल्लेख गरिएको छ । हामीले ती सबै आसनहरु गर्न आवश्यक छैन, तर ती मध्ये केही वा न्यून संख्यामा मात्र आसन गर्न सकियो भने पनि हामीलाई पुग्छ ।

महर्षि पतञ्जलिले योगसूत्रमा आसनको परिभाषा दिँदै स्थिर सुखमासनम् अर्थात् सुखपूर्वक स्थिरावस्थामा रहने स्थितिलाई नै आसन भनी जनाएको पाइन्छ । आसनमा हामीले शरीरलाई कुनै पनि निश्चित स्थितिमा लैजाने अभ्यास गर्नुपर्छ, प्रयास सफल भएपछि आपूmलाई त्यसैमा धेरैबेर टिकाइराख्न पनि कुनै कठिनाइ हुँदैन र निरन्तर बसेपछि त्यसैबाट आनन्द आउन थाल्छ । अन्त्यमा आसनको सिद्धि भएको मानिन्छ । योगमा आसनको महत्व अत्यन्त बढी छ । किनभने योगका हरेक अभ्यासहरु कुनै न कुनै आसनलाई प्रयोग गरेर मात्र सम्भव छन् र योगसाधनाको अन्तिम अवस्था समाधिसम्म पुग्ने भ¥याङ पनि आसन हो । स्वस्थ जीवनशैलीका लागि हामीले आसनहरुको प्रयोग अनेकौं प्रकारले गर्न सक्छौं ।

कुनै पनि उमेर, अवस्था र समयमा कुनै पनि व्यक्तिले आसनको प्रयोग गर्न सक्छ । योगका आसनअन्तर्गत यौगिक सूक्ष्म व्यायाम, स्थूल व्यायामसमेत पर्दछन्, जसले आसनलाई सहजतातिर लैजान्छ । स्थूल व्यायामले सम्पूर्ण शरीरलाई तताउने, शरीरको एकमुष्ट व्यायाम हुने र आसन गर्न सहज बनाउने गर्दछ भने सूक्ष्म व्यायामले शरीरका अंगप्रत्यंगको व्यायाम हुने, लचिलो र बलियो पार्ने, जोर्नीहरुलाई खुलाउने आदि कार्य गरी आसनमा शरीरको स्थितिलाई सहजताका साथ पूरा गर्न मद्दत गर्दछ ।

आसनका प्रकारहरु

योगका आसनहरुलाई प्रयोजन र स्थितिका आधारमा विभिन्न स्वरुपमा वर्गीकरण गर्न सकिन्छ । आप्mनो उमेर, शारीरिक अवस्था, रोग, क्षमता आदिलाई ध्यान दिएर गुरुको निर्देशनमा योग अभ्यास गर्न सकिन्छ । यहाँ ती आसनहरुको प्रकार र उपयोगिताका बारेमा चर्चा गरिन्छ ।

प्रयोजनका आधारमा आसनहरु
आसन केका लागि गरिन्छ भन्ने आधारमा पनि यसलाई वर्गीकरण गर्न सकिन्छ ।
-श्रमदायक वा क्रियात्मक आसन: प्रायः आसनहरु यही श्रेणीमा आउँछन् । शरीरका विशेष भागहरुलाई चलाउँदै एक निश्चित स्थितिमा पुगेपछि स्थिर हुने प्रयास गरिन्छ, यसैलाई आसन भनिन्छ । उदाहरणको लागि उत्तानपादासन, सलभासन, धनुरासन, त्रिकोणासन, मण्डूकासन आदि । यस्ता आसनहरुले शरीरलाई बलियो, लचिलो र तन्दुरुस्त बनाउन, तौल घटाउन, स्वस्थ एवं अस्वस्थ अवस्थामा समेत गरिन्छ ।
 विश्रामात्मक आसन: क्रियात्मक आसन, स्थूल व्यायाम आदिका अवसरमा लागेको थकाइ हटाउन र शीथिलीकरणका लागि अभ्यास गरिने आसनलाई विश्रामात्मक आसन भनिन्छ । जस्तै– शवासन, बालासन (बालसयनासन), मकरासन आदि । यस्ता आसनहरुले मानसिक तथा मनोशारीरिक समस्याहरुलाई हटाउन, मन बलियो बनाउन र उच्च तथा न्यून रक्तचाप, अनिद्रा, दुखाइ कम गर्न, जीउ थाक्ने, गल्ने झम्झमाउने, पोल्ने आदि समस्याहरु हटाउनसमेत प्रयोग गर्न सकिन्छ ।

ध्यानात्मक आसन: प्राणायाम तथा ध्यानको लागि सजिलोसँग गरिने आसन निकै नै उपयोगी मनिन्छ । उदाहरणको लागि सुखासन, सिद्धासन, वज्रासन, पद्मासन आदि । ध्यानात्मक आसनले मनको अस्थिरता, बेचैनी, तनाव तथा चिन्ताको गडबडी, अनिद्रा, उच्च–न्यून रक्तचाप, मधुमेह, मोटोपन, दुखाइजस्ता अनेकौं समस्यालाई कम गर्छ ।
 

सन्तुलनात्मक आसन: एक खुट्टा, दुवै गोडाको पञ्जा, हात, टाउको आदिले टेकेर शरीरलाई सन्तुलन कायम गरी अभ्यास गरिने आसनलाई सन्तुलनात्मक आसन भनिन्छ । यस्ता आसनहरुमा वृक्षासन, ध्रुवासन, ताडासन, नटराजासन, शीर्षासन, वृश्चिकासन आदि पर्दछन् । यस्ता आसनहरु मानसिक एकाग्रता बढाउन, मनोरोगहरु घटाउन र अन्य विशेष लाभहरुका लागि प्रयोग गरिन्छ ।
तन्काउने एवं खुम्च्याउने आसन:यस्तो समूहका आसनमा हातगोडा तथा जीउका भागहरुलाई तन्काएर वा खुम्च्याएर अभ्यास गरिन्छ । तन्काएर गरिनेमा ताडासन, तीर्यक ताडासन, मुष्टीबद्धचक्रासन आदि अभ्यास गरिन्छ भने खुम्च्याएर पवनमुक्तासन, केही मर्कटासन, झुलासन आदि पर्दछन् । यस्ता आसनहरु शरीरलाई बलियो तथा लचिलो बनाउन र हाड–नसा तथा मांसपेशीजन्य रोगहरुमा उपयोगी हुन्छन् ।
स्थिर तथा चलासन: हुन त चलायमान अवस्थाबाट नै स्थिरावस्थामा पु¥याई आसनको अभ्यास गरिन्छ । तर कतिपय आसनहरु स्थिर अवस्थामा नगरीकन पनि अभ्यास गरिन्छ । स्थिरावस्थामा बस्न सकिने आसनहरु जस्तै– नौकासन, हलासन, वज्रासन आदि हुन् भने चलायमान बनाई स्थिर नराखी गरिने आसनहरुमा झुलासन, पादवृत्तासन, पुतलीआसन, चलधनुरासन, चलमकरासन आदि पर्दछन् । यस्ता आसनले प्रभावित अंगहरुलाई बलियो, तन्दुरुस्त, तौलमा सन्तुलन, शरीरको प्रतिरोधक तथा सहन गर्ने क्षमता बढाउँछ ।
चिकित्सात्मक आसन:कुनै रोगोपचार गर्ने उद्देश्यले गरिने आसनलाई चिकित्सात्मक आसन भनिन्छ । यस्ता आसनहरु सहज प्रकृतिका हुन्छन् र बिरामीको क्षमता, आवश्यकता, उमेर र रोग अनुरुप अधिकतम लाभ दिने खालका मात्र अभ्यास गराइन्छ ।

स्थितिका आधारमा आसनहरु

बसेर गरिने आसन:यस्तो समूहमा पैतालाले टेकेर, नितम्ब वा गोडा माथि, पलेटी मारेर लगायत अनेक किसिमले बसेर आसनको अभ्यास गरिन्छ । सुखासन, सिद्धासन, कागासन, पद्मासन, दण्डासन, जानुशिरासन आदि यसका उदाहरण हुन् ।
उत्तानो परेर गरिने आसन:उत्तानो सुतेर गरिने शरीरको तल्लो वा माथिल्लो भाग उठाउने आसनहरु यस समूहमा पर्दछन् । उदाहरणका लागि उत्तानपादासन, नौकासन, हृदयस्तम्भनासन, नाभीदर्शनासन आदिलाई लिन सकिन्छ ।
घोप्टो परेर गरिने आसन: घोप्टो सुतेर गरिने गोडा, छाती वा दुवै भाग उठाउने आसनहरु यस समूहमा पर्दछन् । भुजंगासन, सलभासन, नाभ्यासन (विपरीत नौकासन), धनुरासन, मकरासन आदि यस समूहका आसनहरु हुन् ।

उठेर गरिने आसन: उभिएर गरिने आसनहरु जस्तै– हस्तोत्तानासन, वृक्षासन, नटराजासन आदि हुन् ।
विपरीत आसन: शरीरलाई सामान्य टाउको माथि र खुट्टा तल गरेर अभ्यासन गरिने भन्दा ठ्याक्कै विपरीत वा उल्टो बनाएर गरिने आसनलाई विपरीत समूहको आसन भनिन्छ । उदाहरणको लागि सर्वाङ्गासन, विपरीत करणी आसन, शीर्षासन आदि यसका उदाहरण हुन् ।
अगाडि झुक्ने आसन: शरीरलाई अगाडितिर निहुँराएर गरिने आसनहरु यस्तो समूहमा पर्दछन्, जस्तै– हस्तपादासन, जानुशिरासन, पश्चिमोत्तानासन आदि ।
पछाडि मोडिने आसन: शरीरलाई पछाडितिर मोडेर अभ्यास गरिने आसनहरु यस समूहका आसनहरु हुन्, जस्तै– हस्तोत्तानासन, चन्द्रदर्शनासन, भुजंगासन आदि ।
साइडमा मोडिने आसन: कम्मरको भागबाट शरीरलाई दायाँ–बायाँ झुकाउने आसनहरु यस समूहमा पर्दछन्, जस्तै– तीर्यकताडासन, चन्द्रासन, मुष्टीबद्धचक्रासन आदि ।
बटारिएर गरिने आसन ः कम्मर वा मेरुदण्डलाई बटारेर गरिने आसनहरु जस्तै– मेरुवक्रासन, कटिचक्रासन, अर्धमत्स्येन्द्रासन आदि यस समूहका आसनहरु हुन् ।

तन्काएर गरिने आसन: कतिपय आसनहरुलाई हात, गोडा, कम्मर आदि भागहरु तन्काएर गरिन्छ । यसरी तन्काउने क्रम माथि, तल, साइड आदिमा शरीरको निश्चित अंगलाई प्रयोग गरेर अभ्यास गरिन्छ ।
मिश्रित समूह: धेरै आसनहरु एकलरुपमा अभ्यास गरिन्छ । तर कुनै कुनै अभ्यासमा एकभन्दा बढी आसन वा स्टेपहरुको समूहगत प्रयोग हुन्छ । उदाहरणको लागि सूर्य नमस्कार, चन्द्र नमस्कार, प्रज्ञायोग, ताण्डव नृत्य आदि । यस्ता आसनहरुले छोटो समयमा नै सम्पूर्ण शरीर र मनको समेत व्यायाम प्रदान गर्ने र स्पूmर्ति प्राप्त गर्न सकिन्छ ।

सावधानीहरु:
आसनको अभ्यास गर्नुअगाडि सूक्ष्म तथा स्थूल व्यायामहरुको अभ्यास गर्नुपर्दछ । आँखा, अनुहार, टाउको, काँध, हात, छाती, कम्मर, गोडाजस्ता अंग–अंग चलाउने यौगिक सूक्ष्म व्यायामहरु आसनअगाडि दैनिक गर्नुपर्छ । यसरी नै स्थूल व्यायामहरु जस्तै– मन्द गति (हल्का जगिङ गरेजस्तो), तीव्रगति (छिटो–छिटो दौडेजस्तो), हृद्गति (हातगोडा चलाएर तीव्र श्वासप्रश्वास प्रक्रिया गर्दै, गोडाले नितम्बमा छुँदै हात पनि मुठ्ठी पारेर खुम्च्याउँदै–फैलाउँदै गरिने अभ्यास), उध्र्वगतिले शरीरलाई एकसाथ तातो र ऊर्जाशील बनाउने, शरीरमा मोटाबोलिज्म प्रक्रियालाई व्यवस्थित गर्ने, प्रमुख अंग तथा प्रणालीहरुको कार्यक्षमता बढाउनेजस्ता विभिन्न कार्यहरु गर्दछ । यस्ता यौगिक व्यायामहरुको अभ्यासले आसनलाई सहज बनाउँछ ।

कुनै पनि आसनहरु आरम्भमा योगगुरुको सान्निध्यमा अभ्यास गर्नुपर्दछ । आसनको अभ्यास सरलताबाट कठिन आसनतिर लाग्नुपर्दछ । कम्मर दुख्नेले अगाडितिर निहुँरने आसन गर्नुहुँदैन ।

गर्दनको दुखाइ भएकाले टाउकाको चलायमान व्यायाम गर्नुहुँदैन । यसरी नै रिँगटा लाग्नेले पछाडितिर मोडिने गर्नुहुँदैन । खुट्टा मर्केको, घुँडा दुखेको र नसा च्यापिएको अवस्थामा उफ्रने खालका व्यायाम एवं आसन गर्नुहुँदैन । धेरै दिन अभ्यास नभएका, बढी मोटो, उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, न्यून रक्तचाप, हृदयरोग, मधुमेहमा इन्सुलिन लिने समस्याहरुमा बढी थाक्ने गरी र धेरै बेर अभ्यास गर्नुहुँदैन ।

गर्भवतीले पनि अलग्गै अभ्यास गर्नुपर्छ र निर्धारित अभ्यासमात्र गर्नुपर्दछ । कमजोरी, पखाला, ज्वरो आदि अवस्थामा विश्रामदायक अभ्यासमात्र गर्नुपर्दछ । कुनै पनि जोर्नीमा सुन्निएको र दुखेको छ भने त्यसको व्यायाम गर्नुहुँदैन । मेजर अपरेसन गरेको चार–पाँच महिना नकटेको, भर्खरै बच्चा जन्माएको, वृद्धावस्था आदिमा समेत निकै सावधानी अपनाउनुपर्दछ । अभ्यास गर्दा सहज खालको कपडा लगाउने, दोहोरो हावा छिर्ने सफा कोठा वा अन्य स्थान, शान्त वातावरणको छनौट गर्ने, सकभर बिहानै ब्रह्ममुहूर्तमा आसनाभ्यास गरिसक्नुपर्दछ । गरिराखेको अवस्थामा श्वास कस्तो गर्ने, गर्ने विधि के हो ? भन्ने बारेमा राम्ररी नियम अपनाउनुपर्दछ ।

आसनका लाभहरु

आसनको अभ्यासले अनेकौं शारीरिक तथा मानसिक लाभहरु प्राप्त हुन्छन् । श्वासप्रश्वास, रक्तसञ्चार, हाड–जोर्नी, मांसपेशी, सन्तानोत्पादन, अन्तःस्रावी, पाचन, निष्कासन आदि प्रणालीहरुको कार्यक्षमता बढाउने, बलियो पार्ने गर्दछ । शरीरको निर्विषीकरण, शीथिलीकरण, लचिलीकरण आदिमा पनि आसनको महत्व छ । ध्यानात्मक आसनमा बस्दा मात्र पनि मन शान्त, तनाव एवं चिन्तामुक्त भएको अनुभूति हुन्छ । आसनहरुको अभ्यासले शरीरलाई छरितो बनाई रोगबाट सुरक्षा प्रदान गर्दछ भने शारीरिक, मानसिक, भावनात्मक एवं मनोशारीरिक अनेकौं समस्याहरुमा फाइदा गर्दछ । यसले अनेक कारणबाट शरीरमा आएका अनेक लक्षणहरु जस्तै– घोच्ने, पोल्ने, दुख्ने, निदाउने, झम्झमाउने, अररो तथा अप्ठ्यारो हुने, फर्फराउने, सुख्खा हुने आदिलाई हटाउन सहयोग गर्छ ।

केही आसनको अभ्यास
सुखासन: यो सहज ध्यानात्मक आसन हो । पलेटी मारेझैँ बस्नुहोस् र मेरुदण्ड तन्काएर सीधा आरामपूर्वक राख्नुहोस् । दुवै हातलाई घुँडामा राखी हत्केला माथि फर्काएर बूढी र चोरऔँला एक–आपसमा जोडी बाँकी तीन औँला सोझो पार्नुहोस् । यसलाई ज्ञानमुद्रा भनिन्छ । आँखाले एकैछिन् नाकको टुप्पोमा ध्यान केन्द्रित गर्दै बस्नुहोस् र तत्पश्चात् आरामपूर्वक शान्त बस्नुहोस् । लामो तर सूक्ष्म ढंगले श्वासप्रश्वास गर्दै श्वास भित्र जाँदै छ र बाहिर आउँदै छ भन्ने कुरामा मात्र लगातार ध्यान केन्द्रित गर्नुहोस् । यसले तनाव कम गर्छ, मनमा शान्ति र आनन्द आउँछ ।

नटराजासन: उभिनुहोस् र शरीरलाई सन्तुलनमा राख्दै दाहिने गोडालाई पछाडिबाट खुम्च्याएर कुर्कुच्चाको जोर्नीमा दाहिने हातले बलियोसँग समात्नुहोस् । देव्रे हातलाई अगाडि सीधा राखी हत्केला माथि फर्काउनुहोस् । चोर र बूढी औँला एक–आपसमा जोडेर बाँकी तीन औँला सोझो पारी ज्ञानमुद्रामा राख्नुहोस् । पछाडि समातिएको गोडालाई शरीरबाट टाढा फट्टाउँदै लैजानुहोस् । सन्तुलन बिग्रेर लडिएला, ध्यान दिनुहोस् । शुरुमा भित्तातिर छोएर वा कसैको सहारामा अभ्यास गर्न पनि सकिन्छ । केही बेर यसको अभ्यास गरेपछि अर्को खुट्टा र हात परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् ।
लाभ: यसले शरीरलाई सन्तुलित र सुडौल एवं तन्दुरुस्त पार्छ । मनमा एकाग्रता बढाउँछ । मनोसमस्याहरु हल गर्न सहयोग गर्छ । हातगोडा र मेरुदण्डलाई शक्तिशाली बनाउँछ ।
सावधानी: धेरे मोटो व्यक्तिले नगर्ने । नलडिने उपायबाट अभ्यास गर्नुहोस् ।
हाँस्यासन: बसेर, उठेर वा हिँड्दै विभिन्न हाउभाउ गरेर विभिन्न तरिकाले हाँस्ने विधिलाई हाँस्यासन वा हाँस्ययोग भनिन्छ ।
लाभ: हाँस्यासन वा हाँस्ययोगले अनेकौं शारीरिक तथा मानसिक रोगहरु हटाउन सहयोग गर्छ । यसले जीवनमा खुशी र आनन्द प्रदान गर्दछ । तनाव, चिन्ता आदिको व्यवस्थापनमा उपयोगी छ ।

(स्वस्थ जीवनशैलीका लागि पातञ्जल योग अत्यन्त उपयोगी मानिन्छ । यहाँ योगदर्शनमा आधारित अष्टाङ्गयोगमध्येका विभिन्न अभ्यासहरुका बारेमा पनि क्रमशः प्रस्तुत गर्दै लगिनेछ ।)

प्रतिक्रिया दिनुहोस्